बेलायतका नेपाली संघ-संस्थाका चुनौती

Organisations—शशी पौडेल
बेलायती भूमीमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा मानिन्छन् भने स्थाइ बसोबास गर्ने उद्धेश्यले काम गर्ने अनुमती लिएर बेलायत छिर्ने  पहिलो ब्यक्ति कृष्ण बहादुर थापा मानिन्छ । उनि साढे चार दशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अधिनै  अस्थाइ रुपमै भएपनि बेलायत आइ बसोबास गरेका नेपालीहरुलाइ संगठित गर्ने उद्धेश्यले गठन गरिएको नेपालीहरुको पहिलो संगठन यतिज द नेपाली एशोसियसन इन द युके हो । यतिज द नेपाली एशोसियसन इन द युके १९६० मा स्वर्गिय राजा बिरेन्द्र बीर बिक्रम शाह एवं भुत पूर्व मन्त्री पशुपति शंशेर राणाहरुको सक्रीयतामा गठन गरिएको थियो । त्यतिबेला उनिहरु बिद्यार्थीका रुपमा बेलायत रहेका थिए । दोस्रो बिश्वयुद्ध पछि मानब सभ्यताको हलचल संसार भर भैरहेको थियो, त्यो अबस्थामा नेपाल पनि अछुत रहने कुरै भएन । बिश्व मानब सभ्यताको हलचलसंगै नेपालीहरु पनि भारत बाहेक अन्यत्र पनि जान थाले, त्यसक्रममा नेपालीहरुका लागि बेलायत सम्मको बाटो पनि खुल्यो र बेलायतमा नेपालीहरुको संख्या एक दुइ हुदै बढ्न थाल्यो ।  यति गठन भएको लगभग १५ बर्ष पछि यो संगठनको नाम नेपालीमा नामाकरण गर्नु पर्ने महशुस गरि यसको नाम यति नेपाली एशोसिएशन भनि परिवर्तन गरियो । अहिले यो संगठनले पाँच दशक पार गरिरहदा बेलायतमा नेपालीहरुको संस्था मात्र तीनसय नाघेको छ भने नेपालीहरुको संख्या सवालाख नागेको छ ।
जसरी बेलायतमा नेपालीहरुको संख्या बढीरहेको छ त्यसरीनै नेपालीहरु संगठित हुने क्रम पनि बढ्दो छ । चाहे जिल्ला, जात जाती, क्षेत्रीय वा धर्मको नाममा नै किन नहोस् । बेलायत आएर बसोबास गरेका नेपालीहरु संगठित हुने क्रम अहिले सम्म आइपुग्दा झण्डै तीनसय संगठनहरु गठन भएको अनुमान गरिएको छ । बिभिन्न जातजातीका संगठनहरु साथै जिल्लाबासीका नाममा गठन गरिएका संगठनहरु पनि आ-आफ्नो ठाउमा निकै प्रभाबकारी छन् । कतिपय संगठनहरुले आ-आफ्नो जिल्लाका असहाय ब्यक्तिहरुलाइ सहयोग गर्दै आइरहेका छन् भने कतिपयले बेलायतमा बसोबास गर्दै आइरहेका आफ्ना जिल्लाबासीलाइ पर्न गएको दुख समस्यालाइ आफ्नै दुख सम्झी सहयोग गर्दै आइरहेका छन् ।
भनिन्छ, एउटा खरको धर्सो सहजै चुडाल्न सकिन्छ तर धेरै खरका धर्साबाट बाटिएको डोरी  पिङ्ग बनाएर खेल्न सकिन्छ । उक्त भनाइलाइ प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्राय सबै नेपालीहरुले आत्मसात गरेको पाइन्छ । यो अत्यन्त सराहनीय कार्य हो । ब्यक्ति ब्यक्ति बीचमा बिचार मन्थन गरेर उच्च निस्कर्ष निकाल्न पनि यसले साथ दिन्छ । हुनत एउटा प्रश्न यत्र तत्र छरिने गर्दछ, त्यो के भने जव एउटा संगठन छ भने अरु यति धेरै संगठन बनाउनुको औचित्य के ? के सबै नेपालीहरुलाइ नेता मात्र बन्ने रहर त होइन ?
प्रश्न जायज छ र सायद निरुत्तरित पनि । तर पनि यसको उत्तर खोज्ने प्रयास गर्न सकिन्छ , जसरी हरेक परिवारलाइ बास बस्ने आ आफ्नो घरको आबश्यकता पर्दछ त्यसरी नै हरेक समाजलाइ सामाजिक संगठनको आबश्यकता पर्दो रहेछ । हरेक ब्यक्तिहरुका बिचार, चिन्तन र उद्धेश्यहरु फरक फरक हुन्छन् । हरेक ब्यक्तिहरुले फरक फरक अनुभव संगालेका हुन्छन् ।
बेलायतमा नेपालीहरुका संगठनहरुमध्ये सम्भवतः तमु धि युके सबै भन्दा ठुलो हुनु पर्छ । यो संगठन नेपाल लगायत अन्तरराट्रिय रुपमा फैलिएको छ । यो संगठन गुरुङ्गहरुको जातीय संगठन हो र यो गुरुङ्ग समाजको दुख र सुखसंग प्रत्यक्ष भिजेको छ । यस्तै गरि जातीय संगठनको कुरा गर्दा मगर संध पनि कम बलियो छैन । यो पनि नेपाल लगायत संसारका बिभिन्न मुलुकहरुमा फैलिएको छ ।  र यसले मगर समाजका हर आबश्यकता बुझ्ने र अध्ययन गर्ने गरेको छ । यस्तै गरि अन्य जात जातीहरुका संगठनहरु पनि बेलायतमा मौजुद छन् जस्तै राइहरुको यायोख्या, लिम्बुहरुको चुमलुङ्ग, सेर्पाहरुको किदुङ्ग, क्षेत्रीहरुको क्षेत्री समाज, श्रृजनशील समाज, दर्शन समाज आदी आदी सबै महत्वपूर्ण एवं आ आफ्ना ठाउमा बलिया छन् । यी सबै जसोका उद्धेश्य भने आ आफ्नो संस्कृति जोगाउने र यसबारे बेलायतलाइ पनि जानकारी गराउने भन्ने रहेको छ ।
जातीय संगठनहरु बाहेक बेलायतमा नेपालका जिल्ल्लाबासीहरुका संगठन पनि मनग्य छन् । आफनो ठाउमा सबै संगठनहरु बलिया र महत्वपूर्ण छन् ता पनि खास गरी गुल्मी जिल्लाबासीहरुको संगठन गुल्मी जिल्ला समाज, म्याग्दी जिल्लाबासीहरुको मुना युके अनि चितवन जिल्लाबासीहरुको क्याट युके बिशेष चर्चामा रहेका छन् ।  संगठन बनाइहाले पनि यसलाइ निरन्तरता दिने काम  सजिलो छैन । संगठन भन्ने बित्तिकै थुप्रै मान्छेहरुको जमघट हो । थुप्रै मान्छेहरुको जमघटमा थुप्रै बिचारहरु आउछन् । आएका थुप्रै बिचारहरुलाइ माझेर निस्कर्ष निकाली त्यो निस्कर्षलाइ कार्यरुप दिन झन मुस्किल हुन्छ । ता पनि बेलायतबासी नेपालीहरुका संगठनहरुले यसोगर्न एकहदसम्म सफल देखिएका छन् ।
बेलायतमा नेपालका राजनैतिक रंग रोगन लागेका संगठनहरु पनि नभएका होइनन् तर ती संगठनहरु भने जसरी नेपालमा राजनैतिक पार्टीहरु चोइटिदै र गुट उपगुट छन्  त्यसरीनै यहाँ पनि चोइटिने गरेका छन् र उनिहरु खास गरि नेपालमा रहेका पार्टी नेताहरुका दुहुना गाइ मात्र बनेका छन् ।  मैले यसो भनिरहदा मलाइ बिगत तीन दशक अघिको एउटा कुराकानी सम्झना हुन्छ । त्यो कुराकानीले मलाइ अहिले सम्म पनि गहिरो गरी छाप पारेको छ । कुराकानी यस प्रकार थियो । डा. के आइ सिंह रुपन्देही जिल्लाबाट राष्ट्रिय पन्चायत सदस्य पदका लागि भएको निर्बाचनमा बिजयी भएका थिए । निर्बाचनको परिणाम प्रकाशित हुनासाथ म उनको अन्तरबार्ता लिन उनिसंग पुगें र उनलाइ मेरो पहिलो प्रश्न थियो, डा. साहव तपाइ कसरी राजनितीमा लाग्नु भयो ?
उनले जवाफ  यसरी फर्काएका थिए —तपाइलाइ थाहै छ म चिकित्सा बिद्या पढेको मान्छे, सुनौलीमा एउटा सानो डिस्पेन्सरी खोलेर औषधी उपचार गर्दै आइरहेको थिंए । मसंग दिनमा दशौं जना उपचार गराउन आउथे, ती मध्य आठ जना अर्थात अस्सी प्रतिशत ब्यक्तिहरु खान समयमा नपाएर, सन्तुलित आहार नपाएर बिरामी परेकाहरु हुन्थे । मैले उनिहरुलाइ भिटामिनका चक्की दिनु पर्ने, जव उनिहरुले दैनिक जिबिकोपार्जका लागि चाहिने खाना समेत पाउन सकिरहेका छैनन् भने उनिहरुले कसरी भिटामिन किनेर खान सकुन् भन्ने कुराले मलाइ सधै सताइ रहन्थ्यो र म यसको  समाधानको खोजी गर्दै थिंए । अनि मलाइ लाग्यो यसको समाधान भनेको गरीबी निबारण मात्र एक हो । अनि म आफैमा ठुलो प्रश्न उठ्यो गरीबी निबारणको बाटो के त ? केही समय पछि उत्तर पाँए, गरीबी निबारणको उपाय राजनिती मात्र हो । यसरी मैले मेरो कानमा लगाएको आला फालेर राजनितीमा हुम्मीएको हूँ । उनले यो पनि भनेका थिए — यद्यपी समाजको चरित्र अनुसार राजनितीको बर्गिकरण हुने गर्छ । तर अर्को सास्वत सत्य केहो भने जबसम्म मुलुकमा राजनैतिक स्थाइत्व हुदैन तब सम्म समाजको चरित्र पनि परिवर्तन हुदैन । यसरी राजनितीले समाजको मार्ग चित्र कोरेको हुन्छ । बेलायतमा राजनैतिक स्थाइत्व छ यहाको राजनितीले समाजको मार्गचित्र कोरेको छ ता पनि बेलायतमा बसेका हामी नेपालीहरु आ आफ्नै हिसाबले संगठन बनाएर बसेका छौ । किन हामी सबभन्दा पुरानो संगठनमा सबैजना अटाउन सकिरहेका छैनौ ? झण्डै तीनसय वटा संगठन हामीलाइ किन चाहिएको छ ? यो सव हुनुको कारण नेपाली राजनितीले नेपाली समाजको मार्गचित्र कोर्न नसक्नु पनि हो ।
हामी नेपालीहरु एउटै संस्थामा नअटाउनु र नयाँ नयाँ संस्थाहरु खुलिरहेको प्रसंगमा पत्रकार नरेश खपाङ्गीमगर ग्रिनविच टाइम्समा यसरी बिष्लेषण गर्दछन् —युकेको नियम कानूनले समेत संघ संस्था खोल्न बर्जित नगरेकाले कसैले कसैलाइ संस्था खोल्न प्रतिबन्ध लगाउन सक्तैन । स्वतन्त्रताको अधिक प्रत्याभुती भएको प्रजातान्त्रिक ब्यबस्थाको जननी भनिने मुलुकमा नेपालीहरुको चेतनाको स्तर बढेर आफैले महसुस नगरेसम्म नयाँ संस्था खोल्ने हदबन्दी इन्द्रको बाउ चन्द्रले पनि रोक्न सक्तैन । नेपालीहरुको बुझाइको गति र स्तर हेर्दा अझै केही बर्ष नयाँ संस्था खुलीनै रहने छन् ।
हुन पनि हो नरेश खपाङ्गीमगरले भने जस्तै बेलायतको प्रजातन्त्रको सदुपयोग गरेका हौं वा बेलायती प्रजातन्त्रको “फुटाउ र राज्य गर” भन्ने कुटनितीबाट प्रयोग भैरहेका छौं ? जे होस्  हामी नेपालीहरु संगठित हुने नाममा भकारोमा बाधिएका भैसीको दाम्लो चुंडेर मकैबारीमा मन्द्राए जस्तै यत्र तत्र मन्द्राइ रहेका छौं । बेलायतको मात्र कुरा नभै बिश्वभर छरिएर रहेका नेपालीहरुलाइ संगठित गराउने भनि गठित गैर आबासीय नेपाली संध बेलायतमा पनि गठित छ । यो पनि बिशुद्ध बेलायतको समस्यासंग जुध्नु भन्दा पनि यो संघको केन्द्रले जे भन्छ त्यतैतिर दगुर्ने गरेको छ । घरको जग नहालीकन छानो छाउने प्रयत्न गरेको छ । छोटकरीमा भन्दा गैर आबासीय नेपाली संघ युकेले सही गन्तब्य भेट् नसकेको बुझ्न कठिन पर्दैन । यस्तै  एउटै लक्ष्य एवं एउटै गन्तब्य बिन्दू भएका भुत पूर्व गोर्खा सैनिकहरुका पनि आधा दर्जन बढी संगठन रहेका छन् । यो अवस्था श्रृजना हुनुको कारण के हो भन्ने तर्फ भने कसैले निधार खुम्च्याउने प्रयास गरेको छैन । बरु उल्टै आफु बस्ने ठाँउमा उब्जेको पिलोको खिल निचरेर फाल्नु पर्ने सास्वत सत्यलाइ स्वीकार नगरी कसैले छोइदियो भने आफुलाइ सच्याउनुको बदला बिरोधमा उत्रने संस्कारको बिकाश गरेका छौं ।
संघ संस्था खुल्नु, यसले सक्दो गतिबिधी गर्नु आफैमा अत्यन्त सकारात्मक कुरा हो तर यदि “काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर” भने झै भयो भने संस्थाका नेतृत्वदाइ ब्यक्तिहरुले आफैले आफुलाइ माफी दिन नसक्ने स्थिती नआउला भन्न  सकिन्न ।  किन भने जती जती संस्थाहरु गठन हुदै जान्छन् चुनौतीहरु पनि त्यत्तिनै थपिदै जान्छन् । जेजती संस्थाहरु खुलेका छन् तिनले आ आफ्नो ठाउबाट काम पनि गरिरहेका छन् तर पनि सबै संस्थाहरुले हामी बेलायतबासी नेपालीहरुको मुल समस्या के हो भन्ने तर्फ चिन्तन गरेको पाइदैन भन्दा अत्युक्ति हुने छैन । मेरो बिचारमा बेलायत स्थित नेपालीहरुका संघ संस्थाहरुले सर्व प्रथम बेलायतमै रहेका युबा पिढीका समस्यासंग परिचित भै त्यसको समाधान तर्फ लाग्नु पथ्र्यो । खासगरी बेलायतबासी नेपाली युवा पिढीमा दुइवटा समस्या देखा परेको छ । प्रथम आफ्नो परिचय (आइडेन्टीटी)को खोजी, दास्रो उनिहरुले समाजमा गर्नु पर्ने कम्परमाइज ।
आफ्नो परिचय (आइडेन्टीटी)को खोजी  निम्ति नेपाली युवापंती बुझेर वा नबुझेर चिन्तित छन् । उनिहरु नेपालबाट बेलायत आइ एउटा स्कूलमा भर्ना भएका छन्, भाषा, कला, सभ्यता र संस्कृति सबै कुरा फरक छ, उनिहरु सबै बिद्यार्थी सरह आफुलाइ पनि एउटै पंतिमा राख्न चाहान्छन्,जुन अत्यन्त स्वाभाबिक हो, उनिहरुसंग सायद बेलायती पासपोर्ट पनि छ तर सहपाठी बेलायती बिद्यार्थीहरुले उनिहरुलाइ सहस्र स्वीकार नगरिरहेको अवस्था छ । अर्कोतिर अंगे्रजी युवाहरु कतै बिदेशीहरुको बीचमा परेर आफ्नो परिचय वा अस्तित्व हराउने होकि भनेर डराइरहेको अवस्था छ । यसरी हाम्रा युवा समुदाय र अंग्रेजी युवा समुदायबीच बिभेद देखिएको छ । यसको समाधान निम्ति कुनै पनि संघ संस्थाले यथेष्ठ कदम चालेको थाहा लागेको छैन । यो स्थिती किन उब्जिएको हो भने हामी जब नेपालबाट हुर्केर पढेर बेलायत आयौं तब हामी मानसिक रुपमै आइपर्ने सबैखाले कम्परमाइजहरु गर्न तयार भयौं । जे जस्तो काम पाइन्छ त्यसैमा कि त चित्त बुझाएर बस्यौं कि त अरु अगाडी बढ्ने  खालका तैयारीहरु गर्यौं । अर्थात जस्तो सुकै अवस्था आइ परे पनि स्वीकार गर्ने गरिरहेका छौं तर हाम्रा छोरा छोरीहरु भने त्यस प्रकारको कम्परमाइज गर्नु पर्छ भन्ने कुरा प्रति तयार छैनन् । उनिहरुले किन त्यस प्रकारको कम्परमाइज गरिरहने ? किनकि उनिहरु पनि यही मुलुकको स्कूल, कलेज एवं बिश्वबिद्यालय पढेर शिक्षित भएका छन् । तर बेलायती समाजले अझै पनि बिदेशी मुलका बिद्यार्थीहरलाइ फरक आँखाले हेर्ने गरेको छ । यहाँ सम्मकि जागिर खोज्दा मात्र होइन स्कूल, कलेज वा बिश्वबिद्यालयमै पनि बिभेद हुने गरेका उदाहरणहरु पाइने गरेको छ । जस्तै एउटा गोरा अंगे्रज बिद्यार्थीले जत्तिकै बिदेशी बिद्यार्थीले परीक्षा फलमा अंक प्राप्त गरे पनि उसले अक्सफोर्ड वा क्याम्बरिज युनिभसिटीहरुमा भर्ना पाउन सकिरहेका छैनन् । यदि एउटा गोरा दर्खास्तवालाको तीनवटा ए आएको छ र अर्को बिदेशी बिद्यार्थीको तीनवटा ए मध्य एउटा ए स्टार छ भने पनि उनिहरुले गोरा बिद्यार्थीलाइ भर्ना लिने गरेको कुरा २७ फरवरी २०१३को गार्डियनले प्रकाशमा ल्याएको छ । अक्सफोर्ड वा क्याम्बरिज बिश्व प्रशिद्ध बिश्वबिद्यालयले बिद्यार्थीहरुलाइ अन्तरवार्ता लिएर मात्र भर्ना गर्ने कारण नै नामबाट मात्र कुन बिद्यार्थी बिदेशी मुलको हो कुन गोरा अंग्रेज हो भन्ने छुट्ट्याउन नसकिने भएकाले नै हो भन्ने कुरा पहिलेनै चर्चामा आएको हो । जुन बिद्यार्थीको नाम बाटै बिदेशी भन्ने चिनिन्छ ती बिद्यार्थीहरुलाइ अन्तरबार्ता मै नबोलाउने वा अफर नै नदिने गरेका उदाहरण प्रशस्त मेडियामा आएको थियो । गार्डियन लेख्छ — अक्सफोर्ड युनिभर्सिटीमा गत बर्ष मात्र अंग्रेज गोरा बिद्यार्थीहरुबाट परेका दर्खास्तहरु मध्य ४४.४ प्रतिशतलाइ भर्ना लिइएको र बिदेशी अर्थात एथेनिक माइनोरिटीका बिद्यार्थीहरुबाट परेका दर्खास्तहरु मध्य २२.१ प्रतिशतलाइ मात्र अफर दिइएको थियो  । (यो लेख मैले नेपाल पत्रकार महासंघ बेलायतद्धारा प्रकासित हुने प्रबासी पत्रकारिताका लागि लेखेको हुं । उक्त मुखपत्रमा प्रकासित भैसकेको छ । )

Bookmark the permalink.

2 Responses to बेलायतका नेपाली संघ-संस्थाका चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *