लंका मा सुन छ, कान मेरो बुच्चै !

Boz Raj-भोज राज
…. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! …..
कुरो तपाईं हाम्रै हो,  तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा !
भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १० करोडमा मागेका थिए मैले दिइन, मेरो जमिनलाई ५ करोड दिएका थिए, बेचिन यार,  मेरो घरबाट महिनाको ७० हजार रुपियाँ आउँछ इत्यादि इत्यादि … मेरा प्रश्न यस्तै यस्तै हुन्छन्, यति धेरै सम्पत्ति भएको मान्छे बेलायतमा सुख शयल मा बसिएको छ होला नि ? थप्छु, आफ्नो त सुको पैसो पनि आउंदैन नेपालबाट, न त एउटा घर वा गोठ नै छ, मेची देखि महाकाली भित्र,  त्यसैले त सोमबार देखि शुक्रवार सम्म बिहान ९ देखि बेलुका ५ बजे सम्म काम गर्न पर्छ, सास्ती छ यार यो बुढेस कालमा, अनि उनले थप्छन्, काम त गर्नै पर्यो नि यार बेलायतमा, नत्र कसरि पालीने, काम त म पनि बिहान ७ देखि बेलुका ७ सम्म ठ्याक्र्याक्कै दिनको १२ घण्टा अनि हप्तामा ५ देखि ६ दिन सम्म काम गरिन्छ, कहिले काहीं त ओभर टाईम पनि गर्दा त कुनै कुनै हप्ता सात दिन नै हुन्छ,  अझै थप्छन्, घर बाट आउ जाउ गर्दा ३ घण्टा बाटोको समय जोड्दा २४ घण्टा को दिनमा १५ घण्टा बित्छ, घरमा आए पछि लखतरान, दिन भरि उभिएको जिउ न हो ? बसाइ कता छ नि भन्ने मेरो प्रश्नको उत्तरमा कतिले त झन् , कि अर्को परिवारसंग घर साझे गरेर बसेको वा कतिले कम बहाल तिरेर बस्न पाइने सरकारी घरमा बसेको कुरो गर्छन्,  उनिहरु ले फेसबुक तिर टाँस्ने गरेको काठमाडौँ, पोखरा, धरान तिरको दरबार जस्तो घरको याद मलाइ झल्झली आउँछ, उनिहरुलाई झन् कस्तो हुन्छ होला जब आफै अर्काको घरमा साझे गरेर बस्दा वा सरकारी घरमा त्यस्तै अन्य मानिसहरुको टोलमा बस्दा  ।
ल भन्नुस तपाईं भए यस्ता आँफै ले सिर्जना गरेका दुखका कथामा सहानुभूति दिनुहुन्थ्यो कि, कि हरे मूर्ख भन्नु हुन्थ्यो ? मैले चाहिं मनमनै हरे मूर्खू नै भनें अनि थपें, त्यो नेपालमा १० करोड दिंदा नबेचेको सम्पत्ति भोलि गएर ९ करोडमा बेच्नु, त्यसको ६ लाख पाउण्ड हुन्छ अनि ३ लाख को चिटिक्क परेको घर पुरै क्याश मा किन्नु अनि बाँकी ३ लाख को बहालमा दिनको लागि अर्को घर किन्नु जसले महिनै पिच्छे १२/१५ सय पाउण्ड आउँछ अनि पलेंटी कसेर बसेर खानु, के को हप्तामा ७२ घण्टा उभिने हो त नि जिन्दगी ले ५० भन्दा बढी बसन्त पार गरिसके पछि पनि, उनले अझै थप्न छाडेनन्, कहाँ बेच्न हुन्छ यार ?
अब के कुरा गर्नु, लौ भन्नुस त ? आँफैले जोडेको सम्पत्ति आफू जहाँ बस्छ त्यहाँ छैन तर लंका मा चाहिं सुनकै बिटो ? लौ त नि, दुइ खुट्टा टेकुन्जेल यस्तै काम गरिराख्नुस, त्यो १० करोडको सम्पत्ति छोरा छोरीले संगै सति पठाई देलान, छोरा छोरीले पृथ्वीमा मस्ती गर्दा आफू उतै स्वर्गमै मस्ती गर्नुस भनेर मनमनैू भन्दै बाटो लाग्ने गर्छु म । शुभ दिन ! शुभ कामना !
(भोज राजको फेसबुक वालबाट )

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *