नरोद्दम सिंहानुक अब रहेनन

कुनैबेला सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिका रुपमा चिनिने क्याम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकको ८९ वर्षको उमेरमा निधन भएको छ । चीनको राजधानी बेइजिङस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । सोमबार बिहानपख हृदयाघातबाट उनको निधन भएको चाइना सेन्ट्रल टेलिभिजनले जनाएको छ ।
सिंहानुकको शव लिन क्याम्बोडियाका राजा नरोद्दम सिंहामुनी र प्रधानमन्त्री हुन सेन बेइजिङ पुगिसकेका छन् । पूर्वराजाको शव कहिले र कसरी लगिने भन्नेबारे केही बताइएको छैन । यस विषयमा बेइजिङस्थित क्याम्बोडियाली दूतावाससमक्ष जिज्ञासा राख्दा दूतावासले जानकारी दिन अस्वीकार गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
लामो समयदेखि सिंहानुनको सेवामा समर्पित राजकुमार सिसोवात तोमिकोले सिंहानुकको मृत्युबाट क्याम्बोडियालाई ठूलो क्षति पुगेको बताए । राष्ट्र र जनताप्रति समर्पित उनको जीवनी अनुकरण गर्न लायक रहेको उनले उल्लेख गरे । मृत्युको खबर सार्वजनिक भएपछि क्याम्बोडिया सरकारले राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । सिंहानुको शव मुलुक ल्याइएपछि राजकीय सम्मानसहित दाहसंस्कार गरिने क्यम्बोडियाली सरकारले जनाएको छ ।
को थिए सिंहानुक ?
सन् १९४१ देखि १९५५ र सन् १९९३ देखि ४००४ सम्म गरी सिंहानुक दुईपटक क्याम्बोडियाका राजा बनेका थिए । यसबाहेक उनले सार्वभौम राजकुमार, राष्ट्रपति र प्रधानमन्त्रीसहित निर्वासित क्याम्बोडियाली सरकारको विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका थिए । सन् १९७५ देखि १९७६ सम्म उनले खमेर रुजको शासनका बेला कठपुतली तथा आलंकारिक ‘राज्यप्रमुख’को जिम्मेवारीसमेत सम्हालेका थिए । यसैकारण ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले उनलाई सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिको संज्ञा दिएको थियो ।
सन् १९५३ मा फ्रान्सबाट क्याम्बोडिया स्वतन्त्र भएदेखि सन् १९७० मा प्रधानमन्त्री जनरल लोन नोलले अपदस्त नगरेसम्म सिंहानुकले क्याम्बोडियामा एकछत्र राज गरे । मुलुकलाई स्वाधीन बनाउन संघर्ष गरेका ‘उदार तानशाह’ सिंहानुकको नाम क्याम्बोडियामा अत्यन्तै सम्मानका साथ लिइन्छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि सिंहानुकले मुलुकभित्र राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्दै फ्रान्सको उपनिवेशबाट मुलुकलाई मुक्त गरे । आन्दोलनकै क्रममा फ्रान्स आफूविरुद्ध आइलाग्ने देखेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर थाइल्यान्डमा शरण लिएका उनी क्याम्बोडिया स्वतन्त्र भएपछि स्वदेश फर्किए । सन् १९५५ को संसदीय निर्वाचनमा भारी बहुमत ल्याई विजयी भएर उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले ।
सन् १९६० को निर्वाचनबाट उनी क्याम्बोडियाको राष्ट्रप्रमुख पदमा विजयी भएका थिए । तर, उनलाई राजाको नभई राजकुमारको हैसियत मात्रै दिइयो । सन् १९६३ मा संविधान संशोधन गरी उनले आफूलाई क्याम्बोडियाको आजीवन राष्ट्रप्रमुख घोषणा गरे । औपचारिक रूपमा राजा नभए पनि संवैधानिक कार्यालय खोलेर उनले आफूलाई राजाकै हैसियत दिलाए ।
भियतनाम र अमेरिकाबीच युद्ध चर्किंदा क्याम्बोडिया सिंहानुककै शासनमा थियो । त्यतिबेला क्याम्बोडियाले युद्धमा तटस्थताको नीति अवलम्बन गरेको थियो । तर, भीषण युद्धको मारमा परेको क्याम्बोडियाका लागि तटस्तताको नीति अवलम्बन गरिरहनु सहज थिएन । फलस्वरूप सन् १९६५ मा उनले चीनबाट क्याम्बोडियाली बन्दरगाह हुँदै युद्धसामग्री भियतनाम पुर्‍याउन अनुमति दिने विषयमा चीन र उत्तर भियतनाम (कम्युनिस्ट)सँग सम्झौता गरे ।
चीनसँगको सम्बन्धलाई शासन सञ्चालनको मुख्य आधार बनाएका सिंहानुकले चीनमा सांस्कृतिक क्रान्ति जारी रहेका बेला चीनसँगको सम्बन्धलाई सन्तुलन र स्वस्थ राख्न सकेनन् । फलस्वरूप, चीनसँग उनको सम्बन्ध बिग्रियो । मुलुकभित्र समेत उनले वापपन्थीमाथि चरम दमनको नीति लिए, जसकारण सन् १९६७ मा क्याम्बोडियामा गृहयुद्ध मच्चियो ।
सिंहानुक विदेश भ्रमणमा रहेका बेला क्याम्बोडियाली प्रधानमन्त्री लोन नोलले शासन हत्याई आपतकालीन अधिकार आºनो हातमा लिए । यसरी गठन भएको शासन (जसलाई खमेर गणतन्त्रसमेत भनिन्छ) लाई अमेरिकाले तत्काल मान्यता दियो । त्यसपछि सिंहानुकले चीन पुगी नोलको शासन पतनका लागि खमेर रुज (क्याम्बोडियाको कम्युनिस्ट पार्टी)लाई सहयोग गरे । खमेर रुजसँग राजा मिलेपछि उत्साहित क्याम्बोडियाले राज्यविरोधी विद्रोहमा सक्रिय सहभागिता जनाए ।
सन् १९७५ मा खमेर गणतन्त्र पतन भएपछि खमेर रुज सत्तामा पुग्यो । ततपश्चात् सिंहानुक क्याम्बोडियाको आलंकारिक राष्ट्रप्रमुख बने । कम्युनिस्ट नेता पोलपोटले मुलुकको मुख्य कार्यकारी अधिकार आºनो हातमा लिए । तर, सन् १९७६ मा खमेर रुजले सिंहानुकलाई अपदस्थ गर्‍यो । त्यससपछि सिंहानुकले चीन र उत्तर कोरियामा शरण दिए । सन् १९७८ मा भियतनामले क्याम्बोडियामा आक्रमण गरी खमेर रुज शासन अन्त्य गरायो । सिंहानुकले खमेर रुज शासन पतनको स्वागत गरे पनि क्याम्बोडियामा गठन भएको भियतनामको कठपुतली सरकारलाई सिंहानुकले स्विकारेनन् । त्यतिबेला भियतनामलाई सोभियत संघको सहयोग र समर्थन थियो ।
सन् १९८० र ९० को दशकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नयाँ विदेश नीतिमुताविक क्याम्बोडियामा भियतनाम र सोभियत संघको प्रभाव कम गर्न अमेरिकाले सिंहानुक र उनको दस्तालाई आर्थिक तथा सैन्य सहयोग उपलब्ध गरायो । क्याम्बोडियाली संकट समाधान हुने छाँटकाँट नदेखिए पनि सन् १९९१ मा क्याम्बोडियाली राजनीतिका सरोकारवालाबीच बृहत् समझदारी बन्यो । यसबाट १३ वर्षे निर्वासित जीवन बिताएका सिंहानुकलाई स्वदेश फर्किने अवसर जुट्यो । सन् १९९३ मा सिंहानुक पुन: क्याम्बोडियाको राजा भए । राजा भएकै बेला सन् २००४ मा सिंहानुक स्वनिर्वासनमा उत्तर कोरिया र त्यसपछि चीन पुगे । आºनो कमजोर स्वास्थ्यलाई कारण देखाउँदै उनले राजमुकुट त्यागेपछि उनका छोरा नरोद्दम सिंहामुनी नयाँ राजा बने । उपचारका लागि चीनमा रहेकै बेला अन्त्यमा उनको मृत्यु भयो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *