अतित तिर फर्केर हेर्दा -२

Back-to-the-Pastकाठमाण्डौ पुगेको झण्डै तीन महिनासम्म मैले कुनै जागीर भेटिन । तर सितारामले भने मैले भन्दा झण्डै एक महिना पहिलेनै खरिदारको जागीर पाए । त्यसबीच हामी क्षेत्रपाटीबाट चाबहिल मित्रपार्क डेरा सरीसकेका थियौं । शिवभक्त शर्माको घरमा । शिवभक्त भने एम् पी एच् (मास्टर अफ पब्लिक हेल्थ) पढ्न अमेरिका गएका थिए । उनको घरमा बस्न, बाँकी कोठाहरु भाडामा लगाइदिने, घरको रेखदेख गर्ने र हामीले भाडा अलिकम तिरेहुने सर्तमा हामी मित्रपार्क सरेका थियौं । गणेश न्यौपाने शिवभक्तका नातेदार हुन् । गणेश न्यौपानेको साथ लागेर सिताराम र म गएका थियौं ।
म जागीर नपाएर छट्पटीएको थिंए । सबै च्यात्तै छोडेर घर फकिैने सोंच बनाउदै थिएं तर मसंग तानसेनसम्मको बस टिकट काट्ने प्रयाप्त रकम थिएन । तापनि केही उपाए लाग्छकि भनी बसपार्कतिर लागें । त्यतीबेला बसपार्क रत्नपार्कको नजिक थियो । कुनै खाली पोखरा वा बुटबल, तानसेन तिर जाने ट्रक भेटिएन । डेरातिरै फर्कें । साँझ मैले घर फर्किने सोंच बनाएको कुरा गणेश र सितारामलाइ सुनाएं । उनिहरुले अहिले किन आत्तिने, हामी छौं, खानबस्न । पछि जागिर पाएपछि बरु हामीलाइ तिर्नुनी । भन्ने प्रस्ताव राखे । जुन मैले सांचेकै थिइन । मेरो सोचाइमा यदि म घर फर्कें भने यी साथीहरु खुसीहुनेछन् । किनभने मेरो जागीर थिएन, मलाइ उनिहरुले पाल्न परिरहेको थियो । उनिहरुको कुराले मलाइ निकै हौसला जाग्यो । मैले आफुलाइ उनिहरु प्रति अहिले सम्म पनि श्रृणी सम्झेको छु ।
दशैंको लगत्तै पछि मैले महालेखा नियन्त्रक कार्यालयमा खरिदारको जागीर पांए । कमलराज रेग्मीको भनसुनबाट । भनसुनबिना जागीर पाउने सम्भावना थिंदै थिएन । दुइसय पच्चीस रुपैंया तलव र अठार रुपैंया लेखा भत्ता गरी दुइसयत्रिचालिस रुपैंया महिनामा पाक्थ्यो । काठमाण्डौको बिद्यार्थी जीवनको खर्च प्रयाप्त पुग्ने । काठमाण्डौ गएको बर्ष घर जान सक्ने सम्भावनानै थिएन । हामी गएनौं । खै किन कुन्नी गणेशजी पनि त्यसवर्ष काठमाण्डौमै बसे । मेरा लागि यो पहिलो दशै थियो घरबाट बाहिर भएको ।
दिनचर्या राम्रै बित्दै थियो । शिवभक्तको घरमा एउटा अर्को कोठा खाली भयो । एक जोडी कोठा खोज्न आए । कोठा भाडामा लगाउने र कोठाभाडा उठाउने जिम्मा गणेशजीको थियो । घर भाडा खोज्न आएका ती जोडी मध्य दुलाहाचांहीले आफु काठमाण्डौ अदालतको श्रेस्तेदार हुं भनेर परिचय दियो । गणेशजीले उसलाइ कोठा दिए । दुलाहा दुलही त्यहाँ बस्थे । तर तिनीहरुकोमा पाहुनाभने निकै आउने गर्थे । धेरैजसो साँझमा उनिहरुको हल्लाले हामीलाइ डिस्टर्ब हुन्थ्यो ।
२०३४ सालको दशैंमा घरजान महिना अघि देखि तयारीमा लाग्यौं । हामी तिनै जनाले नयाँ नयाँ  लुगा हाल्यौं । नयाँ जुत्ता किन्यौं । पुरै तयारी गर्यौं । दशैको बेलामा बसको टिकट पहिलेनै लिनुपर्ने नत्र सिट नपाइने सम्भावना भएकाले त्यो पनि गर्यौं । सप्तमीका दिन रमाना हुनु थियो । त्यहाँ हाम्रो दुइवटा कोठा थिए । एउटा काठामा सुत्थ्यौं, अर्को कोठामा खाना बनाउने खाने गथ्र्यौं । कोठाहरु दुबै उत्रै ठुला थिए । त्यसैले सबैजसो सरसामान त्यो अर्को कोठामा राख्ने गथ्र्यौं । त्यो कोठा चाही बाटो पट्टी थियो । बाटो पट्टीको कोठामा सुत्दा अली हल्ला हुने भएकाले हामी बगैचा पट्टीको कोठामा सुत्थ्यौं ।
सप्तमीका दिन बिहानै बसपार्क पुग्नुथियो हामीलाइ । डेढ बर्ष पछि दशैमा घर जानलागेका हामी सबैमा उत्साह, जोस र जाँगर सबै थियो । बाबु आमा, दिदी, भाइबैनीहरुसंग भेट हुनै खुसीयालीको सिमानै थिएन । षस्टीका दिन अलि ढिलै सुत्यौं । तर सुत्नु अघि जो ३ बजे जाग्छ त्यसले अरुलाइ जगाउने सल्लाहा पनि गर्यौं । गणेशजी हामी भन्दा अली पाका थिए । यस्ता काममा त उनि झन् पाका । ठीक ३ बजे जागेछन् र हामीलाइ उठाए । तीनै जना उठ्यौं र लुगा लगाउन अर्को कोठामा पुग्दा त कोठा पुरै खाली । अलि अलि भएको पैसा पनि हामी तिनै जनाले बिहान लगाउने भनिएको पाइन्टमा राखेका थियौं । घर लैजान तयार पारेका झोला, लगाउने लत्ता कपडा, जुत्ता मोजा समेत सम्पुर्ण चोरिएछ । ढिलो सुतेकाले होला पहिलोचट भुस निदाएछौं ।
चोरी भएपछि हामीले हल्ला खल्ला गर्यौं । छिमेकी कोठामा सुतेका ती जोडी पनि उठेर हामीलाइ सहानुभूती दर्शाए । दशंैमा घर पुग्ने बाबु आमा, दिदी भाइ बहिनी भेट्ने र रमाउने सबै हुरीले उडायो ।
“उडायो सपना सबै चोरीले”
हामी रुनु न हाँस्नुको अवस्थामा पुग्यौं । सुत्दा लगाएको लुगा बाहेक अरु केही बाँकी थिएन । प्रहरीकोमा रिपोर्ट गर्न जान समेत त्यही सुत्दा लगाएको लुगा लगाएर जानुपर्ने भयो । अर्को उपाए थिएन । त्यसैले त्यसै गर्यौं । प्रहरीलाइ चोरी भएको घटना सुनायौं । प्रहरीले चोरीको केश दर्ता गर्यो ।
हाम्रो तलव र दशैं पेश्की लिएको सबै चोरी भएको थियो । दाल, चामल पनि किनेर राखेका थिएनौं । किनभने दशैं पछि काठमाण्डौ फर्किदा २/ ४ किलो दाल चामल बोकेरै आइन्छ भन्ने सोचेका थियौं । अव अर्को तलव नआएसम्म न खाने खर्च छ, न पैसा त न लगाउने लुगानै । कसैसंग सापटी माग्नु पनि दशैको बेला आफुले चिनेका सबैजना घरतिर लागेका थिए । चोरी भएकोमा भन्दा पनि चोरी भएका कारणले भोकै र नांगै बस्नु पर्ने अवस्था आएकाले पो हामीलाइ झन सताउन थाल्यो । गणेश जी अलि पहिले देखिनै काठमाण्डौ बस्न थालेका र हामी भन्दा अलि पाका पनि भएकाले उनको जानपहिचानको घेरा अलि फराकिलो थियो । उनले कता कता पुगेर अर्को तलव आउनेबेला सम्मका लागि खाने जोहो गरे ।
त्यो दिन मलाइ अहिले सम्म पनि ताजा सम्झना छ, गाइ तिहारको दिन थियो । अर्को कोठामा बस्ने ती जोडीले रातभर झगडा गरेका थिए । लोग्नेले स्वास्नीलाइ राती बेस्सरी पिटेछ र बिहानै घर छोडेर हिडेको रहेछ । बिहान म नुहाउन भनी धारातिर जाँदै थिंए । धारा पछाडी पट्टी करेंसाबारीमा थियो । म बाहिर निस्केको देख्नासाथ दुलही चाँही बाहिर आएर भनी “भाइ तपाइहरुको सामान चोरेको अरु कुनै चोरले होइन । हाम्रा घरकाले अरु उसका चोर साथीहरुसंग मिलेर चोरेको हो । उसले अदालतमा काम गर्दैन त्यो त यहाँ डेरा पाउनका लागि मात्र भनेको हो । उसको कामनै चोर्ने हो । रातभर चोर्न हिड्ने दिनभर सुत्ने । ”
त्यत्ती भनेर उ आफ्नो कोठाभित्र पसी । म धारातिरै नलागी सिताराम र गणेशलाइ उठाएर सबै कुरा सुनाए । हामीले उसंग फेरी एकपटक कुरा गर्ने प्रयास गर्यौं तर उसले ढोका खोलिन ।
यी सबै कुरा हामीले प्रहरीलाइ सुनायौं । प्रहरीले त्यो मान्छे सहित अरु चारजनालाइ पक्ड्यो । खानतलासी गर्दा प्रहरीहरुले हाम्रो सामान लगायत थुप्रै चोरीका माल बालाजुको एउटा घरमा चोरहरुले भाडामा लिएको कोठामा भेटे । हाम्रो चोरी हुनु झण्डै महिना अघि बालाजुकै एक उद्योगमा थुप्रै हजारको साना मेसिनरी सामान चोरी भएको थियो, प्रहरीले त्यो पनि पत्ता लगाउन सकेको थिएन, ती सामानहरु पनि त्यही भेटिए । हाम्रो केही लत्ता कपडा र जुत्ताहरु हामिले फिर्ता पायांैं तर पैसा भने पाएनौं ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *