दुतावास भवनको अण्डरग्राउण्डदेखि टप फ्लोरसम्म

   –गोविन्द बेल्वासे

बिहानैदेखि झम–झम झरी लागेको नोभेम्वर ७, शुक्रवारका दिन १० बज्न १० मिनेट बाँकी छँदा लण्डन स्थित नेपाली दुतावास भवन पुगें। यो त्यही भवन हो जुन भवन बिक्री गर्ने चर्चाले सन् 2008मा निकै स्थान पाएको थियो। दुतावास भवन रहेको क्षेत्र कति महत्वपूर्ण रहेछ भन्ने कुरा मलाई मेरो नेभिगेटरले पनि बतायो। म दुतावास पुग्दासम्म पनि मेरो नेभिगेटरको कुरा मैले बुझिन। तर, झिपी झिपी गरेर अलिबेर पछि ट्यूवलाइट बले जस्तो गरी मेरो दिमागले पनि ढिलो गरेर त्यो नेभिगेटरको कुरा बुझ्यो। मैले नेभिगेटरमा दुतावासको सही ठेगाना हालेको थिए। त्यो गल्ती पनि भएको थिएन। तर, अग्रेजी भाषामा नेभिगेटरले मलाई जवाफ दियो– यो स्थानमा पुग्ने बाटो बताउन म असमर्थ छु। मेरो दिमागले कालो बादल घेरिएको र सिमसिमे झरीमा सेटलाइटको सम्पर्क राम्ररी नपाएर होला भन्ने सोच्यो। अलि पर गए पछि सेटलाइट सम्पर्क बन्ला र नेभिगेटरले छोटो बाटो लैजाला भनेको त दुतावाससम्म पुग्दासम्म पनि नेभिगेटरले काम गरेन। बिहानको कार्यालय समयको त्यो बाक्लो ट्राफिकमा परेर रोकिँदा पटक पटक नेभिगेटर मिलाउने र छोटो बाटोबाट दुतावाससम्म पुग्ने प्रयास जारी गर्दै आफुलाई थाहा भएको बाटो हुँदै अगाडि बढ्दै गए। लण्डन छिरिसके पछि बादल फाट्यो घाम लाग्यो तर पनि नेभिगेटरले त्यही पुरानो सन्देश दोहोर्‍याउँदै गयो। मेरी श्रीमतीले मेरो नेभिगेटरलाई दिएको दोषप्रति मैले पनि सहमति जनाए। नेभिगेटर बिग्रिएको आशंका जाग्यो। तर, अगाडि बढ्दै गए। नेभिगेटरले छोटो बाटो लैजाला भन्ने आशा पनि हरायो। तर, गन्तव्य स्थानसम्म पुग्दा ढिलो भएको रहेनछ। वास्तवमा पासपोर्ट–भिसा सेक्सनमा एउटा काम लिएर गएको थिए। तर, १० बजे मात्र उक्त शाखा खुल्दो रहेछ, त्यसैले १० मिनेट चाँडै नै त्यहाँ पुगेको रहेछु।

लण्डन भित्र क्यान्सिङटन प्यालेस गार्डेनमा अवस्थित उक्त दुतावास भवनमा म पटक पटक गएको छु। दशैका अवसरको भोजमा पनि सम्मिलित भएको छु। बिभिन्न कार्यक्रममा पनि बेलाबखत पुगेको छु। तर यस अघि म दुतावास भवनको माथिका तलाहरुमा गएको थिइन्। यस पटक भने म दुतावासको माथिल्लो तलासम्म पनि पुग्न पाँए। यस अघि भुई तला र भुई मुनिको तला (अण्डरग्राउण्ड)मा मात्र गएको थिए। दुतावासको अरु कुरा भन्दा पनि पहिला नेभिगेटरको कुरा सकिहालौं जस्तो लाग्यो। दुतावास जाने बेलामा काम नगरेको नेभिगेटरले त्यहाँबाट हिडेर पुग्नु पर्ने मेरा आफन्तको घरका ठेगानासम्म राम्रैसँग काम गर्‍यो। त्यसपछि मेरो मस्तिष्कले एउटा निश्कर्ष निकाल्यो– लण्डनको निकै महत्वपूर्ण स्थल र महत्वपूर्ण ब्यक्तिहरुको बसोवास भएका कारण सेटलाइटमा त्यो क्षेत्रलाई सुरक्षित क्षेत्रमा पारिएको हुनाले त्यो ठेगानालाई नेभिगेटरले पत्ता लगाउन नसकेको हो। क्यान्सिङ्टन प्यालेस गार्डेनको हाम्रो दुतावास भवनको ठीक अगाडिपट्टि संसारको सबैभन्दा महंगो नीजी बासस्थान छ। अर्थात लच्छ्मी मित्तलको घर छ। उक्त घर अहिलेसम्म संसारमा सबै भन्दा धेरै मूल्यमा किनबेच भएको निजी आवास हो। त्यो घर मात्र होइन बिभिन्न देशका दुतावास तथा धनाढ्यहरुको बासस्थान रहेको त्यो क्षेत्र निकै महत्वपूर्ण भएकोले निजी क्षेत्रको गोपनीयता कायम गर्न र सुरक्षित पार्न नेभिगेटरले भेट्याउने सेटलाईट संयन्त्रबाट पनि सुरक्षित पारिएको रहेछ भन्ने मेरो बुझाई रहेको छ। हाम्रो दुतावास जान छ भने दुतावासको ठेगाना होइन नजिकको अरु ठेगानाका आधारमा नेभिगेटरलाई बाटो देखाउन लगाउनु पर्दोरहेछ। सेटलाईटबाट समेत उक्त क्षेत्रलाई बाहेक गरिएबाट हाम्रो दुतावास भएको क्षेत्रको महत्व स्पष्ट हुन्छ। कन्जेसन चार्ज लाग्ने क्षेत्र भित्र पर्नु पनि महत्व दर्शाउने अर्को पक्ष हो।

यो दुतावास भवन चार तलाको छ। दुतावासमा काम गर्ने एक अधिकृत के एल भुषालले आफ्नो मन्तव्य सहित दुतावास भवन अब बिक्री नहुने निर्णय भएको अनौपचारिक जानकारी गराउनुभयो। “यो भवन बिक्री गरेको भए ठूलो गल्ती हुने थियो, यो भवन बेचेर पछि फेरि नेपालले यस्तो ठाउँमा दुतावासका लागि भवन किन्न सक्ने त सम्भावना नै रहन्न”, उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो।    हामी धेरैजसो जाने गरेको दुतावास भवनको भिसा–पासपोर्ट सेक्सन त सबैले देखे भोगेकै कुरा हो। तर दुतावास कार्यालय रहेको भुई तलाको रौनक अलि भिन्न छ। राजदुत कार्यालय त्यत्तिको हुनु न्यूनतम रुपमा आवश्यक नै हो। नेपाली कलाको झलक दिने ढोकाले राम्रै महत्व र स्तर दर्शाउँछ। तर भिसा लिन आउने बिदेशीहरुले दुतावास भवनको स्तरलाई त्यही भिसा सेक्सनको कोप्चेरो र बेलायती स्तर भन्दा निकै कमसल वातावरणलाई देखेर त्यो भवनको दुर्दशा प्रति धारणा बनाउछन् होला जस्तो लाग्यो। तर, यस अघि मैले देख्ने भोग्ने गरेको त्यो भुई मुनि तल्लाको दुर्दशामा केही सुधार भएको जस्तो लाग्यो। के कति फेरबदल भएछ भन्ने भन्दा पनि अझै पर्याप्त सुधार हुन सकेको रहेनछ भन्ने अनुभव भयो।   यस पटक भिसा लिन आएका बिदेशी र विविध काम लिएर दुतावास पुगेका नेपालीको लाइन म यस अघि त्यहाँ पुग्दा देख्ने गरेको भन्दा बढी थियो। दश बज्न दश मिनेट बाँकी छँदा नै ढोका कतिबेला खुल्ला भनेर लाइनमा बस्ने ७–८ जना भैसकेका थिए। भिसा लिनका लागि लाइनमा बसेका र भिसा निवेदन लिएर जानेहरुको संख्या देख्दा निकै उत्साहजनक लाग्यो। दुतावासका कर्मचारीसँग बुझ्दा गत बर्षको तुलनामा यस बर्ष नेपाल जानको लागि भिसा लिनेको संख्या ४० प्रतिशतले बढेको थाहा भयो। यस वर्ष एक दिनमा २ सय ३८ जना सम्मले भिसा लिएछन्। नेपालको पर्यटन विकास गर्ने उद्देश्यले बिदेशीहरुलाई विमानस्थल ९एयरपोर्ट० मा नै भिसा दिने हुनाले यहाँ भिसा लिने भन्दा अझ बढी संख्यामा त त्यहाँ पुगेर एयरपोर्टबाटै भिसा लिन्छन् भन्ने पनि जानकारी पाइयो। कतिपयले भिसा लिएर ढुक्क भएर जाने भनेर यहीँ दुतावासबाट भिसा लिँदा रहेछन्। कतिपयले एयरपोर्टमा पुगेर भिसा लिन लामो लाइनमा कुर्नु पर्ने झन्झट टार्न पनि यहीँबाट भिसा लिने गर्दारहेछन्। भिसा लिनका लागि वेवसाईटबाट आवेदन ९एप्लिकेसन० फाराम भरेर हुलाकबाट पठाएर पनि भिसा लिन सकिने ब्यवस्था रहेछ।    दुतावास भवनमा माथिल्लो तलासम्म पुग्न लिफ्ट पनि रहेछ भन्ने पनि थाहा लाग्यो। अधिकृत भुषालले त्यो लिफ्ट चढ्ने मौका पनि दिनुभयो। पूर्व युवराज दुतावासमा बस्दा त्यो भवनमा लिफ्ट जोडिएको रहेछ। त्यो लिफ्टमा तीन जनासम्म एकै पटक चढ्न मिल्ने भए पनि दुई जना भन्दा बढी चढ्दा अलि अटसमटस जस्तै लाग्यो। आवश्यक कार्यक्रम र मिटिङ आदि गर्न पर्याप्त कोठाहरु रहेको दुतावास भवनमा भुई तलादेखि माथिको तलामा राजदुतको आवास छ भने अन्य कर्मचारीहरुलाई पनि सोही भवनमा आवास गर्ने सुविधा मिलेको छ।    माथिल्लो तल्लासम्म पुग्दा, भवन धेरै पुरानो भए पनि मजबुत नै रहेको जस्तो भान हुन्थ्यो। राजदुतको आवास तर्फ जाने भर्‍याङमा राम्रो र स्तरीय गलैचाले भवनको इज्जत ढाकेको देखिन्थ्यो भने अर्को लिफ्टसँगको भर्‍याङ भने साँगुरो त थियो नै कारपेट पनि थिएन। भवनका भित्ताहरुले रङ्ग रोगन लामो समयदेखि नपाएको गुनासो गरिरहेका थिए तर खासै फोहोर भने रहेनछ। अलि जोडले चलेको बतासका कारण ती काठका फ्रेम भएका पुराना झ्यालबाट क्वाई क्वाई आवाज आइरहेको थियो। माथिल्लो तल्लाको सिलिङमा केही दागहरु देख्दा माथि छानाबाट चुहिएको पानीका थोपाले पारेको भान भए पनि पानी चुहेर हैरान हुने अवस्था भने देखिएन। कुराकानीका क्रममा भवन मर्मत हुँदै गरेको पनि थाहा भयो।    बिशेष महत्वको ठाउँमा अवस्थित भवन भएकाले पनि मर्मत गर्न समेत बिशेष प्रकृया पुर्‍याउनु पर्ने भएकोले मर्मत कार्य सामान्य भन्दा केही खर्चिलो हुनु त स्वभाविक नै हो। भवनका पछाडि हाइड पार्क हुनु पनि भवनको एक अर्को सकरात्मक पक्ष रहेको छ।

लण्डनको मुटुमा नेपालको झण्डा फहराउने र नेपाली पहिचान सहितका कला र बुट्टा झल्कने दुतावास भवनको अवस्था हेर्दा आवश्यक मर्मत र रङ–रौगन सहितको व्यवस्थापन गर्न सके भिसा तथा पासपोर्ट शाखालाई भुई तलाको कोप्चेरोमा नै राखिरहन आवश्यक छैन भन्ने भान भयो। कुनै समयमा राजा महाराजाहरुका लागि भिसा र पासपोर्ट लिन आउने रैतिहरु पुग्ने त्यो कोप्चेरो ठाउँ सुहाएको थियो होला। तर अहिले सार्वभौम नागरिकहरु काम लिएर पुग्ने र देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने पर्यटकहरु भिसा लिन आउँदा त्यो कोप्चेरो ठाउँमा पुर्‍याउनु उचित जस्तो लागेन। बरु अलि राम्रो कोठामा त्यो शाखा सार्न सके राम्रो हुन्छ जस्तो भान भयो।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *