युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशनका निम्ति हामी चार जना बेलायतबाट पेरिस तर्फ लाग्यौं । बिबिसी नेपाली सेबाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रिय पार्षद दीपक न्यौपाने,
नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म ।
गत अप्रेलमा फ्रान्स बासी पत्रकार दधी सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर रहेका पत्रकारहरुलाइ संगठित गर्नेु पर्ने बिचार गरेको कुरा बताएका थिए र उनले यसबारे पत्रकार महासंघसंग पत्राचार गरिसकेको बताउदै मलाइ यसबारे सहयोग गर्न आग्रह गरेका थिए । उनले यस्तै आग्रह भगिरथ योगीसंग पनि गरेका रहेछन् । सोही प्रतिबद्धताको एउटा पाटो थियो हाम्रो पेरिस यात्रा ।
रात्रीको यात्रा भएकाले ड्राइभरलाइ निद्रादेबीले आफ्नो अंगालोमा नकसुन् भन्ने उद्धेश्यले ठट्टा, हाँसीमजाग गर्ने सल्लाहा ग¥यौं । पानी जहाजमा गाडी चढाएर जव हामी माथी उक्ल्यौं, साथीहरुले बियरले घांटी भिजाउने निधो गरे । म बबुरो साथीहरुलाइ सही सलामत पेरिस पु¥याउने र बेलायत फर्काउने जिम्मा लिएकाले त्यतातिर आँखा लगाउनु एक बिबाहित युबतीले परपुरुषमाथी आँखा लगाए जस्तै पाप हुन्थ्यो । एउटा कडा खालको कफी लिएर चुस्की लिन थालें । सवादुइ बजे राती हामी चढेको पानीजहाज फ्रान्सको कालें भन्ने ठाँउमा पुग्यो । मलाइ अव यहाँ देखि लगभग साढेचार देखि पाँच घण्टा स्टेरिङ्गको सहारा लिनु थियो । लगभग डेढ घण्टा पर पुगेपछि चिरनजीले पानीजहाजमा पिएको बियर खाली गराउनु पर्ने संकेत दिए । मुग्लिनबाट काठमाण्डौ जाने बस जसरी सडकको बगलमा रोकेर सूचना दिन्छ त्यसरीनै मैले सूचना जारी गरें । लगभग पाँच मिनेट पछि मेरो काम गाडी अगाडी बढाउनु थियो । म अगाडि बढें , भगिरथ जी गाडीमा भित्रिएकै रहेनछन् । केही मिटर पर पुगे पछि चिरनजीले भगिरथ छुटेको कुरा बताए । उता योगीजी गाडीको पछि पछि दैडिदै रहेछन् । कस्सो उनको पहिलो पटकको पेरिस यात्रा जीवनको सवभन्दा महंगो र कष्टपूर्ण बनेको ?
शनिबार बिहान सातबजे गन्तब्य स्थलमा पुग्यौं । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गांउलेसंग भेट भयो । सानो भलाकुसारी पछि मैले चिरन शर्मालाइ साधारण सदस्यताका निम्ति प्राप्त भएका सबै दर्खास्त फारमहरु छानबिन गर्न आग्रह गरें । यस निम्ति उनले अध्यक्षको सहयोग लिनु पर्ने कुरा बतांए । किनभने नेपाल पत्रकार महासंघ युरोप तदर्थ समितीले मलाइ निर्बाचन आयोगको संयोजक तोकेको थियो । तदर्थ समितीले बिधान नलेखिसकेकाले मलाइ उक्त कार्य गर्न असजिलो महसूष भैरहेको थियो । किनकि महासंघको बैदेशिक नियमावली अनुसार काम गर्नु पर्ने थियो । कामको सुरुवात कहाँबाट गर्ने भन्ने बिन्दू भेटाउन सकिरहेको थिइन । बैदेशिक नियमावलीको आधार लिंदा कुनै एउटै मुलुकका पत्रकारहरुले संस्था हत्याउने सम्भावना देखियो । त्यसो हुन नदिन निम्ति एउटा अलग्गै तरिका अपनाउनु पर्ने देखिरहेको थिंए । किनकि बैदेशिक नियमावली एउटा मुलुकमा मात्र क्रियाशील पत्रकारहरुलाइ संगठित गराउने उद्धेश्यले बनाइएको जस्तो लाग्यो । तर यहाँ त युरोपभरका दुइदर्जन मुलुकमा क्रियाशील नेपाली पत्रकारहरुको प्रतिनिधित्व हुने छ । जस्तै निदरलैण्डबाट एकजनाको मात्र दर्खास्त परेको थियो भने बेल्जियमबाट डेडदर्जन दर्खास्त आएका थिए । सहभागी र प्रतिनिधित्व कसरी गराउने भन्ने निश्चित खाका तयार थिएन । यस्तो अवस्थाका लागि बैदेशिक नियमावली पनि प्रश्ट बोलेको छैन ।
झगडाको बिउ रोपिने सम्भावनाबाट मुक्त हुन चाहान्थें म । हुन पनि मोबाइलका घण्टी बज्न शुरु भैसकेका थिए । कसैले हामी सदस्य संख्यामा एकाउन्न प्रतिशत छौ, हामीलाइ एकाउन्न प्रतिशत पद चाहिन्छ, त्यही अनुरुप हामीले उम्मेदवारी दिदै छौं । यस्तै अर्को घण्टी बज्छ र माग आँउछ म आएको मुलुकमा नेपाली पत्रकार धेरै छैनौं, तै पनि कार्य समितीमा हाम्रो प्रतिनिधित्व हुनै पर्छ । अर्को तिर नेपाली कांग्रेसका साथीहरुका कृयाकलाप हेर्दा लाग्थ्यो पुरै नेपाल पत्रकार संघ युरोप शाखा मानौ उनिहरुकै हो ।
भोली पल्ट हुन गैरहेको अधिबेशनमा यस्ता समस्या नपरोस भन्ने चिन्ताले सताइरहेको थियो । यसैबीच कसैले कान फुक्यो “हेर्नुस नेपाली कांग्रेसले केन्द्रबाटै नेपाल पत्रकार महासंघ युरोप शाखा प्रति निकै सक्रियता पूर्बक चासो देखाउदै आइरहेको छ । र आफ्ना युरोपका शाखाहरुलाइ नेपाल पत्रकार महासंघ युरोप शाखा कब्जा गर्न समेत पछि नपर्न आदेश दिएको छ, त्यसैले भोली युरोप भरका कांग्रसी नेताहरु अधिबेशन स्थलमा आउने छन् । पत्रकार संघलाइ कुनै पनि राजनैतिक पोल्टामा जान नदिनुस् ।” यो अर्को चुनौती थियो हामीलाइ ।
शिब गांउलेलाइ बगलमा लगेर अनुरोधात्मक शैलीमा भनें, निर्बाचनबाट जो सुकै बिजयी भएर आवस् त्यो मलाइ कुनै सरोकार छैन, किनकि मेरालागि सबै बराबर हुन् तर निर्बाचित ब्यक्ति एउटा दलको पत्रकार संघको नेता मात्र नबनोस् ताकि उ समग्र युरोपमा रहेका क्रियाशील नेपाली पत्रकारहरुलाइ नेतृत्व दिन सक्षम बनोस् । उनि मेरो कुरामा सहमत भए ।
भोली पल्ट अर्थात आइतबार सम्मेलन कक्षमा पुग्यौं । पत्रकार साथीहरु क्रमसः एकतृत हुन थाले । हात तान्ने, एकान्त जाने, समुह समुहमा बस्ने, आ—आफ्नो लबिङ्ग गर्ने मानवीय स्वभावबाट त्यहाँ पनि अछुत रहेन । निर्बाचन कसरी गराउने ? अन्योल हुन थाल्यो । मेरो पहिलो दिनको चिन्ता त्यहाँ यथार्थमा परिणत हुने सम्भावना नजिक आयो । नेपाल पत्रकार महासंघ युरोप शाखालाइ बिशुद्ध पत्रकार भित्र जोगाउन गाह्रो पर्ने देखियो ।
युरोपमा नेपाली डायस्पोरा भित्र पूर्णकालीन पत्रकार हुन निकै गाह्रो छ । गाह्रो मात्र होइन बर्तमान अवस्थामा प्रायः असम्भव छ । त्यसैले मेरो चासो भनेको कम्तिमा पनि दिनको एक घण्टा पत्रकारिता बारे चिन्तन गर्ने, यसको मर्यादा बारे सोच्ने, समाचार संकलन गर्ने र सम्प्रेषण गर्ने साथीहरु नछुटुन् भन्ने मात्र थियो । दुइ दर्जन बढी युरोपियन मुलुकहरुमा जहाँ जहाँ नेपाली समुदाय छन् र आफ्नो समुदाय प्रति चिन्तित भै समाचार सम्प्रेषण अर्थात पत्रकारतिामा लागेका साथीहरु छन्, उनिहरुको प्रतिनिधित्व पनि नछुटोस् भन्ने थियो ।
निर्बाचन आयोगले प्राप्त गरेको सदस्यहरुको लिष्टलाइ हेर्दा नेपाल पत्रकार महासंघ युरोप शाखामा कार्यसमितीका सम्पूर्ण पदाधिकारीहरु एउटै मुलुकबाट मात्र आउने सम्भावना देखियो । यसरी नेपाल पत्रकार महासंघ युरोप नभै नेपाल पत्रकार महासंघ त्यही मुलुक हुने भयो । यसलाइ कसरी ब्यबहारिक रुपमा ब्यवस्थापन गर्ने ? अर्को चुनौती त्याहाँ देखा प¥यो । यसलाइ ब्यवस्थापन गर्न कुनै न कुनै बिन्दू भेटाउनै पर्ने भयो, तर के ? बिधान छैन बैदेशिक नियमाबलीले यसबारे बोलेको छैन ।
अध्यक्षजीसंग केही समय यसबारे छलफल गरे पछि एक प्रकारको फेडेरालिजम अपनाउनु पर्ने अवस्था आयो । र हरेक मुलुकलाइ त्यहाँका पत्रकारको संख्याको आधारमा प्रतिनिधि तोक्न अनुरोध गर्ने निधो ग¥यौं । यस निम्ति कम्तिमा दुइजना प्रतिनिधि र यदि चार जना भन्दा बढी संख्या भएमा हरेक चारजनाको एकजना तोक्न लगाउने र यसरी तोकिएका प्रतिनिधि मध्यबाट उम्मेदवारी लिने निधो भयो । मैले अध्यक्षजीको यही निर्देशनलाइ नेपाल पत्रकार महासंघ युरोप शाखा कुनै राजनैतिक पार्टीको कब्जाबाट जोगाएर पत्रकारहरु बीच राख्ने अस्त्रका रुपमा प्रयोग गर्नु पर्ने देखे । तर त्यो कति सम्भव भयो ? बुुद्धिजीबी पत्रकार साथीहरुसंग उत्तर होला ।
मुलुकमा एक पछि अर्को समस्या थपिदै गएको अवस्थामा मुलुकलाइ कसरी निकाश दिने भन्ने चिन्तन गर्नु बदला नेपाल पत्रकार महासंघ युरोप शाखालाइ कब्जा गर्ने चासो लागेछ नेपाली कांग्रेसलाइ । यो हामी नेपालीहरुका लागि बिडम्बना हो ।
अधिबेशन सम्पन्न भयो । बेलजियमका महेश थापा अध्यक्ष पदमा चुनिए । उनको काँधमा युरोपका पत्रकारहरुलाइ नेतृत्व दिने जिम्मेवारी आइपरेको छ । बेलजियमकै एक मित्रले महेशजीलाइ चिट्टा परेको टिप्पणी गर्दै भने “अव सायद महेश जी पत्रकारिता प्रति गंभीर बन्लान् पत्रकारिताको मान मर्यादा भित्र रहेर कर्तब्यनिष्ठ हुने छन् ।” मेरो पनि यही शुभकामना सहित कार्य सफलताको कामना उनलाइ ।
(यो लेख सौर्य दैनिकमा ११ सेप्टेम्बरका दिन प्रकाशित भएको हो)  http://www.souryadaily.com/2012/09/35656.html

Bookmark the permalink.

4 Responses to युरोपमा पत्रकार राजनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *