एभी हुदैनको अर्थ समानुपातिक पनि हुदैन भन्ने होइन

शशी पौडेल
गत बर्ष ५ मे का दिन सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने पंडितहरुलाई निराशा तुल्याएको थियो । यहा“ सम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गर्नु अव एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए ।
अल्टरनेटिभ भोटिङ सिष्टमका समर्थक एंव प्रस्तावक पक्षबाट अल्टरनेटिभ भोटिङ सिष्टम के हो भन्ने बारे सर्वसाधारण जनतालाई उचित र प्रष्ट जानकारी गराउन सकेनन् । अर्कोतिर अल्टरनेटिभ भोटिङ्ग सिष्टम आफैमा सर्वसाधारणवीचमा अदृश्य बनेर देखा परेको थियो । जनतालाई यसबारे प्रष्ट जानकारी थिएन । मिलिजुली सरकारको निर्माण गर्नेबारे कुराकानी गर्दा लिवरल डेमोक्रेटिक पार्टीले अचानक अल्टरनेटिभ भोटिङ सिष्टमको प्रस्ताव ल्याएको थियो । यद्यपी उसको निर्वाचन घोषणा–पत्रमा राजनैतिक सुधारका कुराहरु मात्र लेखेको थियो । सम्भवत कन्जरभेटिभ पार्टीले समानुपातिक निर्वाचन प्रणालीवारे जनमत संग्रह गराउन अमान्य गर्ला भन्ने हिसावले लिबडेमले अचानक अल्टरनेटिभ भोटिङ सिष्टमको प्रस्ताव ल्याएको हुन सक्छ । तर जेहोस् लिवडेमले राखेको प्रस्ताव अल्टरनेटिभ भोटिङ सिष्टम निर्वाचन प्रकृया बेलायतमा अप्रिय रहेछ भन्ने प्रमाणित भएको छ ।
केही छापा पत्रिका एव तरंग संचार साधन जस्तै रेडियो एंव टिभीले समेत सम्पन्न जनमत संग्रहको निर्णयलाई बुढीऔला माथि देखाएका थिए । अर्थात फष्ट पास्ट द पोष्ट सिष्टमको पक्षमा स्यावासी गरे । त्यतिबेला एक आइतवार इन्डिपेन्डेन्टले निक क्लेगको हवाला दिदैं ‘यो पुस्ताका लागि बेलायतमा राजनैतिक परिवर्तन गर्ने कुरा अव मरेको’ भन्यो । त्यस्तै द टेलिग्राफ, डेली मिररले मात्र होइन बीबीसी र स्काई टिभी न्यूजले समेत यस्तै प्रकारको प्रतिकृया जनाएका थिए ।
तर जनमत संग्रहमा खसेको भोटको ६९ प्रतिशत एभीका विरुद्ध खसेको थियो भने एकतिस प्रतिशत पक्षमा । गणितिय ढंगबाट यसलाई हिसाव गर्ने हो भने जम्माजम्मी ५२ प्रतिशत मतदाताले मत खसालेका थिए । त्यसको अर्थ हो अड्चालिस प्रतिशतको मत खसेन । ६९ प्रतिशतलाई सतप्रतिशत मतदाताको संख्याबाट हिसाव गर्दा जम्माजम्मी ३५ प्रतिशत बेलायती मतदाताले एभीका विपक्षीमा मत खसालेको बुझिन्छ । यसो किन भएको हो ? भने एभीको प्रस्ताव आएकै बेला देखि यो प्रस्ताव रोगी बनेर आयो । अझै प्रष्ट शव्दमा भन्ने हो भने मृत्यु सैयामा बसेर प्रस्ताव जन्मेको थियो । किनभने बेलायती जनताले लिवरल डमोक्रेटिकहरुलाई कन्जरभेटिभ पार्टीसंग मिलीजुली काम गरेर जनताका लागि अप्रिय लाग्ने टोरीको प्रस्ताव पारित गराउन भनी भोट दिएका थिएनन् ।
बेलायती मतदाताहरुले खसालेको मतको दुईतिहाई विपक्षमा र एकतिहाई पक्षमा भनी बुझिए पनि अर्को अडचालिस प्रतिशतले के भन्ने हुन जानकारी हुन सकेको छैन । यस अर्थमा बेलायतको राजनीतिक परिवर्तनको कुरा यो पुस्ताका लागि मृत्यु हुने भन्ने प्रश्न उठ्दैन तर यदि यो पुस्ताका लागि अल्टरनेटिभ भोटिङ्ग सिस्टमको प्रस्ताव मरेकै हो भने पनि अल्टरनेटिभ भोटिङ सिष्टम भनेको समानुपातिक निर्वाचन प्रणाली होइन त्यसैले समानुपातिक निर्वाचन प्रणाली वा मिस्रित निर्वाचन प्रणालीको प्रस्ताव अहिले पनि आउन सक्छ । मिस्रित निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अल्टरनेटिभ भोटिङ सिष्टम भन्दा विकशित, सरल र पारदर्शी रहेको छ ।
त्यतिखेर प्रष्ट भएको कुरा के मात्र हो भने फस्ट पास्ट द पोष्ट सिष्टमका वदला अल्टरनेटिभ भोटिङ सिष्टम लागू गर्ने भन्ने कुरा असफल भएको हो । टोरी समर्थक संचार साधनभित्र यसलाई एउटा इस्यू बनाएर अर्को निर्वाचन प्रणालीवारे विकल्प नखोजियोस् भन्ने मनोविज्ञानले काम गरेको हो । यस्तै गरी टोरीले पुरानै निर्वाचन प्रणाली कायम हुने भएकोमा ‘लोकतन्त्रको विजयी’ को नारा दिनुका पछाडि पनि टोरीले एकाधिकार रुपमा बेलायतमा राज्य गरिरहने मनोविज्ञानले प्रेरित भएर हो । यतिखेरको समय भनेको बेलायती सर्वसाधारण जनतालाई बैज्ञानिक, पारदर्शी र सर्वसुलभ एंव मत खसाल्न प्रोत्साहित गर्ने निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली वा समानुपातिक निर्वाचन प्रणाली फस्ट पाष्ट द पोष्टको विकल्पमा प्रस्ताव राख्न सक्नु पर्दछ । यदि लिवडेमले निर्वाचन परिणाममा के आउछ भन्ने नहेरीकन मिश्रित वा समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव ल्याएर जनता समक्ष यथेष्ट सूचना प्रवाह गर्न सकेको खण्डमा बेलायतको निर्वाचन प्रणालीमा सुधार ल्याउन अर्को पुस्ता कुरिरहनु पर्ने छैन । किनभने अल्टरनेटिभ भोटिङ सिष्टमको विपक्षमा बहुमत आउनुको अर्थ मिश्रित वा समानुपातिक पनि हुदैन भन्ने होइन ।
मुख्य कुरा के हो भने मिश्रित वा समानुपातिक निर्वाचन प्रणाली भनेको के हो र यो कति बैज्ञानिक छ र बेलायती मिश्रित धर्म, संस्कृति, र वर्ग रहेको समाजमा यसको जरुरी किन परेको हो अनि यसका सवल पक्षहरु के के हुन् भनी सर्वसाधारण जनता समक्ष प्रश्ट तस्वीर पुग्ने गरी यथेष्ट सूचना प्रवाह गर्नु सक्नु पर्दछ । किनकी सामान्य परिस्थितीमा बहुसंख्यक सर्वसाधारण जनता परिवर्तनको पक्षमा रहेका हुन्छन् भने सत्ताधारी र तिनका पृष्ठपोषकमात्र यथास्थितीवादी हुने गर्दछन् । यसो हुदा हुदै पनि जवसम्म जनता समक्ष परिवर्तनको पक्षमा यथेस्ठ सूचना प्रवाह हुदैन र परिवर्तनको स्वरुपवारे प्रश्ट चित्र देखिदैन तव सम्म जनता यसवारे सर्तक रहन्छन् । त्यही अवस्थाको सृजना भएको थियो बिगत बर्ष ५ मे को एभी वारेको जनमत संग्रहको परिणाम ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *