स्कटलैण्डः स्वतन्त्र राज्यबारे उठेका प्रश्नहरु

शशी पौडेल
केही समय यता बेलायती राजनैतिक बृत्तमा स्कटलैण्डको स्वतन्त्रताको प्रश्न फेरी उठेको छ  । यद्यपी २०१० को आम निर्बाचन प्रचार प्रसारक्रममा यस कुरालाइ सबै पार्टीहरुले थाती राखेका थिए । यहाँ सम्म कि  २०११ मा भएको स्कटलैण्डको निर्बाचन सम्म पनि स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठेको थिएन तर यो निर्बाचनमा स्कटिश नेशनल पार्टीले बहुमत ल्याए पछि हठात स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठायो । त्यतिखेर पनि स्कटिश जनताले यसबारे त्यति चासो दिएका थिएनन् तर बेलायती प्रधानमन्त्री डेबिड क्यामरोन र टोरी पार्टीले यसको बिरोध जनाए पछि भने स्कटिश जनताले यसबारे कान ठाडो गराए । यसैबीच बिभिन्न सर्भे गर्ने संस्थाहरुले पनि स्कटलैण्ड स्वतन्त्रताको प्रश्न राखेर तथ्याङ्क संकलन गर्न थाले । उनिहरुको सर्भेले स्कटिश जनताको मत स्वतन्त्रताको पक्षमा बढ्न थालेको तथ्याङ्क दिन थाले पछि प्रधानमन्त्री डेबिड क्यामरोनले २०१४को नोभेम्बर महिनामा यसबारे जनमत संग्रह गराउने कुरा मन्जुरी गरे । यतिखेर बेलायतले १९२१मा दक्षिणी आरलैण्ड स्वतन्त्र राज्य घोषणा भए पश्चात पहिलो पटक आफ्नो राज्य अस्थिर भएको महसुस गर्नु परेको छ ।
२०१४मा गरिने जनमतसंग्रहबाट कुन पक्षले बिजयी पाउने हो त्यो भने गर्भमै छ तथापी पक्ष वा बिपक्ष जे पनि हुन सक्ने सम्भाबनालाइ भने नकार्न मिल्दैन । स्कटलैण्डको स्वतन्त्र राज्यको सवालमा गरिन लागेको जनमतसंग्रह प्रधानमन्त्री डेबिड क्यामरोनले नियन्त्रण गर्न लागेको भनी स्कटलैण्डमा बिबाद उत्पन्न हुनै लागेको बेला केही बेलायती संचार साधनहरुले डेबिड क्यारोनको बचाउ गरेका थिए एकातिर भने अर्को तिर उनिहरुले डेबिड क्यामरोनको राजनैतिक सतर्कता मात्र हो भन्दै “प्रभानमन्त्री डेबिड क्यामरोनले कहिले र कसरी जनमत संग्रह गराउने भन्ने अधिकार राख्छु” भन्नु तर्कसंगत नरहेको कुरा डेली मेलले आफ्नो १० जनवरी २०१२को अंकमा लेखेको छ ।
यस्तै ११ जनवरी २०१२का दिन फाइनान्सीयल टाइम्स लेख्छ “प्र मं डेबिड क्यामरोनले स्कटिश जनताले के गर्नु पर्ने र स्कटिश नेशनल पार्टीका नेता मिस्टर सालमोण्डले स्कटलैण्ड स्वतन्त्रताका निम्ति सजिला उपाएहरु के के हुन् भनि खोज्नु पर्छ मात्र भनेका हुन्” भनि लेखे पछि भने स्कटलैण्डको स्थिती अलि शान्त भएको थियो ।
प्रधानमन्त्री डेबिड क्यामरोनको पुरानो औपनिबेशिक एवं बेलायती साम्राज्यको मानसिकता बाहेक  बेलायत र स्कटलैण्डको सवालमा अन्य थुप्रै राष्ट्रिय चिन्तन गर्नु पर्ने बिषयहरु पनि छन् । जस्तै २००७ यताको पटक पटकको आर्थिक मन्दी, सार्बजनिक बचतको प्रश्न, मुलुकमा संभ्रान्त बर्गको राजनैतिक र आर्थिक नियन्त्रण र स्कटिश नेशनल पार्टी भित्रकै सेमी राडिकल प्रभाव । यी यस्ता बिषय हुन् स्कटलैण्ड स्वतन्त्र राज्यको सवालमा गंभीरता पुर्वक चिन्तन गर्नु पर्दछ ।
यदि २०१४ नोभेम्बरमा हुने भनिएको जनमत संग्रहबाट संभवतः स्कटलैण्ड स्वतन्त्र राज्य हुने भयो भने बेलायती पुजीबाद एवं साम्राज्यबादका लागि ठुलो झापड हुने छ । स्कटलैण्ड स्वतन्त्रताको निर्णयले बेलायतको अन्तरराष्ट्रिय स्तरमा बिद्यमान इज्जत, धाक र रवाफमा दाग लाग्ने मात्र नभै बिश्व राजनैतिक साम्राज्यको दोस्रो शक्तिशाली प्रहरीका रुपमा आफुलाइ उभ्याउदै र प्रस्तुत गर्दै आएको बेलायतले राजनैतिक खेल मैदानमा हारको अनुभूती गर्नु पर्ने छ । त्यति मात्र होइन बेलायत भित्रै आन्तरिक राजनितीमा पनि वयल्सले आफुमाथि प्रश्न उठाउने छ र हिजो छुट्टी भिन्न भएको आयरलैण्डको नर्थ आयरलैण्डले आफुलाइ अंग्रेजी राष्ट्रबाद भित्र राखीराख्ने कि नराख्ने भनि प्रश्न गर्ने छ । यद्यपी यिनीहरु आफ्नै श्रोत र साधनबाट आफ्नो खुट्टामा उभिन सामथ्र्य राख्दैनन् ।  यी आदी कारणहरुनै हुन सक्दछन् कि प्रधानमन्त्री डेबिड क्यामरोन र इङ्गलिश राजनैतिक हस्तीहरु स्कटिश नेशनल पार्टी लामो समयसम्म स्वतन्त्रताको पक्षमा प्रचार प्रसारमा लाग्न नपाउन भन्ने मनोबिज्ञानले प्रेरित भएको पाइन्छ । तर २०१० देखि अहिले सम्म आइपुग्दा स्कटिश जनताले के देखे भने बेलायती सरकारले बिद्यमान आर्थिक मन्दीको समाधान दिन नसकेको, राष्ट्रिय बचतको नाममा जनताले खाइ पाइ आएको सुबिधा कट्टा गरेको, युरोपियन युनियनबारे प्रश्ट निती ल्याउन नसकेको र राष्ट्रिय स्वास्थ्य सेवामा देखा परेको असुरक्षा आदी । यसै पनि स्कटिश जनतामा  स्वास्थ्य सेबाका सुबिधाहरु त्यहाँको आबश्यकता अनुसार पुग्न सकिरहेको छैन । बेरोजगारीको कारणले त्यहाँका युवा समुदायमा  देखापरेको निराशा र अस्थिरता आदी कारणहरुले स्कटिश जनतामा स्वतन्त्र राज्यको पक्षमा मनोबिज्ञान बिकाश भएको बिभिन्न सर्भेको परिणामले देखाउछ ।
यस अघि स्कटलैण्डका सर्बसाधारण जनसमुदाय स्वतन्त्र राज्यको पक्षमा नगन्य थिए तर जब प्रधानमन्त्री डेबिड क्यामरोनको यसबारे अत्यन्त नकारात्मक प्रतिकृया आयो त्यस पछि त्यहाँका जनताको मनोबिज्ञानमा परिबर्तन भयो र अहिले सम्म आइपुग्दा लगभग ४० प्रतिशत स्कटिश जनता स्वतन्त्रताको पक्षमा रहेको एक सर्भेले खुलासा गरेको छ ।
इप्सोस मोरी सर्भेका अनुसार स्कटलैण्ड स्वतन्त्रताबारे बिभिन्न बर्ग र बिभिन्न उमेरका जनसमुदायबाट अलग अलग प्रतिकृया आएको बताएको छ । गत ३० जनवरीको उसको सर्भेका अनुसार स्कटलैण्ड स्वतन्त्रताको पक्षमा समग्रमा ३९ प्रतिशत जनता रहेको बताएको छ भने १८ देखि २४ बर्ष सम्मका युवा समुदाय भने ४५ प्रतिशत स्वतन्त्रताको पक्षमा रहेको र २४ बर्ष देखि माथी ६५ बर्ष सम्मका जनसमुदाय मध्य जो ठुलो शहर भन्दा बाहिर बस्छन् उनिहरुमा ५८ प्रतिशतले स्वतन्त्रता चाहेको बताउछ । यस्तै ठुला शहर र यस नजिक बसोबास गर्नेहरु भने जम्मा जम्मी २७ प्रतिशत जनसमुदायले स्वतन्त्रता चाहेको बताउछ ।
उपरोक्त सर्भेको बिबरणले के कुरा प्रश्ट पार्छ भने स्कटलैण्डका जनसमुदायमा बर्तमान बेलायती राजनिती र अर्थनितीले कुन कुन ठाँउमा कुन कुन समुदायलाइ प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकूल प्रभाव पारेको छ भन्ने । जस्तै बेलायतमा अहिले झण्डै २० प्रतिशत १८ बर्ष देखि २४ बर्ष सम्मका युवा जनसमुदाय बेरोजगार रहेको अबस्था छ । ती मध्य ठुलो समुदाय स्कटलैण्डमा रहेको छ । सरकारी सहयोग र सुबिधा लिएर मात्र दैनिक गुजारा गर्नु पर्ने समुदाय पनि स्कटलैण्मा इङ्गलैण्डको तुलनामा बढी रहेको बताइन्छ ।
“हामीले सुरक्षित, स्थाइत्व र सम्मानजनक समाजको ब्यबस्था गर्ने छौं । त्यसो गर्नका लागि हामीले कार्यक्षमता र कार्यशक्तिको प्रोत्साहन गर्ने छौं । त्यसो गर्नका निम्ति केही अप्ठेरा निर्णय पनि गर्नु पर्ने छ । जस्तै सार्बजनिक खर्चमा कटौती । यदि हामीसंग नैतिक जीम्मेवारी र पारदर्शिता छ भने यी सव काम हामी सजिलै गर्न सकने छौं ।”
उक्त कुरा स्कटिश नेशनल पार्टीको स्कटलैण्ड स्वतन्त्र राज्यको पक्षमा मत माग्नका निम्ति प्रचार प्रसारका लागि गरेको प्रतिबद्धता पत्रमा लेखिएको छ ।
स्कटलैण्डका मुख्यमन्त्री एवं स्कटिश नेशनल पार्टीका नेता अलेक्स सालमोण्डले प्रधान मन्त्री डेबिड क्यामरोनलाइ थ्याचरिजम लागु गरेको, मुलुकमा तानाशाही लागु गरेको आरोप लगाउदै आएका छन् । उनले डेबिड क्यामरोनले स्कटलैण्ड स्वतन्त्र राज्यको सवालमा हुन लागेको जनमत संग्रहलाइ आफ्नो नियन्त्रणमा लिएको पनि आरोप लगाएका छन् । जनवरी २०१२ मा लिइएको सर्भे अनुसार एक हप्ता भित्र १० प्रतिशत स्वतन्त्रताको पक्षमा मत बढेको बताइएको थियो । त्यस्तै सोही सर्भेका अनुसार अलेक्स सालमोण्डको प्रभाव बढेर ५८ प्रतिशत पुगेको थियो भने डेबिड क्यामरोनको प्रभाव घटेर २८ प्रतिशतमा झरेको थियो । यो सर्भेमा लेबर पार्टी एवं लिबडेमका कुनै पनि नेतालाइ समाबेश गराइएको थिएन । यो सर्भे पछि बेलायतको राजनैतिक बृत्तमा अलेक्स सालमोण्ड आफ्नो प्रभाव बढाउनका लागि बेलायतका एक कुशल एवं सवल पँुजीबादी राजनितीज्ञ मानिएका छन् ।
फाइनान्सीयल टाइम्सका अनुसार उसकै शब्दमा “a shark swimming in a sea of minnows”  । अर्को तिर स्कटलैण्ड स्वतन्त्र राज्य बिरोधी पक्षधरहरुले भने अलेक्स सालमोण्डलाइ १५औं सताब्दीका दार्शनिक डेसिडेरेउस एरासमुसको भनाइ “अन्धाहरुको देशमा एक आँखे राजा हुन्छ” को संज्ञा दिने गरेका छन् ।
१९५० देखि परम्परागत रुपमा स्कटलैण्मा लेबर पार्टीको बर्चस्व रहेको थियो । तर २०११ को स्कटलैण्डको निर्बाचनमा स्कटिश नेशनल पार्टीले समग्रतामा बहुमत ल्यायो । लेबर पार्टीले स्कटलैण्डको सम्पुर्ण भोटको एक तिहाइ पनि ल्याउन सकेन । यस अर्थमा २०१४ मा हुन गइरहेको स्कटलैण्ड स्वतन्त्र राज्यको सवालको जनमतसंग्रहको पक्षमा र बिपक्षमा प्रचार प्रसार गर्न दुइ अजंग भालुहरु एडिनबरा चिडियाखानामा जुध्नेछन् । एक त्यही चिडियाखानाका स्थाइ बसोबास गर्ने अलेक्स र अर्को अस्थाइ रुपमा दक्षिण तिरबाट छोटो समयका लागि पालिन पुग्ने डेबिड ।
यसरी स्कटलैण्डमा स्कटिश नेशनल पार्टी र पार्टी नेता अलेक्स साल्मोण्डको प्रभाव बढ्दै जानु भनेको केही रुपमा स्कटलैण्डमा बामपंथी राजनैतिक चिन्तनको खाली ठाँउ भरिदै जानु हो । तर यदि राजनैतिक भ्याकुममा गैर सिद्धान्तको प्रभाव जतिसुकै परे पनि अन्तत्वगत्वा त्यहाँ भएको भ्याकुम पुर्णरुपमा भरिन सक्तैन । त्यसका लागि एउटा सिद्धान्तले प्रेरित राजनैतिक शक्तिको आबश्यकता पर्दछ । त्यसैले स्कटलैण्डमा आफुलाइ प्रगतिशील राजनैतिक शक्ति भनी दाबी गर्नेहरुले त्यो खाली ठाँउ भर्न सक्ने खालको राजनैतिक कार्यक्रम तय गर्न सक्नु पर्दछ ।
२२ जनवरी २०१२का दिन अलेक्स सालमोण्डले बीबीसीसंग कुरा गर्दै भने “हामीले अहिले प्रचलनमा आइरहेको बेलायती मुद्रा सेयर गर्छौं । हामीले राजतन्त्र पनि सेयर गर्ने छौं । हामीसंग युरोपियन युनियन पनि रहने छ ।”
उनले स्कटलैण्ड स्वतन्त्र राज्य भए पनि बेलायती रानीको अन्तरगत रहने बताए । स्टर्लिङ्ग पौण्ड पनि रहने कुरा बताए । स्कटलैण्डको आर्थिक निती नियमहरु बैङ्क अफ इङ्गलैण्डले तय गरे अनुरुप हुने कुरा भन्न पनि चुकेनन् ।
जेनुइन माक्सबादी राजनितीक दर्शनका अनुसार कुनै पनि राज्य तव मात्र स्वतन्त्र मानिन्छ जव उ आफैले राजनैतिक, आर्थिक र सामाजिक सम्पुर्ण कुराको निती निर्णय तय गर्ने अधिकार राख्दछ । कुनै पनि ब्यक्ति, समुदाय वा राज्यले स्वतन्त्रताको अपेक्षा गर्नु अत्यन्त स्वाभाबिक हो । त्यति हुदाहुदै पनि स्वतन्त्रता केका लागि र कस्तो स्वतन्त्रता भन्ने प्रश्न उठ्छ । स्वतन्त्र राज्य भनेको राजनैतिक, आर्थिक एवं सामाजिक सबै क्षेत्रमा स्वतन्त्र हुनु हो तर अलेक्स सालमोण्डका अनुसार अहिले उनले मागेको स्वतन्त्रता अर्थात हुन लागीरहेको जनमतसंग्रह भित्र नत राजनैतिक नत आर्थिक स्वतन्त्रता परेको छ । बेलायती राजतन्त्रको नेतृत्व मुनी बस्ने र अर्थतन्त्रका सबै सवालमा बेलायती निर्णय हुने भने पछि यस्तो स्वतन्त्रताको अर्थ के ?
सायद अलेक्स सालमोण्डले स्कटलैण्ड आफैमा बाँच्न नसक्ने देखेर २२ जनवरी २०१२का दिन आफ्नो भनाइ त्यसरी राखेका थिए वा नितान्त ब्यक्तिगत आफ्नो प्रभाव बढाउने महत्वाकांक्षाले यो माग राखेका हुन् । स्कटलैण्डको यसैपनि बिश्व राजनैतिक मानचित्रमा आफ्नै छबि रहेको छ । बिश्वले स्कटलैण्डलाइ बेलायतको एउटा भाग भनेर भन्दा पनि स्कटलैण्ड स्वयं भनेर चिन्दछ । यहाँको शिक्षानिती इङ्गलैण्ड र बयल्सको भन्दा फरक रहेको छ ।
१९७९ मा जव स्कटलैण्ड स्वतन्त्र राज्यको कुरा उठ्यो त्यतिखेर जम्मा जम्मी ७ प्रतिशत मात्र पक्षमा देखियो । त्यस्तो अबस्थामा कुनै पनि राज्यको स्वतन्त्रताका कुरा उठाउनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह थियो । र त्यस्तो अबस्थामा माकर््सबादी राजनैतिक दर्शनले पनि स्वतन्त्र राज्यको कुरा नगरी बरु राज्य स्वतन्त्रता र प्रजातान्त्रिक समाजबाद प्राप्तीका निम्ति संघर्ष गर्ने बाटो तय गर्न सल्लाहा दिने छ । अझ अहिलेको स्कटलैण्डको सामाजिक र आर्थिक अबस्था १९७९को भन्दा धेरै कमजोर भएको छ । मार्गरेट थ्याचरले गराएको स्कटलैण्डको राजनितीक र सामाजिक बिभाजन, नव उदारबादी राजनितीका कारण त्यहाँका उद्योग धन्दाहरु बन्द भै बेरोजगारी बढीरहेको अबस्था, गलत पुजी बिभाजन र गलत अर्थनितीका कारण, धनी र गरीवबीच बढेको दुरीका कारणहरुले स्कटलैण्डलाइ अत्यन्त कमजोर बनाएको छ । यही कमजोरी अवस्थाबाट स्कटिश नेशनल पार्टीले फाइदा उठाउदै आइरहेको छ । त्यसैले अहिलेको अबस्थामा स्कटिश जनता सजग भै स्कटलैण्ड स्वतन्त्र राज्यको पक्षमा भोट दिनु अघि निम्न प्रश्नहरुको उत्तर खोज्नु बुद्धीमानी ठहर्ने छ । प्रश्नहरु हुन् जस्तै स्कटिश संसदको परिधी कति सम्म हुने ? अर्थ नितीमा कति सम्म शक्ति समिकरण हुने ? राज्य संचालनमा सघाउ पुर्याउने ठुला उद्योग ब्याबसायको शक्ति सन्तुलन कसरी गर्ने ? मजदुर बर्गको अधिकार संरक्षणका निम्ति सामाजिक मापडण्ड के ? आदी आदी ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *