क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य

—शशी पौडेल

गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए ।

प्रधानमन्त्री डेभिड क्यामरोनले भारत यात्रा क्रममा मूलभूत रुपमा दुईवटा कुरा गरे । प्रथम उनले भारतमा ब्रिटिश साम्राज्यको गौरवको कुरा उठाए भने दोस्रो उनले भारतका लगनशील विद्यार्थीहरुलार्ई बेलायतमा आई अध्ययन गर्न र भारतका लगानीकर्ताहरुलाई बेलायत आई लगानी गर्न आह्वान मात्र गरेनन् कि भिसा सहज गराइदिने प्रतिवद्धता समेत जाहेर गरे ।

उनले बुधबार २० फरवरीका दिन पन्जावस्थित स्वर्ण मन्दिरमा पुगेर ‘माइ प्राइड इन दि ब्रिटिश एम्पायर’  भनेको प्रसंगप्रति बेलायतमा उनकै पार्टी भित्रबाट अनौठा खाले मिश्रित प्रतिक्रिया आयो । उनले स्वर्ण मन्दिरको आगन्तुक पुस्तिकामा चर्चिलको प्रतिध्वनीको रुपमा संकेत गर्दै चर्चिलले उनको बेला राक्षसी घटना भनि संज्ञा दिएको घटनालाई बेलायतीहरुले लाज मान्नु पर्ने प्रसँग उठाउँदै उनले लेखे ‘हामीले कहिल्यै पनि यहाँ के भएको थियो भन्ने बिर्सन हुने छैन । त्यति मात्र होइन हामी बेलायतीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकार पनि बिर्सन हुँदैन ।’

यी दुबै प्रसँगप्रति डेभिड क्यामरोनको आफ्नै पार्टी भित्रबाट मिश्रित प्रतिक्रिया आयो । एक पक्षले डेभिड क्यामरोनको अभिव्यक्तिलाई पूर्ण समर्थन गरे भने पार्टीका केही दक्षिणपन्थी खेमाका संसद सदस्यहरु र तल्लो तहका कार्यकर्ताले भने भारतप्रति डेभिड क्यामरोन यति धेरै नझुक्नु पर्ने तर्क गर्दै उनीहरुले मेडियामा प्रचारबाजी यसरी गरे –“बरु युरोपियन युनियनबाट अलग्गिने अनि युद्धमा गरिने खर्च कट्टा गरेर राष्ट्रिय समस्या समाधानार्थ राष्ट्रियताको पंक्तिभित्र रहेर काम गरेमा बेलायतलाई न त भारतीय विद्यार्थीहरुको आवश्यकता पर्ने छ न त भारतीय लगानीकर्ताको ।”

डेभिड क्यमरोनले “ब्रिटिश साम्राज्यको गर्व” भनेको प्रसँग कोट्याउदै डेली मेलका वरिष्ठ स्तम्भकार स्टिफन ल्गोमोर प्रश्न गर्छन् — ‘के बेलायती जनताले बेलायती साम्राज्यको साच्चै गर्व गर्दछन् ? के बेलायतीहरु यस सवालमा विवादरहित छन् ? अथवा उनीहरुलाई इतिहास पढ्न उक्साइएको छ ? अथवा बेलायती साम्राज्य त्यहाँ निर्दयी, खराव र रंगभेदी थियो ?’ डेभिड क्यमरोनका उक्त भनाइ “माइ प्रइड इन दि ब्रिटीश एम्पायर” ले अहिले यी प्रश्नहरु उठ्नु स्वाभाविक रहेको स्टिफन ल्गोमोर आफ्नो स्तम्भमा लेख्छन्  ।

यस्तै बेलायती अर्का पत्रकार निकलास कम्फोर्ट २३ फेब्रुअरी शनिबारका दिन लेख्छन् —‘यो हप्ता बेलायतको ठुलो ब्यापार भारतसँग गरिने कुरा उठाइयो तर दुर्भाग्य हामीसँग अब बेच्ने कुरा केही बाँकी रहेन । यो अवस्थामा जनताले सरकार र सरकारी कर्मचारीहरुलाई दोषी देख्ने छन् ।’

तर दुर्भाग्य बेलायतका संचार माध्यमहरु, वरिष्ठ पत्रकारहरु, राजनीतिक विश्लेषक एवं वामपंथी तप्काहरुले समेत  के कुरा देख्न सकेनन् भने प्रधानमन्त्री डेभिड क्यामरोन भिख माग्न हातमा झोली र आँखामा भविष्यमा भारतसँग ब्यापार बढाउने आशा लिएर हवाइजहाजमा बसेका थिए तर जव उनी भारतमा ओर्ले तव उनले आफूलाई विगतले तानेको महसूस गरे । र, त्यतिखेर उनले बेलायत भारतका लागि असल थियो वा अझै पनि असल छ भन्ने कुराको उत्तर खोज्ने प्रयास गरेनन् । असल र खराबको मिश्रित भावसँगै उनी अमृतसरसम्म तानिए, जहाँ १९१९ मा ब्रिटिश गोर्खा सेनाको नेतृत्व गरिरहेका ब्रिगेडियर जनरल रेजिनाल्ड डायरको आदेशमा झण्डै चारसय सर्वसाधारणलाई गोली हानी हत्या गरिएको थियो । त्यसको केही दिनसम्म उनकै आदेशमा हज्जारौँ भारतीयहरुलाई कोर्रा हान्ने र विषेश गरी महिलाहरुलाई बलात्कार गराएका थिए ।

यद्यपि बेलायती संसदले यो घटनाको पुर्ण आलोचना गरेको थियो र तत्कालै ती ब्रिगेडियर जनरलको जागिर पनि खोसिएको थियो र पछि विन्सटन चर्चिल प्रधानमन्त्री भए पश्चात यो घटनालाई राक्षसी घटना भनि संज्ञा दिएका थिए । तर बेलायती सरकारका तर्फबाट भने अहिलेसम्म पनि यो क्रुर एवं लज्जास्पद घटनाको औपचारिक माफी भने मागिएको थिएन । घटना घटाइएको ९३ वर्षपछि आएर डेभिड क्यामरोन घटनास्थलमा पुगेर पूर्णरुपमा माफी माग्दै शान्तिपूर्ण जुलुस प्रदर्शन गर्न पाउने अधिकारको प्रत्याभूती हुनु पर्ने जिकिरसमेत गरेका छन् ।

जहाँसम्म डेभिड क्यामरोनले माफी मागे भन्ने सवाल छ, त्यो पनि जुन व्यक्तिको आफ्नो नियन्त्रण क्षेत्र भन्दा बाहिरको सवालमा माफी माग्नुको कति महत्व र अर्थ रहन्छ ? अर्को कुरा भारतमा बेलायतले आखिर क्षति पु-याएकै हो । उन्नाइसौँ र बीसौँ शताव्दीमा बेलायतले भारतमा जे जति नोक्सान पु-यायो त्यसको लेखा जोखा र इतिहास अझै पूर्णरुपमा लेखिई सकेको छैन । तथापि सत्य के हो भने बेलायतले भारतमाथि गरेको अत्याचार अमृतसरको घटना न त यो पहिलो थियो न त यो पछिल्लो नै ।

यदि बेलायतीहरुले भारतमा राज्य गर्दा जे जति अन्याय र अत्याचार गरे र ती सबैको जिम्मेबारी बेलायतले लिने हो र माफी माग्ने हो भने अनि इतिहासलाई फर्केर हेर्ने हो भने सायद सद्दाम हुसेनले इराकमा गरेको अत्याचार भन्दा दशौँ गुना बढी थियो । तर बेलायती पत्रकारहरुले यसबारे लेख्ने र बोल्ने हिम्मतसमेत गर्न सक्तैनन् । यदि लेख्न र बोल्न चाहे भने बेलायतीहरुले गरेको पापले उनीहरुको कलमको निब भाँचिने छ र कलमबाट मसीको बदला रगतको भल बग्ने छ ।

डेभिड क्यामरोनले आफ्नो भाषणमा भने —‘मलाई लाग्छ थुप्रै कुराहरु छन् जुन बेलायतले भारतप्रति गर्व गर्न सक्नेछ र बेलायतले केके ग-यो भन्ने कुराको पनि जिम्मेवारी लिनु पर्ने हुने छ ।’

हो डेभिड तिमीले पछिल्लो वाक्य भने निकै सान्दर्भिक भन्यौ तर तिमीहरुले गर्व गर्ने ठाउँ भने मैले देख्दिन । बरु जिम्मेवारी लिनु पर्ने र लाज मान्नु पर्ने कुराहरु भने हज्जारौँ अवश्य छन् ।

प्रधान मन्त्री डेभिड क्यामरोनले भारतमा गरेका भाषणका अंशहरु पढ्दा लाग्छ बेलायतीहरुको चरित्र ठ्याक्कै लुते कुकुरको जस्तै हुने रहेछ । आफू भन्दा साना र कमजोरलाई भुक्ने खेद्ने अनि अलि ठुला र बलियासँग डराएर पुच्छर लुकाउने । गत महिना डेभिड क्यामरोनले भारतमा पुगेर पुच्छर लुकाउँदै एक टुक्रा हाड भिख मागेर फर्केका छन् । त्यो भिख माग्न पनि कुन लाजले सफल भए ? यो प्रश्न भने निरुत्तरित छ । किनकि डेली मेलका अर्का पत्रकार निकलास कम्फर्टले ‘जव हामीसँग बेच्ने कुनै चिज नै छैन भने भारतसँग ब्यापार गर्ने चाहाना राख्नुको अर्थ के ? खाली एकोहोरो व्यापार भारतसँग किन्ने मात्र हो’ भन्दै अगाडि लेखछन् ‘डेभिड क्यामरोनले मुस्कुराउँदै भारतसँग हात त मिलाए, तर दुर्भाग्य उनले क्रिकेटको बल फोहरो भैसकेपछि मात्र ब्याट समाएका छन् किनकि हामीसँग अब बेच्ने बस्तु केही पनि छैन ।’ उनी लेख्छन् —‘यदि ब्यापारको कुरा गर्ने हो भने कुनै बेला बेलायत विश्व बजारमा खुल्ला प्रतिस्पर्धामा थियो, मानौँ हाम्रा झ्याल ढोका ब्यापारका निम्ति चम्चमाएका छन् ।  तर अहिले हाम्रो बजार मुठ्ठीभर पनि छैन । मैले मेरो जीवनकालमै देखेको कुरा गर्ने हो भने पनि हामी त अहिले मिस्टर सेलफ्रिजबाट डेलब्वाएमा झरिसकेका छौं ।’

गत महिना अर्को बढी चर्चा पाएको विषय हो, लिब डेम र इस्टली निर्वाचन क्षेत्रको उपनिर्वाचन । उपनिर्वाचनको प्रचार प्रसार भैरहेको बेला लिबडेमका एक उच्चस्तरीय पार्टी निर्देशकलाई ९ जना महिलाहरुले यौन प्रयासको आरोप लगाए । लिबडेम पार्टीका चिफ एक्जुकेटिभ लर्ड रेनार्डलाई लिबडेम पार्टीकै उच्चस्तरीय पार्टी नेतृहरुले यौन प्रयास गरेको आरोप लगाउँदा लिबडेमलाई धन्नै इस्टलीको उप निर्वाचनमा नकारात्मक प्रभाव परेको थियो । त्यस क्षेत्रका सांसद सदस्य क्रिस ह्युनले २००३ सालमा राजमार्गमा अनुमति भन्दा बढी गतिमा गाडी चलाउँदा राजमार्गमा राखिएको क्यामराले फोटो खिचेको रहेछ । जब उनलाई प्रहरीबाट जरिवाना र तेज गतिमा गाडी चलाए बापत प्वाइन्ट आयो तब उनले उक्त प्वाइन्ट आफ्नी पत्नीलाई लिन आग्रह गरे । तर, पछि पति र पत्नीबीच खटपट भएर छोडपत्र गर्नु पर्ने अवस्था आएपछि उक्त कुरा खुल्यो र क्रिस ह्युनले झुट बोलेर बेलायती न्यायप्रणालीमा गलत प्रभाव पार्ने प्रयास गरेको भनी आरोप लाग्यो । उक्त आरोप लागेपछि उनी पदबाट राजीनामा गर्न बाध्य भए । उनको राजीनामाको कारण रिक्त हुन आएको पद पुर्तीका निम्ति निर्वाचन हुन गैरहेको थियो ।  दशकौँ वर्षदेखि लिबडेमको बलियो प्रभाव रहेको उक्त निर्वाचन क्षेत्रमा लिबडेमलाई निर्वाचित हुन हम्मे हम्मे परेको थियो ।

फेब्रुअरी महिनाको पछिल्लो दिन बेलायतमा पनि झण्डै ग्रिलो हलचल नै भएको थियो । त्यसको ५ दिनअघि आइतबारका दिन इटलीका जनताले मुलुकको आर्थिक एवं राजनैतिक सुधार गर्ने व्यक्तिलाई सत्तामा ल्याउन पाउने अधिकार प्राप्त गरेका थिए । तर उनीहरुले राजनीति र आर्थिक विवेक कम भएका टेलिभिजनमा हाँस्य कलाकार बिप्पे ग्रिलोलाई निर्वाचित गरे । हामसायरको इस्टलीमा पनि झण्डै यूके इन्डिपेण्डेन्ट पार्टीका उम्मेदवार विजयी भएका थिए । तर इस्टलीका जनताले सजगतापूर्वक मतदान गरेर फेरि पनि लिबरल डेमाक्रेटिक पार्टीका उम्मेदवारलाई विजयी गराए । यूके इन्डिपेण्डेन्ट पार्टीले दोस्रो स्थान प्राप्त ग-यो । सत्ताधारी प्रमुख कन्जरभेटिभ पार्टी तेस्रो स्थानमा आयो भने प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले चौथो स्थानमा चित्त बुझाउनु प-यो । लेबर पार्टी उक्त निर्वाचन क्षेत्रबाट कहिल्यै पनि निर्वाचित नभएकाले लेबर पार्टीलाई भने जुन स्थानमा आए पनि त्यति धक्का परेन तर उक्त निर्वाचन परिणाम डेभिड क्यामरोनका लागि भने विपत्ती नै मान्नु पर्छ । बीबीसीका अनुसार यो उपनिर्वाचनमा कन्जरभेटिभ पार्टीले गत आम निर्वाचनको तुलनामा १३ प्रतिशत मत गुमाएको छ । यस्तै विजयी भएको पार्टी लिबडेमले पनि १३ प्रतिशत नै गुमाएको छ भने लेबर पार्टीले मत नगुमाएर बरु ०.४ प्रतिशत मत थप प्राप्त गरे पनि चौथो स्थानमा चित्त बुझाउनु परेको हो । कन्जरभेटिभ र लिबडेमले गुमाएका सबै मतहरु र अरु १ प्रतिशत थप गरी २७ प्रतिशत गत आम निर्वाचनको तुलनामा थप मत बेलायतको दक्षिणपंथी पार्टी यूके इन्डिपेण्डेन्ट पार्टीले प्राप्त गरी दास्रो स्थान ओगट्न पुग्यो ।

यो निर्वाचन परिणाम बारे टिप्पणी गर्दै बेलायतका चर्चित स्तम्भकार एवं राजनैतिक विश्लेषक माक्स हेस्टीङ्गले बेलायतको लोकतन्त्र संकटमा परेको बताएका छन् । डेलीमेलमा उनले आफ्नो साप्ताहिक कोलममा लेख्छन् —‘इस्टलीको यो निर्वाचन परिणामले त्यस क्षेत्रका लागि मात्र नभै बेलायतभरका लागि प्रजातन्त्र संकटमा परेको संकेत देखा परेको छ र यो निर्वाचन परिणामले अयोग्य ब्यक्तिहरु सत्तामा बसेर प्रजातन्त्रको मुल्य र मान्यता विपरित सत्ता संचालन गर्दै आइरहेकाले बेलायती जनता राजनीतिबाट असन्तुष्ट हुदै गएको संकेत पनि गरेको छ ।’

उनी अगाडि लेख्छन् —‘इटलीमा लामो समयदेखि आर्थिक एवं राजनैतिक बनोटकै बारेमा समस्या देखा पर्दै आइरहेको थियो । बेर्लोस्कोनीको मनोमानीका कारण इटली अनिर्णयको बन्दी बनेको थियो र राजनैतिक संकटमा फँस्दै आएको थियो । त्यस्तो अवस्थामा त्यसप्रकारको हाँस्यास्पद निर्वाचन परिणाम आउनु खास अनौठो होइन तर बेलायतमा यसरी जताततै यूके इन्डिपेण्डेन्ट पार्टीको जगजगी हुनु मुलुकको भविष्यका लागि पक्कै पनि सकारात्मक संकेत होइन ।’

२०१० सालको निर्वाचन परिणाम आएपछि लिबरल डेमाक्रेटिक पार्टी सरकारको साझेदारी हुन चाह्यो । बेलायती युवापिढीको पनि लगभग यही चाहना थियो किनभने युवापिढीले लिबडेमबाट अलि अर्कै नरम राजनीतिको अपेक्षा गरेका थिए । तर दुर्भाग्य सरकारको साझेदारी भएपछि लिबडेमले पनि कन्जरभेटिभ पार्टीको अदुरदर्शीपुर्ण एवं क्रुर आर्थिक एबं राजनैतिक निर्णयहरुलाई साथ दिँदै आइरहेको छ । यहाँसम्मकि इनर्जी, युरोपियन युनियनको सवाल, मानव अधिकार, आप्रवास राजनीतिहरुमा कन्जरभेटिभ पार्टीले क्रुर नीति लिँदै आइरहेको छ भने सत्ता साझेदार पार्टी लिबडेमले साथ दिँदै आइरहेको छ । यदि लिबडेमको पार्टीको वेबसाइटमा गएर यसका उद्देश्यहरु पढ्यौं भने प्रष्ट देख्ने छौं – ‘The Liberal Democrats exist to build and safeguard a fair, free and open society in which we seek to balance the fundamental value of liberty, equality and community and in which no one shall be enslaved by poverty, ignorance or conformity.

We champion the freedom, dignity and well-being  of individuals, we acknowledge and respect their right to freedom of conscience and their right to develop their talent to the full. We aim to disperse to foster diversity and to nurture creativity.

We believe the role of the state is to enable all citizens to attain these ideals, to contribute fully to their communities and to take part in the decision which affect their lives.’

तर खै ! लिबडेमले आफुले गरेका यी प्रतिबद्धताहरुप्रति ध्यान पुर्याएको ? उसले त अहिले त्यही गरिरहेको छ जे कन्जरभेटिभ पार्टीले चाहेको छ । जस्तै के लिबडेमले भने जस्तै कहीँ कतै आर्थिक बृद्धी भएको छ ? नाफा, मुनासिब श्रमको मुनासिब मुल्य, कर सहुलियत आदिप्रति लिबडेमले केही कदम चालेको छ ? साश्वत सत्य केहो भने जहाँ विजेता हुन्छ, त्यहाँ हरुवा पनि हुनै पर्छ । तर लिबडेमको वर्तमान राजनैतिक अवस्था , यसका नेताहरुको चिन्तनलाई नियालेर हेर्ने हो भने कुहिएको आलुको अवस्था भन्दा फरक देख्न सकिन्न । अहिले उनीहरुसँग ५७ संसद सदस्यहरु छन् । यदि लिबडेमले वर्तमानकै राजनीति आगामी दिनमा पनि गर्दै जाने हो भने उनीहरुको स्थान अति दक्षिणपंथी पार्टी यूके इन्डिपेण्डेन्ट पार्टीले लिने छ । र, त्यतिखेर पत्रकार माक्स हेस्टीङ्गले भने जस्तै बेलायतको प्रजातन्त्र माथि संकट पैदा हुने छ । यसैले लिबडेमले आफ्नो राजनैतिक सिद्धान्त, आर्थिक नीति एवं युरोपियन युनियनबारेको राजनैतिक चिन्तनमा समेत पुनर्मुल्याङ्कन गरी पार्टी पुनर्निर्माण गर्नु पर्ने छ, अन्यथा निक ल्केगले आगामी साढे दुई वर्षभित्र लिबडेमको संसदमा रहेको अहिलेको अस्तित्व खुर्लुक्क निल्ने छन् ।

उता कन्जरभेटिभ पार्टीका संसद सदस्यहरु एवं कन्जरभेटिभ पार्टी नेताहरुले भताभुङ्ग राजनैतिक सिद्धान्तलाई अंगालो मारेका छन् । जसको कारणले आगामी २०१५ को निर्वाचनमा अहिले सरकारमा बसेका पार्टीहरु सरकारबाट बढारिन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।  बलियो तर्क गर्ने आधार केहो भने विगत नोभेम्बर २०१२मा सम्पन्न कउन्टीहरुका प्रहरी एवं अपराध कमिश्नरहरुको निर्वाचन परिणामले सरकारमा आसिन पार्टीहरु बेलायती जनताको दिलबाट हटिसकेको अनुमान गर्न सकिन्छ । जसरी अमेरिकी जनताको दिलबाट रिपब्लिकन पार्टीप्रति मोह भंग भएको थियो । जसको कारणले मुलुकमा बेरोजगारहरुको संख्या बढिरहेकै अवस्थामा पनि बाराक ओबामा विरुद्ध रिपब्लिकन पार्टीको केही नलागेर लगातार दुइ पटकसम्म पराजित हुनु प-यो ।

हुनत डेभिड क्यामरोनलाई यो कुरा राम्रोसँग थाहा छ र उनीसँग आगामी निर्वाचनमा पत्ता साफ हुनु नपर्ने गरी राजनैतिक स्ट्राटजिक योजना गर्न सक्ने क्षमता छ भन्ने कुरा पनि नकार्न सकिन्न तर कुरा के मात्र हो भने राजनीतिमा आफ्नो पार्टीको स्थिति र पार्टीराजनैतिक शक्ति संचय गर्न सक्ने क्षमताको विकास हुन सक्नु पर्दछ ।

अर्को विकल्प, मानौ कि आगामी निर्वाचनमा लेबर पार्टीले बहुमत ल्याएर एड मिलिब्याण्ड प्रधान मन्त्री र एड बुल अर्थमन्त्री बने भने बेलायतको राजनैतिक र आर्थिक अवस्था कस्तो हुने हो ? अथवा लेबरसँग लिबडेम मिलिजुली सरकारमा मिसिने भयो भने पनि त्यतिबेलाको युरोपियन युनियन राजनीति, आप्रवास नीति एबं अर्थनीति र कर प्रणालीको रुप कस्तो हुने भन्ने कुरा आजसम्म सार्वजनिक भएको छैन । त्यसैले बेलायती सर्वसाधारण जनतालाई यो कुरा कुखुराको अण्डा जस्तै भैरहेको छ । पोथीले अण्डा कोरलेर निकाल्ने चल्ला भाले वा पोथी आउने हो वा अण्डा हावामा जाने हो ।

(यो लेख सत्य तथ्यको मार्च अंकमा प्रकाशित भएको हो । बेलायतको बिभिन्न चरणका राजनैतिक टिका टिप्पणी हेर्न बेलायतबाट हर महिना प्रकाशित हुने सत्य तथ्य मासिक पढ्ने गर्नुहोस् ।)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *