एमाओवादीमा छु पनि छैन पनि – राधाकृष्ण मैनाली

पूर्व बामपंथी नेता एवं पूर्व राजा ज्ञानेन्द्रशाहका मंत्री राधाकृष्ण मैनालीले एमाओबादी परित्याग गरेर आफु कुनै अर्को  बामपंथी पार्टीमा जान खोजेको कुरा साँघु साप्ताहिकले खुलासा गरेको छ । साँघुले हालै उनको एक अन्तरबार्ता प्रकाशित गरि भनेको छ – मलाई त सल्लाहकारबाट हटाईसके होलान, वामपन्थी नेता भन्दिनुस् है, भन्दै राधाकृष्ण मैनालीले एमाओवादी छोडिसकेको संकेत गरे। मैनालीले पहिला त म एमाओवादीको सल्लाहकारमा थिए, अहिले त थाहा छैन, महाधिवेशनमा पनि ढिलो गरी बोलाए त्यो पनि नआओस् भन्ने मनसायसहित त्यसकारण म गइँन भनेर प्रष्टीकरण दिए। नेपालको बाम आन्दोलनमा धेरै लगानी गरिसकेका मैनाली यतिबेला वल्लो तिर  न पल्लो घाट जस्तै भएका छन। नेकपा एमाले छोडेर महाराजा ज्ञानेन्द्र शाहको कदमलाई समर्थन गरेपछि उनको वामपक्षीय राजनीतिक यात्रा ओरालो लागेको देखिन्छ। एमाओवादीले सक्रिय राजनीतिमा सहभागी गराउने सर्तनामामा पार्टी प्रवेश गरायो। तर पनि उनलाई सल्लाहकारमा मात्र थन्कायो र जिम्मेवारी विहीन बनाएर राख्यो। जिम्मेवारी नपाएपछि असन्तुष्ट रहँदै आएका मैनालीले महाधिवेशन  बहिस्कार गरेर घरमै बसे। अनौपाचारिक रुपमा एमाओवादीमा नरहेको संकेत पनि गरे। वाम आन्दोलनको उठानका लागि जुन त्याग, अविस्मरणीय भूमिका मैनालीले गरे, त्यस हिसाबमा अहिले मैनाली यसरी समय समयमा वाम पार्टीमा प्रवेशको खोजी गर्नुपर्ने अवस्था आउनु नेपालको बामराजनीतिका लागि दुभार्ग्यपूण हो । एमाओवादीभित्रको भ्रष्टतन्त्र, अस्तव्यस्तता र अनियमितताको कडा आलोचना गर्न नडराउने मैनालीलाइ पलाइछिल्ला दिनमा प्रचण्डले पनि त्यति नजिक राख्न चाहेनन् । त्यहीकारणले होला उनलाई महाधिवेशन हुने अघिल्लो दिन माघ १९ गते रातीमात्रै पार्टीको महाधिवेशनबारे जानकारी गराइयो। यो विडम्बनापूर्ण अवस्था भन्दै मैनाली महाधिवेशन हलमा त गएनन् नै एमाअेवादीभित्र लुटिखानेहरूको संख्या धेरै भएको भन्दै गम्भीर टिप्पणी पनि गरे। हिजोको प्रवृत्ति कायम नै रहेको भन्दै मैनालीले एमाओवादीमा सुधारको निकै खाँचो रहेको बताए। मैनालीसहितको ठूलो टीम एमालेमा प्रवेश गर्ने चर्चा पनि छ। पूर्व एमालेहरू जो एमाओवादीमा प्रवेश गरे र त्यहाँ उत्पीडनमा परेका छन्, उनीहरू एमालेमै फर्किने अभियानमा रहेको हल्ला चलिरहेकै छ। तर, मैनाली पुनःएमालेमा फर्किहाल्ने संभावना कम रहेका तर नजाने भनेर कसम पनि नखाएको बताउँछन । साँघु साप्ताहिकमा प्रकाशित राधाकृष्ण मैनालीको अन्तरबार्ता यस प्रकार रहेको छ ।

तपाईले एमाओवादीको महाधिवेशन किन बहिस्कार गर्नुभएको हो?
– एमाओवादीको महाविधेशन बहिस्कार गर्नुमा त्यस्तो खासै कारण केही पनि छैन। उनीहरूले नै नबोलाएपछि किन जाने भनेर नगएको हो। एमाओदीको केन्द्रीय सल्लाहाकार भनेर मलाई राखेका थिए। औपचारिक रुपमा महाधिवेशनको बारेमा जानकारी मलाई माघ २० गते भएको हो। २० गते महाधिवेशन जानलाई भनेर बोलाए। बोलाउँदामा पनि नआओस् भन्ने प्रकारले बोलाएको ठानें, त्यसकारण म नगएको हो। गएर पनि त्यहाँ केही महत्वपूर्ण काम होला भन्ने लागेको थिएन। अहिले परिणाम हेर्दा पनि त्यस्तै भयो। नगएकोमा पनि खास गुनासो छैन।
सल्लाहकार समितिको सदस्य स्वतः आयोजक कमिटी हुन्छ होइन ? त्यसो हुदाँ तपाईलाई बोलाइरहनु पर्ने व्यक्ति होइन।
– आयोजक समितिको सदस्य हुने भएको भए त मलाई पनि आयोजक कमिटीको बैठकमा बोलाउथे होलान नि। केही नभए पनि ४/५ वटा बैठक त भए होलान्। ती कुनै पनि बैठकमा मलाई बोलाईएन। त्यसकारण सल्लाहकारहरू आयोजक कमिटीको सदस्य हुँदा रहेनछन् भनेर बुझ्नुपर्‍यो नि। उनीहरूले नै नबोलाएपछि म चाहिं जाने कुरा पनि भएन। एमाओवादीमा त्यत्रो बगाल थियो। त्यसले पनि म छुटेको हो कि? थाहा भएन।
तपाई आफैले अलिक भाउ खोजेको पनि भन्छन् नि एमाओवादीका कार्यकर्ताहरू?
– मैले किन भाउ खोज्ने? मलाई जे दिन्छु भनेका थिए, त्यो कुनै जिम्मेवारी दिएनन्। म सक्रिय राजनीति गर्न चाहने मान्छेलाई सल्लाहकारमा लगेर थन्क्याए। म चाकडी गरेर देउ भन्ने मान्छे होइन। त्यसो गरिन। यो उमेरमा आएर चाकडी, चाप्लुसी गरेर केही पाउँला भन्ने सोचेको छैन। त्यसकारण जिम्मेवारी दिएको अवस्थामा पूरा गर्ने हो। होइन भने जिम्मेवारी लिनका लागि चाकडी गर्ने कुरा आउँदैन। म त्ससो गर्दिन।
औपचारिक रुपमा एमाओवादीको छाडेको अवस्था हो कि होइन?
– पहिला मलाई सल्लाहकारमा राखेका थिए अरे। अहिले के गरे थाहा भएन। जानकारी केही आएको छैन। सायद हटाए होलान। त्यसकारण अहिले म एमाओवादी छोडिसकेको अवस्था पनि होइन। र बसिरहेको अवस्था पनि होइन। तर, जिम्मेवारी नपाएको अवस्थामा एमाओवादीमा टाँसिएर बसिरहनुपर्छ भन्ने लागेको छैन। बरु घरमा अध्ययन गरेर बसिन्छ नि। चाकडी गरेर उनीहरूको पाउ मोलेर पार्टीमा बस्नुपर्छ भन्ने लाग्दैन। मेरो त्यस्तो बानी पनि छैन। र गरिदैन पनि।
त्यसो भए अरु कुनै पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ?
– मैले त्यो सोचिसकेको छैन। राजनीतिक दलमा नजाने भनेको छैन। र एमाओवादीमै नबस्ने पनि भनिसकेको छैन। त्यसकारण अहिले केही निर्णय गरिसकेको छैन। महाधिवेशनमा बोलाउँदा पनि नआओस् भन्ने प्रकारले बोलाएपछि एमाओवादीसँग त्यति मन नबसेको मात्रै हो।
तर, कतिपयले तपाईसहित भीमबहादुर कडायतलगायत केही पूर्व एमालेहरू पुनः एमालेमा फर्किने हल्ला पनि गरेका छन नि?
– त्यो मैले पनि हल्ला सुनेको हो मिडियाबाट। तर भीमबहादुरहरूसँग मेरो त्यति सम्पर्क छैन। मैले फोन पनि गरेको छैन। त्यसकारण त्यो कुरा जानकारी भएन। मेरो हकमा त अहिले नै केही भन्न सक्ने अवस्थामा म छैन। म राजनीतिक दलमा आबद्ध हुने क्रममा कुन पार्टीमा कसरी गइन्छ अथवा एमाओवादीमै रहिन्छ कि त्यो त पछि नै केही भन्न सकिएला। तर जहाँ भए पनि सक्रिय राजनीति गर्ने इच्छा छ।
एमाओवादीका केही कार्याकर्ताहरूमाथि चोरी खाने, फट्याई गर्नेहरू धेरै छन् भनेर टिप्पणी गरिरहनुभएको होइन?
– त्यही शव्द प्रयोग नगरौं तर पुरानो बानी गएको छैन। त्यसले गर्दा उनीहरूमा श्रम गरेर, उत्पादन गरेर खाने भन्दा पनि कसरी हुन्छ सजिलो बाटोबाट आम्दानी गर्ने भन्ने सोच छ। त्यसका लागि चन्दा संकलन पुरानो बानी छुटेको छैन। पुरानो सबै बानी र व्यवहार परिवर्तन भइ नसकेकोले मैले त्यस्तो भनेको हो।
अब , एमाओवादीका पुराना कार्याकर्ता विस्तारै पाखा लागेर २०६३ पछि आउने 145चैतेहरू146 हाबी हुदै जान लागेको देखिन्छ। त्यसले पुरानो बानी परिवर्तन गराउला नि?
– अवश्य प्रभाव पार्छ। पुराना कार्यकर्ताहरूमा कमाण्डिङ पारा छ भने नयाँ जो २०६३ पछि प्रवेश गरे उनीहरू बढी प्रजातान्त्रिक प्रवृत्तिका छन। त्यसकारण कमाण्डिङ प्रवृत्ति भन्दा पनि प्रजातान्त्रिक प्रवृत्तिको विकास हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ। धेरै थोरै जति भएपनि त्यो प्रभाव रहन्छ। र त्यो विस्तारै देखा पर्दै जाने हो।
तर, एमाओवादीका कार्यकर्ताहरू पार्टी चैतेहरूले कव्जा गर्न थाले भनेर टिप्पणी गर्न थालेका छन नि?
– त्यस्तो द्वन्द्व हुन्छ नै। लिडरसीपदेखि कार्यकर्तामा पनि कमाण्डडिङ प्रबृत्ति त अहिले पनि छ नि। थोरैमात्रामा आएका प्रजातान्त्रिक प्रवृत्तिका व्यक्तिहरूका कारण केही वैचारिक बहस, छलफलको वातावरण सिर्जना गर्छ। त्यो सकारात्मक पाटो हो। पुराना कार्यकर्तामा कमाण्डडिङ सोच बढी, प्रजातन्त्रिक सोच कम र पछिल्लो समयमा प्रवेश गरेकाहरूमा प्रजातान्त्रिक सोच बढी कमाण्डडिङ सोच कम छ। थोरै भएपनि प्रजान्त्रिक सोचले सकारात्मक भूमिका नै निर्वाह गर्छ।
अहिलेको बनाइएको केन्द्रीय समितिमा पनि २०६३ पछि एमाओवादीमा प्रवेश गर्नेहरूको संख्या बढी भएको भन्दै आलोचना हुन थालेको नि?
– यसले एमाओवादीलाई प्रजातान्त्रिक बाटोमा लैजान मद्दत गर्छ। वैचारिक बहस, छलफलको मात्रालाई बढाउछ। त्यसकारण पुरानो कमाण्ड प्रवृत्तिलाई यसले एमाओवादीलाई नै फाइदा गर्छ। त्यसकारण यसलाई बढी नकारात्मक सोचबाट हेर्नु हुदैन भन्ने लाग्छ।
बाहिरबाट हेर्दा एमाओवादीको महाधिवेशनलाई कसरी विश्लेषण गर्नुभयो?
– एमाओवादीको महाधिवेशनले खासै नयाँ केही ल्याउछ भन्ने लागेको थिएन। र भयो पनि त्यस्तै। यस्ता थुप्रै महाधिवेशन, भेला र सम्मेलनमा भाग लिईसकेका कारण मलाई खासै केही होला भन्ने अपेक्षा थिएन। तर, औपचारिक रुपमा हतियारको राजनीतिबाट अलग हुने जुन प्रस्ताव पारित गरेर एमाओवादी आयो त्यसलाई सकारात्मक रुपमा हेर्नुपर्छ। अरु कमिटी निर्माणदेखि निर्णय प्रक्रियामा कार्यकर्ताको भूमिका कस्तो रह्यो त्यो चाहिं अलिक अध्ययन गर्नुपर्ने विषय रह्यो।
कमिटी चयन गर्दा कार्यकर्ताको काम नेताले भनेको व्यक्तिलाई छाप लगाउनेमात्रै काम भयो भन्न खोज्नुभएको हो?
– हो। कमिटी निर्माणमा प्रतिस्पर्धाको अवस्था देखिएन। र भएन। लिडरसीपले जुन जुन नाम हलमा लग्यो त्यसैमा होमा हो मिलाएर ताली बजाउने काम मात्रै भयो कार्यकर्ताको। त्यसले कार्यकार्ताको इच्छा, भावना प्रकट भएको देखिएन। प्रतिनिधिहरूमध्येबाट मनोनयन हुने वा निर्वाचित हुन दिइन। यो त संविधानसभामा ४/५ जना नेताले कराउने र अरु ६०१ जना निरीह भएर बस्ने गर्दथे, त्यस्तै भयो। तीनजना नेतामा सहमति भएको नाममा कार्यकर्ताले ताली बजाइदिनुपर्ने!
यो महाधिवेशनमा प्रचण्ड कमाजोर देखिएको टिप्पणी पनि छ। तपाईलाई के लाग्छ?
– प्रचण्ड त्यति कमजोर भएजस्तो मलाई लाग्दैन। किनभने पार्टी जसले बनाउछ ऊ त्यहाँ कहिल्यै कमजोर हुदैन। मदन भण्डारीले बनाएको पार्टीमा उनी कहिल्यै कमजोर भएनन्। वीपीले बनाएको पार्टीमा उनी कहिल्यै कमजोर भएनन्। त्यसकारण प्रचण्डले बनाएको पार्टीमा प्रचण्ड कमजोर भएका छैनन।
तर, बाबुराम हावी भएर आएको भन्ने पक्का हो?
– बाबुराम थोरै हावी भए होलान। राजनीतिक टि्रक जति प्रचण्डमा छ त्यो बाबुराममा छैन। राजनीतिक दाउपेज जान्ने र प्रयोग गर्ने भनेको प्रचण्डले नै हो। बाबुराममा त्यो क्षमता छैन। बाबुराम सेकेण्डमेन अथवा व्युरोक्र्याट्स प्रवृत्तिका मान्छे हुन्। त्यसो भएको हुनाले बाबुराम प्रचण्डजति चलाख हुुुन सक्दैनन्।
तर, प्रचण्डको जुन व्यक्तित्व थियो , त्यो महाधिवेशनमा प्रतिविम्बित भएन नि?
– त्यो सत्य हो। हिजो प्रचण्डलाई जसरी मान्छेले बुझेका थिए, त्यो अवस्था अहिले छैन। प्रचण्डको व्यक्तित्व घट्दो क्रममा छ। हिजोे माओको व्यक्तित्वमा यस्तै भएको थियो। सीपी मैनालीको हकमा पनि त्यही भएको छ। संसारमै भूमिगत नेताको जीवन सार्वजनिक भएपछि व्यक्तित्वमा गिरावट आउछ। प्रचण्डमा त्यही भएको हो। भूमिगतमा हुँदा खास केही जानकारी हुदैन, त्यसकारण मिराकल व्यक्तित्व देखिन्छ। तर सार्वजनिक भएपछि सबै कुरा जानकारी हुने भएकोले उसको व्यक्तित्वमा गिरावट आउछ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *