अपराधको जगमाथि

-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

“हिजो जेनेभा सन्धी, यातनाविरुद्धको महासन्धी र मानवताविरुद्ध अपराधको महासन्धी भनेर हामीले जति चिच्याई-चिच्याई हल्ला गर्ने अरु को थियो होला र ? तर, यी महासन्धीहरु यति कडा र सम्बेदनशील होलान् भनेर मैले अनुमान गरेको थिइन।” आज हिसिलासमेत् नभएकोले एक्लै रहेको मौकामा डा. बाबुराम भट्टराईजीले मनोसम्बाद गर्न थाल्नुभयो। सोच्नुभयो, “अस्ति वेलायतले कुमार लामालाइ पक्डेपछि वुझ्दा पो धेरै कुरा थाहा पाएँ। अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुश, पू्र्व उपराष्ट्रपति डिक चेनी, सेनापति कोलिन पावेलहरु अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गर्ने करिव १०० देशको भ्रमण गर्न नसक्ने रहेछन्। सन २००३मा सियरालियोनको अदालतले लाइबेरियाका राष्ट्रपति चार्ल्स टेलरमाथि पक्राउपुर्जी जारी गरेछ। बेलायतको अदालतले डिसेम्बर १२, २००९मा इजरायलका पूर्वमन्त्री टिजिपी लिभ्नीविरुद्ध पक्राउपूर्जी जारी गरेको रहेछ। यो स्थितिचाहीं अलि डरलाग्दै ठानें। आफ्नो देशका यी छुसेमुसेहरुलाइ त ह्याकुल्लाले नै पेलिदिन्छु भनेर अघि बढिरहेको थिएँ। ह्याकुल्लाले मात्रै किननि, कुइनालेपनि ठेलेकै हो। देशभित्र हाम्रो अगाडी शीर ठाडो पारेर हेर्न सक्ने ह्याऊ कस्को छ र ? अहिले मेरो क्वार्टर बाहिर चलिरहेको “अकुपाई बालुवाटार” धर्ना त हार्मलेस शाकाहारी कार्यक्रम हो। त्यहाँ त हिजो प्रधानमन्त्री हुँदा अपराधीका मुद्दा फिर्ता लिने माधव नेपालका कार्यकर्तापनि आएकै छन्। अस्तिको दिन पर्खालबाहिर हिसिलाले ती धर्नाकारीहरुसँग बसेर नारा लगाईरहँदा हामी त्यही पर्खालभित्रपटी बसेर ती सबै अपराधीका मुद्दा फिर्ता लिने बिषयमा तैयारी गर्दै थियौं जो हाम्रो पार्टीमा (मेरो समूहमा) प्रवेश गर्न समर्पित भएर आएका थिए। यो “अकुपाई बालुवाटार” जति सुकुमारी देख्छु, त्योभन्दा निकै कठोर देखिरहेछु “म्याकाट (अपराध र भ्रष्टाचारविरुद्ध अभियान-नेपाल)” को अभियान। ‘म्याकाट’ले त अपराधी र भ्रष्टाचारीलाइ संरक्षण गर्ने नेताहरुलाइ समेत् सामाजिक बहिस्कार गर्ने नारा अघि सारेको छ। यिनीहरुको अभियान सफल भयोभने त हाम्रो विचल्ली नै हुन्छ। तर, यिनीहरुको अभियान सफल हुँदैन। नेपाली जनता समृद्धशाली र शक्तिशालीकै पछि लाग्छन्। त्यसैले यस्को चिन्ता छैन। चिन्ता त अन्तर्राष्ट्रिय कानुनको पो छ। ती महासन्धीहरुमा नेपालले हस्ताक्षर गरेको रहेछ। हस्ताक्षर गर्नुको अर्थ ती अपराधमा कार्यवाही गर्न विश्वव्यापी अधिकारक्षेत्रलाइ स्वीकारेको हुँदोरहेछ।”
फोनको घण्टीले डिस्टर्ब ग-यो। बाहिर पिएहरुलाइ फोन रिसिभ गर्दिन भनेको थिएँ। ए, यो त हटलाइनमा मुक्ती प्रधानको फोन रहेछ। फोनबार्ता सकिएपछि फेरी घोत्लिए। सोच्न थाले, “सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रस्ताव भैसकेकोले डेकेन्द्रका हत्यारालाइ कार्यवाही गर्न मिल्दैन भनेर पत्र लेखिदिएँ भन्नलाइ फोन गरेका रहेछन्। यो आयोगपनि ‘सोम शर्माको सातु’ भएको छ। सत्यतथ्य पत्ता लगाउन भन्दापनि सबै अपराधीलाइ उन्मुक्ति दिने हिसाबले आयोगको मस्यौदा गरिएको छ भन्ने भित्री कुरा जनताले र अन्तर्राष्ट्रिय जगतले थाहा पायोभने हाम्रो मुक्ती प्रधानजीको कवचपनि फास्सफुस्स हुन्छ। यी मुक्तीजी पनि दुस्साहसी छन्। हाम्रा प्रभु साहमाथि काशी तिवारीको हत्या गरेको अभियोग थियो। सरकारी वकीललाइ दबाव दिएरै अभियोगपत्रबाट नाम निकालिदिए। अहिलेसम्म १७१५ जना अभियुक्तहरुको मुद्दा फिर्ता लिइसकें। यस काममा पनि मुक्तिजीले सहयोग गरे।” मन अलि हल्का जस्तो भएकोले मनोसम्बादलाइ एकछिन स्थगित गरे। फेरी कुमार लामाको झझल्कोसँगै अन्तर्राष्ट्रिय कानुन सम्झन पुगे। मनोसम्बादको शिलशिला फेरी जोडियो। सोचे, “विश्व्यापी अधिकारक्षेत्र ग्रहण गरी कार्यवाही गरियोस् भनि ३५० भन्दा बढी उजुरी परेको छ’रे भन्ने सुनें। एड्भोकेसी फोरमकी मन्दिरा शर्मा, इन्सेकका सुबोधराज प्याकुरेलहरुको काम हुनुपर्छ। ‘म्याकाट’का विकास खँड्का पनि मैदानमा उत्रिसकेको छ। उस्लेपनि हामीलाइ वाँकि राख्दैन।” अघि अलिकति हल्का भएको मन फेरी भारी हुन थाल्यो। यसैमा घोत्लिरहँदा टाउको दुख्लाजस्तो भयो। मनोसम्बादलाइ यहीं ब्रेक लगाए, र फ्रेस हुन बाहिर बगैंचामा निस्के।
जनवरी 14, 2013 (उनको फेसबुकबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *