बेलायतमा शिक्षा: भ्रम र यथार्थ

-शशी पौडेल
केही समय यता हरेक बर्ष बिभिन्न मुलुकका हज्जारौं बिद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न एवं उज्जल भविश्यको खोजीमा संसारका बिभिन्न मुलुकहरुमा पुग्ने गरेका छन् । यस्तै नेपाली बिद्यार्थीहरु पनि अध्ययनको शिलशिलामा बिदेशिने गरेका छन् । बिद्यार्थीको हैसियतमा बिदेशिनेहरुको मुख्य गन्तब्यस्थल बेलायत, अस्ट्रेलिया र अमेरिका रहेको छ । अमेरिका वा अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुको अवस्था कस्तो छ त्यो मलाइ त्यति थाहा भएन तर बेलायतमा भने थुप्रै बिद्यार्थीहरुले आफुले सोचेको वा कल्पना गरेको भन्दा भिन्न अवस्थामा आफ्नो गुजारा गर्नु परिरहेको छ । नेपाली बिद्यार्थीहरुको ठूलो संख्या शिक्षा हासिल गर्नु त कता कता जीबिकोपार्जन गर्न समेत असमर्थ भएको कारण नेपाल फर्किसकेका छन् भने कतिले जन तन गुजारा गरिरहेका छन् । कति बिरामी परे भने कतिले आफ्नो भबिश्य अन्धकार देखेर जीवनलिला समाप्त गर्न समेत पुगे ।
बेलायतमा उच्च शिक्षा हासिल गर्न संसारका थुप्रै मुलुकहरुबाट बिद्यार्थीहरु आउने गर्दछन् । सबैजसो मुलुकबाट आएका बिद्यार्थीहरुको अवस्था उस्तै उस्तै रहेको छ । केही समय अघि बीबीसी लण्डन रेडियोले एउटा रिपोर्ट प्रसारण गरेको थियो, रिपोर्ट यस प्रकार थियो ।
एकजना पाकिस्थानी बिद्यार्थी उच्च शिक्षा हासिल गर्न बेलायत आएछ र उ लण्डनमा आफन्त कहाँ डेरा लिएर बसेको रहेछ । बिद्यार्थी नियमित रुपमा कलेज जाने पनि रहेछ । तर महिनौं बित्दा पनि घरमा आएर पढाइमा त्यति ध्यान नदिएको जस्तो लागेछ र आफन्तले सोधिछन्, किन तिमीले केही होमवर्क पनि गर्दैनौ ? कलेजमा के के पढाइ हुन्छ ? आदी आदी । बिद्यार्थीले जवाफमा भनेछ, हामी दिनभर कक्षामा कम्प्युटर गेम खेलेर बस्छौं । शिक्षक पत्रिका पढेर बस्छ । यसबारे मैले कलेजमा कुरा गरिसकेको छु तर प्रिन्सीपलले कुनै मतलव राख्दैन । त्यसैले पढने कोर्स केहो, कति पढ्नु पर्छ ? भन्ने बारे समेत केही थाहा छैन, होमवर्क हुने त कुरै भएन ।
घरभेटी पेशाले वकिल रहिछन्, उनले कलेजमा टेलिफोन गरेर निज बिद्यार्थीले भनेका कुरामा कति सत्यता छ भन्ने बुझ्ने प्रयास गरिछन् तर उनि कलेजबाट खबर पाउन सफल हुन नसके पछि होम अफिसलाइ टेलिफोन गरेर बिद्यार्थीले उनलाइ भनेको कुरा बताइछन् । ती वकिलको फोन पाए पछि होम अफिसले लण्डन स्थित उक्त कलेजमा छापा मारेछ । होम अफिसले अनुसन्धान गर्दा निज पाकिस्थानी बिद्यार्थी लगायत अरु केही बिद्यार्थीहरुको पनि कलेजले नियमित रुपमा हाजिरी नगरेको पाइयो र पाकिस्थानी बिद्यार्थी लगायत अन्य केही बिद्यार्थीहरुलाइ पनि होम अफिसले उनिहरुको भिसा रद्ध गरि आ आफ्नो मुलुक फिर्ता पठाइदिए छ ।
ती आफन्तले बीबीसी लण्डन रेडियोसंग कुरा गर्दै भनिन्, मैले मेरो कजन भाइलाइ त्यस प्रकारको कलेजमा भर्ना भएर नआउन भनेकि थिंए । यदि पढ्न आउनेनै हो भने कमसेकम पाकिस्थानमा बिए वा बिएस्सी सकेर बेलायतका कुनै बिश्व बिद्यालयमा नियम पु¥याएर नियमित पढ्न भर्ना भएर मात्र आउने सल्लाह दिएकि थिंए । तर उसले सुनेन । उसले पाकिस्थानमा भएका दलालहरु जसले मोटो रकमका निम्ति नियमित दर्ता लाइसेन्सनै नभएका कलेजमा भर्ना देखाएर यहाँ पठाउने गर्दछन्, त्यस्ताहरुको कुरा सुन्यो । उनिहरु मार्फत आयो ।
यदि कुनै पनि बिद्यार्थीले नियमित ढंगले बिश्वबिद्यालय वा कुनै कलेजमा भर्ना नभैकन एजेन्टहरुको भाँउतोमा लागेर बेलायत आउने मौका पाएपनि उच्च शिक्षा हासिल गर्ने सपना भने चकनाचुर हुन्छ । अनि युवा युबतीहरु बिचलित हुन थाल्छन् । उता घरबाट ल्याएको पैसा सकिन थाल्छ, यता आफ्नो उद्धेश्य पुरा गर्ने चाहानामा बज्रपात लाग्छ । काम गर्न अनुमति पत्रबिना पाइदैन । बिभिन्न अप्ठेराहरुको सामना गर्नु पर्छ ।
निज पाकिस्थानी बिद्यार्थीले भोग्नु परेको नियति त्यो पहिलो होइन र अन्तिम पनि हुने छैन । थुप्रै नेपाली बिद्यार्थीहरुले पनि बेलायतमा यस्तै नियति भोगेका छन् । त्यसैले भबिश्यमा बिदेशमा पढ्न जान चाहने बिद्यार्थीहरुले सतर्कता अपनाउनु पर्ने देखिन्छ । आफुले पढ्न चाहेको कलेज वा बिश्वबिद्यालयको बारेमा राम्रोसंग अध्ययन नगरिकन, यसको अवस्थाबारे नबुझिकन आँखा चिम्म गरेर हाम फाल्दा उज्जल भविश्यको चाहाना उल्टै अन्धकारमा परिणत हुन सक्छ । त्यसैले मैले बिदेशी बिद्यार्थीहरुले बेलायतमा उच्च शिक्षा अध्ययन गर्न के कस्ता कुराहरुमा ध्यान दिनु पर्दो रहेछ ? बिश्वबिद्यालयमा कसरी भर्ना लिन सकिने रहेछ ? कसरी आफूले पढ्न चाहेको बिषय पढाइने बिश्वबिद्यालय वा कलेजको खोजी गर्न सकिन्छ ? भन्ने प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेको थिंए ।
कुनै पनि बेलायती बिश्वबिद्यालय वा बिश्वबिद्यालय अन्तरगतका कलेजहरुमा भर्ना हुन निम्ति युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्) भन्ने एउटा संस्था छ । यो संस्थालाइ छोटकरीमा युकास (UCAS) भनिन्छ । बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने सबै बिद्यार्थीहरु सोही संस्था मार्फत भर्ना हुनु पर्दछ । संसारभरका बिद्यार्थीहरुले आफैले ००४४८७१४८६०४७२ मा टेलिफोन गरेर बिश्वबिद्यालय भर्ना प्रकृयाबारे सम्पूर्ण सूचना प्राप्त गर्न सकिन्छ । साथै युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)को वयब साइटमा गएर नेशनल एकेडेमिक रिकग्नाइजेशन इन्फरमेशन सेन्टरमा ल्किक गरेर आफूले अहिले सम्म पढेको बिषयको शैक्षिक योग्यता र परिक्षाफलको डिभिजनका आधारमा के केमा आफ्नो शैक्षिक योग्यताको मान्यता हुन्छ र के के अगाडी पढ्न पाइन्छ भन्ने सबै जानकारी हासिल गर्न सकिने छ ।
त्यति गरिसके पछि सोही वयबसाइटको अर्को लिङ्क नन् युके स्टुडेण्टस् मा ल्किक गरे पछि कसरी बिश्वबिद्यालय वा कलेजमा युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मार्फत दर्खास्त दिने भन्ने सबै सूचना प्राप्त गर्न सकिने छ । अनि अर्को लिङ्क कलेज र बिश्वबिद्यालयको लिष्ट मा ल्किक गरेर कुन कुन कलेज वा बिश्वबिद्यालयमा आफूले पढ्न चाहेको वा आफूले पढ्न पाउने बिषय पढाइन्छ र ती बिषय पढ्न कुन कुन ग्रेड चाहिन्छ भन्ने खोजेर बढीमा पाँचवटा बिश्वबिद्यालय छनौट गर्न पाइन्छ ।
आफूले त्यो बिषय किन पढ्न चाहेको हो ? उक्त बिषय पढ्नका लागि आफूले केके पूर्बाधारहरु तयार पारिएको छ ? आफ्नो के कस्ता कामहरुको अनुभव छ आदी कुराहरुको बिस्तृत बिबरण सहित एउटा पर्सनल स्टेटमेण्ट तयार पार्ने । यति गरिसके पछि आफ्ना सबै प्रमाण पत्रहरु, बिदेशी बिद्यार्थीहरुका लागि नभैनहुने अंग्रजी भाषाको योग्यताको प्रमाण पत्र सहित युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)को वयबसाइटबाट डाउनलोड गरेको दर्खास्त फारम भरेर युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मा अनलाइन मार्फत पठाइ दिने ।
बेलायतका सबैजसो बिश्व बिद्यालयले बिदेशी बिद्यार्थीका लागि कोटा छुट्टयाएका हुन्छन् । ती कोटा भन्नुको अर्थ सित्तैमा पढ्न पाउने भन्ने होइन । ससुल्क कोटा हुन् । बेलायतका उच्च शिक्षा पढाइने कलेजहरु र बिश्वबिद्यालयले युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मार्फत आएका दर्खास्त फारमलाइ मात्र मान्यता दिन्छन् । यदि कसैको दर्खास्त युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मार्फत गएको छैन र त्यहाँको एजेन्टले सिधा कुनै कलेजसंग सम्पर्क गरेर पठाएको छ भने त्यो आफैमा उच्च शिक्षा अध्ययनका लागि नियम पुरा नभएको दर्खास्त मान्नु पर्दछ । यदि युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मार्फत आएका दर्खास्त बिना कोही बेलायत आइपुगे पनि पढाइका निम्ति प्रायः धोका हुने गर्दछ । तर बिर्सिन नहुने कुरा केहो भने कुनै कुनै बिषयमा भर्ना पाउन निम्ति एड्मिशन एकजाम पास गर्नु पर्दछ । बिदेशी बिद्यार्थीहरुका लागि नभैनहुने अंग्रजी भाषाको योग्यताको जाँच दिन संसारका धेरै ठाँउमा पाइन्छ । नेपालमा पनि बिभिन्न ठाँउमा यसको ब्यबस्था छ ।
युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मा दर्खास्त पुग्नासाथ उनिहरुले दर्खास्तमा उल्लेख गरिएका सबै कलेज वा बिश्व बिद्यालयमा दर्खास्त पु¥याइ दिन्छन् र केही समय पछि मेल मार्फत खवर आउनेछ । बिश्व बिद्यालयले भर्ना दिन स्वीकारेको खबर पाए पछि भिषाका लागि दर्खास्त हाल्नु पर्ने छ । भिषाका निम्ति दर्खास्त दिंदा बिश्व बिद्यालयले भर्ना दिन स्वीकार गरेको मेल, बिश्वबिद्यालयमा तिर्नु पर्ने शुल्क र पढाइ अबधि सम्म खान बस्न लाग्ने खर्चको ग्यारेण्टी हुने सम्पूर्ण कागज पत्र पेश गर्नु पर्ने छ । त्यस पछि पढाइ अबधि सम्मका लागि भिषा पाइने छ ।
यदि साँचो अर्थमा बेलायत आएर पढ्न चाहेकै हो भने बैधानिक बाटो युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्)मार्फत दर्खास्त हालेर पढ्न आएमा मेहनत र खर्च खेर जाने छैन । अन्यथा घरबास बन्धक राखेर वा साहुकोबाट रिण काढेर दलाललाइ दिएको रकम समुद्रमा फालेको ढुङ्गा जस्तै कहिल्यै फर्किने छैन ।(यो लेख सौर्य दैनिकमा गत शुक्रबार प्रकाशित भएको थियो)

Bookmark the permalink.

2 Responses to बेलायतमा शिक्षा: भ्रम र यथार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *