नेपालीलाइ प्रचण्ड गुटको धम्की

Prachanda-and-Baburam2एमाओबादीका एक नेताले मुलुकलाइ निकै धम्कीपूर्ण भाषामा एउटा लेख लेखेर अनलाइन खबरमा प्रकाशित गराए । हरेक दशबर्षमा नेपालमा आन्दोलन हुने गरेको र ६२/ ६३ पछि अव दश बर्ष हुन लागेको र प्रचण्डको नेतृत्वमा आन्दोलन हुने धम्की दिएका छन् । उनले आफ्नो लेखमा डा. बाबुराम भट्टराइसंगको गुटगत झगडालाइ निहुं बनाएर समग्र नेपाल र नेपालीलाइ फेरी आन्दोलन गरेर मुलुकमा फेरी अशान्ती ल्याउने धम्की दिए ।
मुलुकमा गणतन्त्र घोषणा भएको छ वर्ष पूरा भैसकेकोछ । ०६५ जेठ १५ गते सार्वभौम जनताबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष पुरानो शाही राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । अनेक आशंका र त्रासका बीचमा सम्पन्न संविधानसभाको निर्वाचनपछि मुलुकमा के हुन्छ भन्ने आशंका व्याप्त थियो । राजा ज्ञानेन्द्र नारायणहिटीमा थिए, राजाप्रति प्रतिबद्ध मानिएको नेपाली सेना जंगी अड्डामा थियो । यस्तो अवस्थामा गणतन्त्र कसरी घोषणा होला र त्यो क्षण कस्तो होला भन्ने आशंका नेपालीहरूमा हुनु स्वाभाविक थियो । अनि मुलुकभित्र समयमै राम्ररी काम नगर्ने अनि भ्रष्टाचार गर्ने र त्यसबाट उत्पन्न आक्रोशबाट बच्नका लागि अदृश्य शक्तिलाई दोष दिने रोगबाट ग्रस्त हाम्रा राजनेताहरुमा सजिलै गणतन्त्र घोषणा गर्दा अन्तर्राष्ट्रिय क्षेत्रको समर्थक के कस्तो होला भन्ने जिज्ञासा पनि थियो । तर, अनेक हण्डर र ठक्कर खाएका दलहरूले दृढतापूर्वक गणतन्त्रका पक्षमा आफूलाई उभ्याए र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्भव भएको थियो । यस आधारमा हेर्दा नेपालको इतिहासलाई बदल्ने एक ऐतिहासिक र सम्भवत सबभन्दा बढी प्रभाव पार्ने दिनका रूपमा नेपालको इतिहासमा त्यो दिन अंकित भएको हो ।
तर, त्यसयताका दिनहरू भने जनताका लागि त्यति प्रिय हुन सकिरहेका छैनन्  । दुई वर्षभित्र संविधान बनाउने भनेर जनताबाट निर्वाचित भएर आएको संविधानसभाले दोब्बर कार्यकाल पूरा गर्दा पनि त्यो दायित्व पूरा गर्न सकेन । लोकतान्त्रिक गणतन्त्र घोषणा त भयो तर त्यसलाई संस्थागत गर्ने काम हुन सकेन । मुलुकलाई एकात्मक र केन्द्रीकृत संरचनाबाट संघीय स्वरूपमा ढाल्ने घोषणा भए पनि त्यस अनुरूपको कुनै काम आजसम्म हुन सकेको छैन । त्यही कारण अन्यत्र दुर्लभ देखिएको दृश्य नेपालमा देख्नुपर्यो र संविधानसभाको दोस्रो निर्वाचन आयोजना गर्नुपरेको यथार्थ सबैका सामु छ । यस अवस्थामा जती जती दिन, रात, हप्ता, महिना र बर्षहरु बित्दै जान्छन् त्यती यस्तो दु:खद् पक्षको पनि स्वतह: सम्झना आउने रहेछ । तर, अब विगतमा जे भयो, त्यसमा गुनासो गरेर बसिरहेर पाइनेवाला पनि केही छैन । यसबाट पाठ सिकेर आगामी दिनकाका लागि काम गर्नका लागि असफल विगत पनि एउटा राम्रो सन्दर्भ सामग्री बन्न सक्छ । यस आधारमा राजनीतिक दलहरूले नवस्थापित गणतन्त्रलाई संस्थागत गर्नका लागि आपसका तमाम अरू मतभेदहरूलाई पर राखेर एकताका साथ काम गर्नुपर्छ । गणतन्त्र संस्थागत भयो भने र त्यसलाई संघीय स्वरूप दिएर मुलुकको जग बलियो बनाउन सकियो भने त्यसपछि आपसमा प्रतिस्पर्धा गर्ने कुरा त छँदैछ । तर, यहाँ त लोकतन्त्रका नाममा यति धेरै प्रतिस्पर्धा भइरहेको छ, यति धेरै खिचातानी भइरहेको छ, हामी आफ्नो मुलुक प्रतिको कर्तब्य केहो भन्ने कुराबाट बिमुख भएर जात जाती र एकले अर्को धर्मलाइ आरोप लगाउदै खिचातानी गररिहेका छौं । हाम्रा राजनैतिक पार्टीहरु गुट उपगुटमा बिभाजित छन् । जसबाट लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र बलियो होइन, कमजोर भइरहेको छ । प्रतिस्पर्धाका नाममा स्वयम् राजनीतिक दलहरूभित्रै गुट उपगुटहरूको प्रतिस्पर्धा छ भने दल–दलका बीचमा पनि सौहर्दता र हार्दिकताको साटो तिक्तता बढी छ । यस अवस्थामा गणतन्त्र संस्थागत गर्ने काम झन् दुरुह बन्दै गैरहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि समयमै संविधान निर्माण गर्नुबाहेक अर्को कुनै उपाय छैन । पुरानै कामका लागि दोस्रो पटक आयोजना गरिएको संविधानसभाबाट निर्वाचित भएका सदस्य र ती सदस्यहरूलाई लगाम लगाउने राजनीतिक दलहरूको ध्यान अन्यत्र कतै नगएर उनीहरूले पहिला आफ्ना चुनावी घोषणापत्र र पछि संविधानसभाबाट पारित गरेको– एक वर्षभित्र संविधानसभाबाट संविधान बनाउने– प्रतिबद्धता मात्रै कार्यान्वयन गरिदिने हो भने गणतन्त्र ल्याउनका लागि ०६२र६३ को जनआन्दोलनमा जनताले बगाएको रगत, पसिना र बेहोरेको कष्टले सार्थकता पाउनेछ । र कसैले पनि अरु कसैलाइ हरेक दश बर्षमा नेपालमा आन्दोलन हुने गरेको त्रास देखाएर धम्काउनु पर्ने छैन र त्यस प्रकारको धम्कीबाट कोही पनि डराउनु पर्ने अवस्था आउने छैन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *