कन—डेमको सयौं शीट गुम्ने ?

—शशी पौडेल
भोली बिहिबार हुन गैरहेको स्थानीय निर्वाचनमा यदि युके इन्डिपेण्डेण्ट पार्टीले बलियो स्थान प्राप्त गर्यो भने प्रधानमंत्री डेबिड क्यामरोनलाइ राजनैतिक र मानशिक दुबै दवाव पर्ने छ । कन्जरभेटिभ पार्टीका वरिष्ट सदस्यहरुका अनुसार प्रधानमंत्री डेबिड क्यामरोनका बिगतका कतिपय गैर राजनैतिक निर्णयका कारण बेलायती जनता असन्तुष्ट रहेका छन् । डेबिड क्यामरोनसंगको असन्तुष्टीका कारण उनिसंग बदला लिन दक्षिणपंथी पार्टी युके इन्डिपेण्डेण्ट पार्टीलाइ कन्जरभेटिभ पार्टीकोठुलो संख्यामा मत जाने सम्भाबना देखिएको छ ।
अर्कोतिर कन्जरभेटिभ पार्टीकै डेबिड क्यामरोन पक्षका संसद सदस्यहरुका अनुसार यदि कन्जरभेडिभ पार्टीले यसपालीको स्थानीय निर्बाचनमा तीनसय काउन्सीलर पद हारे पनि सरकार संचालनमा कुनै प्रतिकुल असर नपर्ने बताएका छन् । यसैबीच ल्पेमाउथ बिश्वबिद्यालयका निर्वाचन बिशेषज्ञहरुले यसपालीको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीले अहिले भैरहेका मध्य ३१० स्थान हार्ने, लेबर पार्टीले ३५० स्थान जित्ने, लिबरल डेमोक्रेटिक पार्टीले १३० स्थान हार्ने अनि युके इन्डिपेण्डेण्ट पार्टीले ४० स्थान जित्ने अनुमान गरेको छ ।
तर कन्जरभेटिभ पार्टीका केही संसद सदस्यहरुले भने पार्टीकै माथिल्लो तहको संका प्रति प्रतिरोध जनाउदै भन्छन् —“यसपालीको स्थानीय निर्बाचनमा जे सुकै परिणाम आए पनि आगामी २०१५मा हुने आम निर्बाचनलाइ कुनै फरक पर्ने छैन ।” कन्जरभेटिभ पार्टी प्रमुखहरु भने पुर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको मृत्युको कारणले टोरी पार्टीले आगामी बिहीबार हुन गैरहेको निर्वाचन प्रति त्यति ध्यान पुर्याउन नसकेको भनेर चित्त बुझाउन थालेका छन् । उनिहरुले डेबिड क्यामरोनको बचाउमा कन्जरभेटिभ पार्टी सरकारमा रहेको र सरकार तेस्रो आर्थिक मन्दीबाट मुलुकलाइ जोगाउन कटिबद्ध भएकाले पनि यसपालीको स्थानीय निर्वाचन दोस्रो प्राथमिकतामा परेको दाबी गरेका छन् ।
निर्बाचन बिषेशज्ञहरुका अनुसार भने यसपालीको स्थानीय निर्बाचनले आगामी २०१५ मा हुने आम निर्बाचन प्रति अहं भुमिका खेल्ने बताएका छन् । किन भने यसपाली निर्बाचित भै जाने काउन्सिलरहरु २०१५मा हुने आम निर्बाचन सम्म पदमा रहीरहने र पदमा रहंदा आम निर्बाचनका लागि महत्वपुर्ण भुमिका खेल्न सकिने हुन जान्छ ।
नाइजल फ्यारेजद्धारा नेतृत्व गरिएको युके इन्डिपेण्डेण्ट पार्टीले दुइ हजार चारसय स्थानीय काउन्सिलर पद मध्य सत्तरी प्रतिशतमा उम्मेदवारी दिएका छन् । यद्यपी जति पदका लागि उम्मेदवारी दिएका छन् ती सबै पदमा निर्बाचित हुने भन्ने होइन तर युके इन्डिपेण्डेण्ट पार्टी, जुन मुलुकको अति दक्षिणपंथी पार्टीले स्थानीय निर्बाचनका लागि सत्तरी प्रतिशत स्थानका लागि उम्मेदवारी दिनु भनेको सत्ताधारी कन्जरभेटिभ र लिबडेमका लागि मात्र नभै प्रतिपक्षमा रहेको लेबर पार्टीका लागि पनि एक चुनौती हो । युके इन्डिपेण्डेण्ट पार्टीले जतिसुकै उम्मेदवारी दिए पनि धेरै संख्यामा निर्वाचित हुने समभावना भने देखिदैन तर पनि उनिहरु जनताका घर दैलो सम्म भने पुगिरहेका छन् ।
अर्कोतिर युके इन्डिपेण्डेण्ट पार्टीको एण्टी युरोप नितीले गर्दा उनिहरु सरकारी सुबिधा अर्थात बेनिफीट खाएर बस्ने समुदाय झण्डै चालिस लाख बेलायतीहरु बीच बर्तमान सत्तामा रहेका र प्रतिपक्षमा रहेका पार्टीहरु समेतको बिरुद्ध मन्दबीष फैलाउन सफल हुने छन् । त्यतिमात्र नभएर मुलुक अहिले त्रिपल आर्थिक मंदीका कारण तहस नहस भैरहेको छ । यो तेस्रो आर्थिक मंदी युके इन्डिपेण्डेण्ट पार्टीका लागि भने मलजल भैरहेको छ । युके इन्डिपेण्डेण्ट पार्टीले उपरोक्त दुबै बुंदाहरु बर्तमान सरकारको नेतृत्व गरिरहेको कन्जरभेटिभ पार्टी बिरुद्ध मात्र लगिरहेको छैन, अपितु सरकार साझेदारी पार्टी लिबरल डेमोक्रेटिक पार्टी र प्रतिपक्षमा रहेको न्यु लेबर पार्टीका बिरुद्ध पनि उपयोग गरिरहेको छ ।
राजनैतिक बिश्लेषकका अनुसार युके इन्डिपेण्डेण्ट पार्टी यसपालीको स्थानीय निर्वाचन पछि बेलायतको चौथो पार्टी हुनसक्ने सम्भावना रहेको छ । उता युके इन्डिपेण्डेण्ट पार्टीले भने स्थानीय स्तरमा आफु लिबरल डेमोक्रेटिक पार्टी भन्दा अगाडी रहने दाबी गरेको छ । जब १९८० को दशकको सुरुमा स्व मार्गरेट थ्याचरको पाला देखि बेलायतको प्रजातान्त्रिक समाजबादी संरचनालाइ छिन्न भिन्न पारे देखिनै देखा परेको अति दक्षिणपन्थी पार्टी हाबी हुने खतरा बढ्दै गएको हो । अहिले त्यो खतरा तीन दशक पछि आएर यथार्थमा परिणत हुन सक्ने अनुमान गर्न कठिन छैन । स्व मार्गरेट थ्याचरले “बेलायतमा अझै पनि धेरै समाजबाद छ ” भन्दै समाजबादका बिरुद्ध बन्चरो चलाउदै आइन्, फलत १९९० को दशक सम्म आइपुग्दा बेलायतमा प्रजातान्त्रिक समाजबाद नष्ट गर्न सफल भइन् । यसरी बेलायती प्रजातान्त्रिक समाजबादी संरचनाको नष्ट पछि स्थापित अति दक्षिणपन्थी पार्टी युके इन्डिपेण्डेण्ट पार्टी अहिले सम्म आइपुग्दा बेलायतको चौथो राष्ट्रिय पार्टी हुन सक्ने सम्भावना देखा परेको हो ।
यद्यपी निर्बाचन बिशेषज्ञहरुले प्रतिपक्षमा बसेको लेबर पार्टीले ३५० अरु शिट हासिल गर्ने अनुमान गरे पनि युके इन्डिपेण्डेण्ट पार्टीले पनि ४० भन्दा बढी स्थान अरु बढी ल्याउन सक्ने सम्भावनाले लेबर पार्टीलाइ पनि दुरगामी प्रतिकुल असर पर्ने छ । लिबरल डेमोक्रेटिक पार्टीलाइ त यसै पनि शिट हार्ने हुदा प्रत्येक्ष प्रतिकुल असर पर्ने छ । हुनत यी शिटको हार वा जीत अर्थात युके इन्डिपेण्डेण्ट पार्टीको जीतको धंकुरी राष्ट्रिय खबरको रुपमा नआउला तर गतबर्ष नोभेम्बर १५ मा सम्पन्न प्रहरी प्रमुख एबं अपराध कमिशनरको निर्बाचनमा युके इन्डिपेण्डेण्ट पार्टीले ल्याएका स्थानहरुका कारण सतर्क भैरहनु बुद्धिमानी ठहर्ने छ ।
युके इन्डिपेण्डेण्ट पार्टीको बिजयीले मुलतः डेबिड क्यामरोन एबं समग्र कन्जरभेटिभ पार्टीलाइ प्रत्यक्ष प्रतिकुल असर पार्ने छ । किन भने अहिले युके इन्डिपेण्डेण्ट पार्टीको टिकट लिएर काउन्सिलर पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु मध्य २५ प्रतिशत ब्यक्तिहरु पहिले कन्जरभेटिभ पार्टीमा रहेका थिए । बेलायतबाट प्रकाशित हुने दैनिक पत्रिका द इन्डिपेन्डेन्टले गतहप्ता गरेको सर्भे अनुसार युके इन्डिपेण्डेण्ट पार्टी उसले उम्मेवारी दिएको मध्य १२ प्रतिशत स्थानमा निर्बाचित हुन सक्ने अनुमान गरेको छ ।
आफ्नो सर्भे बारे टिप्पणी गर्दै द इन्डिपेण्डेन्ट लेख्छ “ झण्डै १० प्रतिशत बेलायती जनताले युके इन्डिपेण्डेण्ट पार्टीलाइ भोट दिनु भनेको बर्तमान सत्ताधारी पार्टीलाइ ठुलै चुनौती दिनु हो । किन भने ती मतदाताहरुले युके इन्डिपेण्डेण्ट पार्टीको राजनैतिक कार्यक्रम मन पराएर वा उनिहरुको योजना जनमुखी भएर वा चित्त बुझाएर होइनकि परन्तु कन्जरभेटिभ पार्टी सरकारमा आए पछि गरेका बिभिन्न जनबिरोधी कार्य प्रतिको एक प्रतिरोध मात्र हो ।”
हुनत यसपालीको स्थानीय निर्बाचनमा इङ्गलैण्डको दक्षिणी र पश्चिमी क्षेत्रमा खास गरी युके इन्डिपेण्डेण्ट पार्टी र कन्जरभेटिभ पार्टीबीच प्रतिस्प्रर्धा हुने छ, किनभने त्यस क्षेत्रमा लेबर पार्टीको आफ्ना झण्डै स्थाइ रुपका मतदाता रहेका छन् । तर यो निर्बाचनमा ठुलो प्रतिस्पर्धा कन्जरभेटिभ पार्टी र लिबरल डेमोक्रेटिक पार्टी बीच पनि हुने छ । २००९ सालको सर्भे अनुसार त्यस क्षेत्रका कन्जरभेटिभ पार्टीका मतदाताहरु खस्कदै आएको र ती मतदाताहरु लिबरल डेमोक्रेटिक पार्टी तर्फ सरेको बताइएको थियो । २०१० को आम निर्बाचनमा त्यस क्षेत्रका आधा दर्जन कन्जरभेटिभ पार्टीका संसद सदस्यहरुको स्थाइ मतदाताहरु लिबडेममा सरेको कारण त्यस क्षेत्रका संसद सदस्यहरुलाइ लिबडेमका उम्मेदवारहरुले हराएको बताइएको थियो । तर पनि कन्जरभेटिभ पार्टीको तर्फबाट भने स्थानीय निर्बाचनमा केही कन्जरभेटिभ पार्टीका मतदाताहरु लिबडेममा सरे पनि काउन्सिलरको स्थान भने गुमाउनु नपर्लाकि भन्ने आशा रहेको बताउछन् ।
लेबर पार्टीनेता एड मिलिब्याण्डको नारा “वान नेशन” (राष्ट्रिय एकता) लाइ सफल गराउन उनको पार्टीले अहिले भैरहेको भन्दा कमसेकम दुइ सय काउन्सिलर शिट हत्याउन सक्नु पर्दछ । द इण्डिपेण्डेन्टको सर्भेमा अगाडी भनिएको छ दशर्कौ देखि न्यु लेबरको आफ्नो बर्चस्व रहेको क्षेत्र नटिङ्गहामसायर र डर्बिसायरमा भने प्राय सबै जसो काउन्सिलर हत्याउने सम्भाबना देखिएको छ । तर पनि लेबर पार्टी दक्षिणी इङ्गलैण्ड जहाँ कन्जरभेटिभ पार्टी र लिबरल डेमोक्रेटिक पार्टीको बर्चस्व रहेको छ, त्यस क्षेत्रमा नघुसे सम्म एड मिलीब्याण्डको राष्ट्रिय एकताको नाराको कुनै औचित्य नरहने बुझिन्छ ।
लिबरल डेमोक्रेटिक पार्टी भने आफ्नो बर्चस्व रहेको क्षेत्रमा बर्चस्व नगुमाउने तर्फ कटिबद्ध रहेको प्र्रश्ट देखिन्छ । उनिहरुको मुख्य उद्धे्रय समरसेट, डेभन र नर्थहाम्बरलैण्ड रहेको बुझिन्छ, जहाँ लिबरल डेमोक्रेटिक पार्टीले दशकौं देखि स्थानीय सरकारको नेतृत्व गर्दै आइरहेको छ ।
भैरहेको राजनितीक र सामाजिक अबस्था भित्र यदि कुनै नयाँ शक्तिको उदय हुन्छ भने त्यो नयाँ शक्तिको कारण समग्र समाज राजनिती र अर्थनितीमा सकारात्मक वा कहिलेकाँही नकारात्मक असर पर्न जाने हुन्छ । यस अर्थमा यदि बेलायतमा उदय हुदै गैरहेको अति दक्षिणपंथी पार्टी युके इन्डिपेन्डेन्ट पार्टी स्थानीय क्षेत्रमा हाबी हुन पुग्यो भने बेलायती समाजमा कस्तो असर पर्ला ? यो प्रश्न उठ्नु नितान्त स्वाभाबिक छ ।
बेलायत बहुसाँस्कृतिकताको देश भनेर बिश्वभर परिचित छ । यहाँ प्राय जसो संसारका सबैजसो मुलुकहरुबाट बिभिन्न जनजाती, बिभिन्न रंग र रोगन लागेका जनसमुदायको बसोबास रहेको छ । त्यति मात्र नभएर बेलायती टापुको इतिहाँसनै युरोपका भिन्न भिन्न धर्म, संस्कृति, सभ्यता र मान्यता बोकेका समुदाय आएर बसोबास गरेको बिन्दुबाट सुरु हुन्छ र अहिले पछिल्लो कालमा यहाँ नेपालीहरुको पनि बसाइ बढ्दै जान थालेको छ ।
युके इण्डिपेन्डेन्ट पार्टीले आफुलाइ अन्ध राष्ट्रबादी भन्न मनपराँउछन् । अन्ध राष्ट्रबादले नितान्त आफ्नो रंग, रोगन धर्म र संस्कार बाहेक अन्यको बिरोधमा लागि परेको हुने हुदा बेलायतमा यसको संभाब्य उदयले मुलुकलाइ छिन्न भिन्न त गराउने नै छ त्यस बाहेक पनि उक्त पार्टी, पार्टीसमर्थक र बिदेशी मुलका जनसमुदायबीच ठुलै पर्खाल खडा हुने सम्भाबनालाइ नकार्न मिल्दैन ।(यो लेख बेलायतबाट प्रकाशित हुने युरोपको नेपाली पत्रको हिंजोको अंकमा प्रकाशित भएको थियो ।)

Bookmark the permalink.

8 Responses to कन—डेमको सयौं शीट गुम्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *