सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

Surya Bahadur Thapa-शशी पौडेल
हुनत नेपालका नेताहरुले इमान्दारितापूर्वक बोल्लान वा उनीहरुले इमान्दारितापूर्वक काम गर्लान् भनेर कल्पना सम्म गर्नु पनि मृगतृष्णा जस्तै हो । तर पनि अहिले ठुलो शक्तिमा नभएका र जीबनको उत्तरार्धमा पुगिसकेकाले कमसेकम सूर्यबहादुर थापाले देश र जनताकालागि हित हुने काम गर्लान् कि भन्ने आशा भने नमर्दो रहेछ त्यसैले कतै कसैमाथी अन्याय नगरिकन बोल्छन् कि भन्ने आशा गर्नु पनि अस्वभाबिक होइन । अव त बुढो भइयो देश र जनता प्रति इमान्दार भएर बोल्छु भन्ने सोंच्छन् कि भन्ने मैले आशा गरेको थिंए । तर म जस्ता थुप्रै नेपालीहरु गलत रहेछौं । यो हप्ता बुधबार साप्ताहिकले भुतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको लामो अन्तर्बाता छाप्यो । उनको अन्तर्बाता भने खासगरि केही दिन अघि पूर्व राजा ज्ञानेन्द्रले चार पूर्व प्रधानमन्त्रीहरुलाइ निम्त्याएर भोज गरेको प्रसंग र पार्टी अध्यक्ष परिवर्तनको कुरामा केन्द्रित थियो । तर बुधबारले एउटा अलग्गै समाचार सूर्यबहादुर थापासंग गरेको कुराकानीको आधारमा भनेर यसरी दियो ।
“मैले नेपालमा सबभन्दा बढी माया गर्ने र मान्ने पत्रकार चन्द्रलाल झा हुनुहुन्थ्यो । उहाँको कलम तिखो थियो भने भाषामाथि राम्रो पकड थियो । पञ्चायतकालमा उहाँसँग मेरो लामो संगत रह्यो । उहाँले सन्तुलित रुपमा विषयवस्तु राख्नुहुन्थ्यो । पत्रकारहरुमध्ये व्यक्तिगत रुपमा म सबभन्दा नजिक रहेको उहाँसँगै हो । उहाँ विहानै मेरो घरमा आउनुहुन्थ्यो, हामी दुई–तीन घन्टा बस्थ्यौं, कुराकानी गथ्र्यौं । उहाँको विश्लेषण क्षमता राम्रो थियो ।
गोविन्द वियोगी पनि त्यस्तै पत्रकार हुनुहुन्थ्यो । उहाँले पनि सन्तुलित पत्रकारिता गरेको मैले अनुभव गरेको छु । साह्रै इमान कमाउनुभएको थियो उहाँले ।
गोपालदास श्रेष्ठले अंग्रेजीमा पत्रिका निकाल्नु हुन्थ्यो । उहाँ कलकत्ताबाट पढेर आएको, साह्रै राम्रो मानिस हुनुहुन्थ्यो । उहाँसँग पनि बेलाबेलामा कुराकानी भइरहन्थ्यो ।
हरिहर विरही अहिले के भन्छन्, थाहा छैन । तर, जिल्लाबाट काठमाडौं आएदेखि उनलाई माथि उठाउन मैले बहुत सहयोग गरेको हुँ । उनले पनि मलाई सधैं मद्दत गरे । मेरा अनन्य सहयोगी कमल जोशी थिए । विरहीले कमल जोशीबाटै आफूलाई राइज गरेका हुन् । व्यक्तिगत रुपमा पनि मैले उनलाई ठूलो मद्दत गरेको छु ।
विजयकुमार पाण्डेले पनि कमल जोशीसँगै सिकेका हुन् । उनलाई पनि मैले मद्दत गरेको छु । अहिले पनि उनीसँग राम्रो सम्बन्ध छ । उनको पुस्तक विमोचन छ रे । मलाई उनले फोन गरेका थिए । म अरुकोमा भए जाने थिइनँ । तर, विजयकोमा गइदिन्छु ।
पद्मभक्त खरेलले ‘चक्षु’ पत्रिका निकाल्थे । उनलाई ज्योतिषशास्त्रको पनि ज्ञान छ क्या र । हुन त उनी त्यस्तो प्रोफेसनल ज्योतिष होइन होला तर पत्रिकामै ज्योतिषीका कुरा लेखेका हुन्छन् ।
मलाई रघु पन्तको लेखन साह्रै मन पथ्र्यो । म नछुटाएर पढ्थें । लेखनमा आफ्नो दृष्टिकोण कमै पत्रकारले दिन्छन् । तर, पन्त ‘सार्प’ दृष्टिकोण दिन्थे । उनीसँग अलि बढी चिनजान चाहिं संसद्तिर गएपछि भएको हो ।
पञ्चायतकालमा किशोर नेपालको पनि बेग्लै पत्रकारिता थियो । उनी बढी क्रिटिकल थिए । तर, लेखेको चाहिं म पढ्थें । अरु साथीहरुसँग थियो, मसँग उनको घनिष्टता भएन ।
मदनमणि दीक्षित मानिसहरुसँग हिमचिम मिलाएर हिँड्ने मानिस होइनन् । उनी बौद्धिक मानिस हुन् । मणि खलक भएका कारण उनी आफैं पनि सम्पन्न मानिस थिए । उनको मसँग खासै घनिष्टता रहेन ।
तपाईं अचम्म मान्नुहोला, मलाई पञ्चायतकालभरि आफूलाई दरबारिया भन्ने पत्रकारहरुले खुबै खेदे । मेरो सीधै राजासँग कुरा हुन्थ्यो, अरु ऐरेगैरेसँग सम्बन्ध नै हुँदैनथ्यो । त्यही भएर दरबारको वरिपरि रहेकाहरुले सधैं मेरो विरोध गर्दथे । म त्यस्ता पत्रकारहरुको अहिले नाम पनि लिन चाहन्न ।
पछिल्ला दिनका प्रायस् सबै पत्रकार चिन्दछु । तर, कसैसँग पनि घनिष्टता भएन ।”
यहाँ सूर्यबहादुर थापाले ठुलो बेइमानी र जनार्दन आचार्यमाथी घोर अन्याय गरेका छन् ।  २०३८ सालभन्दा अघि उनी प्रधानमन्त्री हुदा वा नहुदा पनि को र कुन पत्रकारसंग उनको उठबस थियो, त्यतातिर नजाउँ किनभने त्यतिबेला नेपालमा नगन्य पत्रकारहरु थिए । तर २०३७ सालमा सम्पन्न जनमतसंग्रह पछि भने नेपालको संचारफाँटमा घना परिवर्तन आयो । २०३६को आन्दोलन दबाउने भरमग्दुर प्रयास गरेका सूर्यबहादुर थापाले जनमतसंग्रह गराउने मौका पनि प्रधानमन्त्री पदमा आसिन भएरै पाए र चारलाख मत तलमाथी पारेर सुधारिएको पञ्चायती ब्यबस्थालाइ जिताइ छाडे । जनमतसंग्रहमा पञ्चायती ब्यवस्था बिजयी भएको घोषणा पछि पनि उनले असार २०४० सालसम्म प्रधानमन्त्री पदमा आसिन रहे । त्यसपछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बनाइए । सूर्यबहादुर थापालाइ लागेको थियो कि उनले पञ्चायती ब्यवस्थालाइ जनमतसंग्रहमा जिताएको कारणले राजाले गुन देखेर कुनैपनि हालतमा हटाउने छैनन्, तर परिस्थितीले पल्टा खायो ।
यसपाली प्रधानमन्त्री पदबाट हटाइए पछि उनी नराम्रोसंग धंगधंगाए । उनले अव मेडियालाइ हतियार बनाउने सोंचमा पुगेर साप्ताहिक मन्च नामक पत्रिकामा लगानी गरे । यसमा अहिलेका कांग्रेसी नेता अर्जुन नरसिंह केशी लगायत त्यतिबेलाका असन्तुष्ट पन्चहरु एकठाँउमा उभिए । साप्ताहिक मन्च उनिबाट खोसियो । सूर्यबहादुर थापाकै लगानीमा त्यो समुहले स्व केशवराज पिडालीको पत्रिका साप्ताहिक बिमर्श प्रकाशमा ल्याउन थाल्यो । साप्ताहिक मन्चका प्रमुख मान्छे मानिएका किशोर नेपाल सत्ताधारी पञ्चहरुसंग बिके र उनी बिश्वबन्धु थापाका छोरा बन्धुथापाको नाममा दर्ता भएको पत्रिका देशान्तर साप्ताहिकको प्रधान सम्पादक बने । त्यतिमात्र नभै खरो अन्तरबार्ता लिन सक्ने बिजय कुमार पनि नेपाल टीबी तिर लागे । यसमा पनि सूर्यबहादुरको भन्दा पनि लोकेन्द्र बहादुर चन्दको मनीपर्स गरुंगो हुन पुग्यो । तर जनार्दन आचार्य र पदम ठकुराठीले भने सूर्यबहादुर थापाको साथ छोडेनन् । २०४६को आन्दोलनसम्मनै उनिहरुले साथ दिए । जबकि सूर्यबहादुर थापालेनै भर्यागं चढाएका हरिहर बिरहीले २०४६सालको दशैको छुट्टी पछि केशबराज पिडालीसंगको मिलोमतोमा साप्ताहिक बिमर्श हड्पे र सुबथा संचारमाध्यम बिहिन भए । त्यसको केही महिना पछि छेडिएको आन्दोलनले मुलकुमा बहुदल आयो । यस अर्थमा उनले आफ्ना पत्रकारको नाम लिदा जनार्दन आचार्यको नाम नलिनु उनको ठुलो बेइमानी हो । कमलजोशीको नाम नलिएर पदम ठकुराठीको नाम लिएको भए सायद पाठकहरुले अलि बिश्वास गर्थे किनकि साप्ताहिक बिमर्शका बेला पदम ठकुराठीको नाम पत्रकारितासंग जोडिएको थियो । यद्यपी यी दुबै पदम ठकुराठी र कमल जोसी खासमा पत्रकारनै होइनन् । पदम ठकुराठी केही पनि होइनन् भने कमल जोशी भने छापाखाना संचालक ब्यापारी थिए ।

Bookmark the permalink.

One Response to सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *