क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

Govind-Belbase– गोविन्द बेल्वासे

अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी। कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ। क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन नजाने ‘काउछो’सरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन। यसका सम्बन्धमा सबैसंग आ–आफ्ना अनुभव होलान नै। मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन, तर पनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला ।

क्रेडिटकार्डको सवै भन्दा जान्नु पर्ने विषय भनेको यसबाट खर्च गरिएको रकम तिर्ने दिन हो । ब्यालेन्स रकमलाई तरिका मिलाएर तिर्न जाने यसले फाइदा दिन्छ, ब्याज तिर्ने खर्च पर्दैन । यदि ब्यालेन्स तिर्नु पर्ने दिनमा भुक्तान नगरेर ब्याज तिर्न पर्यो भने काउछोले जस्तो पोल्छ । मूल कुरो के हो भने क्रेडिट कार्डको ब्याज दर सारै नै महँगो हुन्छ । त्यसैले ब्याज नलाग्ने समय सीमा पहिचान गरेर कुन दिनसम्ममा ब्यालेन्स भुक्तान गर्दा ब्याज लाग्दैन भन्ने किटान गर्न सवैभन्दा जरुरी हुन्छ ।

मेरो अनुभवः पहिलो पटक मेरो हातमा क्रेडिटकार्ड परेपछि एक महिनासम्म ब्याज तिर्न पर्दैन भनेर त्यसैबाट किनमेल गरें । एक महिनापछि स्टेटमेन्टमा देखिएको ब्यालेन्स पनि तिरें । फेरि दोस्रो महिना पनि त्यही क्रेडिटकार्डबाट किनमेल गरें । अर्को महिना फेरि यसबाट किनेको जति रकम तिरुँला भन्ने सोचें । तर अर्को स्टेटमेन्ट आउँदा त त्यसमा ब्याज पो जोडेको रहेछ । कार्ड कम्पनीले गल्ती गर्‍यो भन्ने लाग्यो । त्यसैले फोन गरे कस्टोमर सर्भिसमा । अनि बल्ल चुरो कुरो थाहा पाएं । न अङ्ग्रेजी क्यालेण्डर न नेपाली क्यालेन्डरको महिना हुँदो रहेछ त्यो ब्याज नलाग्ने महिना त । ब्याज नलाग्ने एक महिना भनेको त अघिल्लो स्टेटमेन्टदेखि अर्को स्टेटमेन्टसम्मको समय पो रहेछ। क्रेडिटकार्डको स्वादको महिना पो हुँदो रहेछ । त्यति कुरो जान्न पहिलो महिनाको ब्याज तिर्न पर्दा ल, यही फीस तिरेर यति कुरा जाने भनेर सन्तोष लिएँ । एक मनले त यो जाबो चलाउँ कि नचलाउँ जस्तो पनि भयो । पैसा नहुँदा ब्याजै तिरेर पनि त क्रेडिट कार्डबाट काम चलाउन पर्ने अवस्था पर्न सक्छ भन्ने पनि लाग्यो । कार्ड कम्पनीले चाही डाइरेक्ट डेबिट गरेर सवै ब्यालेन्स भुक्तान गर्न उक्साउँदा रहेछन त्यसो गर्न पनि उचित ठानिन । सवै ब्यालेन्सको डाइरेक्ट डेबिड गर्दा खातामा पैसा नभएको बेला तिर्ने दिन पर्यो भने झन ब्याङ्कले चर्को जरिवाना ठोक्छ । उता क्रेडिट स्कोर पनि बिग्रन्छ भन्ने डर लाग्यो ।

क्रेडिट कार्ड चलाउन थालेको धेरै बर्ष भैसक्यो। अव भने क्रेडिट कार्ड चाही चलाई राख्छु । सुरु–सुरुमा यो चलाउन सिके बापतको ब्याज चाही थोरै–धेरै तिरेको छु। आजभोलि चाही दुईवटा त्रेडिटकार्डलाई समय मिलाई–मिलाई चलाउनु र ब्याज तिर्दिन ।

अर्को एउटा तरिका सिक्न पनि झण्डै फिस तिरेको थिएं । तर, झगडा गरेर फुरसद पाएं । झगडा पनि नेपालीमा गर्न पाए त सजिलो हुन्थो नि अङ्ग्रेजीमा झगडा गर्न पनि मलाई त कनिकुथी नै हुन्छ, के गर्नु बाउबाजेको भाषा परेन । तर जे होस जनतन गरें गाठे । भयो के भने ब्याज–स्याजको झन्झट भन्दा जाबो क्रेडिटकार्ड नचलाउन पर्‍यो भनेर चुपलागि बसेको थिए। एउटा स्टेटमेन्टमा त चार्ज भनेर तीन–बीस (६० पाउण्ड) रकम ठोकेर पठाएछ । फेरि कनी कुथी अङ्ग्रेजीमै कस्टोमर सर्भिसमा फोन गरें । आफ्नो जन्मदिनदेखिका नालीबेली बताए पछि बल्ल तेरो कुरो भन भनी खैरेनीले । केको चार्ज सार्ज हो दिन्न मैलेत भनेर तर्क गरें । उसले मेरो कुरा धार्जे सुनेपछि भन्न थाली– “छ महिनासम्म तेरो त्रे्कडिटकार्डबाट कुनै किनमेल नभएको र बर्षमा पाँच सय पाउण्ड भन्दा कम किनमेल गरेको हुनाले बार्षिक–फी तिर्नु पर्छ” । तर बर्षमा पाँच सय पाउण्ड भन्दा बढीको किनमेल गरेको खण्डमा चार्ज नलाग्ने पनि बताइ । चार्ज तिर्न पर्ने भए मेरो कार्ड क्यान्सिल गर मलाई चाहिन्न भनेपछि उसले एक पटकलाई त्यो चार्ज छुट हुने बताई। तर, छुट गर्न भन्दा पहिला मलाई एकछिन होल्डमा राखी, त्यसपछि सुपरभाइजरबाट छुट दिन अनुमति भएको भन्दै एक पटकलाई त्यो चार्ज छुट गरेर कार्ड चाही बदर नहुने भयो । उनीहरुको नाटकै हेला भन्ने ठाने मैले । त्यसपछि भने ब्याज र चार्ज तिर्न परेको छैन तर किनमेल चाही क्रेडिट कार्डबाट गर्छु र समय मै तिर्छु ।

अमेरिकन एक्सप्रेशको क्रेडिट कार्डले भने पहिला केही वर्ष किनमेल गरेको रकमको एक प्रतिशत क्यासब्याक दियो । पछि एक महिनासम्म ब्याज नलिने तर क्यासब्याक नदिने भयो । त्यसपछि बार्षिक चार्ज लिने भनेपछि कार्ड नै बदर गराएँ । न रह्यो बासँ न बज्यो बाँसुरी ।

अलि वर्ष पहिलेको कुरो हो क्रेडिट कार्डले विना ब्याजको एक वर्षसम्म क्रेडिट दिन्छु, सुरुमा २.९९ प्रतिशत हेण्डलिङ फी (चार्ज) लाग्छ त्यसपछि महिनाको ५ प्रतिशत रकम हरेक महिना तिर्नु र्पछ भनेर जिस्काएको जिस्काई गर्यो । त्यही देखेर मैले पनि नआँटेपनि हुने कारोबार आँटे । तिर्ने बेला एक वर्षमा आइहाल्यो । तिर्न पैसा भएन । फेरि कनि कुथी नेपालबाट पैसा ल्याएर तिरेँ नत्र चर्को न चर्को ब्याज पर्ने हुन्छ, के गर्नु त ! त्यसपछि यो क्रेडिटकार्डको बिनब्याजे रकम पनि लिन छाडें । ‘अगुल्टोले हानेको कुकुर विजुलीदेख्दा तर्सन्छ” भने जस्तै भएको छ। त्यसैले साथीमाइहरुलाई बिनब्याजे पैसा दियो क्रेडिट कार्डले भनेर चिल्लो गाडीमा आँखा नलाउनुस भन्छु । तर, योजना बनाएर भुक्तानी गर्ने मितिमा पैसा नअड्कने छ भने सित्तैको पैसाबाट काम चलाउँदा पनि मुर्खचाही बनिँदैन भन्छु म त ।

अहिलेको मेरो चलन के छ भने एउटा कार्डको स्टेट्मेन्ट आएपछि त्यो सवै रकम तिर्छु । त्यो महिना त्यो कार्ड चालउँदै चलाउन्न अर्को कार्ड चलाउँछु । अनि अर्को स्टेटमेन्टमा सुन्ना ब्यालेन्स आउँछ । अड्को पड्को तेलको धुप पनि कामलाग्छ भनेर क्रेडिट कार्ड धानिराख्ने नसा पनि लागेको छ मलाई त।

कहाँ चलाउने कहाँ नचलाउने त ?

प्रसंग अलि फेरौ अब । यो क्रेडिट कार्डको ठगी प्रकरण पनि चर्कै पो सुनिन्छ । अझ इन्टरनेटमा कार्ड नम्बर हाल्यो सामान किन्यो गर्न प्रविधिको सुविधा पनि बनेको छ । तर ठगहरुलाई ठग्न सजिलो पनि पारेको छ । हेक्का राख्न सके सवै तिर ठग मात्रै पनि छैनन् । तर, के गर्ने के नगर्ने भन्ने विषयमा चलाखी गर्न भने जरुरी छ । इन्टरनेट फिसिङ र भाइरसबारे अतिआवस्यक जानकारी छैन भने इन्टरनेट तिर कार्डनम्बर नचलाएकै राम्रो । इन्टरनेट सुरक्षाको सामान्य जानकारी छ भने सुरक्षित कम्प्यूटरमा क्रेडिटकार्डबाट कारोबार गर्दा फरक पर्दैन भन्ने नै मेरो अनुभव छ । ठगहरुले त पुलिसलाई पनि छक्काउँछन भने सधै सत्प्रतिशत सुरक्षित हुन त गाहरो छ तै पनि कतिपय गठीको मामलामा त कार्ड कम्पनीहरुले नै ठगिएको रकम फिर्ता पनि गर्छन । होस पुर्‍याउन पर्छ डराइहाल्न पर्दैन ।

प्लेन भाडा क्रेडिटकार्डबाट तिर्ने सम्बन्धमा !

बिस्वासिलो कम्पनीहरुसंग क्रेडिट कार्डबाट कारोबार गर्न सुरक्षित हुन्छ। किन कि कारोबारको विस्वासको कारणले गर्दा ठगी भएमा त्यस्ता कम्पनीहरु नै जिम्मेवार हुन्छन् । आफूले जानेबुझेको कम्पनी होइन भने नगदमै कारोबार गर्दा राम्रो हुन्छ । कतिपय कम्पनीहरु ग्राहकबाट पैसा लिइसकेपछि कम्पनी टाटपल्टाएर (लिक्विडेसन) ग्राहक ठग्ने पनि हुन्छन् । त्यस्ता ठग उद्देश्य राखेका कम्पनीहरुले अरुकोभन्दा कम मुल्य गर्ने तर ग्राहकलाई सस्तोको लोभ गर्दा ठूलै घाटा लाग्ने अवस्था बनाउँछन् । त्यस्ता कम्पनीसंग त नगदमै पनि कारोबार गर्न हुँदैन ।

प्लेन भाडा तिर्दा क्रेडिट कार्डले केही चार्ज लिने गर्छ । एयरवेज अनुसार फरक नियम पनि भेटिन्छ । कतिपय क्रेडिट कार्डहरुको अफर राम्रो छ भने त्यस्तो चार्ज तिरेरै पनि क्रेडिट कार्डबाटै टिकट किन्दा फाइदा हुन्छ । तर कार्डको सर्तहरुमा ध्यान दिनु पर्छ । उदाहरण– यदि क्रेडिट कार्डबाट टिकट किन्दा ट्राभल इन्सोरेन्स कभर हुने रहेछ भने कार्डबाट तिरे बापतको चार्ज तिर्दा पनि अफु फाइदा मै भइन्छ । तर सवै कार्डमा त्यस्तो सुविधा हुँदैन । कुनैमा हुन्छ कुनैमा हुँदैन । आफ्नो क्रेडिट कार्डमा त्यो सर्त र अफर छ छैन आफैले बुझ्नु पर्दछ । कतिपय एयरवेजहरुले भाडा सस्तो देखाउने तर डेभिड वा क्रेडिट जुनसुकै कार्डबाट पैसा तिर्दा पनि चर्को चार्ज लिने गर्न थालेपछि बेलायत सरकारले लिन पाउने चार्जको सीमा तोकिदिएको छ । खास गरी ‘बजेट–एयर’हरुमा सस्तो भाडा देखाएर ग्राहक लोभ्याउने तर, कार्डबाट पैसा तिर्दा चर्को मुल्य लिने घुमाउरो बाटो अपनाएर पैसा कमाउने उद्देश्य राखेको पाइन्छ । आखिर सवै कम्पनीहरुको उद्देश्य त नाफ कमाउने नै हुन्छ । पैसा कमाउने ग्राहक चुसेरै हो । आखिर थुत्दा मन दुखाउने कि फकाएर थुत्ने भन्ने मात्र हो । सामान्यतया हवाई टिकटको पैसा डेभिड कार्डबाट तिर्दा चार्ज नलाग्ने क्रेडिटकार्डबाट तिर्दा दुई प्रतिशत चार्ज लाग्ने गर्छ ।

तपाईले जानेको अरु कुरा मलाई पनि बताउनुस है ।

Bookmark the permalink.

2 Responses to क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

  1. मेरो लेखाइलाइ सकारात्मक ठानेर प्रकाशन योग्य ठान्नु भएकोमा अभारी छु । पत्रकारीता ब्यवसायिक भन्दा पनि ब्यापारिक बढी बन्दै गएको बर्तमान अवस्थामा मैले असहज अनुभव भने गिररहेको छु । यसै सन्धर्वमा कलमको परिश्रमलाइ ब्यवसायिक बनाउने प्रयास गर्नको लागि फ्रि–लायन्स कलमको महत्व स्थापित गर्ने विषयमा तपाइको सहयोगको आशा गर्दै छु ।

    यो लेख प्रकाशित गर्न म सकारात्मक छु । तर, लेखाइको मूल्यबापतमा हेल्प नेपाललाइ सहयोग हुने गरी थोरै भए पनि यसको परिश्रमिक भुक्तान गरिदिनुहुन आग्रह गर्न चाहन्छु । फ्रिलायन्स लेखनलाइ पनि ब्यवसायिक बनाउने प्रयाशको सुरूवात सम्झेर ५ – १० पाउण्ड मात्र भए पनि ब्यवस्थापनले तिर्ने चाजो मुलाउन आवस्यक ठानेर यो अग्रह गरेको हुँ । त्यो रकम भने सिधै हेल्प नेपालमा जाने गरी भूक्तानी ब्यवस्था मिलाउन सकियो भने उत्तम ठहरिएला । पत्रकार साथीहरूको असहजता र मर्म मैले महसुस गरेको छु तर लेखन बापतको पारिश्रमिक ब्यवस्थापनबाट हुनसक्ला भन्ने मेरो आशा हो ।

    च्यारिटी हुने गरी पारिश्रमिकको ब्यवस्था हुन सके यस लेखनलाइ प्रकाशन हुने ब्यवस्था गरी दिनु भएमा कृतज्ञ हुने छु ।

  2. Deepak Neupane says:

    Very worthy and informative reading. If you are going to do business in others money, do in-depth research on operation and utilisation of credit cards. Which is a best tool of business for a person who does not have money but have smart thinking and can analyse empirically.

    Thank you Belbaseji and shashiji.

Leave a Reply

Your email address will not be published. Required fields are marked *