एबर्डिनमा नेपाली भाषा

nepali language classमातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यो नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाइ बन्चित गराउनु हुदैन । तर दुर्भाग्य बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाइ चटक्क बिर्सेको पाइन्छ । नेपाल र बेलायतको सम्बन्ध झण्डै दुइसय बर्षदेखिको भए पनि नेपालीहरु बेलायतमा स्थाइ बसोबास गर्न थालेको भर्खरै आधा सताब्दी मात्र नाघेको छ । यो आधा सताब्दीको सुरु सुरुमा बेलायत आएर बसोबास गर्ने सामान्य कामदारले मात्र होइन आफुलाइ धुरन्धर बिद्धान भन्नेहरुले समेतले आफ्ना बालबच्चाहरुलाइ नेपाली भाषाको सवालमा कुइरोमा अल्मलिएको काग जस्तै बनाइरहेका छन् ।
यस्तै दुइहजार नौ सालतिरको कुरा हो । मैले लगभग डेढ दशक देखि लण्डनमा बसोबास गर्दै आएका एकजना मेरा पुर्व परिचित डाक्टर प्रोफेसरको घरमा टेलिफोन गरें, उनि घरमा रहेनछन्, उनका १९ बर्षीय छोराले टेलिफोन उठाए । उनले त्यतिबेला बाबा घरमा नभएको संकेत गरे । म नेपाली भाषामा बोल्दै थिंए, उनले अंग्रजीमा जवाफ दिदै गए । त्यसैबीच मैले उनलाइ सोधें बाबु तिमीलाइ नेपाली बोल्न आउदैन र ?
उनले भने नो आइ कान्ट स्पिक नेपाली बट आइ क्यान अन्डरस्टायड लिटिलबिट । अनि मैले सोधें तिमी त नेपालमै जन्मेका हौ नि होइन र ?
उनको जवाफ थियो एस् ,बट ह्वन आइ कम टु युके  नेभर ह्याभ अपरचुनिटी टु स्पिक नेपाली ।
अनि मैले फेरी सोधें के तिम्रा आमा बाबा तिमीसंग नेपाली बोल्नुहुन्न ?
नो दे डन्ट ।
मैले उनिसंग मेरो कुराकानी टुंग्याए । दिमागभरी कुरा खेल्यो । मलाइ यो सबै बिद्धता भित्रको कमन्सेन्सको गरीबी हो भन्ने निस्कर्षमा पुगें ।
तर आज इमेलबाट शिब तिवारीले पठाएको यो समाचार प्राप्त गरे पछि भने मेरा त्यतिबेलाका थुप्रै प्रश्नहरुको उत्तर भेटे जस्तो लाग्यो । कुनै पनि काम सुरु गर्न जति सजिलो हुन्छ त्यसलाइ निरन्तरता दिन त्यतिनै गाह्रो हुन्छ । आशा गरौं एबर्डिनको यो कदमले निरन्तरता पाउने छ ।
बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपालीका छोराछोरीलाई लक्षित गरी नेपाली भाषा पठन(पाठन कक्षा संचालन गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक  २ हप्तामा २ घण्टाको दरले कक्षा सुरु गरिएको र छिट्टै समय बढाउने तयारी गरिएको संस्थाका अध्यक्ष टक बहादुर थापाले बताए । एबर्डीनको माइल इन्ड प्राइमरी स्कुलमा  औपचारिक कार्यक्रमसहित सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालीकाहरुको उल्लेख्य सहभागिता रहेको र प्रभाबकारी  तरिकाले पढाईने भन्दै थापाले नेपाली बालबालिका समेत नेपाली भाषा पढ्न र लेख्न उत्सुक भएको बताए । संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालनमा ल्याएको भए पनि आवश्यक परे आर्थीक सहयोग गर्न अविभावकहरु समेत इच्छुक रहेको जानकारी सचिब मीन भट्टले गराए । नेपाली भाषा कक्षामा पाँच देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी  प्रभावकारी तरिकाले पठन पाठन सुरु गरिएको हो ।नेपाली  भाषा र संस्कृतिको जगेर्नाका लागि आ-आफ्ना बालबलिकाहरुलाइ पढ्न पठाउन पनि अनुरोध गरिएको छ । नेपाली भाषा कक्षा अध्यापनको  लागि  नेपालमा रहॅदा शिक्षण  पेसामा लागेर अनुभब हासिल गरेका ब्यक्तीहरुको ७ सदस्यीय समिती गठन गरिएको छ, संयोजक बिजय सिग्देलको  नेतृत्वमा टक थापा, प्रकाश भट्ट, कबिता हुमागाई, मुकुल दाहाल, तोया सापकोटा र भुवन थापा सदस्य रहेका छन्  । स्कटलैण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक  संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपाल स्थित बिभिन्न संघ संस्थाहरु मार्फत सहयोग पुर्याउदै आएको छ ।

Bookmark the permalink.

One Response to एबर्डिनमा नेपाली भाषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *