प्रसंग: स्वस्थानीको

DSCF1116 - Copy (800x600) - Copy“हे ! स्वस्थानीमाता आशा छ मलाइ माफी दिने छौ । यस वर्ष पनि मैले तिम्रो भक्तिमा एकाग्र चित्त लगाउन सकिन ।” भन्दै त्यही नजिकै झुण्डिएका दुइ तस्वीरमा फुल चढाइन् करुणाले । एउटा तस्वीर उनको माता र पिताजीको थियो भने अर्को मेरो पिताजीको । उहाँहरुले यो संसार छोडेर जानुभएको दशकौं बितिसकेको छ ।
आफ्नो योगसाधना, प्रणायाम र कपालभाँती सकेर २ – ४ वटा देबी देवताको मुर्ती राखेको ठाँउमा पुगेर बत्तीबाल्दै यस्तै यस्तै मन्त्र जप्ने र यी दुइ तस्वीरमा हेरेर आशिर्बाद मागे पछि मात्र उनको दिन सुरुहुने गर्छ  । अर्थात उनको हरेक बिहानको दिनचर्या हो यो  ।आज शनिबार पनि उनको यो दिनचर्या छुटेन । हाम्रो लेख पढ गर्ने कोठा र देबी देवताका मुर्ती राखेको कोठा एउटै छ । त्यसैले  छुट्टीका दिन बिहान फरक फरक बिषयमा गरेका यस्ता अनुरोधहरु सुन्ने मेरो पनि बानी परिसकेको छ । अझ कहिलेकाँही त मिठो लागे पनि नलागे पनि गाली समेत खानु पर्छ । “यसो यता फर्केर एकछिन् देबी देवताको सम्झनामा आँखा चिम्म गरेपनि त खेर जान्थेन नी” मैले जवाफ दिन नपाउदै अर्को बज्र पछारिन्छ “हो हो देबी देवताको मुर्ती पनि त्यहा समाचारमा भए जस्तो डरलाग्दा कहालीलाग्दा, लुटपाट हत्या र आतंकका हुने भए सायद चाख लाग्दो हो हगी ?”
यस्ता वाक्यहरु निरन्तर सुन्नथालेको साढे दुइ दशक नाघ्यो । सुनिरहदा कन्ठस्थ भएजस्तो लागे पनि बिर्षिहाल्दो रहेछु । जे होस् आज उनले स्वस्थानीको प्रसंग उठाउदा मलाइ मेरो बाल्यकालको  एउटा अबिस्मरणीय घटना आँखा अगाडि नाच्यो । मैले चेतना संहाले देखिनै हरेक माघ महिनामा स्वस्थानीको कथा सुने बिना सुत्न पाइदैनथ्यो ।
म तेह्र बर्षको थिंए । मेरा आदरणीय दाजुको देहान्त भएको एकबर्ष पुरा भएको थिएन । हाम्रो घरले आसौज बारेको थियो । आसौजको बेला कुनै पनि ब्रत नबस्ने वा ठुला कुनै कार्जे नगर्ने परम्परा छ त्यसैले स्वस्थानीको नियमित ब्रत लिन नहुने भए पनि स्वस्थानीको कथा भने सुन्न हुने हजुरवुवाको फैसला भयो र २०२८ सालको माघ महिनामा पनि स्वस्थानी कथा सुन्यौं । कथा सुन्न लागेको दोस्रो वा तेस्रो दिन थियो, स्वस्थानीमा गरिएको बिश्व ब्रह्माण्डको उत्पत्तीबारेको अध्याय सकिएको थियो । यसबर्ष नियम पुर्याएर ब्रत नगरिएकाले स्वस्थानीकथा बारे आफुलाइ लागेको कुरा छलफल गर्न हुने निस्कर्ष आफैले निकालें र वुबा हजुरवुबा दुबै भएको बेला डरांउदै कुरा उठान गरें । “स्वस्थानीकथाले मलाइ अलि दोधारमा पार्ने गरेको छ, मैले अन्य पुस्तक पढ्दा वा स्कूलमा पढ्दा बिश्व ब्रमाण्ड, मानव जातीको उत्पत्ती र सभ्यताको बिकाशका कुराहरु अलि फरक ढंगले प्रस्तुत गरएिको छ तर स्वस्थानीमा फरक ढंगले । बिज्ञानले पनि स्वस्थानीको प्रस्तुती भन्दा फरक ढंगले ब्याख्या गरेको छ । आखिर सत्य के हो ?”
वुबा घोरिनु भयो, हजुरवुबालाइ पनि मैले गरेको प्रश्न मन परेन । आमाले मलाइ गाली गर्न थाल्नु भयो । के के भन्नु भयो त्यो मलाइ अहिले सम्झना छैन । हजुरआमाले भने यहाँ आउ बाबु भनेर मलाइ आफुतिर बोलाउनु भयो । उहाँ पढेलेखेकी हुनुहुन्थेन । उहाँका आफ्ना कोही सन्तान थिएनन् । उहाँ हाम्री कान्छी हजुरआमा हुनुहुन्थ्यो । उहाँको भगवान प्रति अत्यन्त बिश्वास र आस्था थियो । उहाँमा स्वस्थानीको कथा मात्र होइन धर्मशास्त्रका हरेक शब्द शब्दमा बिश्वास थियो । उहाँले आफुले कुनै सन्तान जन्म नदिएको भए पनि हामीलाइ आफ्नै सन्तान जस्तै मायाँ गर्नुहुन्थ्यो । मलाइ आफ्नो काखमा राखेर मेरो कपाल मसार्दै  भन्नुभयो “बाबु तिमीले सोधेको कुरा ठीक हो । तिम्रा यस्ता तर्क बितर्क तिम्रो बाबा र हजुरबुवालाइ मननपर्ला तर मलाइ भने असाध्यै मन पर्यो । हेर जमाना परिवर्तन हुदै छ । मानिसहरुले बिकाशको फड्को मारेका छन् । त्यसैले यहाँ बाँच्नकै निम्ति पनि तर्क बहस र छलफल गर्न सक्ने हुनु पर्छ । केही पाउन चाहानेले त्यसबारे चाख राख्नु पर्दछ । हेर दुध तताएर दही बनाए पनि त्यो दहीलाइ नमथेसम्म घ्यू निस्किदैन । यी पुस्तकहरु त दही जस्तै हुन् । यदि घ्यू खाने चाहना छ भने दहीलाइ मथ्नै पर्छ । अव यो दही मथ्ने काम तिम्रा बाबा र हजुरबाबाको हो किनकि उहाँहरु समाजका पंडितहरु हुन् । उहाँहरुले तिमीलाइ चित्तबुझ्दो जवाफ दिनै पर्छ । तर त्यो आजै सम्भव नहोला ।” मैले सुनिरहें हजुरआमाले अगाडि भन्दै जानुभयो “तिमीले स्कूलमा पढेको पनि ठीक हो स्कूल र स्कूलको जाँचकालागि स्वस्थानीमा यस्तो लेखेको छ भनेर उत्तरपुस्तिकामा लेखेर पास भइन्न । धेरै पढदै गएपछि तिमी आफैले यसको जवाफ पनि भेटाउने छौ । स्वस्थानी वा धर्मशास्त्र एक बिश्वास हो, आस्था हो । यही बिश्वास र आस्थाको भरमा हामी बाँचेका छौं । धार्मिक बिश्वास र आस्थाले मानिसलाइ अनुशासित बनाउछ । छरछिमेकीलाइ नजिक बनाउछ । एक आर्काको सहयोगमा जुटाउछ । आफुलाइ सन्तुष्टि दिलाउछ । नराम्रा, खराव काम गर्न हुदैन भन्ने कुरामा सचेत गराउछ । मानिसलाइ निराशाबाट मुक्त गराएर आशाबादी बनाउछ । समग्रमा भन्दा धर्मप्रतिको बिश्वास र आस्थाले मानिसलाइ बाँच्न सिकाउछ ।” हजुरआमाले यस्तै भन्दै हुनुहुन्थ्यो म भने लुटुक्क निदाएछु ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *