सुदूरपश्चिमका ढुकढुकी

Damoder Bhandari–शन्तराम बिडारीLokendra Bdr Chand
पञ्चायत र बहुदलीय व्यवस्थामा समेत गरी तीन निर्वाचनमा बैतडीका जनताले पत्याएका लोकेन्द्रबहादुर चन्द जीवनको उत्तरार्द्धमा जनताद्वारा अस्वीकृत भए। केही महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा बैतडीका दुवै क्षेत्रबाट उठेका चन्दले भर्खर ४० वर्ष लागेका छोरासमानका दामोदर भण्डारीसित प्रतिस्पर्धा गर्नुपर्यो। पञ्चायत र बहुदलीय ब्यबस्थामामा गरी दुई–दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई बैतडीका जनताले नपत्याउनु उनको घट्दो जनविश्वास नै थियो।
बैतडीको बासुलिङ  गाविस आसपास ठकुरीहरूको १२ प्रतिशत मात्र जनसंख्या छ। तर, धर्म र भ्रष्टाचारविरुद्ध उभिने निष्कलंक व्यक्तिहरूलाई पत्याउने जमात भने अधिक नै छन् । चन्दले पनि समाजमा धर्म र भ्रष्टाचारको दुहाइ मात्र दिएनन्, बयोवृद्ध उमेरमा पनि घोडामा सवार भएर जिल्लाका ६२ गाविस र दशरथ चन्द नगरपालिका पूरै घुमे। तर, वैचारिक हिसाबले गोलबन्द कार्यकर्तालाई चन्दको अभियानले खासै असर गरेन। तथापि, तटस्थ र व्यक्तित्व हेर्नेहरू चन्दतिरै लागेपछि भण्डारीलाई चन्दले पहिलेकै इतिहास दोहोर्याउने हो कि भन्ने आशंका नलागेको होइन। आशंका, आशंकामै सीमित रह्यो। र, नेकपा (एमाले)ले बैतडीमा इतिहासमै पहिलोचोटि खाता खोल्यो।
सुदूरपश्चिमस्थित महाकाली अञ्चलको दुर्गम बैतडी यसै पनि क्रान्तिकारी हावा, पानी र माटोले मलिलो जिल्ला हो। चार शहिदमध्येका एक दशरथ चन्दलाई बैतडीले नै जन्माएको थियो। दशरथ चन्दकै नाममा चिनारी पाएको उक्त जिल्लामा अझै ४६ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्। अधिकांश सुत्केरी अस्पताल पुग्न नभ्याएर बाटोमै मृत्यु हुनुपर्ने अवस्था छ भने बिरामीलाई भारतको पिथौरागढ लैजानुपर्ने स्थिति छ। यस्तो स्थितिमा जिल्लाबाट निर्वाचित व्यक्ति पटक–पटक प्रधानमन्त्री हुँदा जिल्लाका लागि केही नगरेपछि बैतडेलीले विकल्पका रूपमा एमालेलाई रोजेका छन्। र, बैतडेली जनताले आफ्नो आवाजलाई संसद्मा गुञ्जायमान तुल्याउने आशाअनुरूप सादा जीवन उच्च विचारका व्यक्ति भण्डारीलाई चुनेका हुन्।
सभासद् भण्डारीको जन्म पाटन गाविस–९, डोबरामा २०३० कात्तिक २० गते भएको हो। दुःख गरे खान पुग्ने सामान्य मध्यम परिवारमा जन्मिएका भण्डारीले धेरै कष्ट सहेर जीवनयात्रा अगाडि बढाए। पिता उदयसिंह घरेलु विकास कार्यालयका अधिकृत भए पनि उनको लालन, पालन र पढाइ भने आमा कमलाले नै थेगिन्। किनकि, उनका बुबाका दुई श्रीमती थिए। राम्रै अध्ययन क्षमता भएका भण्डारीले कृष्ण उच्च माविबाट एसएलसी पास गरे भने पाटन बहुमुखी क्याम्पसबाट आईएल सके। बीएल पढेर अधिवक्ता बन्ने रहरले काठमाडौं छिरेका भण्डारीको खर्च अभावका कारण त्यो सपना पूरा हुन पाएन। अधिवक्ता नै नबने पनि दुःखजिलो गरेर उनले स्नातक भने पूरा गरे। काठमाडौंको अध्ययनपछि राजनीति गर्न जिल्ला फर्किएका उनी अहिले संविधानसभामा निर्वाचित भएर पुनः काठमाडौं भित्रिएका छन्।
०४९ सालमै वडा सदस्य भएका भण्डारीले ०४६ सालमा  पार्टी सदस्यता पाइसकेका थिए। ०४६ सालमा ९ कक्षामा पढ्दा देखिनै उनी अनेरास्ववियुको जिल्लास्तरका नेता भइसकेका थिए। प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीको सहसचिव, सम्मेलनपछि जिल्ला कमिटी सदस्य र दोस्रो सम्मेलनबाट उनी जिल्ला अध्यक्ष भए भने अनेरास्ववियुको १३औं र १४औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य चयन भए। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आबद्ध भएपछि ०५४ मा पार्टी विभाजन भयो। त्यतिबेला जिल्ला कमिटीका बहुमत सदस्य तत्कालीन मालेतिर लागे पनि उनीलगायतको सानो टिम भने संस्थापनमै रह्यो। पार्टी पुनर्गठनपछि उपसचिव भएका भण्डारीले ०५६ र ०६४ मा गरी दुई कार्यकाल जिल्ला सचिव भएर पार्टी जिम्मेवारी सम्हाले। घुमिफिरी रुम्जाटार भनेझैं फेरि पार्टी हाँक्ने पालो उनकै काँधमा आइपुग्यो। ०६९ चैतबाट जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनले त्यसअघि पनि रापस र जिल्ला कमिटी सदस्य भएर पार्टी काम निरन्तर गरी  रहेका थिए। तर, ०६४ मा टिकट पाए पनि ‘दोस्रो जमरकट्टेल′ भनेर चिनिएका एमाओवादीका नरेन्द्र कुँवरले व्यापक ‘बुथ क्याप्चर’ गरेपछि उनले जित्न सकेनन्। त्यतिबेला कुवँरले २७ हजार ल्याए भने भण्डारीले मात्र नौ हजार। तर, अहिले त्यही क्षेत्रबाट उनी विजयी भए भने कुवँरको नौ हजार मात्र मत आयो।
त्यसो त, महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भएर काम गरेका आफ्नै ठूलोबुबाका छोरा नारायणसिंह भण्डारीको प्रभावले उनलाई राजनीतिमा अघि बढ्न हौसला मिलेको थियो। त्यही प्रभावले ०४६ सालको आन्दोलनताका बैतडीबाटै उनीलगायतले सांकेतिक आन्दोलन गरे। ०६२–६३ को जनआन्दोलन चरम उत्कर्षमा पुगेका बेला बैतडीबाटै गाउँमा दबदबा रहेको माओवादी सत्ता र सहरमा दबदबा रहेको राजाको बन्दुकविरुद्ध धावा बोल्न उनको नेतृत्वमा जनता सडकमा उत्रिए।
हुन त सुदूरपश्चिमको जनमत हरेक आन्दोलनका बेला बहुदलको पक्षमा देखिएको छ। ००७ सालमा दशरथ चन्दले बैतडेलीका नाममा राणाहरूलाई बली चढाउनुपर्यो । त्यही बहानामा नेताहरू बैतडी पुग्छन् र चन्दको नाममा दुई शब्द उच्चारण गरेर फर्कन्छन्। अब भने भण्डारीले दशरथ चन्दको स्मृतिमा कम्तीमा एउटा कलेज, दुई सय शैयाको एउटा अस्पताललगायत केही विकास निर्माणको सपना साँचेका छन्।
बैतडीमा ‘दशरथ चन्द मार्ग’ नामको एक सडक छ, जुन मध्यपहाडी लोकमार्गसँग जोडिएको छ। उक्त सडकको स्तरीकरणसँगै अन्य पूर्वाधार विकास गर्नुपर्ने चुनौती पनि उत्तिकै छ। तीन दिन लगाएर घुम्दा पनि नसकिने खालका समेत गरी ३४ गाविस उनको क्षेत्र अर्थात बैतडी–२ मा पर्छन्। चुनावमा प्रतिस्पर्धीहरू सम्पूर्ण स्रोत–साधन प्रयोग गरी मैदानमा आइरहेका बेला उनले भने सवारी साधनका नाममा केही पनि प्रयोग गरेनन्। चुनाव लड्न पर्याप्त खर्च नभए पनि उनलाई जनताको अपार माया थियो। सामान्य उनको परिवार अहिले पनि खेतीपातीमै आश्रित छ। श्रीमतीको सानोतिनो एनजीओको जागिरबाहेक आम्दानीको अरू स्रोत छैन। सभासद् हुनुभन्दा अघिसम्म आमाले धानेको खेतीपातीलाई जिल्लामै बसेर उनले सहयोग पुर्यादउँथे। त्यही आम्दानीबाटै सातमा पढिरहेकी एक छोरी तथा पाँच र चार कक्षामा पढिरहेका दुई छोराको पढाइ खर्च धानिरहेका थिए।
तर, अहिले उनमा जिम्मेवारी थपिएको छ। जिल्लावासीले संविधान जारी गरेर मात्र जिल्ला फर्कन आग्रह गरेका छन्। तसर्थ, उनी समस्या लिएर राजधानी आउने जिल्लावासीका दुःखका सारथी हुनुपर्ने भएको छ। फेरि अन्य छोटे राजाले जस्तो उनले राजधानी आउनेलाई बाटा खर्च दिएर पठाउन सक्ने स्थिति छैन। जनतालाई प्रलोभनमा पारेर होइन, विचारबाट विश्वासमा लिनुपर्ने धारणा राख्ने उनीमा जनताका व्यक्तिगत समस्या समाधान गर्न नसके पनि आम सरोकारका मुद्दालाई भने स्थापित गराइछाड्ने अठोट छ। भन्छन्– ‘सुदूरपश्चिममा अथाह सम्पदा छ, तर राज्यले उपयोग गर्न सकेको छैन। छ हजार मेगावाटको पञ्चेश्वर र पश्चिम सेतीलगायतका महत्वपूर्ण योजना सुरु मात्र गरे पनि सुदूरपश्चिमवासीको जीवनमा काँचुली फेरिने उनको विश्वास छ। (बुधबार साप्ताहिकबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *