धुंवामा उडेको कटवालको आत्मरती

sudip-सुदीप विश्वकर्मा
कुनै बेला कटवालको यस्तो अवस्था थियो, उनी चुरोटको धूवाँले फोक्सोको फन्को लगाएर हावामा उडेको देख्दा आनन्दित हुन्थे, आफ्नै धूवाँरुपी सिनेमाको हिरो । तर अहिले उनी चुरोटको धूवाँसँगै पुस्तकको हावामा रमिरहेका छन् । त्यतिबेला चुरोटको धूवाँले उनको फोक्सोमा फन्को लगाएको यतिबेला उनको पुस्तकले नेपाली जनताको दिमागमा धूवाँ उडाइरहेको छ । हामी कामना गरौं त्यो धूवाँले आगोको रुप नलेओस् ।
प्रचण्डका अनुसार– ‘कटवालको आत्मकथा वाहियात् हो ।’ प्रचण्ड एक उच्च ओहोदाका नेताले कटवाल एक पूर्व कर्मचारीको आत्मरति माथि त्यति धेरै महत्व नदिनुपर्ने हो तर सेनापति काण्डका चार पात्रमध्ये उनी पनि एक भएका नाताले महत्व दिनु स्वाभाविक पनि हो । हुन त यतिबेला नेपाली मिडिया पुनः कटवालको फोटोले रंगिएका छन् । कटवालकै भाषाका पाँचहजारे पत्रकार यो अभियानमा कम्मर कसेर लागेका छन् । उनीहरूको अभियान हेर्दा लाग्छ अहिले पनि पाँचहजारे जागिर कायम छ ।
आत्मकथा लेख्नेले वर्तमानबाट इतिहासलाई अवलोकन गर्ने गर्छ, तत्कालीन घटनाको वास्तविक सूचना दिन्छ । आफ्नो जिन्दगीको इतिहास, जसमा वास्तविक सत्य घटना, उसका बाल्य जीवनका अनुभूति धेरै हुन्छन् आत्मकथाका । एउटा पत्रकारको लागि उनको पुस्तकमा तत्कालीन राजनीतिका धेरै सूचना होलान् भन्ने लागेर मैले पाँच सय पैंतालीस रुपैयाँ खर्च गरेर किनें र पढें । उनको पुस्तक उनको व्यक्तिगत जीवनमा घमण्डले गरेका कर्तुतहरूको संग्रह हो भन्ने निर्णयमा म पुगें । हुनत आत्मकथा आफ्नो पूर्ण ऐना हो त्यो ऐनाबाट कटवालले आफ्नो अनुहारलाई कस्तो देखे उनै जानून् ।
कटवाल नेपाली जनताका तत्कालीन प्रधानसेनापति थिए । यो देशको रक्षा गर्नु, जनताको सेवा गर्नु, जनताको रक्षा गर्नु सार्वभौम राष्ट्रको सेनाको कर्तव्य हो । तर कटवालले आफ्नो कार्यकालमा कति निहत्था जनताको हत्या गरे, कति बेपत्ता पारे ? यसको हिसाब पनि उनकोको पुस्तकमा हुनुपथ्र्यो । तर हामीले त्यो पाएनौं । कटवालले यही देशका माओवादीलाई भारत वा चाइनाले जति पनि सद्भाव राखेनन् । नेपालका माओवादीहरु नेपाली नागरिक होइनन् जस्तो उनकोको पुस्तक पढ्दा भान हुन्छ । तत्कालीन राजा भन्दा उनको धारणा भिन्दै देखिन्छ । उनले माओवादी तह लगाउन भन्दै विभिन्न वैदेशिक शक्ति केन्द्रसँग हात थापेको उनैले भनेका छन् । उनि कताबाट परिचालित सेनापति हुन् हामी सामान्य नागरिकले उत्तर पाउनुपर्छ । विकिपिडिया भन्छ, ‘आत्मकथा ननफिक्सन हुनुपर्छ ।’ सत्यतामा आधारित हुनुपर्छ तर उनको आत्मकथामा धेरै मात्रामा फिक्सनल कुराहरू छन् । सत्यमा आधारित तथ्य भन्दा झूटमा आधारित कल्पनाशीलताले संग्रहित पुस्तक रुकमाङ्गत कटवालको आत्मकथा हो ।
चाकडी गाइड !
उनले राजा महेन्द्रको निगाहामा प्राथामिक शिक्षा हासिल गरे । उनकै एकल स्पोन्सरमा उच्च शिक्षासम्म हासिल गरे । वीरेन्द्रको चाकडी गरेर जागिरमा पदोन्नति थोपरे । वीरेन्द्र र तत्कालीन दरबारको सचिवालयलाई रिझाउँदै विभिन्न अवसरको पछि लागे । त्यसैले उनको पुस्तक चाकडी गर्ने आइडियाको गाइड भने हो । उनले आफ्नो आत्मकथामा तत्कालीन राजा वीरेन्द्रको हत्यामा तत्कालीन युवाराजाधिराजको संलग्नता छ भनेर किटान गरेका छन्, उनले तत्कालीन दरबार सचिवालयलाई समेत चुनौती दिएका छन् । उक्त हत्या काण्डबारे तत्कालीन सैनिक सचिव विवेक कुमार शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’ मा दरबार हत्याकाण्डमा वैदेशिक शक्तिको पनि संलग्नता रहेको औंल्याएका छन् । तर कटवालले आफ्नो आत्मरतिमा तत्कालीन सैनिक सचिवलाई नै चुनौती दिएका छन् । यसरी हेर्दा उनको आत्मरतिमा विरोधाभास देखिन्छ । किनकि तत्कालीन सेना भन्दा दरबार सचिवालय शक्तिशाली थियो उनीहरूको अनुमतिमा नै सेना चल्ने हो । तर उनले दरबारलाई नै ठाडै चुनौती दिंदै हत्याकाण्डमा विशुद्ध तत्कालीन युवराजको संलग्नताको ग्यारेन्टी गरेका छन् ।
कटवालले उनी सेनामै हुँदा अनुशासन विपरित नेपालका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरिदेखि सूर्यबहादुर थापा हुँदै जीपी कोइराला र प्रचण्डसम्मको चाकडी गर्न भ्याएका छन् । हुन त सबै राजाको चाप्लुसी गर्न भ्याएका उनलाई प्रमहरूलाई पासोमा पार्नु सामान्य होला । तर देशको सबै भन्दा अनुशासित मानिएको सेना यतिसम्म अनुशासनहीन हर्कत गर्न सक्छ भनेर पत्याउन कठिन हुन्छ । कटवालले आफ्नो कथामा आफ्नो कमजोरी लुकाएको धेरै प्रसंगहरू छन् । एउटा प्रसंगमा उनले आफूले कामु प्रधानसेनापति कुलबहादुर खड्कालाई थर्काएर आफूले बहादुरी देखाएको बताएका छन् । सरकारबाट बर्खास्तीको पत्र हातमा लिएको कर्मचारी र संवैधानिक तवरले नियुक्ति पत्र लिएर आएका खड्काबीचको दृश्य कस्तो थियो होला भन्ने सजिलै बुझ्न सकिन्छ । यही प्रसंगमा मैले तत्कालीन कामु सेनापति कुलबहादुर खड्कालाई भेटेर छोटो कुराकानी गरेको थिए । उनले कटवालले झूटो लेखेको बताए । उनीसँगैको सेकेन्डम्यानले समेत नपत्याएको उनको यो कागजको संग्रह, आत्मकथा हो या झूटको पुलिन्दा हो छुट्याउन कठिन भयो । सेकेन्डम्यानलाई झुक्याउने कटवाल कति सत्यको घेरा भित्र छन् ? उनले आफूले गणतन्त्र ल्याउन भूमिका खेलेको बताएका छन् तर सँगै राजतन्त्र जोगाउन नसक्दा दुःख लागेको बताएका छन् । सुन्दा हाँसो लाग्ने उनको आत्मरति साँच्चै धेरै हदसम्म एउटा कलाकारले तयार पारेको फजुल कागजको ठेली मात्रै हो ।
पुस्तक प्रकाशन हुनु वा बिक्नु एउटा कुरा हो । तर पुस्तकले दिने तथ्यहरू कति सत्य छन् भन्ने कुरा प्रमुख हुन्छ । पुस्तक, बजारमा नेपाली राजनीतिका धेरै विशिष्ट भनिएका व्यक्तिहरूले आफ्नो आत्मकथा लेखेका छन् । बीपीले आफैंले आफ्नो आत्मकथा लेखे । उनी साहित्यकार समेत थिए । तर कटवालले आफैंले उक्त पुस्तक लेखेका होइनन् उनका पछाडि धेरै पाँचहजारे पत्रकारको भीड छ । आज त्यही भीडले उनलाई लिएर हिंडिरहेका छन् । उनी आफैं भन्दै थिए ‘पाँचहजारे, आठ हजारे पत्रकारलाई हेलिकप्टरमा घुमाइयो तर केही गरेनन् ।’ कटवालजी तपाईं फेरि तिनै पाँचहजारे पत्रकारको सहारामा पुस्तकरुपी हेलिकप्टरमा सवार हुनुहुन्छ । सावधान  दुर्घटनामा पर्नुहोला ! (रातोपाटीबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *