हाम्रो परम्पराको हत्या

Friendship-शशी पौडेल
लण्डन, पेरिस वा अन्य ठुला शहरहरुमा यदि कसैले आफ्नो गाडी पार्किंग गर्न ठाँउ खोजी रहेको छ भने उसले थुप्रै खाली पार्किंग स्पेशहरु देख्ने छ तर ती सबैमा रिजर्व भनी लेखेका । यता घुम्यो उता घुम्यो जताततै ब्यस्त । ब्यस्त यस मानेमा कि ठाँउहरु खाली छन् तर रिजर्व भनि लेखेका । तर यदि उसको साथमा स्मार्ट फोन छ भने त्यसले भने ठाँउ पाउने छ । पार्कएटमाइहाउस् डट कम मा सम्पर्क गरेर । घण्टाका दरले भाडा तिरेर पार्किंग स्पेस प्राप्त गर्न सक्ने छ । यसरी पनि पैसा कमाउने सयौं उदाहरणहरु मध्य एउटा हो यो ।
“सेयरिंग इकोनोमी” हाम्रो समाजमा देखा परेको यो नयाँ झुकावले अर्थतन्त्र र सामाजिक सम्बन्धको बिकाशमा भिन्नता ल्याएको छ । यसको सिद्धान्त एकदम सामान्य छ । उपभोक्तहरु उपभोग्य  बस्तु प्रयोगमा ल्याउन चाहान्छन् तर ती सामानहरु आफैले जम्मा गर्न प्राय असम्भव गराएको छ सेयरिंग इकोमिक्सको बिकाशले ।
हामी बैंक मार्फत मोर्गेजमा घर लिन्छौं । अनि घरका हरेक कोठा शेयर गर्छौ । उपभोक्त आफैले किन्दैन अपितु प्रयोग गर्छ र आफुलाइ सजिलो हुने बाटो रोज्दछ । हामीलाइ आबश्यक पर्ने खानपानका सामान पनि हामीले ठुला सुपर मार्केटबाट किन्ने गर्छौ नकि साना पसलहरुबाट । जसको कारणले पुराना र परम्परागत ब्यवसायहरु मर्दै गैरहेका छन् र ठुला लगानीकर्ताहरुका ठुला ब्यवसायहरु फस्टाउदै गैरहेका छन् । यो हाम्रो परम्पराको अन्त्य र नयाँ परम्पराको बिकाशको एउटा प्रोसेश हो । जसरी हरेक बस्तु निरन्तर प्रोसेशबाट बिकाश हुदै जान्छ ।
“सेयरिंग इकोनोमी” अहिले मानव सभ्यताको एउटा पाटो बनिसकेको छ । पहिले पहिले हामी छुट्टी मनाउदा होटेलमा बास बस्नु पर्दा होटेलमै गएर कोठा भाडामा लिने गथ्यौं । होटेलवालाले पनि बास बस्न आएको पाहुनालाइ देखेर चिनजान गरेर उबाट एउटा अन्तरंग तस्वीर बनाएर बेड खाली भए नभएको निर्णय गर्न सक्थे । अर्थात समाजमा ब्यक्ति ब्यत्तिको सम्पर्कबाट काम हुने गथ्र्योै । तर अहिले इन्टरनेटबाट । यद्यपी इन्टरनेटको आफ्नो होटेल संसारभर छैन ता पनि उसको संसारका लाखौं होटेलहरुमा कोठा उपलब्ध छ । “सेयरिंग इकोनोमी”का यस्ता केही सरल पक्ष्य भए पनि यसले हाम्रो परम्पराको हत्या गरेको छ । मानिस सामाजिक प्राणी हो तर पनि समाजमा एक आपसको सर सम्पर्कबाट मानिसलाइ टाढा गराएको छ “सेयरिंग इकोनोमी”ले ।
मानवमा हुने एक अर्का प्रतिको बिश्वासमा संकट पैदा गराएको छ । निश्चित रुपमा पनि नेटको बिकाश हुनु भन्दा पहिले जुन बिश्वास थियो त्यो रहन सकेन । अमेरिकाको एक अनुसन्धान अनुसार १९७२ सम्म मानिसको एक अर्काप्रति झण्डै ५० प्रतिशत बिश्वास रहेको थियो भने अहिले आएर त्यो बिश्वासको मार्जिन ३२ प्रतिशतमा खस्केको छ । इन्टरनेटले ब्यक्ति ब्यक्तिबीचको बिश्वासको हत्या गरेको छ । र ब्यक्ति र समाजबीचको बिश्वासलाइ “मासबिलिभ”मा परिणत गरेको छ ।
हाम्रो समाजले अहिले हाम्रै समाजप्रति बिश्वास गर्दैन तर इन्टरनेटको भने बिश्वास गर्दछन् । अनि नेटको बिकाशले मानिसको आत्मनिर्भरताको पनि हत्या गरेको छ । मानिस आफैले थुप्रै कुराहरु सम्झिनु पर्दैन अहिले । पहिले हामी बीसौं टेलिफोन नं बैंक खाता नं आदी आफ्नो दिमागमै राख्थ्यौं । तर अहिले एउटा पिन नं सम्झ्यो अनि संसार हातमा । यसले हाम्रो परम्परागत सम्झना शक्ति र हाम्रो क्रियाशील मस्तिस्कको हत्या पनि गरेको छ ।
केही समय अघि मेरा एक अभिन्न मित्रकी छोरीले जन्म दिएर पालन पोषण गरेका आमा बाबुलाइ बिश्वास गरिनन् । तर उनले फेसबुकलाइ बिश्वास गरिन् । र उनले आफुले प्रत्येक्ष कहिल्यै नदेखेको  तर फेसबुक मार्फत चिनजान भएको एक युवासंग बिहे गर्न हवाइ दुरी ५ हजार माइल टाढा पुगिन् । यसप्रकारको परिवर्तित बिश्वासको पनि आफ्नै ब्याख्या छ । यही परिवर्तित बिश्वासका कारण ठुला ठुला टेक्नोलजीका ब्यापारीहरुले मुनाफा कमाएका छन् । यसलाइ मैले “बथान बिद्योता”को नामाकरण गरेको छु । जव हाम्रो दिमागमा बथान बिद्योताले घर गर्न थाल्छ तव हाम्रो बिश्वास अर्को कुनामा गएर थुप्रिन थाल्छ ।
हाम्रो परम्परागत मूल्य र मान्यतामा पनि यसले ठुलो परिवर्तन ल्याएको छ । मैले बाल्यकालमा एउटा शिक्षाप्रद कथा संस्कृत भाषमा पढेको थिंए । कथा लामो छ तर पनि यहाँ छोटकरीमा “एक बृद्ध जोडीका तीनभाइ छोराहरु रहेछन् । अनि उनको तीनलाख बराबरको सम्पत्ती पनि रहेछ । त्यस मध्य एकलाख नगद, एकलाख बराबरको सुन चाँदी र एकलाख बराबरको जग्गा जमीन ।  अनि ती बृद्ध जोडीका एकलाख इष्टमित्र, साथीभाइहरु सम्पर्कमा रहेछन् ।
बृद्ध जोडीले ती तीनै छोराहरुलाइ एकसाथ बोलाएर भनेछन् बाबु हो हामीसंग तीनभाइ छोराहरु छौ र हामी बुढा बुढी पनि छौं । त्यसैले हाम्रो सम्पत्ती चार भाग लगाउनु पर्छ ।  र हामीसंग तीनलाख बराबरको सम्पत्ती  छ  र एकलाख इष्टमित्र छन् । मैले मेरा इष्टमित्रलाइ पनि सम्पत्तीका रुपमा अंशबन्डामा एक भागका रुपमा लिएको छु । ल तिमीहरुले रोज हामी बुढाबुढीले तिमीहरुले छोडेको चाँही लिने छौं ।
जेठो चाँही छोरो सवभन्दा पहिले बोल्यो र भन्यो म नगद लिन्छु र केही ब्यावसाय गरेर बस्छु । एकलाख नगद लिएर उ टाप कस्यो । माहिलो चाँहीले सुन र चाँदीको ठुप्रो रोज्यो । अव कान्छो चाँहीको पालो आयो । एकै छिन सोंचेर कान्छो छोराले भन्यो, आमा बाबा म हजुरहरु रित्तो हात लिएर घरबाट बाहिर गएको देख्न चाहान्न । हजुरहरुले एकलाख बराबरको जग्गा जमीन र घर राख्नुहोस् । म हजुरहरुका इष्ट मित्र मेरो अंशका रुपमा लिन चाहान्छु । यति भनेर कान्छोले आफ्ना आमा बाबुलाइ घरभित्र पसाएर आफु बाहिर निस्क्यो ।
कान्छो छोराले त आफ्नो बाबु आमाका इष्टमित्रहरुनै आफ्नो अंशका रुपमा लिएर घरबाट निस्क्यो रे भन्ने शहरमा एक कान दुइकान मैदान फैलियो । अनि ती इष्टमित्रहरुले जव यसले हामीलाइनै यत्रो ठुलो महत्व दिएर सारा समपत्ती छोडेर घरबाट निस्क्यो भने हामीले पनि यसलाइ मद्धत गर्नु पर्छ भनी  प्रति ब्यक्ति दुइ रुपैंयाका दरले चन्दा उठाएर कान्छालाइ दिने निर्णय गरेछन् ।  अन्तमा कान्छाको अरु भाइहरुको भन्दा दुइ गुना सम्पत्ती जम्मा भएछ ।”
सायद यो दन्त्य कथा होला । तर यो कथाले असाध्यै महत्वपूर्ण मनोबैज्ञानिक बिश्वास बोकेको छ । स्वार्थ नलुकेको साथसंगत र इष्टमित्रको कति ठुलो महत्व हुन्छ भन्ने कुरा प्रस्ट छर्लंग्याएको छ । तर दुर्गाग्य अहिलेको “बथानबिद्योता” मार्फत यस्तो मानब सभ्यताको उच्च परम्पराको हामी निक्ष्ठुरी बनेर हत्या गराएका छौं ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *