बिदा भइन् “पार्टीकी आमा”

Sahana Pradhan-प्रकाश  सिलवाल / कालिका खड्का
काठमाडौं, ७ असोज । ‘पार्टीकी  आमा’  भनेर  चिनिने  वाम– लोकतान्त्रिक  आन्दोलनकी  अग्रणी   सहाना  प्रधानको  निधनबाट  राष्ट्रले  एक  प्रेरणादायी  नेत्री  गुमाएको  छ  ।
विसं  २०४६  सालको  संयुक्त  वाम–प्रजातान्त्रिक  आन्दोलनका  संयोजक  नेत्री  प्रधानलाई सङ्घर्षशील  तथा  जुझारू  महिला  नेत्रीका  रूपमा  लिइन्थ्यो ।
नेकपा (एमाले) का  नेताहरू  प्रधानलाई  प्रायः  ‘पार्टी  आमा’ का  रूपमा  लिन्थे  भने  समग्रमा  उहाँ  आन्दोलनको  अभिभावकका  रूपमा  चिनिनु  हुन्थ्यो  ।  उहाँ  पूर्व  उपप्रधानमन्त्री  तथा  परराष्ट्र  मन्त्री  पनि  हुनुहुन्छ  ।
बल्खुस्थित  एमाले  केन्द्रीय  कार्यालयमा  आज  बिहान  श्रद्धाञ्जलि  दिन  गएका  विभिन्न  पार्टीका  नेताहरूले  प्रधानले  आन्दोलनमा  निर्वाह  गरेको  भूमिकाको  प्रशंसा गरे  ।  एमालेका  अध्यक्ष  केपी  शर्मा  ओलीले  पार्टीले  एक  असल  अभिभावक,  लोकतान्त्रिक  आन्दोलनले  एकजना  अग्रणी  योद्धा  र  नेपाली  महिलाले  प्रेरक  व्यक्तित्व  गुमाएको  बताए ।
अध्यक्ष  ओलीले  भने – ‘पार्टीलाई  थप  एकताबद्ध  र  सुदृढ  गर्दै  मुलुकको  पहिलो  राजनीतिक  शक्तिको  रूपमा  स्थापित  गर्ने,  संविधान  निर्माण  गरेर  लोकतान्त्रिक  गणतन्त्रलाई  संस्थागत  गर्ने  तथा  नेपाललाई  छोटो  समयभित्रै  समृद्ध,  समुन्नत  र  सबल  बनाउने  अभियानमा  अघि  बढ्ने  अभियानमा  प्रधानका  योगदान  स्मरण  भइरहनेछ ।’
एमाओवादीका  अध्यक्ष  पुष्पकमल  दाहालले  वाम  आन्दोलनकी  अग्रणी  व्यक्ति,  महिला  आन्दोलनकी  धरोहर,  प्रगतिशील  रुपान्तरणका  एक  अगुवाको  निधनले  मुलुकलाई  अपूरणीय  क्षति  पुगेको  प्रतिक्रिया  दिए ।  आधुनिक  नेपालको  निर्माणमा  प्रधानले  खेलेको  भूमिका  महत्वपूर्ण  भएको  बताए ।
नेपाली  काँग्रेस  उपसभापति  रामचन्द्र  पौडेलले  पनि  प्रधानले  लोकतान्त्रिक  आन्दोलनलाई  नेतृत्व  गर्ने  सन्दर्भमा  उल्लेखनीय  भूमिका  निर्वाह  गरेको  बताए  ।
पार्टी  कार्यालयमा   पुगी  कार्यबाहक  प्रधानमन्त्री  वामदेव  गौतम,   सभामुख  सुवास  नेम्वाङ,  एमालेका  वरिष्ठ  नेता  झलनाथ  खनाल,  नेता  माधवकुमार  नेपाल,  एमाओवादीका  नेता  डा। बाबुराम  भट्टराई,  उपप्रधानमन्त्री  प्रकाशमान  सिंह,  सूचना  तथा  सञ्चार  मन्त्री  डा।  मीनेन्द्र  रिजाल,  काँग्रेसका  महामन्त्री  कृष्ण  सिटौला,  राष्ट्रिय  प्रजातन्त्र  पार्टीका  नेता  सूर्यबहादुर  थापा, नेपाल  मजदुर  किसान  पार्टीका  अध्यक्ष  नारायणमान  बिजुक्छे,  नेकपा (माले) का  महासचिव  सिपी  मैनाली,  नेकपा–माओवादीका  अध्यक्ष  मोहन  वैद्य लगायतले  प्रधानमाथी श्रद्धाञ्जलि  अर्पण गरे  ।
नेत्री  प्रधानको  बयोधा  अस्पतालमा  गएराति ११:०५ बजे  निधन  भएको  थियो  ।  उहाँ  गत जेठ २३  गतेदेखि  मस्तिष्कघात  र  छातीको  सङ्क्रमणबाट  ग्रसित  हुनुहुन्थ्यो  ।
विसं  १९८४  साल  असार  २७  गते  काठमाडौँको  असनटोलमा  आमा  रम्भादेवी  र  बुबा  शङ्करलाल  प्रधानकी  तेस्रो  सन्तानका  रूपमा  जन्मिनुभएकी  प्रधान  पाँच  वर्षको  उमेरमा  आफ्नो  परिवारसँगै  बर्मा  गई  प्रारम्भिक  शिक्षा  त्यहीँ  प्राप्त  गर्नुभएको  थियो  ।  बर्मामा  छँदै  दोस्रो  विश्व  युद्धको घटनाको  प्रेरणाबाट  शान्ति,  लोकतन्त्र,  देशभक्ति  र  मानवसेवाको  भावना  जागृत  गराउनु भएका  प्रधान  २००१  साल  असारमा  स्वदेश  फर्केपछि  राणा  शासन विरोधी  आन्दोलनमा  संलग्न  हुनुभयो  ।  उहाँहरूकै  सक्रियतामा  २००४  साल  वैशाख  १७  गते  काठमाडौँमा  जहानियाँ  राणा  शासन विरुद्ध  पर्चा  छर्ने  र  जुलुस  निकाल्ने  क्रममा  उहाँ  पनि  गिरफ्तारीमा  पर्नुभएको  थियो  ।
प्रधान  २००४  साल  असारमा  गठित  नेपाल  महिला  सङ्घको  संस्थापक  केन्द्रीय  सदस्य  हुनुहुन्थ्यो  ।  २००७  सालमा  नेपाल  कम्युनिष्ट  पार्टीको  सदस्यता  प्राप्त  गर्नुभएकी  उहाँ  अखिल  नेपाल  महिला  सङ्घको  संस्थापक  महासचिव  र  पछि  अध्यक्ष  हुनुभयो  ।  पति  पुष्पलाल,  दाजु  गौरीभक्त  प्रधान,  दिदी  साधना  अधिकारीसमेत  उहाँको  सिङ्गो  परिवार  नेपाली  लोकतान्त्रिक  आन्दोलन  र  कम्युनिष्ट  आन्दोलन  संलग्न  रहेको  थियो  ।
विसं.  २०१०  माघ  १०  गते  नेपाल  कम्युनिष्ट  पार्टीका  संस्थापक  महासचिव  पुष्पलालसँग वैवाहिक  सम्बन्धमा  बाँधिनुभएकी  सहानाले  आफ्नो  सिङ्गो  जीवन  पुष्पलालको  राजनीतिक  जीवनको  अभिन्न  सहयात्री  र  अन्तरङ्ग  सहयोगीका  रूपमा  व्यतित  गर्नुभएको  थियो  ।
प्राध्यापन  जीवनको  पनि  अनुभव  प्राप्त  प्रधानले  २०४६  सालपछिको  अन्तरिम  सरकारमा  वरिष्ठ  मन्त्रीका  रूपमा  उद्योग  वाणिज्य  मन्त्रालयको  जिम्मेवारी  सम्हाल्नुभएको  थियो  ।  २०४७  साल  पुसमा  नेकपा (माले)  र  नेकपा (माक्र्सवादी)बीच  एकीकरणसँगै  नेकपा (एमाले)को  नेतृत्वदायी  भूमिकामा  रहनुभएकी  सहानाले  जीवनपर्यन्त  पार्टीमा  अभिभावकीय  भूमिका   निर्वाह  गरिरहनुभएको  एमालेद्वारा  जारी  विज्ञप्तिमा  जनाइएको  छ ।
विसं.  २०४८  को  आमनिर्वाचनमा  काठमाडौँबाट  सर्वाधिक  मत  प्राप्त  गरी  प्रतिनिधिसभा  सदस्यमा  विजयी  उहाँ  २०५१  सालको  मध्यावधि  निर्वाचनमा  पनि  निर्वाचित  हुनुभएको  थियो ।  उहाँ  २०५३ मा  महिला,  बालबालिका  तथा  समाज  कल्याण  मन्त्री  बन्नुभयो  ।  उहाँ  २०५४ देखि २०५८ सम्म  नेकपा (माले)को  अध्यक्षा  रहनुभएको  थियो  ।   महिला  सुरक्षा  दबाब  समूहको पूर्वअध्यक्षा  प्रधानका  एक  छोरा  र  एक  छोरी  हुनुहुन्छ  । (दैनिक नेपाल अनलाइनबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *