आईएसआईएस इराकीहरुको मुक्तिदाता ?

Bashu Mishra-बाशुदेब मिश्र
१० जून २०१४ को दिन इराक को दोस्रो ठुलो शहर मोसुल माथि कब्जा जमाए पछि आईएसआई/एसआईएसआईएल (Islamic State Of Iraq & Syria / Islamic State Of Iraq & the Levant ) एकाएक चर्चाको शिखरमा पुग्यो । यद्यपि पश्चिमी संसारका नीति निर्माताहरु, अरब जगतका शासकहरु र मुख्य मुख्य देशका इन्टेलिजेन्स एजेन्सीहरुलार्ई आईएसआईएस को हुन् भन्ने थाहा भएको भएता पनि संसारभरिका सर्बसाधारणहरुमा दुइ देश (सिरिया र इराक ) लार्ई एकैसाथ हल्लाउन सक्ने त्यो कुन शक्ति हो र कहाँबाट संचालित छन् भन्ने कौतुहलता जागेको छ । विशेष गरी राजनीतिले अत्यन्तै ग्रस्त हाम्रो जस्तो तेस्रो विश्वको समाजमा घटनालार्ई निरपेक्ष ढंगले लिइन्छ, एकांगी तवरले केलाईन्छ, आग्रहपूर्ण तरिकाले विश्लेषण हुन्छ र हतारहतार आफुलार्ई सर्वोत्तम सावित गर्न संचार माध्यममार्फत पस्कने काम गरिन्छ । यसरी गरिने हतपतको काम लतपत हुने नै भयो । अनि, त्यस्तो विश्लेषणबाट जनमानसमा गलत सूचना प्रवाहित हुन जान्छ । यस्ता गलत सूचनाहरुबाट प्रभावित हुनेहरुले विषयवस्तुमाथि धारणा बनाउँदा सहि हुने सवाल नै हुँदैन । यसरी समाजलार्ई विपरित दिशातर्फ मोड्ने काम भैरहेको आजको नेपाली समाजको अवस्था छ । यही आईएसआईएसको बारेमा हालै नेपालका एकजना स्वनामधन्य सदाबहार क्रान्तिकारी नेताले यस्तै सतही विश्लेषण पस्केर आफुलाई साम्राज्यवाद विरोधी भएको प्रमाणित गर्न खोजेका छन् । उनी साम्राज्यवाद विरोधी भएकोमा शंका गर्ने ठाउँ नहोला तर साम्राज्यवादको विरोध गर्ने नाममा आईएसआईएसलार्ई देशभक्त र अरु कतिपय पगरी गुथाएकोमा भने उनलार्ई उमेरले अब स्थायी रुपमै आराम गर्नुपर्ने अवस्थामा पु-याएको भन्नु पर्ने हुन्छ । आईएसआईएसले वर्तमानमा इराकमा प्राप्त गरेको सफलता जान्नको लागि उसको इतिहास खोताल्नै पर्छ र वर्तमानका उसका गतिविधिलाई पनि नियाल्नै पर्छ ।

प्रारम्भमा आइएसआई मुजाहिद्दिन शुरा काउन्सील (Mujahideen Shura Council), द इस्लामिक स्टेट अफ इराक (ISI) र अलकाइदा इन इराक (AQI), जेश अल–फातिहीन (Jaysh al-Fatiheen), जुन्द अल–सहाबा (Jund al-Sahaba), कटबियान अन्सार त्वाहिद अल सुन्नाह (Katbiyan Ansar Al-Tawhid al Sunnah), जेइश अल–तालिफा अल–मनसौरा (Jeish al-Taiifa al-Mansoura) र केही सुन्नी सम्प्रदाय मिलेर बनेको थियो । इराकलाई सुन्नी स्टेटमा बदल्ने उदेश्यले प्रेरित यस संगठनले अन्य सम्प्रदाय विशेषगरी शिया र इसाईहरुप्रति अत्यन्त क्रुर रबैया अपनाउने गरेको बताइन्छ । बारम्बार नाम फेरिरहने यस संगठन आफ्नो स्थापना भएको साल २००४ देखि अहिलेसम्म कमसेकम आधा दर्जन पटक अन्य समुहसँग मिसिदै नयाँ नामबाट आफ्ना गतिविधि संचालन गरेको देखिन्छ । २००४ मा जमात अल–त्वाहिद वा–अल–जिहाद (JTJ) को नामबाट संगठित हुँदा यसका नेता जोर्डानी मूलका अबु मुसाब अल–जर्काबी थिए, जसले सोहि सालको अक्टोबर महिनामा ओसामा बिन लादेनप्रति लोयल्टी जनाउँदै आफ्नो संगठनको नाम फेरेर अल कायदा इन इराक बनाए । २००५ मा अम्मानका ३ ठुला होटलहरुमा बिष्फोटन गराएपछि अन्तर्राष्ट्रिय रुपमा बदनाम हुनबाट बच्न जनवरी २००६ मा इराकमा भएका अन्य समुहसँग जेटीजेलाई समाहित गरी मुजाहिद्दिन शुरा काउन्सिल नाम दिँदै अलिकति इराकी फ्लेभर दिने प्रयाससमेत भयो । सोहि सालको जुन महिनामा जर्कावी मारिएपछि संगठनले अन्य ४ साना विद्रोही संगठनसँग एकता गर्दै इराकलाई शिया र नाटो सैनिक मुक्त देश बनाउने कसम खाँदै अलिकति दिशा परिबर्तन गरी बढी इराकमै केन्द्रित हुने ग¥यो । १३ अक्टोबरमा संगठनले पुनः नाम परिवर्तन गर्दै आईएसआई (Islamic State of Iraq) बनायो । सोहि दिन संगठन संचालनको लागि एउटा क्याबिनेटसमेत गठन ग¥यो र अबु अब्दुल्लाह अल–रसिद अल–बगदादीलाई अमिर घोषित गरियो । तर संगठनको मुख्य सिद्धान्तकारको रुपमा मिश्री नागरिक अबु अयुव अल–मसारीलाई स्वीकारिएकोले संगठनको शक्ति सहि मानेमा उनको हातमा रहन पुग्यो । तर, अप्रिल २०१० मा ती दुवै जना मारिएपछि आईएसआईको नेतृत्व अहिलेका नेता अबु बक्र अल–बगदादीको जिम्मामा आयो । सिरियाली गृहयुद्धमा संगठन सामेल भएपछि यसको शक्तिमा भारी मात्रामा वृद्धी हुन गयो । यद्धपि सद्दामको पतन पश्चात इराकमा सुन्नीहरुप्रतिको भेदभावपूर्ण ब्यवहारको कारणले केही मात्रामा यो संगठनप्रति मानिसहरुको लगाव देखिएता पनि बगदादको केन्द्रीय सत्तालाई नै चुनौती दिने ताकत भने बटुलिसकेको थिएन । त्यसमाथि २०१० सम्ममा इराकमा बहुराष्ट्रीय सेना तथा इराकी सेनाको संयुक्त कारबाहीमा यसका ८० प्रतिशत नेताहरु मारिई सकेका थिए । सिरियाली गृहयुद्धमा सामेल भएपछि भने साउदी अरब तथा कतारबाट प्राप्त पैसा र अमेरिका तथा नाटोबाट प्राप्त हातहतियारको कारणले संगठनले आफ्नो अवस्थामा सुधार ल्याउने मौका पायो । त्यसमाथि सिरियामा युद्धरत अल–कायदासँग सम्बन्धित अर्को संगठन अल नर्सा फ्रण्ट (Al–Nusra Front)सँग एकता गरेपछि उनीहरु झनै बलिया भए । ९ अप्रिल २०१३ मा यी दुवै संगठन मिलाएर आईएसआईएल (Islamic State of Iraq & the Levent) हुन गई यसको नाम फेरि एक पटक परिवर्तन भएको थियो । आईएसआईएल औपचारिक नाम भएतापनि अनौपचारिक रुपमा यसलाई आाईएसआइएस (Islamic State of Iraq & the Levent) भन्ने पनि गरियो । २९ जून २०१४ मा उनीहरुले नयाँ खिलाफतको घोषणा गरेर संगठनका नेता अबु बक्र अल–बगदादीलाई खलिफा बनाएपछि अन्तिम पटक संगठनको नाम पनि परिबर्तन गर्दै आईएस (Islamic State) बनाए । तर पछिल्लो चरणमा आएर अल–नर्सा फ्रण्टसँग मतभेद भै दुवै अलग अलग ढंगले क्रियाशिल हुन थाले । यस संगठनमा इराकमा लगभग ६ हजार र सिरियामा करिब ४ हजार गरी १० हजारको हाराहारीमा लडाकुहरु रहेको अनुमान गरिन्छ । जसमध्ये करिब १ हजार चेचेन तथा ५ सय देखि १ हजारसम्म बेलायत, फ्रान्स तथा अन्य युरोपेली देशबाट गएका भाडाका लडाकु तथा त्यतिनै संख्यामा अन्य अरब मुलुकका कट्टरपन्थीहरु सामेल भएको विश्वास गरिएको छ । इराक र सिरियामा उनीहरुले उल्लेख्य मात्रामा भूमि तथा वस्तीहरु कब्जा गरेका छन् । उनीहरुले इराकको दोस्रो ठूलो सहर कब्जा गरेकै दिन त्यहाँको बैंकबाट करोडौँ डलर लुटपाट गरेका थिए भने कब्जामा लिइएकाहरुलाई अत्यन्त क्रुरतापुर्वक मारेका थिए । यो मेरो उनीहरु माथिको आरोप नभएर विभिन्न वेबसाइटमा पोष्ट गरिएका उनीहरुकै कर्तुतले प्रस्टिन्छ र रेफेरन्सको लागि गूगल या याहूमा डरलाग्दो इमेज सहितका असंख्य प्रमाणहरु पाउन सकिन्छ । ती सबै त पक्कै पनि नक्कली हुन सक्तैनन् । सिरियाको अलेप्पो इलाकामा त उनीहरुले प्रतिपक्षी संगठनको झण्डा बोकेकै आधारमासमेत कसैलार्ई मारिदिएका छन् । खेती गरिरहेका किसानहरु, हतारमा बाटो काटिरहेका बटुवाहरु, घरभित्र रहेका गृहिणीहरु, वृद्ध–बृद्धाहरु, बालबच्चाहरु, पसलमा काम गरिरहेकाहरु आदि कोही उनीहरुको शिकार हुनबाट बच्न सकेनन । के देशभक्तहरुबाट सर्वसाधारणले यस्तै मुक्तिको अपेक्षा गरेको हुन्छ < उनीहरुले आफ्नो बाटोमा पर्ने अन्य समुदायहरुको धार्मिकस्थल नष्ट गर्दै अघि बढिरहेका छन् । इराकमा उनीहरुले कब्जा गरेको इलाकामा रहेका इसाई धर्मावलम्वीहरुले आईएसआईलाई विशेषकर (Protection Money) तिर्नु पर्ने , गिर्जाघरहरुको कुनै जीर्णाेद्धार गर्न नपाउने अन्यथा इलाका छोडेर जानुपर्ने वा परिणाम भोग्न तयार रहनु पर्ने पनि उनीहरुले फतवा जारी गरेका छन् ।

उनीहरुको यत्रो अत्याचारको विरुद्ध पश्चिमी देशका सरकारहरु किन मौन छन् ?किन उनीहरुकै धार्मीक समुदायमाथि भएको दमन विरुद्ध केही बोल्दैनन ?युक्रेनमा भएको प्लेन दुर्घटनामा मारिएका भन्दा दोब्बर संख्यामा दिनहुँ इराक र सिरियामा अतिवादी आईएसआईबाट मान्छेहरु मारिदा पनि किन पश्चिमी संचार माध्यमले बाहिर ल्याउदैन ?किनभने आईएसआई अमेरिकी योजनाकै एउटा अंग हो र नाटोद्वारा संचालित छ । यी अतिवादीहरुलाई साउदी र कतारीहरुबाट पैसा र म्यानपावर दुवैको प्रत्यक्ष समर्थन छ भने इजरायलको सूचना तथा अन्य लजिस्टिक सहयोग रहेको विश्वास गरिन्छ ।

सिरियाली गृहयुद्धमा नाटोले समर्थन गरेको पक्षलाई मद्दत पुगोस् भनी अमेरिकी नेतृत्वको समूह साउदी र कतारीहरुले आथिर्क व्ययभार उठाउने गरी तालिम तथा हतियारको व्यवस्थासहित इराकमा गतिविधि गरिरहेका अतिवादीहरुलाई अफगानिस्तानमा सोभियतहरुको विरुद्धमा मुजाहिद्दिनहरुको सहयोगार्थ अरब लडाकुहरुलार्ई स्थापित गरेकै शैलीमा सिरियामा निर्वाध गतिविधि संचालन गर्न प्रेरित ग¥यो । यसो गर्नुमा इराक र सिरियालाई बिखण्डन गर्ने अमेरिकी योजनाले काम गरेको बताउछन् प्रो. मिशेल चोसुडोभोस्की(Prof. Michel Chossudovsky)  १ जुलार्ई २०१४ को ग्लोबल रिसर्चमा । वास्तवमा उनको यो तर्कमा दम छ । किनभने सिरियामा अमेरिकी पक्ष पुरै असफल भएको प्रमाण संसारसामु प्रष्ट रुपमा अगाडि आइसक्यो, त्यहाँ भएको सफल आम चुनावमा भारि मतदान र बसर अल आसादको ठुलो मतान्तरको जित मार्फत । त्यस्तै इराकमा अमेरिकाले सोचे अनुरुपको परिणाम हात पार्न असफल भएको सत्यता छंदैँछ र इराकमा उनीहरुले नै स्थापित गरेका नुरी अल मलिकी अमेरिका भन्दा इरानतर्फ बढी ढल्कन पुगे । यो अमेरिकीहरुलाई पच्ने कुरै भएन । सबैभन्दा महत्वपूर्ण तथ्य पश्चिमी आक्रमणकारी शक्तिहरु सद्दामको पतनपछि इराकका तेलक्षेत्रको निजीकरण भएको हेर्न चाहन्थे । साथै यसको जिम्मा अमेरिकी तथा बेलायती कम्पनीहरुले पाउन् भन्ने उनीहरुको चाहना थियो ( हेर्नुहोस :Felicity Arbuthnot को १८ जून २०१४ को ग्लोबल रिसर्चको लेख ) । तर अल मलिकीले उनीहरुको यो माग पुरा गर्न सकेनन् र त्यही कारण हो आईएसआईएस मोसुल कब्जा पछि हतार हतारमा इराकको सबैभन्दा ठुलो तेल क्षेत्र बैजीतर्फ अगाडि बढेको । त्यस्तै अमेरिकीहरुको इराकभित्रका सबैभन्दा विश्वासनीय शक्ति इराकी कुर्दहरुले मोसुलको पतनको भोलिपल्ट अथार्त ११ जुनकै दिन अर्को ठूलो तेलक्षेत्र किर्कुक आफ्नो कब्जामा लिए । यसरी इराकी तेलको ठुलो हिस्सा अमेरिकीहरुको विश्वासपात्रहरुको हातमा पर्न गएकोछ ।

अल मलिकी सरकारले पहिल्यै रकम भुक्तानी गरिसकेको अमेरिकी एफ–१६ लडाकु जेटहरु पनि अमेरिकाले अहिलेसम्म इराकलाई उपलब्ध गराएको छैन । साथमा गतसाल रुससँग भएको इराकको ४ बिलियन डलर बराबरको हतियार डिल पनि अमेरिकीहरुकै दबाबको कारणले अल मलिकी सरकारले रद्द गर्नु परेको थियो । मलिकीले २०११ मा इराकबाट अमेरिकी सेना फिर्ता हुनुभन्दा अघि ओबामालाई इराकी सेनाको तालिमको खातिर केही अमेरिकी सेना इराकमै छाडिदिन आग्रह गर्दा ओबामाले स्वीकारेनन् । यसको अर्थ अमेरिकीहरुले इराकी सेनालार्ई पुरा प्रशिक्षणनै नदिई कोरा बन्दुकधारीको अवस्थामा छोडेको रहेछ । नत्र भने ३ लाख नियमित सेना र त्यति नै संख्यामा जगेडामा रहेको सरकारी सेना केही हजार बन्दुकधारीहरुको सामु यस्तो निरिह नहुनु पर्ने थियो । अझ मोसुलको मोर्चामा सयौँ भारी तोप तथा बख्तरबन्द गाडीहरु र टयांक सहितका ३० हजार सरकारी सेना खुला जापानी टोयोटामा चढेर आएका मात्र ८०० जनाको जत्थासँग बिना प्रतिरोध हतियार छाडी युनिफर्म फुकालेर भागेका थिए । प्रो.मिसेल चोसुडोभस्की जुलार्ई १ , २०१४ कै ग्लोबल रिसर्चमा अमेरिकीहरुले दुवै पक्षलाई हतियार तथा तालिम उपलब्ध गराएको, इराकी सेनामा फिफ्थ कोलमलाई घुसाएको, मोसुलमा तैनाथ सरकारी सेनाका कमान्डरलाई प्रतिरोध नगर्न आदेश दिएको र प्राइभेट सुरक्षा दस्तामार्फत युद्ध मैदानमा विद्रोहीको पक्षलाई प्रत्यक्ष निर्देशन दिएको तथा विद्रोहीहरुलार्ई सूचना उपलब्ध गराएकोले मात्र यो अत्यन्त सतर्कतापूर्वक मञ्चन गरिएको नाटक सफल भएको दावी गर्दै इराकको केन्द्रीय सरकारका सबै संस्थाहरुलाई राजनीतिक रुपमा छिन्नभिन्न पारेर इराकलाई साम्प्रदायिक तवरले बाँड्दै ३ बेग्ला बेग्लै हिस्सामा विभाजित हुन् बाध्य तुल्याउने अमेरिकी योजना रहेको निष्कर्ष निकालेका छन् । यसबाट सिरियामा पनि प्रत्यक्ष असर पर्ने भएकोले सिरियाको समेत विभाजन हुन सक्ने अमेरिकीहरुको अपेक्षा देखिन्छ । तसर्थ आईएसआईएस सिरियाको असफलता र इराकमा तेलको दोहन गर्न नपाएको हुनाले अमेरिकाले बनाएको ट्रयाक –२ (Track–2) अथवा प्लान–बी (Plan– B) भएकोमा सन्देह गर्ने ठाउँ देखिन्न ।

हुन पनि घटनाक्रमले उनको दावीलाई सत्यताको नजिक पु¥याएको छ । मोसुल विद्रोहीहरुको हातमा गएपछि अल मलिकीले अमेरिकासँग सहयोग माग्दा अमेरिकीहरुको आनाकानी र मलिकीले सत्ता छोड्नु पर्ने पूर्वसर्तले अमेरिकी नियतलाई स्पष्ट पार्दछ । तर यो सत्ता परिवर्तनको खेल वा मलिकीको ठाउँमा अर्को आफ्नो मान्छेलाई प्रतिस्थापन गर्ने भन्दा पनि इराकको बिखण्डीकरण (बल्कानाइजेसन) हो भन्ने तथ्य इजरायल को ‘ग्रेटर इजरायल’को योजनाले झल्काउँछ । ‘ग्रेटर इजरायल प्रोजेक्ट’को धारणा सर्ब प्रथम यहुदीवादका जन्मदाता थ्योडोर हर्जल (Theodore Herzl) ले सबैभन्दा पहिला सन १९०४ मा अघि सारेका थिए, जसमा यहुदीहरुको खास भूमि नाइल नदिदेखि युफ्रेटससम्मको भूभाग हो भनेका थिए । उनलार्ई पच्छयाउँदै सन १९४७ मा राब्बी फिस्चमान, मेम्बर अफ द जियुश एजेन्सी फरप्यालेस्टाइन (Rabbi Fischmann, member of the Jewish Agency for Palestine)ले युएनओको स्पेसल कमिटी अफ इनक्वायेरीमा इजरायललाई नाइलदेखि युफ्रेटस नदीसम्मको भूभाग चाहिने दावी गरेका थिए (हेर्नुहोस :The Zionist plan For Middle-East, translated and edited by IsraelShahak) । सन १९८२ मा एकजना इजरायली पत्रकार ओडेड यिननले किभुनिम (Kivunim (Directions), the journal of the Department of Information of the World Zionist Organization)मा एक लेख प्रकाशित गर्दै इजरायलको लागि दीर्घकालीन महत्वको एक वृस्तित योजना पेश गरेका थिए, जसलार्ई आजका दिनसम्म इजरायली रणनीतिकारहरुले मुलमन्त्रको रुपमा लिँदै आएका छन् । यिननका अनुसार इजरायलको अस्तित्व बचाई राख्नको लागि पहिलो सर्त इजरायल एक क्षेत्रीय साम्रज्यवादी शक्ति हुनु आवस्यक छ । दोस्रो त्यस क्षेत्रको भूभागलाई स–साना राज्यमा विभाजन गर्नु जरुरी छ (हेर्नुहोस्  “Greater Israel”: The Zionist Plan for the Middle East, Global Research June 13 2014 )। इजिप्टको उपल्लो भूभागमा करिब ७० लाख इसाईहरु बस्ने भएकोले तिनीहरु इजरायलको लागि मानब ढालको रुपमा प्रयोग हुन सक्ने, नभए उनीहरुको लागि छुट्टै राज्यको व्यवस्था गरी इजिप्ट र इजरायलबीच बफर स्टेट खडा गर्न सकिने विश्वासका साथ अन्य अरब राष्ट्रहरु साना साना कबिला तथा अल्पसंख्यक जातिहरुको मिश्रणबाट बनेका र एक आपसमा सदैब झगडामा उल्झिरहने भएकोले इजरायलको लागि खासै चुनौती दिन सक्ने अवस्थामा नरहेका तर धर्म निरपेक्ष इराक मात्र इजरायलको लागि खतरा सूचक मानिएको उनको लेखमा इराकलाई जुनसुकै मूल्यमा बिखन्डन गर्नु पर्ने उनले राज्यलाई सुझाब दिएका छन् । यही नीति अनुरुप इजरायली नेतृत्वले सिरियाको गृहयुद्धमा अल कायदासँग सम्बन्धित संगठनलाई सहयोग गरी आएको छ । त्यस्तै इराकमा उनीहरुको कुर्दहरुसँग गहिरो मित्रता छ । ६० को दशकमा मुस्तफा बर्जानीका पेशमर्गा (Peshmerga) लडाकुहरुलाई तालिम दिने कामदेखि लिएर अहिलेका मसुद बर्जानीको सरकारलाई सैनिक सहायताका साथै सूचना उपलब्ध गराउने काम इजरायलबाटै हुँदै आएको छ । २९ जुनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इराकी कुर्दहरुको लागि स्वतन्त्र राज्यको माग गरे । त्यसको ठीक ४ दिनअघि इजरायली राष्ट्रपति सिमोन पेरेजले अमेरिकी राष्ट्रपतिलाई इराकलाई सिंगो राष्ट्रको रुपमा बचाई राख्ने कुनै कोसिस नगर्न र कुर्दिस्तानको स्वतन्त्रताको समर्थन गर्न भनेका थिए (हेर्नुहोस् ३०/०६/२०१४ कोekurd.net) । जुलार्ई ८ को मिडिल इष्ट आईमा दीपक त्रिपाठीले कुर्दिस्तानको स्वतन्त्रताको इजरायलद्वारा माग हुनु इजरायलकै स्वार्थको लागि भएको प्रष्ट पारेका छन् । त्यसैले आफ्नो इलाका भन्दा बाहिर आएर कुर्दहरुको पेशमेर्गा आर्मीले किर्कुक कब्जा गर्दा आईएसआईले कुनै प्रतिकार गरेन, सायद उनीहरुलाई यही आदेश थियो । बरु उनीहरुले कुर्दहरुलाई एक अर्कोमाथि आक्रमण नगर्ने प्रस्ताब पठाए जुन कुर्दहरुद्वारा तुरुन्तै स्वीकारियो । सिरियाली कुर्दहरु माथि बारम्बार जाइलाग्ने आईएसआई आफ्नै देशका पृथकतावादी कुर्दहरुसँग भने किन युद्ध गर्न डरायो होला <के कुनै देशभक्त संगठन देशलाई छिया छिया पार्नेहरु माथि यति दयालु हुन् सक्छ <

केही मानिसहरु आईएसआई सद्दाम समर्थक संगठन हो भनिरहेका छन्, जून बिलकुल सहि होइन । किनभने सद्दामको बाथ पार्टी सेक्युलर पार्टी थियो । उनको सरकारमा उपराष्ट्रपति ताहा यासिन रमादान कुर्द थिए भने प्रधानमन्त्री मोहम्मद हाम्जा जुबाइडी शिया र त्यस्तै गरी परराष्ट्रमन्त्री तारिक अजिज इसाई थिए । उनि स्वयम् भने सुन्नी समुदायसँग सम्बन्धित थिए । २/४ जना आयाराम गयाराम त संसारको जुनसुकै संगठनमा हुन्छन\ । आईएसआईले शक्ति आर्जन गर्नासाथ खिलाफतको घोषण गरेको छ, जहाँ सुन्नी बाहेक अन्य सम्प्रदायका मान्छेलाई काफिरको संज्ञा दिँदै कडा सजाय दिने सरियत ल लागु गरेको छ । हो बाथिष्टहरुको मलिकी सरकारसँग प्रशस्त अन्तरविरोध छ । पहिलो त उनीहरुलार्ई अपदस्त गरी अमेरिकाको इसारामा बनेको सरकार, दोस्रो पछिल्लो चरणमा आएर मलिकी इरानको तालमा नाच्न सुरु गरेका छन्, जोसँग बाथिष्ट सरकारले ८ वर्ष रक्तपातपूर्ण युद्ध नै गरेको थियो । अझ महवपूर्ण कुरा उनीहरुमा आफु अरब नश्लको भएको अभिमान छ, त्यसैले गैरअरबी इरानको इराकमाथि दिनदिनै बढ्दै गएको प्रभाब उनीहरु रुचाउँदैनन् । यसर्थ उनीहरु आफ्नै तरिकाले सरकार विरोधी क्रियाकलापमा संलग्न छन् । तर एउटा कुरामा उनीहरुको मलिकी सरकारसँग मत मिल्छ । त्यो हो ती दुवै इराकको कुनै पनि हालतमा विभाजन चाहँदैनन् । तसर्थ आईएसआईएस अमेरिकाको इण्टेलीजेन्स एशेट (Intelligence Assets) मात्र हो र उनीहरुको बाथिष्टहरुसँग कुनै चरित्र मिल्दैन । (सत्यतथ्य मासिकमा प्रकाशित)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *