धन्य ! काँग्रसी उरन्ठेउलाहरु

10386263_290159161167059_4848906560206693527_n“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान पनि बेफुर्सदिलो बनाएका छन् । अझ रमाइलो त के भने उनलाइ मुलुकको प्रधानमन्त्री भन्दा पनि नेपाली कांग्रेसका सभापतिको हैसियतमा पो सम्बोधन गरिदो रहेछ । आफुलाइ राजनितिक प्राणी भन्न चाहने धन्य अमेरिकाबासी काँग्रेसी उरन्ठेउलाहरु !  यत्ती पनि बुझ्न नसक्ने कि जव शुशिल कोइराला प्रधानमन्त्री बने तव देखि उनीमाथी नेपाली काग्रेसको सभापतिको मात्र जिम्मेवारी रहेनकि समग्र मुलुकको  जिम्मेवारी काँधमा आयो ।
केही वर्षअघि शल्यक्रिया गरिएको जिब्रोको क्यान्सरको नियमित परीक्षणका साथै पछिल्लो समयमा फोक्सोमा देखिएको दागको निदान गर्नकालागि उनी असारको पहिलो साता अमेरिका पुगेका हुन् । देशका प्रतिष्ठित चिकित्सकहरूले पनि विदेशमै गई उपचार गर्न सुझाव दिएपछि उनी अमेरिका गएका हुन्  र अहिलेसम्म पनि उनी अमेरिकाको सुविधासम्पन्न अस्पतालमा उपचारकै क्रममा  छन् ।
मानव स्वास्थ्य धेरै संवेदनशील विषय हो । अझ, कुनै पनि देशका प्रधानमन्त्रीको स्वास्थ्यस्थितिलाई लिएर सर्वत्र चासो र चिन्ता उत्पन्न हुनु स्वाभाविक पनि हो । किनभने, देशको बागडोर सम्हालेका व्यक्तिको स्वास्थ्यस्थिति के छ भनेर बुझ्ने लालसा आमजनतामा हुन्छ र जनताको अधिकारको विषय पनि हो  । तसर्थ, सरकारले पनि प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे बेलाबखत जनतालाई सुसूचित तुल्याउने कार्य गरिरहेको छ । तर, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे अहिले जेजति कुरा बाहिर आएका छन्, त्यसलाई हेर्दा प्रधानमन्त्रीको उपचारक्रम अझ लम्बिने सम्भावना देखिन्छ । कतिपयले उनको जिब्रोको क्यान्सर शरीरका अन्य भागमा फैलिएको आशंका गरे पनि त्यस्तो नभएको परीक्षणबाट पत्ता लागेको छ भने फोक्सोमा देखिएको दागबारे आएको प्रतिवेदन अनुसार उनलाइ फोक्सोको क्यान्सर भएको जनाइएको छ । यस हिसाबले उनी अझै लामो समय अमेरिकामै उपचारका लागि बस्नु पर्ने देखिन्छ ।
तर मुलुकमा प्रधानमन्त्री कोइरालाको अनुपस्थितिमा अहिले निर्धारित समयमै टुंग्याउनुपर्ने धेरै काम थाँती रहेका छन् । र, प्रधानमन्त्रीको देश फिर्तीबिना थाँती रहेका कार्यहरूले गति लिन सक्ने अवस्था पनि छैन । निर्वाचन सम्पन्न भएको आठ महिना बितिसक्दा पनि संविधानसभाले पूर्णता पाएको छैन । संविधानसभामा सरकारद्वारा मनोनीत हुने २६ जना सभासद्को अहिलेसम्म मनोनयन हुन सकिरहेको छैन । प्रधानमन्त्री कोइराला अमेरिका उड्नुअघि मनोनयनका लागि प्रयत्न नभएको त होइन तर सत्ता साझेदार दल नेकपा (एमाले)ले बिनातयारी मनोनयन गर्न नहुने तर्क उठाएपछि मनोनयन प्रक्रिया त्यत्तिकै स्थगित हुन पुगेको थियो । अझ, अदालतले त १५ दिनभित्र मनोनयन गर्न आदेश पनि दिएको थियो । तर, प्रधानमन्त्री उपचारका क्रममा विदेशतिर हान्निएपछि सभासद् मनोनयन रोकिन पुगेको हो ।
सभासद् मनोनयनसँगै संवैधानिक निकायहरूमा पनि नियुक्ति हुन सकिरहेको छैन । यसबीचमा, राष्ट्रिय योजना आयोगले पूर्णता पाए पनि अन्य थुप्रै संवैधानिकलगायतका क्षेत्रमा नियुक्ति नहुँदा राज्यको काम प्रभावित बन्न पुगेको छ । विभिन्न देशका लागि राजदूत नियुक्त गर्नुपर्ने काम महिनौँदेखि अलपत्र अवस्थामा छ ।
प्रधानमन्त्री विदेश उड्नुअघि नै नियुक्तिका प्रक्रियाहरू पूरा गरिसक्नुपर्ने थियो तर सरकारको सुस्तताका कारण निर्धारित समयमा हुनुपर्ने कामहरू त्यत्तिकै थाँती रहे । र, अहिलेसम्म पनि प्रधानमन्त्रीको स्वदेश फर्किने समय निर्धारण भइसकेको छैन र स्वदेश फर्किएपछि पनि कति समयभित्र अपूरा कामहरू सम्पन्न हुने हुन् ? कुनै अनुमान गर्न सकिने स्थिति छैन अहिले । सरकार यसै पनि भ्रष्टाचार गर्ने काम बहेकका अन्य कामहरुमा कछुवाको गतिमा हिडिरहेको छ ।
प्रधानमन्त्रीको स्वदेश फिर्तीको समय अझैसम्म नटुंगिसकेको हुँदा अब सबभन्दा ठूलो समस्या त बजेट निर्धारित समयमै आउला कि नआउला भन्नेमा छ । अहिले सरकारले असार मसान्तभित्रै बजेट ल्याउने तयारीसहित आन्तरिक कामहरूलाई तीव्रता दिइरहेको छ । तर, बजेट ल्याउने उद्घोष गरेको समयावधिभित्र प्रधानमन्त्री स्वदेश नफर्किंदा उनको अनुपस्थितिमा बजेट आउने सम्भावना देखिँदैन ।
प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुनुपर्छ । यसमा अहिले सबै नेपाली जनताले कामना गरिरहेका छन् । स्वदेशमा सम्भव नभएको हुँदा विदेशमै उपचार गरेर, स्वस्थ भई फर्किने अभिलासा जनताले सँगालेका पनि छन् । किनभने, देशको प्रधानमन्त्री स्वस्थ, निरोगी र सक्रिय भएको सम्पूर्ण जनताले देख्न चाहन्छन्, सुन्न चाहन्छन् । तथापि, प्रधानमन्त्रीको स्वास्थ्यसँगै मुलुक पनि गतिहीन हुने हो कि भन्ने आशंकाले अहिले स्थान लिएको छ । किनभने, प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै एक वर्षभित्र संविधान दिने उद्घोष प्रधानमन्त्री स्वयमबाट भए पनि समय दिनप्रतिदिन घर्किंदै छ । र, संविधानसभालाई पूर्णता दिनेजस्तो कार्य त्यत्तिकै लट्किइरहेको अवस्थामा छ, राज्यका महत्वपूर्ण निकायहरू पनि पदविहीन छन् । तसर्थ, प्रधानमन्त्रीको स्वास्थ्यसँगै देश बन्धक बन्दै जानु दु:खद हो ।
यस्तो अवस्थामा उनलाइ कुनै किसिमको डिस्टर्व नगरी  छिटो छिटो उपचार गर्ने काममा सघाउ पुर्याइ मुलुकलाइ बन्दीमुक्त हुने बातावरण तयार पार्नु पर्नेमा अमेरिकाबासी स्वघोषित काग्रेसी उरन्ठेलाहरुले यता र उता लछार पछार गरेबाट प्रधानमन्त्रीका साथ गएका उनका चिकित्सक समेत आजित परेको समाचारहरु आएका छन् ।
हो मानिस लगायत संसारका सबै जीव स्वार्थी हुन्छन् । आफ्नो स्वार्थ अनुकुल वाताबरण तयार पार्न चाहान्छन् । तर स्वार्थको पनि एउटा सिमा हुन्छ । जव एकछिन फोटो खिचाएर फेबुकमा हाल्ने रहरले प्रधानमन्त्रीको स्वास्थ्यमा खतरा आउने र मुलुकको दुर्गतीमा टेवा पुग्ने हुन्छ भने त्यस्तो नितान्त स्वार्थी रहरलाइ पन्छाउन सक्नु पर्दछ । तर दुर्भाग्य अमेरिकाबासी स्वघोषित नेपाली काँग्रेसी उरन्ठेउलाहरुले यो मानवीयता बुझ्न सकिरहेका छैनन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *