पूँजीविनाको बेलायती पूँजीवाद

—शशी पौडेल

विश्व पूजीवादी व्यवस्थाभित्र यो दशकमा आएको आर्थिकमन्दीले १९३० को दशकको भन्दा अझ नराम्रो गरी गाडेको छ । यद्यपि पूँजीवादी व्यवस्था कहिल्यै समस्या मुक्त थिएन । पूँजीवादी व्यवस्थाभित्र पटक पटक ठूला वा साना समस्या आइरहेकै हुन् । जस्तै मेक्सीकोमा १९८२ मा, जापानमा १९९० मा, पूर्वी एसियामा १९९७ र ९८ मा । तर बेलायतमा अहिले आएको आर्थिकमन्दी अली फरक खालको रहेकोछ । बेलायतमा आधा दशकदेखि आएको आर्थिक मन्दीको भुइँचालोको केन्द्र संयुक्त राज्य अमेरिका थियो । २००७/०८ मा अमेरिकाको लेहमान ब्रदर्श बैंक कोल्याप्सबाट सुरु भएको आर्थिक मन्दीले बेलायतलाई अहिले तेस्रो पटक मार हानेको छ ।

अर्थविदहरुका अनुसार २००७/०८मा आएको आर्थिकमन्दी नवउदारवादी शक्तिको उदय र ग्लोबल बजार व्यवस्था सुरु भएपछिको पहिलो हो । बेलायतको लामो समयसम्म अर्थमन्त्री रहेका र पछि प्रधानमन्त्रीसमेत बनेका गोर्डन ब्राउनले आफ्नो “आर्थिक मन्दी आउनुको पछाडि” नामक पुस्तकमा लेख्छन् — “अहिलेको आर्थिकमन्दी ग्लोबल बजार व्यवस्थाको आफैमा विरोधाभाष छ । जवकि विश्व अर्थव्यवस्था एक आपसमा सम्बन्धित छन् अर्थात जोडिएका छन् । यो अवस्थामा अर्थतन्त्रका व्यवस्थापक एवं विभिन्न मुलुकका सरकारबीचको सम्पर्क र सम्बन्धमा सरलीकरण र एकरुपता आउनु पर्ने थियो । तर त्यो हुन सकेन । विभिन्न मुलुकका सरकारबीचको सम्पर्क र सम्बन्ध असफल भए । त्यति मात्र नभएर बेलायतमा यो अवस्था आउनुमा विश्वका धनी भनी मानिएका औद्योगिक राष्ट्रहरुले विश्व अर्थव्यवस्थालाई आवश्यक नियमित नियन्त्रण र नियममा बाँध्न नसक्नुको कारण हो र त्यसपछि जव आर्थिकमन्दी आउँदै छ है भन्ने भएपछि अर्थव्यवस्था नियन्त्रण हुन सक्ने समयभित्र सजग हुन नसक्नुको परिणाम पनि हो ।”

गोर्डन ब्राउनको उक्त पुस्तक पढ्दा समग्रमा बुझ्न सकिने तत्व केहो भने पूँजीवादी राज्यव्यवस्थाले ठूला उद्योगपति र बैंकहरुलई अनुशासन, नियम र कानूनको परिधिभित्र नबाँधी कुनै पनि तरहबाट मुनाफा कमाउन खुल्ला बजारमा छाडी दियो । जसरी चरुवा जनावरलाई कुनै बार बन्देज बिना हरियो पलपल पलाएको बारीमा छोडिदियो भने उसले जहाँ हरियो देख्छ त्यही गएर चर्न थाल्छ – चाहे त्यो घाँस होस् चाहे त्यो मकैबारी । ती बैंकर र ठुला उद्योगपति एवं व्यपारीहरुको ध्याउन्ना के भयो भने जसरी हुन्छ मुनाफा कमाउने । भविष्यमा यसको जेसुकै परिणाम आवोस् त्योसँग उनीहरुले सम्झौता नगर्ने । एउटा गरीव नबनी अर्को धनी बन्न सक्तैन भन्ने पूँजीवादी सिद्धान्तले विशेषरुपमा काम ग¥यो । यी सबै हुनुमा असीको दशकमा अमेरिकी तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन, जर्मनीका तत्कालीन चान्सलर हेल्मुट कोलको साथ लिएर बेलायती पूर्व प्रधानमन्त्री स्व. मार्गरेट थ्याचरले प्रतिपादन गरेको सिद्धान्त नवउदारवाद ग्लोबलईजेशनले महत्वपूर्ण भूमिका खेलेको हो । यसरी मार्गरेट थ्याचरले उनको कार्यकालमा मुलुकलाई छिन्न भिन्न मात्र पारिनन् कि अपितु उनको मृत्युपर्यन्त पनि मुलुकले आर्थिक, सामाजिक, साँस्कृतिक र आचरणका पूँजीहरु गुमाउँदै जान बाध्य भैरहेको छ ।

गत केही हप्ताअघि बेलायती संचार माध्ययमहरुले बेलायतको खस्कदो आर्थिक अवस्थाबारे रिपोर्टहरु तयार पारे । बीबीसी टेलिभिजनले गत मार्च र अप्रिल महिनामा २० प्रतिशत बेलायती जनताले आफ्नो कमाइबाट बाँच्नका लागि न्युनतम दैनिक उपभोग्य बस्तु खानेकुरा किन्ने रकम समेत अपुग भएको समाचार प्रकाशमा ल्याएको थियो । बेलायतका २० प्रतिशत परिवारहरुले खानेकुरा किन्ने पसलमा या त क्रेडिट कार्ड प्रयोग गर्नु प¥यो या त बैंकमा ओभरड्राफ्ट गर्नु प¥यो । ती २० प्रतिशत मध्येको ६० प्रतिशतले बैंकमा ओभरड्राफ्ट गर्न नपाउने र क्रेडिटकार्ड पनि नभएका कारण आफ्ना छरछिमेकी र नातागोतासँग पाउरोटी र नुन किन्न रकम सरसापट गर्नु परेको कुरा समाचारमा उल्लेख थियो ।

केही समय अघि द गार्डियनले झण्डै आधा मिलियन बेलायती बालवच्चा गरीवीको रेखामुनी बाँच्नु परिरहेको समाचार प्रकाशनमा ल्याएकै बेला लण्डनबाट प्रकाशित हुने निशुल्क दैनिक मेट्रोले गरीवी र भोकले बेलायतका घरहरुका ढोका ढक्ढक्याउन थालेको समाचार प्रकाशमा ल्याएको थियो ।

मेट्रोका अनुसार बेलायतमा लाखौँ मानिसहरुलाई इमर्जेन्सी खाना आवश्यक परेको छ । २०१० सालको तुलनामा २०१३ सालको सुरुसम्म आइपुग्दा तेब्बर गरीवी बढेको पनि मेट्रोले दाबी गरेको छ । गत १२ महिनादेखि जम्माजम्मी ३ लाख ५० हजार बेलायतीहरुलाई लण्डनस्थित च्यारीटी संस्था फुड बैंकले दिनको तीन पटक इमर्जेन्सी खाना खुवाउँदै आइरहेको छ । ती मध्ये १ लाख २६ हजार बालबच्चाहरु भएको बताइएको छ । उक्त दैनिकले वर्तमान सरकारले ल्याएको वेलफेयर रिफर्मका नीतिका कारण आगामी दिनमा भोकाहरुको संख्या अरु बढ्ने अनुमान गरेको छ ।

ट्रशेल ट्रष्टका अध्यक्ष क्रिश मोल्ड, जसले लण्डनमा फुड बैंक संचालन गर्दै आएका छन्, मेट्रोसँगको कुराकानीमा भन्छन् “हामीसँग विभिन्न ब्याकग्राउण्का व्यक्तिहरु खानाका लागि आउने गरेका छन् । तीमध्ये कतिपय आमाहरु आफ्ना बालबच्चालाई खाना दिएर आफु भोकै काममा जाने गरेका र घर आएर भोकै सुत्ने गरेका छन् ।” उनी थप्छन् “हिजो एक चौथाई विश्वमा उपनिवेश बनाएको मुलुक बेलायतका जनतालाई आज २१सौँ शताब्दीमा आएर भोखमरी लाग्नु, त्यो पनि सरकारका गलत नीति र रबैयाका कारण, यो एक दुख लाग्दो र डरलाग्दो अवस्था हो ।”

यो समाचार पढेपछि मैले उक्त ट्रष्टसँग टेलिफोनमार्फत सम्पर्क गरी यस्तो अवस्था सृजना हुनुका कारणहरु के के हुन सक्छन् र यस अघिका वर्षहरुमा कस्तो अवस्था थियो भनी सोधेको थिएँ । उनीहरु भन्छन् “हामीसँग अहिले ३ लाख ४६ हज्जार ९ सय ९२ ब्यक्तिहरु दैनिक हातमुख जोड्नका लागि नियमित सम्पर्कमा छन् । तर २०११ र १२ मा भने जम्मा जम्मी १ लाख २८ हज्जार ६ सय ९७ मात्र थिए भने २००८ र ०९ मा जम्माजम्मी २६ हजार नियमित खानाका लागि दर्ता भएका थिए । गत ६ महिनामा १ लाख भन्दा बढी संख्यामा मानिसहरु फुड बैंकमा दर्ता हुन आएका थिए । अहिले नियमित खानाको खोजीमा आउने झण्डै ३ लाख ५० हजारमध्ये आधा जसोले न्युनतम पाउने सरकारी बेनिफिट समयमा प्राप्त नगरेको र एकातिर बेनिफिट घटेको र अर्कोतिर खानाको मूल्य बृद्धि भएकोले अपुग भएको आरोप लगाउने गरेका छन् ।”

अक्सफामका डाइरेक्टर क्रिश जोन्सको आरोप यस प्रकार छ —“दैनिक उपभोग्य बस्तुमा द्रुतगतिमा मूल्य बृद्धि भएको एकातिर र अर्कोतिर सरकारले युवा पिढीलाई कामको व्यवस्था मिलाउन नसक्नु नै अहिले यो अवस्था सृजना हुनुको प्रमुख जिम्मेवार हो । यदि सरकारले आफ्नो अहिलेको रवैया परिवर्तन गरी युवा पिढीलाई कामको व्यवस्था मिलाउनेतर्फ ध्यान नपु¥याउने हो भने स्थिती नियन्त्रण भन्दा बाहिर जाने छ ।”

गतवर्ष नोभेम्बर महिनामा म क्यारेबियन जातिहरुको दिनाचर्या बुझ्ने उद्देश्यले दक्षिण पूर्वी लण्डन हुँदै उत्तर पूर्वी लण्डन पुगेको थिएँ । त्यतिबेला कुराकानी गर्ने क्रममा एक क्यारेबियन युवकले मसँग एक प्रसंगमा भनेको थिए “हेर, म आज बिहान जब सेन्टरमा कामको खोजीमा गएको थिएँ । मैले त्यहाँ या त मलाई काम देउ या त मलाई बाँच्नका लागि बेनिफिट देऊ भनेर माग गरेँ । तर उनीहरुले मलाई अहिले फुड बैंकमा गएर खाना खाई जिउने सल्लाहा दिए ।”

यो भोकमरीको समस्या कुनै सुनामी अथवा कुनै हरिकन आएर प्राकृतिक प्रकोपबाट भएको होइन । यो त बेलायतका राजनीतिज्ञ र ठूला धनी भनाउँदा एलाइट वर्गले कृत्रिम सृजना गरेको विपत्ती हो । यदि बेलायती सरकारले पूँजी वितरणको व्यवस्था व्यवस्थित ढंगले गर्न सकेको भए जबसेन्टरले कुनै पनि युवकलाई फुड बैंकसम्मको गोरेटो देखाउनु पर्ने थिएन । भर्खरै प्रकाशित सण्डे टाइम्सको सर्भे अनुसार एक हजार बेलायती धनाढ्यहरुसँग ४ सय ५० बिलियन सम्पत्ति रहेको छ । बेलायतमा मात्र ८८ जना बिलिनियर रहेका छन् । बेलायतवासी अति धनाढ्य १५ परिवारले ११९ बिलियन सम्पत्ति राखेर बसेका छन् । यी १५ मध्ये १३ अनुहार नयाँ बिलिनियर भएका छन् ।

अब अनुमान गरौँ यदि यो सम्पत्ति युवा पिढीले जागिर पाउने सार्वजनिक उद्योग धन्दामा लगायो भने ३ लाख ५० हजार व्यक्ति जो आज हरेक दिन पेट भर्नका निम्ति फुड बैंक धाउनु परिरहेको छ, ती ब्यक्तिहरुलाई जागिरदार बनाउन सकिने थियो । त्यतिखेर कुनै सर्भेले २१सौँ शताब्दी भनेर प्रश्न उठाइरहनु पर्ने थिएन । नत हिजोको “एम्पायर”को सम्झना गरिरहनु पर्ने थियो । यतिखेर एउटा महत्वपूर्ण प्रश्न के उठ्छ भने मुलुक तेस्रो आर्थिक मन्दीमा भासिइरहेको बेला कसरी १३ जना बेलायतीहरु नयाँ बिलिनियर बने ? यस्तो कसरी हुन सक्छ ? यसको स्पष्ट अर्थ हो – उत्पादन र वितरण प्रणालीमा कुनै अनुशासन, नियम वा कानून छैन ।

केही समयअघि बीबीसी रेडियो फोरले पनि बेलायतको खस्कदो अर्थतन्त्रको बारेमा लामै रिपोर्ट दिएको थियो । बीबीसी रेडियो फोरको रिपोर्ट अनुसार अहिले बेलायतमा २५ लाख घरहरु बैंकलाई तिर्नु पर्ने मोर्गेज तिर्न नसकेर समस्याग्रस्त भएका छन् र २०२० सालसम्ममा ६० लाख घरहरुलाई यो समस्या पर्ने कुरा पनि बताएको थियो ।

यी घरहरु किन्दा मोर्गेजको व्याज मात्र तिर्ने गरी घर लिए । हरेक वर्ष व्याज तिर्दै गए । मुलऋण ज्यूँ का त्यूँ रह्यो । अनि वर्षौंपछि ऋण लिएको ब्यक्ति ६५/७० वर्ष पुग्यो र बैकबाट लिएको मोर्गेज फर्काउन एकमुष्ट रकम जम्मा हुन सकेन । आफु वृद्ध हुँदै गयो । संस्कृती र आचरणविनाको यो समाजबाट छोरा छोरीहरु घरबाट फुत्त फुत्त निस्केर गए । सामाजिक उत्तरदायित्वको ठाउँमा व्यक्तिगत स्वार्थ हावी हुँदै गयो । आफु कामबाट पेन्सनमा निस्कनु पर्ने भयो । बेलायतमा सामाजिक जिम्मेवारी र आचरण खस्किदै गएपछि मानिसले एकल जीवन बिताउन थाले । जिम्मेवारी वा एक अर्काप्रतिको मायाको ठाउँ बस्तुले लियो । संस्कृती र आचरणबिहिन समाज हुर्किन थाल्यो । मूल्य र मान्यतामा परिवर्तन हुँदै गयो । व्यक्ति व्यक्ति प्रतिको मोह र इमान्दारिता भन्दा व्यक्तिले साधनलाई महत्वपूर्ण देख्यो । पूँजीवादले व्यक्ति स्वतन्त्रताको नाममा भविष्यका कर्णधार बालबच्चाहरुलाई स्वार्थी भएर हुर्कन सिकायो । म, मेरो र मेरो स्वतन्त्रताका कुराहरु अग्रपङ्तीमा आए । वर्तमान सामाजिक संरचनाले बालबच्चाहरुलाई अनुशासन र जिम्मेवारी बिनाको अधिकार र स्वतन्त्रताको पाठ सिकायो । समाज र राज्यलाई बलियोसँग अड्याउने महत्वपुर्ण खम्बा नयाँ पुस्तालाई गलत गोरेटो तर्फ डो¥यायो । जसको कारण उक्त खम्बामा धमिरा लाग्यो । खम्बा गर्लम्मै ढल्यो ।

जव आचरणमा धमिरा लाग्छ तव समाज स्वतः कुहिन थाल्छ । त्यसपछि संस्कृतिमा विचलन हुन थाल्छ । संस्कृतिमा विचलन आएपछि समाज जिम्मेवारबिहिन हुन जान्छ । समाज जिम्मेवारबिहिन भएपछि समाजले राष्ट्रलाई गर्न सक्ने योगदान पु¥याउन सक्तैन बरु उल्टै समाज परनिर्भर हुन्छ । समाज जब परनिर्भर हुन्छ तब मुलुकले उत्पादनका साधन र स्रोत सही ढंगले परिचालन गर्न सक्तैन । हो त्यही भएको छ अहिले बेलायतमा ।

यसअर्थले सामान्यतया ब्यक्ति, समाज वा राष्ट्रको चार प्रकारका पूँजी हुन्छन् । पूँजीबादमा पनि ती चारै प्रकारका पूँजीहरु स्वस्थ रहनु पर्छ । ती हुन् आर्थिक पूँजी सामाजिक पूँजी, सास्कृतिक पूँजी र आचरण पूँजी । यी चारवटै पूँजीहरु एक अर्काका परिपुरक हुन् । जब महत्वपुर्ण पूँजीहरु सामाजिक, सास्कृतिक र आचरण पूँजी नष्ट हुन्छ तब आर्थिक पूजीले मात्र मुलुक धान्न खोज्नु हुटिट्याउले समुद्रको पानी सुकाउने चाहना राख्नु जस्तै हो । त्यही चाहना बेलायती सरकारले राखेको थियो । अब त त्यो पनि धराशायी भैसक्यो । जनतालाई कामको निश्चितता गरेर आत्मनिर्भर बनाउनुको बदला परनिर्भर बनाएर सिमित वर्गले राज्य गरिरहने कुचेष्टा अहिले छर्लङ्गिएको छ ।

बेलायती संचार साधनहरुले बेलायतको खस्कदो आर्थिक अवस्थाबारे सरकार र जनतालाई सतर्क गराउँदै जानकारी दिइरहँदा अर्थमन्त्री जर्ज ओसबर्नले भने बेलायत अहिले तेस्रो मन्दीमा नरहेको बरु बेलायतको ०.०३ प्रतिशत ग्रस डोमेस्टीक प्रडक्ट वृद्धि भएको रिपोर्ट अगाडि सारेका थिए । उनले यी कुराहरु बीबीसीबाट भनिरहँदा उनले के कुरा बिर्से जस्तो लाग्थ्यो भने उनको त्यो ०.०३ प्रतिशत जीडीपी वृद्धि शब्दमा नै एक भ्रम थियो । किनभने बेलायती समाजको ठुलो हिस्सा उनको त्यो भनाइप्रति सन्तुष्ट थिएन । त्यति मात्र नभएर अहिले देखिएको अत्यावश्यक सुधार हुनु पर्ने सामाजिक पूँजीप्रतिको जिम्मेवारी असन्तोषजनक थियो । त्यसैले उनी जुन आफैमा भ्रम लिएर टिभीमा उपस्थित भए, त्यसको आवश्यकता थिएन । उनले भनेको उत्पादनको दर दैनिक उपभोग्य वस्तुको आवश्यकताको तुलनामा अत्यन्त न्युन थियो । उनले त पूँजीवादको न्युनतम आवश्यकता र उत्पादनका कुराहरु उठाउन सक्नु पथ्र्यो । जसले समग्र राष्ट्र र समाजलाई धानेको छ । नयाँ पुस्ता, गरीवीको रेखामुनी बाँच्न बाध्य भैरहेका झण्डै आधा मिलियन बालबच्चा एवं पाउरोटी र नुन किन्नका लागि ऋण काढ्न बाध्य हुनुपर्ने २० प्रतिशत बेलायती जनसमुदाय तथा साढे तीनलाख जनता जो प्रत्यक दिन फुड बैकको सहारामा बाँचीरहेका छन, यस बारेमा उनले संबोधन गर्न सक्नु पथ्र्यो । जर्ज ओसबर्नले बेलायतमा जीडीपी माइनस नभै ०.०३ प्रतिशतले सुधार भएको कुरा ल्याउनु र त्यसप्रति भर परेर बस्नु भनेको नेपाली उखानमा “मुतको न्यानो” मात्र हो ।

यतिखेर बेलायतस्थित वर्गीय राजनैतिक सँगठनहरु र मजदुर सँगठनहरुलाई एउटा चुनौति थपिएको छ । यदि वर्गीय राजनैतिक सँगठनहरुले यो समस्यालाई पूँजीवादीहरुको कब्जाबाट थुतेर समाधानतर्फ उन्मुख नहुने हो भने भर्खरै मात्र स्थानीय निर्वाचनमा यत्र तत्र फैलिन सफल दक्षिणपन्थी शक्तिले बेलायतको गिर्दो आर्थिक अवस्थालाई हतियार बनाइ प्रयोग गर्न सक्नेछन् । र, अहिले फुड बैंकमा लाम लागेका जनसमुदाय दक्षिणपन्थी शक्तिको लाममा खडा हुने छ, जसरी दोस्रो विश्वयुद्ध कालमा ठुलो जनशक्ति नाजीको लाममा खडा भएका थिए । (यो लेख मैले बेलायतबाट प्रकाशित हुने सत्य तथ्य मासिकका लागि लेखेको हु र उक्त मासिकको अंक आठ मा प्रकाशित भएको छ । )

Bookmark the permalink.

5 Responses to पूँजीविनाको बेलायती पूँजीवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *