समाजबादको भुतले तर्सीएकि मार्गरेट

—शशी पौडेल
बेलायतकि प्रथम महिला प्रधान मन्त्री, बेलायती राजनितीमा अहिले सम्म सवभन्दा प्रभावशाली मानिएकि मात्र होइन बेलायतको राजनिती एवं समाज बिभाजन गराएर लामो समय सम्म राज्य गर्न सफल श्रीमती मार्गरेट थ्याचरको हालै मृत्यु भएको छ ।
“मार्गरेट थ्याचरको मृत्युको खबरले म मर्माहत भएको छु । उनको मृत्युले बेलायतको उच्च प्रधान मन्त्री, उच्च राजनेता एवं उच्च बेलायती ब्यक्तित्व गुमाएका छौं ।” उक्त भनाइ प्रधान मन्त्री डेबिड क्यामरोनको हो । यस्तै प्रतिपक्षी पार्टीका नेता एड मिलिब्याण्ड भनछन् “उनले आफ्नो सत्ताकालमा जे गरिन् त्यस प्रति लेबर पार्टी सहमत छैन । हामी उनको राजनिती प्रति असहमत भए पनि उनको ब्यक्तित्व प्रति हामी आदर गर्छौ ।”
उप प्रधानमन्त्री निक ल्केगले मार्गरेट थ्याचरको मृत्युको खबर सुने पछि भने “हामी जुनसुकै राजनैतिक पक्षमा उभिऔं तर पनि उनको कार्यकालमा जे गरिन्, उनले बेलायतलाइ एक बैचारिक छाप छोडेर गइन् ।”
नर्द आरलैण्ड नेता ग्यारी आदाम भन्छन् “ मार्गरेट थ्याचरले आफ्नो प्रधानमन्त्रीत्व कालामा बेलायती र नर्द आइरसि जनतालाइ ठुलो पिडा दिइन् । उनले दिएका पिडाका दाग आज सम्म पनि हामलिाइ चहर्याइ रहेको छ उनले नर्थ आरलैण्डका जनतालाइ एक आपसमा बिभाजन गराएर भिडाइन्, युद्ध गराइन् , रगतको हाली खेलाइन् । अहिले सम्म नत ती रगतका टाटा पुछिएका छन् न त आफन्तहरुसंगको बिछोडको पिडा सहन सकने क्षमताको बिकाशनै भैसकेको छ । ”
लण्डन शहरका प्रभावशाली नेता एवं लामो समय सम्म लण्डन मेट्रोपोलयिनका मेयर रहेका केन लिभिङ्गस्टोन भन्छन् “आज बेलायतमा जति पनि गलत भैरहेको छ त्यो सबै मार्गरेट थ्याचरकै कारण हो । उनले बैङ्कहरुलाइ तितर बितर गराइन्, अनियमित गराइन् । उनले संभ्रान्त बर्गबाट संचालित उद्योग धन्दाहरुलाइ स्वतन्त्र छोडिदिइन् । काउन्शिल घरहरु निर्माण बन्द गराइन् । त्यति मात्र होइन कि उनले बेनिफिट नियममा संकट पैदा गराइन् ।”
जसरी मार्गरेट थ्याचरले बेलायती समाज र राजनितीक स्थाइत्वलाइ छिन्न भिन्न पारेर आफ्नो ब्यक्तिगत चाहना अनुकूलको राजनिती गर्न बिभाजनको बिउ रोपेकि थिइन् त्यसरी नै उनको मृत्यु पश्चात बेलायती राजनेता र बेलायती समाजले मिश्रित प्तिकृया दिएको छ ।
यद्यपी मानव स्वभाव कसैको मृत्युसंग दुखित हुने हुन्छ, मृत्यु पश्चात उनका राम्रा गुणहरु मात्र प्राय सम्झिने मनोबिज्ञान हुन्छ तर पनि मार्गरेट थ्याचरले आफैले रोपेको बिउका कारण उनि मृत्यु पश्चात पनि बेलायती ठुलो जनसमुदायको अप्रिय बनिरहिन् ।
१९९० पछि पनि बेलायती राजनितीमा मार्गरेट थ्याचरको थ्याचरिजम हाबी हुदै आयो । यसको कारण थ्याचरिजम असल वा जनप्रिय भएर चाही होइन बरु केहो भने त्यस पछि बेलायतको राजनैतिक बागडोर लिनेहरु आंटिलो, चिन्तक र परिवर्तनकामी राजनितिज्ञ जन्मन नसक्नु हो । मार्गरेट थ्याचरको सत्ता समाप्ती १९९० पछि पनि बेलायती राजनितीमा थ्याचरिजमको प्रतिकृया र स्वीकार दुबै गरियो । त्यस पछिका कुनै पनि प्रधानमन्त्रीले राजनितीबाट थ्याचरिजमलाइ पन्छाएर बेलायतको परिवर्तनको आबश्यकतालाइ परिपुर्ती गर्न सकेनन् । बरु त्यस पछिका सबै प्रधानमन्त्रीहरु जोन मेजर, टोनी ल्बेयर, गोर्डोन ब्राउन र डेबिड क्यामरोनले थ्याचरिजमलाइ बोकेर हिडीरहेका छन् । त्यस पछि प्रधानमन्त्री बनेका कन्जरभेटिभ पार्टीका अर्का नेता जोन मेजर र पार्टीका अन्य नेताहरु स्वभाबिकै रुपमा मार्गरेट थ्याचरको भोज भतेरमा आनन्द लिनेनै भए । त्यस पछिका प्रधानमन्त्री टोनी ल्बेयर पनि मार्गरेट थ्याचरको आशिर्बाद, पुरस्कार र प्रतिबद्धताबाट बाहिर उम्कन सकेनन् । यहाँ सम्म कि गोर्डेन ब्राउन एक आँटिलो, जासिलो एबं बेलायती जनताका आशाका केन्द्रबिन्दुका रुपमा लिइएको भए पनि मार्गरेट थ्याचरको राजनैतिक चंगुलबाट मुक्त हुन सकेनन् र उनै पहिलो ब्यक्ति बने जसले मार्गरेट थ्याचरको अन्त्यस्टी करदाताहरुबाट संकलन गरिएको राज्यकोशबाट गरिनु पर्छ भन्ने प्रस्ताव समेत ल्याए ।
बेलायतको इतिहाँसमा सायद यस अघि कुनै राजनेता थिएन जसले मुलुकलाइ यति धेरै छिन्न भिन्न पारेर बिभाजन गरेको थियो जति मार्गरेट थ्याचरले गरिन् । उनि कुनै सहमतीय राजनितिज्ञ थिइनन् । प्रधानमन्त्रीका रुपमा उनले १९७९ देखि १९९० सम्म उनले हरेक बैठक वा छलफलमा अन्तिम वाक्य बोलिन् । उनको निर्णय प्रति असहमत भएर बोल्नेहरुका निम्ति कानमा ठेटो हालिन् । उनले खस्किदै र छिन्न भिन्न हुदै गैरहेको बेलायतको पक्षमा निर्णय गरिन् । सायद यो उनको बाध्यता थियो । अन्यथा बेलायतका संभ्रान्त बर्ग जसले उनलाइ त्यहाँ पुर्याएका थिए, उनिहरुलेनै उनको कुर्चीको खुट्टा काटिदिन्थे ।
उनको बारेमा लेख्दा वा बोल्दा मलाइ पनि एउटा अत्यास लाग्ने प्रश्न उठ्ने गर्छ र त्यसको उत्तर भेटाउनै पर्ने जस्तो पनि लाग्छ । उनका लागि बेलायतका राजनेताहरु मध्य केही बिषालु थिए केही आपद बिपद थिए । तर प्राय दुबै थिए । उनले आपद बिपद वा बिषालु देखेका नेताहरुमा उनिहरुको बिचार र प्रभावमा भर पथ्र्यो । उनको राजनैतिक चिन्तन १९४९ देखि १९७९ सत्ता सम्म पुग्दा आँट र जोसको क्रमिक बिकाश भएको पाइन्छ । जव १९७५को निर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजय भएर उनि प्रतिपक्ष पार्टीको नेतृ बनिन्, बेलायती राजनितीमा उनि एक महिला थिइन् । उनको कुरा कसैले सुन्न चाहादैनथ्यो । उनि एक सामान्य दुकानदारकि छोरी, राजनितीक नेतृत्वमा उनि हास्य पात्र बनिन्, यद्यपी उनि १९४९ देखि कन्जरभेटिभ पार्टी राजनितीमा लागेकि थिइन् । उनि प्रकृती प्रेमी थिइन् र (क्यामेस्ट्री) बिज्ञान पढेकि थिइन् । उनलाइ राजनितीको धेरै ज्ञान थिएन । बैज्ञानिकका रुपमा कही कतै जागीर पाउन नसकेपछि उनले फेरी कानुन पढ्न थालिन् । कानुन पढदै थिइन् भारतमा इन्दिरा गान्धीको नाम राजनितीमा आउन थालेको थियो, इन्दीरा गान्धीको राजनैतिक जीबनको चर्चा बेलायतमा हुन थाल्यो । इन्दिरा गान्धीको नामको चर्चाले उनलाइ इश्र्यालु बनायो । जुन मुलुकलाइ हिजो आफुहरुले दाश बनाएका थिए त्यो मुलुकमा एक महिलाको नाम यति माथी ? तर बेलायत जसले हिजो एक तिहाइ संसारको साम्राज्य बनाएको थियो, त्यहाँ किन लैङ्गिक स्वतन्त्रता र महिला अधिकार प्राप्तीका निम्ति यति पछाडी ? उनको मनमा उत्तर बिनाका यी प्रश्नहरु सधै उब्जीरहन्थ्यो । सत्तरीको दशकमा बेलायतमा कन्जरभेटीभ पार्टीको अवस्था खस्किदो थियो । संभ्रान्त बर्गले आफ्नो पक्षमा मात्र बोल्ने, आफ्नो पक्षका लागि मात्र राजनिती गर्ने ब्यक्तिको खोजीमा थिए । बेलायत कता कता युरोपको एउटा “बुढो मान्छे” का रुपमा चिनिन थालेको थियो एकातिर भने अर्को तिर बेलायती प्रजातान्त्रिक नियम र कानुन एवं सर सुबिधाहरु समाजबादी देखिदै आएको थियो । बेलायतको त्यतिखेरको अबस्थालाइ उनले यसरी भन्ने गर्थिन् —“बेलायतमा अझै पनि बढी समाजबाद छ ”
मार्गरेट थ्याचर पार्टी नेतृत्वका रुपमा सभ्रान्त वर्गका डबल क्रिमका थुप्रोलाइ सरसज्जा गर्न थालिन् । सहमती शब्दको अर्थ बुझ्न नचाहाने मार्गरेट थ्याचरले सर्कसको जोकरकै रुपमा भए पनि सजिलै सभ्रान्त बर्गका डबलक्रिम जम्मा गर्न सफल भइन् । त्यतिखेर अर्थात ७०को दशक को आर्थिक मन्दीले आक्रान्त बेलायतमा लेबर पार्टीको सरकारको नेतृत्व गरेका जेम्स कोलागानले १९७८मा निर्वाचनको घोषणा गरे ।
प्रधानमन्त्री कोलागानको घोषणा अनुरुप मे १९७९मा सम्पन्न निर्वाचनमा आज सम्म बिश्वमा कहिल्यै नसुनिएको राजनैतिक नारा ल्याएर मार्गरेट थ्याचरले चुनाव जितिन् । उनको नारा थियो “लेबरले काम गर्दैन” “मजदुरहरु काम गर्दैनन्” ।
जव मार्गरेट थ्याचर प्रधानमन्त्री पदमा निर्बाचित भइन् तब उनि कन्जरभेटिभ पार्टीको पुनर्निमाण तर्फ लागिन् । उनले समग्र पार्टीलाइ एउटा कोपिला फूलको संज्ञा दिइन् । फुललाइ फुलाउनु पर्छ भन्ने उनको मान्यता थियो । पार्टी पुनर्निमाणको पहिलो कार्यक्रम थियो —बेलायतीहरुले आ—आफ्नो गच्छे अनुसार रकम लिएर छुट्टी मनाउन जान पाउने । त्यस अघि बेलायतीहरु छुट्टी मनाउन जाँदा सरकारले तोकेको निश्चित रकम मात्र लिएर जान पाइने ब्यबस्था थियो । यो स्वतन्त्रताले बेलायती धनाढ्य, संभ्रान्त एव ंउद्योगपतिहरुको पहिलो समस्या समाधान भयो ।
१९८१मा नर्थ आरलैण्डमा संघर्ष सुरु भयो । जहाँ सयौं थुनुवाहरुले भोख हडताल गरे । जुलुस प्रदर्शनमा थ्याचरको सिधा आदेशमा अमानबीय आक्रमण भयो । १९८२मा फोकल्यैण्डका लागि अर्जेनटाइनासंग युद्ध गरिन् । जुन युद्धमा सयौं गोर्खा सेनाहरु मारिए, सयौं बेपत्ता भए । यो युद्धको बिजयी पछि बेलायती राजनितीमा मार्गरेट थ्याचरको प्रभाव अझ बलियो हुदै गयो । उनले आफ्नो राजनैतिक शक्ति र प्रभावलाइ कसरी प्रयोग गर्ने भन्ने कुरा भने निश्चित गर्न सकिनन् किनकि त्यसको एक बर्ष अघि उनको एउटा राजनैतिक हार भएको थियो । जिम्बाबे बेलायतको पछिल्लो कोलनीबाट मुक्त भएको थियो । रोबर्ट मुगाबेको स्वतन्त्रता संग्रामले मार्गरेट थ्याचरलाइ हराएको थियो । यो हारले उनलाइ कमजोर बनाउन लागिरहेकै बेला १९८२को फोल्कलैण्डको जीतको कारणले उनी १९८३को निर्वाचनमा पुन निर्बाचित भइन् । त्यस पछिको काललाइ खासगरी थ्याचर काल भनिन्छ । उनको सत्ताकालमा ठुला ठुला मजदुर आन्दोलनहरु भए । बेलायतमा कामदार बर्ग र संभ्रान्त बर्गबीचको खाडल झन गहिरिदै गयो ।
मार्गरेट थ्याचर १९७५मा प्रतिपक्षी पार्टीको नेतृपदमा निर्बाचित भए पछि “ब्यक्तिगत सम्पत्ती आर्जन गर्न सहज बनाउने” घोषणा गरिन् । खास गरि मजदुर वर्गले ब्यत्तिगत घर किन्न सक्ने अबस्था सृजना गर्ने भन्ने उनको ब्याख्या थियो तर जव उनि सत्तामा आइन् तव उनलाइ सत्ताको दैलो भित्र ल्याउने बर्गले घेरामा हाल्नु स्वाभाबिकै थियो । “ब्यक्तिगत सम्पत्ती आर्जन गर्न सहज बनाउने” साँचो उनका सहयोगी र संभ्रान्त बर्गको हातमा पुग्यो । अर्को तिर उनले लण्डन रेलवे सेवा, पोष्ट, एवं एन्एच्एस् जस्ता पब्लिक सेवा संस्थानहरुलाइ प्राइभेटाइजेशन गराएर मुनाफा कमाउने ब्यापारको रुपमा स्थापना गर्ने योजना अघि सारिन् ।
मार्गरेट थ्याचर बाहेक अन्य बेलायती प्रधानमन्त्रीहरुमा पनि एक प्रकारको नाटकीय बिद्रोही परिकल्पना नभएको होइन । विल्सन चर्चिलले आफु र आफ्नो सरकारलाइ मेन्सेभिक भित्रको बोल्सेभिक भन्न मन पराँउथे । यस्तै टोनी ल्बेयरले कन्जरभेटिजमले दिएको चोट बोकेर युद्ध मैदानमा आएकोले लेबर पार्टीको पुनर्निमाण गरी न्यु लेबर पार्टी बनाउनु परेको कुरा पटक पटक दोहर्याएका थिए । मार्गरेट थ्याचरले पहिलो पटक डाउनिङ्ग स्ट्रिट भित्र पस्दा आफु जिल्ल परेको र उनले पहिलो भाषणमा नै आफ्ना सहकर्मीहरुको सक्दो आलोचना गरेकी थिइन् । उनले आफु १० डाउनिङ्ग स्ट्रिट भित्र पस्दा आफुले एक्लो महसुस गरेको पनि बताएकि थिइन् । उनले प्रधान मन्त्रीको कुर्सीमा बस्दा मात्र होइन कि त्यस पछिको पहिलो पार्टी सम्मेलनमा गरेको भाषणको अंश क्यम्पबेलद्धारा लिखित “मार्गरेट थ्याचर” नामक पुस्तकको पेज २२ को एउटा वाक्य जस्ताको तस्तै  “I so often had to act as alone opponent of the processes and attitudes of Government if self.”

मार्गरेट थ्याचर राजनैतिक सिद्धान्त भन्दा पनि आफ्नो कुरालाइ जिद्धी गर्ने बिद्रोही मात्र नभै सबै कुरा आफ्नो नियन्त्रणमा हुनुपर्छ भन्ने स्वभावकि थिइन् । हो असल प्रधानमन्त्री आफुभित्र संधर्षरत, बिद्रोही र उथलपुथलको चाहाना भएको हुनु पर्छ तर बाहिर एकताको फोकस भएको हुनु पर्छ । प्रधानमन्त्रीले दुइवटा टोपी एकैचोटी लगाउन सक्ने हुनु पर्छ । अन्य मन्त्रीहरुले आ—आफ्नो बिभाग अर्थात मन्त्रालयको हित गर्ने माला जप्नु पर्दछ । प्रधानमन्त्री सम्पुर्ण काम कुरा आफ्नो कब्जामा लिने दुस्वप्नबाट मुक्त हुनु पर्छ । तव मात्र प्रधानमन्त्रीमा आफ्नो भारी बोक्न क्षमताको बिकाश हुन्छ । अनि बल्ल राज्यसंचालनको जिम्मेवारीको बाँड फाँडको सतह मिल्न जान्छ ।
यी सबै कुराको बाबजुद पनि उनि निस्वार्थी थिइन् । उनको निस्वार्थ भाबले जो कोहीलाइ पनि सजिलै प्रभाव पार्न सक्थ्यो । १९७९ मा उनी प्रधान मन्त्री पदमा निर्बाचित हुदा म बनारसमा थिंए । बनारसबाट प्रकाशित दैनिक जनजागरणमा त्यतिबेला उनिबारे प्रकाशित एउटा समाचार मेरो स्मरणमा अझै पनि ताजा छ । उनि प्रमं पदमा निर्बाचित भएर कार्यभार संहाल्न पहिलो दिन कार्यालय भित्र प्रबेश गर्दा टेबुलमा एउटा कागज देखिछन्, त्यो कागजमा प्रमंलाइ घरायसी ब्यक्तिगत रुपमा चाहिने कुराहरुको लिस्ट रहेछ । लिस्टमा कप, ल्पेट, आइरन, आइरन गर्ने टेबुल, चम्चा काँटा आदी रहेछ । त्यो देखे पछि उनले सबै काटेर तल एउटा नोट लेखिछन् । “यी सबै चिज बस्तु मेरो घरमा छ, मैले जनताको करबाट आएको पैसाले मेरो ब्यक्तिगत खर्च गर्न चाहान्न ।”
थ्याचरको अन्तरराष्ट्रिय राजनिती
मार्गरेट थ्याचरले बेलायतलाइ संभ्रान्त बर्गको मात्र मुलुकहो भन्ने रुपमा स्थापित गर्न चाहिन् । यो सायद उनको बाध्यता थियो । किन भने उनि संभ्रन्त बर्ग, ठुला ब्यापारी र उद्योगपतिको चंगुल भित्र थिइन् । यही कारण बेलायती समाजमा प्रश्ट बिभाजनका रेखाहरु देखिए । संभ्रान्त बर्ग एकातिर र अर्को तिर मजदुर बर्ग । बेलायत मात्र होइन उनले सारा संसार संभ्रान्त बर्गको मात्र हो भन्ने चाहना स्वरुप ततकालिन अमेरिकी राष्ट्रति रोनाल्ड रेगनसंगको सहकार्यमा नयाँ सिद्धान्त प्रतिपादन भयो । उक्त नयाँ सिद्धान्त नव उदारबाद एवं ल्गोबलाजेशनको उदयमा जर्मनीका तत्कालिन चान्सलर हेल्मुट कोलको पनि सहभागिता रह्यो । यद्यपी मार्गरेट थ्याचरले जर्मनीका तत्कालिन चान्सलर हेल्मुट कोललाइ आफ्नो सहयोगी राजनितीज्ञ भन्दा पनि आफ्नो प्रतिस्पर्धीका रुपमा लिदै आइन् । उनले छिमेकी मुलुक फ्रान्सका तत्कालिन राष्ट्रपति फ्राँ स्वाँ मितेरालाइ समेत मित्रशक्तिका रुपमा देख्न सकिनन् । शितयुद्ध अन्त्यका लागि चरण चरणको बार्ता गरे पनि सोभियतसंघका राष्ट्रपति मिषायल गोर्भाचोभलाइ पनि अबिश्वास गर्थिन् ।
मार्गरेट थ्याचरकालमा पुर्व युरोपको समाजबादी ब्यबस्था पतन भएको हो । मार्गरेट थ्याचर बिश्वबाट समाजबादको अन्त चाहान्थिन् तर उनले कुनै पनि मुलुकको एकता भने चाहान्नथिइन् । उनि पुर्व जर्मनी र पश्चिम जर्मनीको एकताको बिरोधी थिइन् । उनले यो कुरा तत्कालिन सोभियत संघका राष्ट्रपति मिषायल गोर्भाचोभसंग शित युद्ध अन्त्य गर्ने प्रयासक्रमको कुराकानीमा जर्मनी एकता नगराउने शर्तनै राखेकि थिइन् । उनले राखेको त्यो शर्तका कारण तत्कालिन पुर्व र पश्चिम जर्मनीका छापाले थ्याचरलाइ एकता बिरोधी, एकलकाँठे, फुटाउँ र राज्य गरुँ भन्ने सिद्धान्त लिएकी भनेर प्रशस्त आलोचना आएको थियो । जर्मनीका एक बामपंथी राजजितीज्ञ ग्रेगोर गिजीले बर्लिनबाट प्रकाशित हुने दैनिक “टाज”मा “मार्गरेट थ्याचरको चरित्र दाँत झरेको बुढो गोरुको जस्तो, आफैले चउरबाट घाँस चर्न नसक्ने तर अरुको घाँस चोरेर खान खोज्ने” भनी आलोचना गरेका थिए । यसै कारणले पनि मार्गरेट बिश्वभरका सिमित संभ्रान्त बर्गको प्रिय देखिए पनि यथार्थमा उनलाइ बिश्वका अन्य राजनितिज्ञहरु र संसारका ९९ प्रतिशत जनसमुदायका लागि भने अप्रिय बनिरहिन् । (यो लेख सत्यतथ्य मासिकको अप्रेल अंकमा प्रकासित भएको थियो ।)

Bookmark the permalink.

9 Responses to समाजबादको भुतले तर्सीएकि मार्गरेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *