नारामा जोड दिने र अन्तरवस्तुभित्र नपस्ने प्रबृति बन्द हुनु पर्छ

घनश्याम भुसाल 

नेपालको कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी नेकपा एमालेले दुईवटा ऐतिहासिक योगदान गरेको थियो । एक, लामो समयसम्म विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा विकसित गर्‍यो र राष्ट्रिय राजनीतिमा अत्यन्तै न्यून प्रभाव रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । दुई, नेपालको कम्युनिस्ट आन्दोलनलाई विश्व कम्युनिस्ट आन्दोलनका अनेकन सैद्धान्तिक जडताबाट मुक्त गर्न ठोस वैचारिक आधारलाई स्थापित गर्‍यो ।

०४७ सालको प्रजातन्त्रमा एमाले फस्टाउँदै गएको थियो, तर त्यो प्रजातन्त्रमा संकट थपिँदै पनि गइरहेका थिए । हामी सरकारमा नहुँदा प्रजातन्त्रमा संकट आएका हुन् भन्ने कुरामा हामीले बढी जोड दिँदै जाँदा हाम्रा गतिविधि संसद् र सरकारसँग जोडिँदै गए तर पार्टीका आन्तरिक मामिलामा ध्यान पुग्न सकेन, समस्या थपिँदै गए । अन्ततः असोज १८ र माघ १९ का घटनाले प्रजातन्त्रका संकटलाई बाहिर ल्याइदिए भने संविधानसभा निर्वाचनले एमालेका आन्तरिक समस्यालाई एकैचोटि सतहमा ल्याइदियो । यी घटनालाई पार्टीमा व्यापक सुधारको अवसरका रूपमा उपयोग गर्न सकिएन भने निर्वाचनमा धक्का खाए पनि अहिलेसम्म महत्त्वपूर्ण भूमिकामा रहेको एमालेले अबको राजनीतिमा प्रभावकारी शक्तिको भूमिका खेल्नसमेत गाह्रो हुँदै जानेछ ।

व्यावहारिक अन्तरवस्तुलाई पहिचान र स्थापित गर्न सकिएन भने कुनै पनि नाराले आप\mनो औचित्यसमेत गुमाउँदै जान्छ । माघ १९ पछि, विशेषगरी संविधानसभाको निर्वाचनपछि एकदमै जरुरी ठानिएको पुनर्गठनको नाराले अहिलेसम्म पनि ठोस अन्तरवस्तु ग्रहण गर्न सकेको छैन । महासचिवको परिवर्तन पार्टीको पुनर्जागरणका लागि आवश्यक थियो । तर, त्यसले पुनर्गठनप्रक्रियालाई तीव्र बनाउनुपथ्र्यो । यस बीचमा सम्पन्न भएका १८ औँ, १९ औँ र २० औँ बैठकले त्यो प्रक्रिया सुरु गर्न नसकेको हुँदा ‘पुनर्गठन’ नारामा मात्रै सीमित भएको छ । ‘पार्टीलाई विचारधारात्मक बनाउनुपर्छ,’ ‘विचारधारात्मक रूपले पुनर्गठन गर्नुपर्छ,’ ‘राजनीतिक कार्यदिशा सही हुनुपर्छ’जस्ता आन्तरिक मुद्दामा पार्टी नेतृत्वले जोड दिनु स्वागतयोग्य कुरा हुन् । तर, नारामा जोड दिने र अन्तरवस्तुमा नपस्ने अहिलेको तरिकालाई नै निरन्तरता दिएर गरिने महाधिवेशनले नाराकै पुनर्पुष्टि गर्नेबाहेक अरू केही गर्न सक्ने छैन ।

अहिलेकै तरिकाले अगाडि बढ्दा ‘जनताको बहुदलीय जनवाद’ -जबज)का विशेषता भनेर राखिएका बहुमतको सरकार, अल्पमतको विपक्षजस्ता बुँदामा केही संशोधन गरेर समावेशीकरण र संघीयताजस्ता मुद्दा समावेश गरिनेछ र जबजको विकास वा पुनर्गठन भएको चर्चा गरिनेछ । केही नयाँ पद सिर्जना गरेर ती पदमा केही नेतालाई ‘ठाउँ’ बनाइनेछ । नेताहरूका वरिपरि बनेका गुटका बीचमा अस्थायी मेलमिलाप कायम हुनेछ र त्यही मेलमिलापलाई ‘सैद्धान्तिक एकता’ र पार्टीको व्यापक ‘लोकतान्त्रीकरण’ भएको प्रचार गरिनेछ । तर, त्यति मात्र गरेर एमालेको ऐतिहासिक अभिभारा पूरा हुँदैन ।

हिजो नेपाली राजनीतिको भविष्य भनेर विश्वास गरिएको एमालेको भूमिकामा ह्रास हुँदै गएर आज हामी जहाँ आइपुगेका छौँ, यसको कारण पार्टीको नेतृत्व हो भन्नेमा शंका छैन । तर, नेतृत्व भनेको व्यक्ति मात्रै होइन, बरु पार्टीका नीति र तिनको प्रयोगसमेत हो भन्ने तथ्यलाई ध्यान दिइएन भने राजनीति अलग-अलग व्यक्तिको निजी क्षमताको विषय बन्न जानेछ । त्यसरी पार्टी व्यक्तिगत महत्त्वाकांक्षाको अनन्त गुटबन्दीमा फस्दै जानेछ । त्यसैले आज पार्टीका सफलता र असफलता व्यक्तिमा होइन, राजनीति र सिद्धान्तमा खोजिनुपर्छ ।

जबजलाई विकसित गर्ने भनेको माक्र्सवादी विधिद्वारा यसलाई अझ समृद्ध पार्नु हो । माक्र्सवादी परम्परामा यसको स्थान कुन र कहाँ हो ? माक्र्सवादी परम्पराबाट यसले कुन-कुन कुरा लिएको छ ? यी प्रश्नको उत्तरले जबजको माक्र्सवादी सारतत्वको पुष्टि हुन्छ । यसो गरिएन भने जबजको कुनै मानक रहनेछैन । माक्र्सवादी परम्पराका कुन-कुन कुरा यसले किन लिँदैन ? त्यसको ठाउँमा कुन-कुन कुरा यसले किन थपेको छ ? यस्ता प्रश्नको उत्तर नदिईकन यसको मौलिकताको पुष्टि हुनेछैन । जबज वैज्ञानिक सिद्धान्त हो भन्ने कुरा कुनै नेता वा समूहका दाबीले मात्रै पुष्टि गर्दैन । बरु जबजवादीका दाबी नै वस्तुगत तथा वैज्ञानिक छन् कि छैनन् भन्ने माक्र्सवादको कसौटीमा पुष्टि हुनुपर्छ । साथै, जबजलाई माक्र्सवादी परम्पराभित्र बुझ्न र व्याख्या गर्न सकिएन भने अन्य कम्युनिस्ट पार्टीका राजनीतिक दृष्टिकोणसँग तुलनात्मक अध्ययन गर्दा यसले आफुलाई सही सावित गर्न सक्दैन । अर्थात, न त यसले अरु कम्युनिस्ट पार्टीले आफूलाई लगाएका आरोपको खण्डन गर्न सक्छ, न त अरू पार्टीका नीतिको गहिरो र प्रामाणिक आलोचना गर्न सक्छ । हामीले नदेखेझैँ गरे पनि एमालेमा यो समस्या झन् बढ्दै गएको छ ।

तथ्यहरूले के बताउँछन् भने आजसम्म एमालेले जबजलाई माक्र्सवादी परम्परामा सांगोपांग व्याख्या गर्ने प्रयत्नसमेत गरेको छैन । त्यसो नगरीकन जबजलाई सिद्धान्त भन्नु अर्थहीन छ । त्यसैले एकजना माक्र्सवादी विचारकका रूपमा कमरेड मदन भण्डारीका योगदानको रक्षा गर्ने हो भने जबजलाई माक्र्सवादी विधिद्वारा विकसित गर्नुबाहेक अर्को बाटो छैन । माक्र्सवादको रक्षा गर्नु वा माक्र्सवादी बन्नु भनेको माक्र्सप्रति भक्तिभाव प्रकट गर्नु वा श्रद्धाञ्जली चढाउनु मात्र होइन, बरु मानवसमाजलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विधिअनुसार अध्ययन गर्नु हो ।

कुनै पनि वैज्ञानिक सिद्धान्त प्रथमतः त्यसभन्दा अगाडिको ज्ञानमा आधारित हुन्छ । त्यसको अर्थ त्यस सिद्धान्तले आप\mनो उद्भवको वस्तुगत सन्दर्भको पुष्टि गर्नुपर्छ । समाजवादी तथा कम्युनिस्ट आन्दोलनको इतिहासको कुन अवस्थामा जबज आएको छ भन्ने कुरालाई स्पष्ट पार्न सकिएन भने हामीले जुनबेला जे गर्छौँ, त्यसैलाई सिद्धान्त भनिदिनेछौँ । जुनसुकै पार्टीसँग गठबन्धन गर्न तयार हुने, राजाको सरकारमा समेत जान तयार हुने, संगठन र संघर्षलाई भन्दा सरकार बनाउने खेललाई जोड दिने, पार्टी निर्माणभन्दा दैनन्दिन राजनीतिक घटनामा अगुवा देखिन खोज्नेजस्ता सबै क्रियाकलापलाई जबजको कार्यान्वयन भनिदिने छौँ । त्यसरी पार्टीका नीति कुनै बृहत् उद्देश्यका लागि भन्दा तात्कालिक स्वार्थमा प्रयोग हुँदै जानेछन् । समयक्रममा ती स्वार्थमा हुने अन्तरविरोधलाई सिद्धान्तको आवरण लगाइन्छ । एउटै घटनालाई व्यक्तिपिच्छे अलग-अलग व्याख्या गर्न थालिन्छ । यसरी हामी माक्र्सवादमा अगाडि बढ्नुभन्दा अनुभववादमा फस्दै जान्छौँ । जब अनुभवलाई अलग-अलग वैधता दिन्छौँ, हाम्रो माक्र्सवादलाई एउटा विचारधाराका रूपमा व्याख्या गर्नु असम्भव हुँदै जान्छ । फलतः एउटै विषयमा भिन्न-भिन्न मत बन्दै जान्छन् र पार्टी गतिहीन बन्दै जान्छ, विभाजित हुन्छ । यदि, ती पार्टी एकताबद्ध नै भए भने पनि माक्र्सवादबाट अलग्गिँदै जान्छन् । एमालेमा अहिले यी दुवै प्रवृत्ति देखिएका छन् ।

कुनै पनि वैज्ञानिक सिद्धान्तले आप\mना सफलता र असफलताको वस्तुगत परीक्षणको विधिसमेत आफैँले तयार गर्नुपर्छ । अथवा, त्यो सिद्धान्तको ठीकसँग प्रयोग हुने सर्त र बेठीकसँग प्रयोग हुने अवस्था स्पष्ट हुनुपर्छ । पार्टी केन्द्रीय कमिटी वा त्यसको बहुमत-अल्पमतजस्तो प्राविधिक विधिद्वारा होइन, बरु वस्तुगत, तार्किक विधिद्वारा देखिनुपर्छ । यसको अर्थ हामीसँग एउटा वैज्ञानिक कार्यपद्धति अर्थात् कार्यविधि आवश्यक हुन्छ, जसका आधारमा हरेक सिद्धान्त नयाँ परिस्थितिमा प्रयोग हुन्छ र त्यसका अनुभवका आधारमा परिमार्जित तथा विकसित हुँदै जान्छ । यो प्रक्रियामा सिद्धान्तलाई हेर्न र बुझ्न सकिएन भने हाम्रो सिद्धान्तले वैज्ञानिकता गुमाउँदै जानेछ । हामीले आप\mनो सिद्धान्त सही छ भनेर दाबी गरिरहनेछौँ, तर विचार, संगठन तथा कार्यशैलीमा रहेका समस्या निरन्तर बढिरहनेछन् । हाम्रा असफलतालाई कुनै व्यक्तिको टाउकामा हालेर उम्कने संस्कृति बन्नेछ । आज एमालेमा यही भइरहेको छ । त्यसैले एमाले-पंक्तिका अगाडि आजको चुनौती भनेको जबजप्रति भक्ति प्रदर्शन गर्नु, यो सही छ भनेर आस्था प्रकट गर्नु वा जबज सही सिद्धान्त हो, तर त्यसलाई प्रयोग गर्ने पात्र ठीक भएन भनेर गुनासो गर्नुभन्दा यसलाई विकसित गर्नु हो, समृद्ध पार्नु हो ।

सोभियतसंघको विघटन, नेपालको भू-राजनीति, नेपालको प्रजातान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीको भूमिकाजस्ता सन्दर्भमा जबजलाई व्याख्या गर्नु एउटा कुरा हो, तर त्यति मात्र पर्याप्त हुँदैन । किनभने ती घटना वा परिस्थितिलाई समेत माक्र्सवादभित्रै विश्लेषण गरिएन भने ती घटना वा परिस्थितिको अध्ययन वा मूल्यांकन सही हुँदैन र गलत प्रस्थापनामा आधारित भएर जबजको विश्लेषण गर्न पुगिनेछ । त्यसरी जबजको सैद्धान्तिक वैचारिक सारतत्व स्थापित हुनेछैन । नेकपा माओवादीले ‘एक्काइसौँ शताब्दीको जनवाद’का नाममा बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्नु, शान्तिप्रक्रियामा आउनुपर्ने त्यसको बाध्यता, निर्वाचनमा उनीहरूको सहभागिताजस्ता कुरालाई आधार बनाएर ‘जबज पुष्टि भयो’ भन्नेजस्ता प्रचारले जबजलाई बचाउनेछैन । बरु यस्तो मान्यताले के-को पुष्टि गर्छ भने जबजको औचित्यको पुष्टि नेकपा माओवादीले गर्नुपर्दोरहेछ । त्यस्तै, यो प्रक्रियामा आएर उनीहरूले पनि गलत बाटो पो अवलम्बन गरिरहेका छन् कि भन्ने आशंकाको समाधान यसले दिँदैन ।

बहुदलीय प्रतिस्पर्धालाई अवलम्बन गर्नु नै जबजको मौलिकता हो भनेर बुझियो भने त्यो हास्यास्पद हुनेछ । किनभने बहुदलीय प्रतिस्पर्धाको बाटो १९३० को दशकदेखि अनेकौँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएका हुन् । तर तीमध्ये कैयौँ कम्युनिस्ट पार्टी दक्षिणपन्थी हुँदै गए, जनताबाट अलग्गिँदै गए, विघटित भए । त्यसैले जबजको मौलिकताको मुख्य कसी प्रजातान्त्रिक बाटो लिएर पनि यसमा पार्टीलाई बुर्जुवाकरण हुनबाट रोक्ने तथा सामाजिक रूपान्तरणको वाहक बनाइरहने कार्यपद्धति छ वा छैन भन्ने संरचना र प्रक्रिया हो । पार्टीको बुर्जुवाकरण हुँदै जाने प्रक्रियालाई रोक्ने संरचना र प्रक्रिया स्पष्ट नपारीकन जबजको मौलिकता, वैज्ञानिकता, वस्तुगतताजस्ता कुरा गर्नु पार्टीलाई विचारका नाममा विचारहीन बनाउनुबाहेक केही होइन । त्यसैले जबजले सर्वप्रथमतः आफूलाई माक्र्सवादी पद्धतिमा सही सावित गर्नुपर्छ । कम्युनिस्ट पार्टीले स्वीकार गरेको हुनाले बहुदलीय प्रतिस्पर्धा स्वतः माक्र्सवादी हो भन्ने कोणबाट मात्र यसको व्याख्या गरेर जबज माक्र्सवादी हुँदैन ।

पार्टीमा विचारधारात्मक जग कमजोर हुँदै जानु भनेको कुनै अमुक नेता मात्रै गैरमाक्र्सवादी हुनु होइन । यस्तोबेला पार्टीको सम्पूर्ण पंक्ति नै थौरै वा धेरै कमजोर हुँदै जान्छ, अझ नेतृत्वतहमा रहनेहरूले पार्टीलाई विचारहीन बनाउने कुरामा बढी योगदान गरेका हुन्छन् । त्यस अवस्थामा पार्टी नेतृत्वले नयाँ विषयमा छलफल चलाउनसमेत इन्कार गर्छ, पार्टीमा विचार नहुनु र विचार नै नभएपछि वैचारिक विवाद नहुनुलाई नै वैचारिक तथा सैद्धान्तिक एकता भनेर प्रचार गर्छ । यसरी समस्या समाधान गर्न पार्टीसँग थोरै पनि समय बाँकी छ भने पनि नेतृत्वको अकर्मण्यताले गर्दा सुधारका लागि सम्पूर्ण समय गुमीसक्छ र हेर्दा-हेर्दै, देख्दा-देख्दै एउटा जीवन्त पार्टी क्रमशः अवसानतर्फ अगाडि बढ्छ ।

तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन -०४६) ले बहुदलीय जनवादी व्यवस्थाको अवधारणा अगाडि सार्‍यो । त्यो एउटा महत्त्वपूर्ण घटना थियो, तर त्यसको व्याख्या भएको थिएन । एमालेको पाँचौँ महाधिवेशन -०५९) ले जबजको कार्यक्रम अगाडि सारेर त्यसलाई भविष्यको सामाजिक-आर्थिक व्यवस्थाका रूपमा मूर्त बनाउन योगदान गर्‍यो । माक्र्सवादी सिद्धान्तको समग्र इतिहासमा जबजको व्याख्या गर्ने, परम्परागत नयाँ जनवादका समस्यालाई पहिचान गर्ने र नयाँ कार्यभारको सैद्धान्तिक व्याख्या गर्ने काम बाँकी नै थिए । पाँचौँ महाधिवेशनपछि एमालेका लागि यो काम सर्वथा महत्त्वपूर्ण थियो । महाधिवेशनको केही महिनाभित्रै जबजका अगुवा कमरेड मदन भण्डारीको हत्या भएपछि यस विषयमा कुनै प्रयत्न भएन । आज एमालेको विगत १६ वर्षको मूल्यांकन गर्दा हामीमध्ये कतिले ०५२ सालमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि संसद्को विघटनलाई पार्टीमा कमजोरीको आरम्भ ठान्छौँ, कतिले राप्रपासँग बनाइएको संयुक्त सरकारलाई मान्छौँ, कतिले पार्टी विभाजनलाई वा कतिले जनसंघर्षलाई परित्याग गर्नु, सत्तामुखी हुँदै जानु, राजा ज्ञानेन्द्रलाई दाम चढाउनु र देउवा सरकारमा सहभागी हुनुसम्मका अनेकौँ कारण देखाउँछौँ । तर, जबजलाई विकसित गर्न ध्यान नदिँदा पार्टीले उपर्युक्त गल्ती गर्दै जानु स्वाभाविक हुन्थ्यो भन्नेतर्फ भने कमै ध्यान दिएका छौँ । अहिले पुनर्गठनका बारेमा गरिएका औपचारिक निर्णयले पनि यसलाई बुझ्न सकेका छैनन् । यस हिसाबले के निष्कर्ष निकाल्न सकिन्छ भने पुनर्गठन र लोकतान्त्रीकरणका नाममा अहिलेजसरी नै महाधिवेशनसम्म पुग्ने हो भने एमालेमा पुनर्गठन वा पुनर्जागरण सम्भव छँदै छैन ।

हिजो एमाले हामीले नै बनाएका थियौँ । आज एमाले कमजोर अवस्थामा छ भन्ने कुरा स्वीकार गर्ने हो भने स्वाभाविक रूपमा के पनि स्वीकार गर्नैपर्छ भने यसलाई हामीले नै कमजोर बनाएका हौँ । त्यसको अर्थ हो, हामीले बनाउँदा यो बन्छ र बिगार्दा बिग्रन्छ । एमालेका सदस्यका हिसाबले आज हाम्रो दायित्व हो ः जो जसले जे गर्दा एमाले पुनर्गठित, पुनर्जागि्रत हुन्छ, त्यसले त्यही गरोस् ।
(आठौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्रको एक अंश)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *