चड्कन-समीक्षा

-आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com

मङ्सीर १ गते भएको थप्पड प्रकरण समयक्रम सँगै अलि सेलायो। फुर्सदीलो एक साँझ प्रचण्डले सोचे- “त्यो पदमको परिवारमाथि ठूलै वज्रपात भएको रहेछ। त्यो वज्रपातको कारणपनि आखिर मनै रहेछु। साँच्चै भन्ने होभने उस्माथि यत्रो वज्रपात भएको होला भनेर मैले कल्पना गरेको थिइन। उस्को आमाबाहेक परिवारका सवै सदस्य र भिनाज्युसमेत् जनयुद्धमा होमिएका रहेछन्। पदमकी दिदी साधना २०६० साल माघ २० गते दोहोरो भिडन्तमा परेर ढलेकी रहिछन्। मरिन् भनेर सवैले छाडेर हिंडेछन्। बाग्लुङका एरिया सेक्रेटरी भीम भारतीले ३ दिनपछी (माघ २३ गते) तित्याङ र भकुण्डे गाविसको वीचमा पर्ने साङ्खोलाको चौतारोनिर बुट्यानमा अचेत अवस्थामा फेला पारेछन् र बाग्लुङकै रिजालचोकमा लगेर उपचार गराएछन्। उपचार गराएपनि छाति र हातमा लागेको गोलि अहिलेसम्म निकालिएको रहेनछ। त्यस्तै द्वन्दकालमै पदमको दाज्यु सुन्दरलाइ लागेको गोलिपनि अहिलेसम्म निकालिएको रहेनछ। साधना र सुन्दरको शरिरमा रहेको गोलि निकाल्न लोकतन्त्र आएपछि यिनीहरु नेताहरुको घर-घरै धाएका रहेछन्। मकहाँपनि धेरैपटक आएका हुन्। एमाओवादी पार्टीमा कुकुरले खाइनसक्ने नेताहरु छन्। कुनै नेताले जनमैत्री अस्पतालमा लगेर यी दिदीभाइको गोलि निकालिदिएको भए हुन्थ्यो। ‘मौसम अनुसारको ट्युनिक’ जस्तै कहिले बाबुरामको र कहिले मेरो नजिक भैरहने हाम्रा एकजना नेताले लगानि गरेको नोबल हस्पिटलमा लगेको भएपनि हुन्थ्यो। यो परिवारका जनयुद्धमा होमिनेजति सवैको बेहालै भएको रहेछ। अहिले पनि मुस्किलले एकछाक र आधापेट खाएर गुजारा गर्दारहेछन्। जनयुद्धमा नगएकी पदमकी आमालाइ द्वन्दकालभरी पुलिस र आर्मीले आतङ्कित गरेछ। यति आतङ्कित गरेछकि तिनी अहिलेसम्म बिक्षिप्त रहिछन्। हाम्रा साथिहरुमा विवेकविचार लेसपनि छैन। हाम्रो महान, गौरवशालि पार्टीका प्रवक्ता अग्नि सापकोटाले यो घटनाको बिषयमा दिएको प्रतिकृया चर्को र अतिसयोक्तिपूर्ण थियो। ३-४ दिन लगातार ‘देशी-विदेशी प्रतिकृयावादी शक्तिहरुले गराएको’ भनेर एकोहोरो फलाकिरह्यो। जुनसुकै घटना घटोस्, आँखा चिम्लिएर तुरुन्तै “देशी-विदेशी प्रतिकृयावादी शक्तिको षडयन्त्र” भन्ने यो पार्टीको गौरवशालि थेगो हो। तर, आफ्नै पार्टीका वफादार कार्यकर्ताविरुद्ध यो प्रतिकृया निरन्तर प्रवाह गर्दा तिनीहरुको आलो घाउमा नुनचुक हालिरहेजत्तिकै भयोहोला।” प्रचण्डले चिन्तन-मन्थन-समीक्षाको प्रवाहलाइ एकछिन ब्रेक लगाए। वसाईको पोजिशन बदले। र, पुन घटना-समीक्षातिरै केन्द्रित भए। सोचे- “त्यसदिन पदमले मेरो गालामा एक लबटो मात्रै लगाएको हो। मैलेपनि तुरून्तै समातेर हाम्रा खुङ्खार कार्यकर्ताहरुको जिम्मा लगाइदिएँ। उनीहरु सवैले एक्लो पदमलाइ धुस्नु पारेर रामधुलाइ गरिरहँदा मैले ब्वाँसाको भीडमा एउटा पाठोलाइ हालिदिएर ब्वाँसाले पाठोलाइ चोक्टा-चोक्टा पारेको दृश्यलाइ आरामले हेरिरहेको बिम्ब सम्झें। म आफूलाइ नाटक र नौटङ्की गर्न चौपट्टै शिपालु छु भनेर गौरव गर्ने गर्छु। तर, पदमले एक लबटा लगाएपनि उस्लाइ कुट्न नदिएर जोगाउनेतिर लागेकोभए मैले राजनीतिक लाभ लिने थिएँ। प्रचण्डले यो अवसर गुमाए भनेर एउटा स्तम्भकारले लेखेपछि पो म झल्याँस्स भएँ। सन २००८ डिसेम्बर १४ का दिन इराकमा जर्ज डब्लू बुसलाइ पत्रकार मुन्तदर अलजैदीले जुत्ताले हानेका थिए। तर, बुसले आफूलाइ सन्तुलनमा राखे। बुसका अङ्गरक्षकहरुले अलजैदीलाइ हातपात गरेनन्। बुसले त्यही जुत्तालाइ उठाए र सवैलाइ देखाउँदै, “तपाईंहरु तथ्य चाहनुहुन्छभने यो १० नम्बरको जुत्ता हो” भनेर ठट्टा गरे। सन २००९ अप्रिल २६ का दिन अहमदावादमा प्रधानमन्त्री मनमोहन सिंहलाइ जुत्ता हानिएको थियो। जुत्ता हान्ने व्यक्तिलाइ तत्कालै प्रहरीले पक्डेको थियो। मनमोहन सिंहले पनि तुरुन्तै हस्तक्षेप गरे र उस्लाइ कुनै कार्यवाही नगर्नु भनेर आदेश गरे। सन २००९ को फेब्रुअरी २ का दिन युनिभर्सिटी अफ क्याम्ब्रिज, लण्डनमा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाइ जर्मन बिद्यार्थीले जुत्ता हानेका थिए। त्यस्मा पनि जियाबाओले शालिन प्रतिकृया दिएका थिए। यी तमाम घटनाको परिप्रेक्षमा हेर्दा म यत्रो महान, गौरवशाली पार्टीको शक्तिशाली अध्यक्षले महानता प्रदर्शन गर्न नसकेकै हो। स्तम्भलेखकले भनेको ठीक हो, मैले अवसर गुमाएकै हो।” घटनाको विश्लेषण गर्दै प्रचण्ड यो टुङ्गोमा पुगे, र सर्लक्क निन्द्रादेवीको काखमा गुटुमुटु भए।  फेसबुक बाट

Bookmark the permalink.

One Response to चड्कन-समीक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *