मोटा प्रहरीहरुलाइ कार्बाही हुने

काठमाण्डौबाट प्रकाशित हुने सौर्य दैनिकले तौल एवं पेट ठुलो भएका प्रहरीहरुलाइ एक महिना भित्र तौल एवं पेट घटाउन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको कुरा लेखेको छ  । निर्देशनमा कति तौल घटाउनु पर्ने हो भन्ने कुरा प्रश्ट तोकिएको भने छैन ।
उनीहरूले एक महिनाभित्र तौल नघटाए आन्तरिक कारबाही खेप्नु पर्नेछ । माथिल्लो तहका धेरै प्रहरी अधिकृत मोटा र भुँडे छन् ।
भुँडे प्रहरी आफू अस्वस्थ मात्रै नहुने बरु संगठनका लागि समेत ‘घाँडो’ बन्ने निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले अनिवार्य तौल घटाउनुपर्ने अभियान सुरु गरेको हो । मोटा र भुँडे प्रहरी मानसिक रूपमा पनि कमजोर हुने र अपराधी समात्न तथा सुरक्षा व्यवस्था चुस्त बनाउन नसक्ने ठहर प्रधान कार्यालयको छ ।
‘सुरक्षा व्यवस्था चुस्त राख्न होस् या अपराधीको गिरफ्तारी गर्न, मोटा र भद्दा प्रहरी अक्षम सावित भएका छन् । त्यसैले बलियो प्रहरी संगठन निर्माणका लागि शारीरिक रूपमा चुस्त प्रहरी अबको आवश्यकता हो,’ केही समय अघिसम्म प्रहरी प्रवक्ता रहेका डिआइजी विज्ञानराज शर्माको भनाइ रहेको कुरा सौर्य दैनिकमा उल्लेख गरिएको छ । नेपाल प्रहरीमा मोटा र भद्दा प्रहरीको अब काम समेत नभएको उनले बताए ।

९० प्रतिशत भुँडे प्रहरीमा विभिन्न रोगसमेत देखिएपछि प्रधान कार्यालयलाई तौल घटाउने अभियान थाल्न प्रेरणा मिलेको हो । त्यसका लागि एक महिनाको कोर्स नै तयार गरेर लागू गरिएको छ । महिना दिनपछि प्रधान कार्यालयले मोटा र भुँडे प्रहरीको तौलबारे अनुगमन गर्नेछ । तौल घटाइएको नपाइए उनीहरूलाई आन्तरिक कारबाही गरिने प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीले बताए ।
प्रवक्ता अधिकारीका अनुसार दुई सातादेखि नै तौल घटाउने अभियान थालिएको छ । ‘प्रहरी धेरै मोटाएकाले तौल घटाउन एकमहिने अल्टिमेटमका साथ अभियान सुरु गरिएको हो । अभियान पूरा गर्न अनुगमन गर्छौं, त्यति गर्दा पनि तौल घटेको नपाइए आन्तरिक कारबाही हुन्छ,’ प्रवक्ता अधिकारीको कथन थियो भनि सौर्य दैनिक अगाडि लेख्छ, एकमहिने अभियानको अवधिमा तौल नघटाउने भुँडे प्रहरीलाई चरणबद्ध रूपमा कारबाही गर्ने योजना प्रधान कार्यालयको छ । पहिलो चरणमा त्यस्ता प्रहरीलाई कडा तालिममा राखिनेछ । फेरि पनि तौल नघटाइए कारबाहीको चरण थपिँदै जानेछ ।
प्रहरी स्वस्थ मात्र नभई शारीरिक रूपमा बलियो पनि हुन आवश्यक भएकाले यस्तो अभियानको आवश्यकता महसुस भएको प्रवक्ता अधिकारीले बताए । ‘प्रहरी शारीरिक रूपमा चुस्त रहनुपर्छ, किनकि चुस्त प्रहरीले नै अपराधी समात्न सक्ने हो । मोटा र भुँडे प्रहरी अस्वस्थ र मानसिक रूपमा कमजोर पनि हुने भएकाले यस्ता अभियान अनिवार्य बनेको हो,’ उनले भने ।
प्रधान कार्यालयले अभियानको पहिलो चरणमा भुँडे प्रहरी अधिकृतका लागि खानपान, व्यायाम र तनाव कम गर्ने सम्बन्धमा विशेषज्ञबाटै तालिमको व्यवस्था गरेको छ । गत शुक्रबार प्रधान कार्यालयको अपरेसन हलमा डा। राजेन्द्र श्रेष्ठले भुँडे प्रहरीलाई ‘डाइट, एक्सरसाइज एन्ड स्ट्रेस मेन्टेन’ सम्बन्धी तालिम दिएका थिए ।
तालिमका क्रममा डा। श्रेष्ठले प्रहरी अधिकृतहरूलाई घरमै हुनसक्ने शारीरिक व्यायामले पनि रोग नियन्त्रण गर्न मद्दत पुग्ने सुझाएका थिए । तौल घटाउने, स्वस्थकर एवं सन्तुलित खाना, तनाव व्यवस्थापनलगायत विषयमा उनले भुँडे प्रहरी अधिकृतहरूलाई प्रशिक्षण दिएका थिए ।
‘प्रहरीका उच्च अधिकारीलाई विशेषज्ञबाटै खानपान, व्यायाम र तनाव कम गर्ने सम्बन्धमा तालिम दिइएको छ । यस्ता तालिम अरू पनि छन्, क्रमश लागू गरिन्छन्,’ प्रहरी प्रवक्ता अधिकारीले भने । तौल घटाउन प्रधान कार्यालयले तयार गरेको कोर्सको पहिलो चरणमा अधिकृत तहकालाई मात्रै समावेश गरिएको छ । यो अभियानलाई तल्लो तहसम्मै लैजाने योजना प्रधान कार्यालयको छ । माथिल्लो तहका अधिकारीहरू नै धेरै भुँडे भएकाले उनीहरूबाटै अभियान थालिएको हो ।
प्रहरी स्रोतका अनुसार ९० प्रतिशत भुँडे प्रहरी उच्च रक्तचाप र सुगरका रोगी छन् । ‘उच्च रक्तचाप र सुगरका रोगी भएका प्रहरी औषधि खाइरहन्छन्, उनीहरूलाई ड्युटीको भन्दा पनि आफ्नो स्वास्थ्यको ज्यादा चिन्ता छ । यस्ता प्रहरी तुलनात्मक रूपमा अल्छी पनि छन् । प्रहरी संठगनको उच्च तहका कर्मचारी नै रोगी र अल्छी भएपछि कसरी सर्वसाधारणको सुरक्षा हुन्छ रु त्यसैले पहिलो चरणमा यो अभियान माथिबाटै सुरु गरिएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
डिआइजी शर्मा प्रहरी प्रवक्ता हुँदा प्रहरीको शारीरिक पक्षबारे नेपाल प्रहरीको अनलाइन ‘पब्लिक पोल’ मार्फत सार्वजनिक रूपमा नै मत मागेका थिए । जसमा शारीरिक रूपमा चुस्त प्रहरीको पक्षमा अत्यधिक मत संकलन भएको थियो । मुलुकको शान्ति–सुरक्षा प्रहरीको व्यक्तित्वमा पनि देखिने भएकाले यस्तो अभियानको सुरुआत गरिएको डिआइजी शर्माले बताए ।
‘राज्यको प्रतिनिधि भनेकै प्रहरी हो । मान्छेले प्रहरीको फिजिकल फिटनेसबाट मुलुकको शान्ति–सुरक्षा आँकलन गर्छन् । यसकारण प्रहरी चुस्त, दुरुस्त र बलियो हुनु आवश्यक छ, अभियानको अभिप्राय पनि यही हो,’ डिआइजी शर्माले भने ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *