डाबर इन्डिया र श्री वैद्यनाथले अझै औषधि फिर्ता गरेका छैनन्

औषधिको नाममा ब्याक्टेरिया बिक्री गर्ने बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले बजारमा पठाएका ब्याक्टेरियासहितको औषधि अझै फिर्ता गरेका छैनन् । औषधि व्यवस्था विभागले गरेको अनुगमनमा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरीया फेला परेको थियो ।

आयुर्वेदिक औषधिमा ब्याक्टेरिया फेला परेपछि विभागले दुवै कम्पनीका नेपाल डिलरलाई बजारमा रहेका औषधि फिर्ता गर्न निर्देशन दिएको थियो । तर, दुवै कम्पनीले अझसम्म औषधि फिर्ता गरेका छैनन् । नियमानुसार समस्या देखिएका औषधिको ब्याचको सबै संख्या बिक्री–वितरणमा रोक लगाइन्छ र बजारमा रहेका सबै औषधि फिर्ता गर्नुपर्ने हुन्छ । औषधि उत्पादक कम्पनीले बजारबाट फिर्ता गरिएका औषधिको संख्या र नमुना विभागमा जानकारी गराउनुपर्ने हुन्छ । तर, डाबर र वैद्यनाथले विभागको निर्देशनको बेवास्ता गरिरहेका छन् ।
दुवै कम्पनीले बजारबाट फिर्ता गराइएका औषधिबारे जानकारी नदिएपछि विभागले ती कम्पनीका समस्या देखिएका औषधिको आयातमा रोक लगाएको विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए । ‘औषधिमा समस्या देखिएकाले आयातमा रोक लगाइएको छ,’ उनले भने, ‘ती ब्याचका औषधि फिर्ता गर्न भने पनि अझै हामीलाई कम्पनीले जानकारी दिएका छैनन् ।’ उनका अनुसार विभागले पत्र पठाएपछि अनिवार्य रूपमा उत्पादकले ती ब्याचका उत्पादन फिर्ता गरिएको परिणामबारे जानकारी गराउनुपर्ने नियम छ । डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तीनकुनेस्थित लुना ट्रेडिङ कम्पनीले डिलरको अनुमति लिएको छ भने वैद्यनाथको रौतहटको गौरमा रहेको राजेश मेडिसिन प्रालिले ।
विभागका अनुसार डाबरको एएल ०९२ ब्याचको त्रिफला चूर्ण, एएल ०७३३ नम्बर ब्याचको लवणभाष्कर चूर्ण, एएल ०००४ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण, एएल ००२७ नाम्बर ब्याचको सतवरयादि चूर्ण, एएल ००४ नम्बर ब्याचको अश्वगन्धा चूर्ण, एएल ००६६ नम्बरको पञ्चसकर चूर्ण र एएल ००३१ नम्बरको तल्लिसदि चूर्णमा ब्याक्टेरिया फेला परेको हो । त्यस्तै, वैद्यनाथको ब्याच नम्बर ४ को प्युशानुग चूर्ण, ब्याच नम्बर ३ को महासुदर्शन चूर्ण र ब्याच नम्बर ६ को चोपचिन्यादि चूर्णमा ब्याक्टेरिया फेला परेको हो ।
चिकित्सकका अनुसार प्युशानुग चूर्ण महिलाको तल्लो पेट दुख्दा, अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक र लावनभाष्कर पाचनको उपचारका लागि प्रयोग गरिन्छ । त्यसैगरी, चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी, अश्वगान्ध चूर्ण निद्राका लागि र तनाव कम तथा शीतोपलादी चूर्ण खोकीको उपचारमा प्रयोग गरिन्छ । ग्यास्ट्रिक, महिलाको तल्लो पेट दुख्दा खाने औषधि, पाचन प्रणालीको, छालासम्बन्धी एलर्जीको, निद्राको, तनाव कम गर्ने, खोकीको, खाना पचाउने तथा मिर्गौलालगायत रोगको उपचारमा प्रयोग गरिने औषधि मापदण्डविपरीत निम्नगुणस्तरको र मिसावटयुक्त पाएपछि औषधि व्यवस्था विभागले ती औषधिलाई फिर्ता गरी तत्काल नष्ट गर्न औषधि उत्पादन कम्पनीलाई पत्र पठाएको हो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *