नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

– दिपक न्यौपाने
लण्डन । करिव सतासी हजार दर्शक भएको लण्डन ओलम्पिक २०१२ उद्घाटन समारोह इतिहासमा ओलम्पिकको अनेक कृडास्थलमध्ये एक विशिष्ट स्थानको रुपमा दर्ज भएको छ । यस्तो ऐतिहासिक समारोहमा कसलाई भाग लिन मन लाग्दैन होला ?
नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार नेपालबाटै टिकट किनेर लण्डन ओलम्पिक उद्घाटन समारोह २०१२ हेर्न एक व्यक्ति मात्र आएका थिए ।
को हुन त ती व्यक्ति ? लण्डन स्र्टाटफोर्ड स्थित ओलम्पिक रंगशाला अगाडि सेतो दौरा सुरुवाल, छिर्केमिर्के कोट, नेपाली टोपी तथा कम्मरमा कालो पेटीमा सजिएर, हातमा टिकट र क्यामेरामा दृश्यहरु कैद गर्दै बडो फूर्तीसाथ हिडेका, पछाडी ढाडमा नेपालको झण्डा ओढेर विभिन्न देशका दर्शकका साथ गफ गर्दै, सोभेनियरहरु आदान प्रदान गर्दै हिडेका भिडका बीचमा प्रष्टै देखिने गोरो, हिमाल जस्तो टल्किने कपाल भएका ती व्यक्ति थिए – गौतम दास श्रेष्ठ ।
पेशाले होटल ब्यवसायी भएका श्रेष्ठ पहिला पहिला पनि यस्तै अन्तर्राष्ट्रिय खेलहरुमा भाग लिएको अनुभव बडो रोचकसंग सुनाउछन् । सिङ्गापुरमा भएको प्रथम अन्र्तराष्ट्रिय युुवा खेल तथा गत वर्ष काजाकास्तानमा भएको ग्रीष्मकालिन एसियन खेल हेरेका श्रेष्ठलाई लण्डन ओलम्पिक धेरै नै फरक जस्तो लागेको बताए । विश्वका धेरैजसो देशका भ्रमण गरिसकेका श्रेष्ठलाई विदेश भ्रमण कुनै नौलो विषय होइन । सन् १९६० को मध्यतिर फ्रान्सबाट होटल व्यवस्थापनमा अध्ययन सकेर नेपालमा शेर्पा होटल, शान्ति वनस्पती घ्यू लगायत थुप्रै व्यवसाय संचालन गरेका श्रेष्ठ हाल चितवनस्थित होटल नारायणी सफारी संचालन गरिरहेका छन् ।
पाँच दशक देखि होटल व्यवसायमा संलग्न श्रेष्ठ विगतमा नेपाल होटल एसोसिएसनका अध्यक्ष्य समेत भइसकेका छन् । उनले आफ्नो लामो व्यवसायीक जीवनमा नेपालको पर्यटन ब्यवसाय र यस्को विकासमा उल्लेख्य योगदान गरेका छन् । उनी भन्छन् उनको यस्ता विभिन्न भ्रमणहरु नेपालको पर्यटन विकास र उनको आफ्नै व्यवसाय विस्तारसंग बढी केन्द्रित हुन्छन् । यस्ता ठूला ठूला समारोहहरुमा विश्वका अरु देशका प्रतिनिधीहरु उनीहरुको देशको आर्थिक विकासका संभावना खोज्न विभिन्न बैठक र सभामा व्यस्त भएको तर आफ्नो भने कोही नआउने उनको तितो अनुभव छ । व्यक्तिगत रुपमा लण्डन ओलम्पिकलाई उनले व्यवसायभन्दा मनोरञ्जनलाई केन्द्रित गरेको बताए तर यसलाई अवसरको रुपमा लिन भने नछोड्ने बताए ।
“नेपालबाट टिकट काटेर ओलम्पिक हेर्न आउन सजिलो रहेनछ, विभिन्न झन्झट झेल्दै आइपुगे ।” बडो विस्मित स्वरमा उनी भन्छन्, “यहां लण्डन विमानस्थलमा विकान्सोन्मूख देश, त्यसमा पनि साउथ एशियन मुलुकका नागरिकलाई हेर्ने दृष्टिकोण ज्यादै फरक पाएँ” ।

नेपाललाई छुट्याइएको टिकट बेच्ने जिम्मा अष्ट्रेलियन एजेन्टलाई दिइएको र नेपालीहरुले अष्ट्रेलियाबाट टिकट किन्नुपर्ने भएकोले अधिकांश आउन चाहने नेपाली दर्शक आउन नसकेको पनि हुनसक्छ, तर त्यही अष्ट्रेलियन एजेन्टबाट १,०५० पाउण्ड तिरेको श्रेष्ठले बताए । उनकै भाषामा “किन्न त दुईवटा टिकट किनेको हो, अर्को साथीलाई नेपालस्थित बेलायती राजदुतावासले भिषा दिएन, ऊ आउन पाएन, त्यो टिकट त्यसै खेर गयो ।”
उद्घाटन समारोह हेर्दा उनले भने, “मलाई त ठूलो थिएटरमा बसेर हलिउडको फिल्म हेरे जस्तो लाग्यो ।” ईतिहासलाई सजीव रुपमा उतारेर कथामा आधारित उद्घाटन समारोह बेलायतको सामाजिकीकरण र औद्योगिकीकरणलाई समयाबद्ध गरेर प्रस्तुत गरेको विषय उनलाई निकै रोचक लागेको रहेछ । आफ्ना जमानाका प्रसिद्ध गाएक पाउल मकार्थी, बरिष्ठ कलाकार रोवान एट्किन्सन् उर्फ मिष्टर विन, डानियल क्रेग उर्फ ००७ जेम्स वोण्डसंग बेलायती महारानीको नाटकीय प्रस्तुती आफूलाई निकै रमाईलो लागेको र नेपाली खेलाडी, अफिसियल र अन्य बेलायतवासी नेपालीसंग ओलम्पिक गाउँमा नेपालको झण्डोत्तोलन समारोहमा भाग लिएको समय अविष्मरणिय रहने उनले बताए ।
सन् २०१४ मा रसियामा हुने ग्रीष्मकालिन ओलम्पिक, ब्राजिलमा हुने विश्व कप फुुटवल तथा ओलम्पिक पनि हेर्न जाने उनको योजना छ । यसै सन्र्दभमा नेपाल ओलम्पिक कमिटीका सदस्य सचिव जीवन राम श्रेष्ठले भने “गौतम दाई नेपालका उच्च प्रशासक र व्यापारिक घराना बीच अत्यन्त लोकप्रीय हुनुहुन्छ, सरल र मिलनसार गौतम दाई मृदुभाषी हुनाका साथै नेपाल ओलम्पिक कमिटीलाई र खेलाडीलाई स्वयं उपस्थित भई प्रेरणा दिने व्यक्तित्वको रुपमा चिनिनुहुन्छ ।”

 

Bookmark the permalink.

2 Responses to नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

Leave a Reply

Your email address will not be published. Required fields are marked *