गिरिजाका नाममा पाँच विद्यार्थी

Girija_P_koirala२०४६ साल अर्थात १९९० को राजनीतिक परिवर्तनपछिको २०१० सालमा उनको मृत्यु सम्म झन्डै २० वर्षको अवधिमा सबैभन्दा बढी सत्तामा रहने र आलोचना पाउने राजनीतिज्ञ स्वर्गीय गिरिजाप्रसाद कोइराला हुन् । त्यो अवधिमा सबैभन्दा बढी पुत्ला कसैका जले भने उनैका जले । तर, जीवनको उत्तरार्धमा माओवादीलाई शान्ति  प्रक्रियामा ल्याउन र मुलुकमा गणतन्त्र स्थापनामा उनले खेलेको भूमिकाले उनका ती नकारात्मक पक्षलाई ढाक्यो र बाहबाही पाए । अहिले माओवादीले पनि चाहिएको बेला बेलामा स्मरण गर्ने उनै कोइरालाको नाममा भने एउटा लाजमर्दो काम भइरहेको छ ।
गिरिजाप्रसाद कोइरालाको नाममा चाबहिलमा क्याम्पस खोलिएको छ । ओखलढुंगातिरका कांग्रेसकै केही कार्यकर्ताले पैसा कमाउने उद्देश्यले खोलेको यो क्याम्पसमा विद्यार्थी आकर्षित गर्न व्यवस्थापन कमिटीले गत हप्ता प्रधानमन्त्री सुशील कोइरालाबाट धुमधामका साथ क्याम्पसको उद्घाटन पनि गरायो । पूर्वप्रधानमन्त्री मात्र होइन, आफ्नै टाढाका दाजु नाता समेत पर्नेको नाममा स्थापित क्याम्पस भनेपछि प्रधानमन्त्री उद्घाटनमा नजाने कुरा पनि भएन । अझ उनै कोइरालाकी एक मात्र पुत्री सुजाता कोइराला संरक्षक र कांग्रेस काठमाडौका सभापति भीमसेनदास प्रधानलाई व्यवस्थापन समिति अध्यक्ष बनाएपछि क्याम्पस राम्रै चल्ला र कमाइ पनि गतिलै होला भन्ने अन्य सदस्यहरूको सपना थियो तर त्यो सपना भने यतिबेला चकनाचुर भएको छ । व्यवस्थापनतर्फ स्नातकमा भर्ना खोलेको महिना दिन भइसक्यो तर पाँच जना मात्र विद्यार्थी भर्ना भएका छन् । क्याम्पस पनि एउटा स्कुलको दुई वटा कोठा भाडामा लिएर सञ्चालन गरिएको छ ।
क्याम्पस कुनै योजनामा खोलिएको नभई लहडकै भरमा खोलिएको कुरा प्रिन्सिपल खिला सापकोटा पनि स्वीकार्छन् । काठमाण्डौबाट प्रकाशित हुने साप्ताहिक बुधबारसँगको कुराकानीमा सापकोटाले भने– ‘चिया खाने क्रममै उहाँको नाममा क्याम्पस खोलौं भन्ने कुरा भयो, हतारमा खोलियो । कोइराला परिवारका सदस्यसँग छलफल पनि गर्न भ्याइएन ।’ हुन पनि सुशील र सुजाताबाहेक कोइराला परिवारका सदस्य मात्र होइन, कांग्रेसकै पहिलो त के कुरा दोस्रो पुस्ताका नेतालाई समेत क्याम्पसबारे केही थाहा छैन । सुशील र सुजाताले पनि उद्घाटनको केही समय अघि मात्र थाहा पाएको बताइन्छ ।
नेताका नाममा कलेज, अस्पताल वा अरू संस्था खोल्न पाइने वा नपाइनेबारे कुनै नियम नभएका कारण धमाधम यस्ता संस्था खुलिरहेका छन् । नेताको नाम दुरुपयोग गर्दै आफ्नो व्यापार गर्ने माध्यम बनाउनमा नेपालका लोकप्रिय र सम्मानित नेताहरू पुष्पलाल,  मनमोहन अधिकारी, मदन भण्डारी, बीपी कोइराला, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालासम्मको नाम प्रयोग भइरहेको छ ।

Bookmark the permalink.

One Response to गिरिजाका नाममा पाँच विद्यार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *