डेबिड क्यामरोनको धम्की

प्रधानमन्त्री डेबिड क्यमरोनले लिबडेमको सहयोग बिनानै सरकार चलाउने धम्की दिएका छन् । यदि कन्जरभेटिभ पार्टीको तर्फबाट आएको बजेट कट्टा, युरोपियन युनियन एवं आप्रबास सम्बन्धी कार्यक्रमहरु प्रति उप प्रधानमन्त्रीले असहयोग गरेको खण्डमा एक्लै सरकार चलाउने बताएका छन् । गत शनिबारको डेलिमेलको एक रिपोर्ट अनुसार डेबिड क्यामरोनले बढी भन्दा बढी २०१५ साल भन्दा पहिलेनै आम निर्बाचनको घोषणा गर्नु पर्ला भन्दै आफ्नो मिलिजुली सरकारका उप प्रभानमन्त्रीलाइ धम्क्याएको खुलासा गरेको छ । डेबिड क्यामरोनले भनेको भन्दै डेली मेल लेख्छ —“यसै पनि मे २०१५मा निर्बाचन हुनेनै छ, हुन सक्छ त्यस अघिनै निर्बाचनको घोषणा गर्नु पर्ला । तर पनि म आशा गर्दछु कि निक ल्केगले बर्तमानमा देखा परेको आर्थिक समस्या देखि लिएर अन्य आबश्यकीय समस्या समाधानार्थ सहयोग गर्ने छन् । यदि हाम्रा आर्थिक कार्यक्रमका लागि निक ल्केगले असहयोग गरेमा मिलिजुली सरकारको अन्त गरि अल्पमतको सरकार बनाउनु पर्ला ।”
सरकार संचालन र लिव डेमसंगको सहकार्यको प्रसंग बारे प्रधानमन्त्री डेबिड क्यामरोनले बेलायतबाट प्रकाशित हुने एक राजनैतिक म्यागाजिन टोटलसंगको एक अन्तरबार्तामा भन्छन् “म यहाँ राम्रो सरकारको प्रतिनिधित्व गर्न र मुलुकमा आबश्यकीय बुदाहरुमा काम गर्न आएको हुँ, जस्तै राज्यको ऋण घटाउन, मुलुमा आर्थिक उन्नती गर्न एवं अन्य थुप्रै आबश्यकीय काम गर्न । म चाहान्छु उपरोक्त कामहरु होउन्, मुलुकको आर्थिक अवस्थामा उन्नती होस् , त्यतीमात्र नभएर हाम्रो घोषणा पत्रमा भनिएका कुराहरु पुर्णरुपमा सम्पन्न होउन् ।” अन्तरबार्तामा उनि अगाडि भन्छन् —“ यदि हाम्रो घोषणा पत्रमा भनिएका कुराहरु लागु गर्न कसैले असहयोग गर्छ भने मैले अन्य अवस्थाको लागि पनि तयारी गरेको छु । त्यो के हो भने अल्पमतको सरकार बनाउने । त्यो पनि नभए आम चुनावको घोषणा गर्ने ।”
बेलायती सरकारको लगनको गाँठो बाधिएको तीन वर्ष पुग्दा नपुग्दै लगनको गाँठोमा धमिरा लाग्न थालेको छ । कन्जरभेटिभ पार्टी र लिबरल डेमोक्रेटिक पार्टी बीच सरकार गठन भएको तीन महिना नपुग्दै बिबाद आउन थालेको हो ता पनि लिबडेमले थुप्रै कुराहरुमा सम्झौता गर्दै आइरहेको थियो । लिबडेमले थुप्रै कुराहरुमा बिबाद हुदा हुदै पनि ती कुराहरुलाइ थाती राखेर यहाँ सम्म आइपुग्दा प्रधानमन्त्री डेबिड क्यामरोनले उप प्रधानमन्त्री निक ल्केगलाइ आफुले भनेको नभएमा अल्पमतको सरकार बनाएर जाने एक धम्कीपुर्ण शैलीमा सार्वजनिक अन्तरवार्ता दिएका छन् ।
सरकार गठन भए देखिनै देखापरेका बिबादका बिषयहरु मध्य राजनैतिक संरचना अर्थात चुनाबी प्रकृयामा सुधार ल्याउने भन्ने रहेको थियो तर त्यो मे २०११मा भएको जनमतसंग्रहले टुङ्गो लगाइ सकेको छ ।
शुरु देखिनै अर्को बिबादको बिषय हो युरोपियन युनियन । कन्जरभेटिभ पार्टीको एउटा पंति युरोपियन युनियनबाट अलग्गिन चाहान्छन् भने लिबडेमलाइ प्रो युरोपियन युनियनका रुपमा लिइन्छ । केही कन्जरभेटिभ पार्टीका दक्षिणपन्थी समुहहरुले भने बेलायत युरोपियन युनियनबाट बाहिरिए पनि बेलायतलाइ कुनै असर नपर्ने तर्क गरेका छन् । यद्यपी आधा भन्दा बढी बेलायतको ब्यापार युरोपसंग छ । बेलायतका ब्यापारी बर्गहरुले युरोपसंगको ब्यापारबाट प्रसस्त आर्थिक एवं राजनैतिक फाइदा लिइरहेका छन् । त्यसैले बेलायत युरोपबाट अलग्गिदा बेलायतलाइ आर्थिक रुपमा मात्र होइन राजनैतिक रुपमा पनि र मोटर कार उद्योगमा समेत नकारात्मक असर पर्ने छ । जे होस् युरोपियन युनियनको सवालमा पनि २०१७ सम्ममा जनमत संग्रह गरि टुङ्गो लगाउने कुरा चर्चामा आएको छ ।
आप्रबास राजनैतिक सवालमा पनि मिलिजुली सरकारमा बसेका दुबै पार्टीबीच सहमती एवं मतैक्यता हुन सकिरहेको छैन । यस सवालमा भने लिबडेमलाइ कन्जरभेटिभ पार्टीले कार्पेट मुनी घुसारी सकेको अनुमान गर्न कठिन पर्दैन । अहिले आएर कन्जरभेटिभ पार्टीले लयाएकोे बजेट कट्टा गर्ने कार्यक्रम प्रति लिब डेम सहमत हुन नसकिरहेको बेला डेबिड क्यामरोनले यसखालको धम्कीपुर्ण अन्तरवार्ता दिएका हुन् ।

Bookmark the permalink.

One Response to डेबिड क्यामरोनको धम्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *