‘नेपालका लागि सबै नागरिक बराबर छन्,

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् ।
गणेशमान सिंह स्मृति केन्द्र टोखाले शुक्रबार काठमाडौंमा गरेको स्मृति सभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर छन्,’ उनले भने, ‘पूर्वराजाको भ्रमणलाई पनि कसैले विरोध गर्नु हुँदैन ।’
पूर्व राजालाई जिल्ला प्रवेशमा रोक लगाएर विभिन्न स्थानमा विरोध भईरहेका समयमा एमाले नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पश्चिमाञ्चलको धार्मिक भ्रमणका लागि भन्दै बिहीबार सडकमार्ग हुँदै पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार पनि पोखरामै रहे । शुक्रबार बिहान पोखराबाट म्याग्दी जाने कार्यक्रम भएपनि दलहरुले म्याग्दी बन्द गरेका कारण पूर्वराजाले त्यहाँ जाने आँट गरेनन् । पूर्व राजाले धार्मिक भ्रमणको नाममा राजनीतिक चलखेल गर्न लागेको भन्दै स्थानीय दलहरुले शुक्रबार जिल्ला बन्दको घोषणा गरेका थिए ।
‘बन्दको बेला अनाबश्यक लफडा होला भनेर म्याग्दी जाने कार्यक्रम स्थगित भयो’ पूर्व राजाको स्वागत समितिका एकजना सदस्यले भने ’पूर्व राजाको समर्थकहरु पनि ठूलै संख्यामा थिए, स्थगित नगर्ने भन्दै थिए, तर उहाँले नै अनावश्यक मूठभेड गर्न हुन्न भन्नुभयो र भ्रमण स्थगित भयो ।’

बिहीबार सडक मार्ग हुँदै पोखरा पुग्दासम्म सडक छेऊछेऊमा उभिएका सर्वसाधरणबाट भव्य स्वागत र सम्मान पाएका पूर्व राजालाई म्याग्दीमा पनि त्यसैगरी स्वागत गर्ने तयारी थियो । ठाउँठाउँमा स्वागत गेट बनाइएको थियो । तर पूर्व राजालाई स्वागत गर्ने नाममा ‘श्री ५ महाराजाधिराज’ भनेर सम्बोधन गरिएको भन्दै स्थानीय राजनीतिक दलले आपत्ति जनाए । त्यसैले उनीहरुले पूर्व राजालाई रोक्नकै लागि बन्द आहृवान गरेका थिए । स्वागत गर्ने र समर्थन गर्नेहरुको भीड देखेपनि बन्दको बेला पूर्व राजाले भ्रमण नगर्न नै उचित देखे । त्यसैले शुक्रबार उनी पोखरामै बसे । पूर्व राजाका सहयोगीका अनुसार पोखरामा छँदा उनले कसैसित पनि भेट गरेनन् । ‘उहाँले होटलमै खाना खाएर आराम गर्नुभएको छ, बाहिर निस्कनुभएको छैन’ पूर्व राजाका सहयोगीले भने । उनका अनुसार पूर्व राजाले राजधानी र्फकनेबेला मात्र पत्रकारसित कुरा गर्ने तयारी छ । ‘अहिले उहाँले कसैसित भेटवार्ता गर्नुहुन्न’ उनले भने(’शनिबारदेखि जिल्ला भ्रमणमा जानुहुन्छ ।’
स्रोतका अनुसार यसअघि लुम्बिनी भ्रमणमा जस्तै यसपटक पनि उनले पोखरामा पत्रकारसित बेलुकीको खाना सहित अन्तरंग कुराकानी गरेको कुरा उनका सहयोगी बताए ।
शनिबार देखिको भ्रमणको कार्यतालिका :
शुक्रबार म्याग्दी जाने कार्यक्रम स्थगित भएपनि शनिबारदेखि पश्चिमाञ्चलका केही जिल्लाको भ्रमणमा निस्कने तयारी छ । म्याग्दी बाहेकका जिल्लामा बन्द आहृवान नभएकाले उनी शनिबार पूर्व निर्धारित ठाउँमा जाने तरखरमा लागेका हुन् । स्रोतका अनुसार राजनीतिक चलखेल देखिने गरी गतिबिधि नदेखाउन पूर्व राजाले आफ्ना सहयोगी र समर्थकलाई आग्रह गरेका छन् । राजनीतिक गतिबिधि नभएपनि स्थानीय राजनीतिक दलहरुले पनि भ्रमणमा अवरोध नपुर्याउने मनस्थिति बनाएका छन् । त्यसो हुँदा शनिबारदेखि १० गतेसम्म पूर्व राजाले जिल्ला भ्रमण गर्ने तयारी छ । १० गते बेलुका पत्रकारसित कुरा गरेर उनी ११ गते राजधानी फर्केन अहिलेसम्मको योजना छ ।
कार्यक्रम अनुसार शनिबार बिहान साढे ८ देखि ९ बजेभित्रमा उनी बागलुङको लागि निस्कने छन् । बागलुङ र पर्वतका बिभिन्न मन्दिरको दर्शन गरेपछि बेलुका बास बस्न फेरि पोखरा नै फर्कने कार्यक्रम छ ।
यस्तै ७ गते पूर्व राजा पोखराबाट स्याङ्जा गएर बेलुकी फेरि पोखरामै फर्कने छन् । ८ गते पूर्व राजा तनहुँको दमौली भ्रमण गरी बेलुकी फेरि पोखरामै र्फकने कार्यक्रम छ । ९ गते पोखराको बिन्दबासिनी मन्दिरको दर्शन गर्ने र १० गते पोखरामै आराम गर्ने योजना छ । ११ गते उनी फेरि सडक मार्ग हुँदै राजधानी र्फकने जानकारी उनका सहयोगीले दिए ।

Bookmark the permalink.

One Response to ‘नेपालका लागि सबै नागरिक बराबर छन्,

Leave a Reply

Your email address will not be published. Required fields are marked *