शुशिललाइ हस्तिनापुरको आशिर्बाद छैन

हस्तिनापुरको संकेत बिना बाबुरामको सरकार ढल्ने छैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि नेपाली कांग्रेस र एमाले नेताहरुले सांढेको के जाती झर्ला र खांउला भन्दै अभिब्यक्ति दिन छाडेका छैनन् । यो उनिहरुको जनता झुक्क्याउने एउटा चाल मात्र जस्तो देखिन्छ । राजनीतिक संक्रमणक अझ लम्बिने परिस्थितिले देशमा भयावह पैदा हुने भय बढेको छ । नेपालमा हुने जस्तोसुकै राजनैतिक परिवर्तनमा भारतको भूमिका प्रभावकारी हुने हुदा यसपाली पनि हस्तिनापुरको आशिर्बाद रहेकै कारण डा. बाबुराम नेतृत्वको सरकार अहिलेसम्म टिकेको हो ।
नेताहरु भने परिवर्तनको अनुभूति दिलाउन सहमति बाहेक अर्को विकल्प नभएको बताउँदै आएका छन् र सहमतिको कुनै उपलब्धि हासिल नहुनुको पछाडि पनि भारतीयहरु नै रहेको उनिहरुको विश्लेषण छ । डा. बाबुरामले आफू हात गोडा बाँधिएको प्रधानमन्त्री भन्दै आउनु यसको यथेष्ठ प्रमाण हो । मधेशी मोर्चाको समर्थनमा भट्टराई प्रधानमन्त्रीमा टिकीरहनु पनि भारतकै उद्देश्य पूरा गर्नेतर्फ सरकारको काम गराईले देखाउँदै आएको छ । भारतलाई प्रधान शत्रु बताउने प्रचण्ड यतिबेला भारत विरुद्ध च्युं पनि नबोल्नु र कांग्रेस–एमालेले सरकार ढाल्न दिल्लीमा दण्डवत् गर्दा पनि कानमा तेल हालेर भारतीय नेताहरु बस्नुलाई अर्थपूर्ण रुपमा लिनु पर्दछ ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच खटपट शुरु भए पनि भारतको समर्थन डा. भट्टराईले पाईरहँदा राष्ट्रपतिले कुनै कदम–चाल्न चाहेका छैनन् । भारतले पनि डा. भट्टराईबाट तत्काल आफ्नो हित बिरुद्ध कुनै खतरा नदेख्दा बाबुरामलाइ किन सरकारबाट हटाउने ? यसरी भारत पनि पर्ख र हेरको अवस्थामा पुगेको छ । भरपर्दो विकल्प विना सरकार ढाल्दा बाबुराम भन्दा खराव व्यक्तिसँग परिने हो कि भन्ने डर पनि हस्तिनापुरलाइ रहेको छ ।
एमाओवादीले शान्ति प्रक्रिया पूरा गर्ने र भारतले चाहे जस्तो नेपालमा संविधान बनाउन आश्वासन दिएको हुँदा त्यसको कार्यान्वयन पक्ष हेर्दै भारतीयहरुले यो सरकारलाई समर्थन दिएको कारण कांग्रेस–एमालेका नेताहरु साउथब्लकबाट ओझेलमा परेका छन् । यसै बीच भारतीय राजदूत जयन्त प्रसाद मार्फत सरकारका दूतहरुले दोहोरो सम्वाद गरिरहेका छन् भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । अर्को तिर मुलुकमा बढी हल्ला दङ्गा नमच्चियोस भन्ने उद्धेश्यले सरकार ढाल्ने, सरकार परिवर्तन हुने कुरा झिनो स्वरमा प्रचारका लागि मात्र फ्याँकिएको हो भन्ने कुरा अब कांग्रेसी र एमाले नेताहरुले पनि बुझि सकेका हुनु पर्छ । त्यसैले होला उनीहरु आफ्ना भातृ संगठन र विद्यार्थीहरुलाई सक्रिय गराउदै सरकार विरुद्ध सडकमा उतारेर प्रदर्शन, पुत्ला दहन र नेपाल बन्द जस्ता कार्यक्रम ल्याई दवाव दिंदै आएका छन् । उनिहरुका यी दवाव सरकारलाई “काग कराउँदै छ पिना सुक्दै छ” मात्र चरितार्थ भएको छ ।
उता कांग्रेसले प्रधानमन्त्री पाउनु पर्ने अडान सहित तँछाड मछाड गर्दै आएकोमा “पानी भित्र माछा र नौ टुक्रा भागवण्डा”को उखानलाई चरितार्थ गर्दैछ । जव एमाओवादीले सरकारनै छाड्दैन भन्ने कांग्रेसले कसरी प्रधानमन्त्री पाउँछन् ? भारतले कांग्रेसका सुशिल कोइराला र एमाओवादीका प्रचण्डलाई विश्वास गर्न सकिरहेको छैन । भारतले उनलाइ संधै शंकाको दृष्टिले हेर्नु नै कोइरालाको विफलता हो । कोइरालाको नाउँ भारतीय गुप्तचर संस्था ‘र’ को ब्ल्याक लिष्टमा पर्नु र भारत विरोधीहरूको “नेपाल गेम प्लान” नामक लिष्टमा सुशिल कोइरालाको नाम दर्ज भएपछि हस्तिनापुरले उनी प्रति बिश्वास गुमाएको हो । यस्तो अवस्थामा यदि सुसिल कोइरालाले प्रधानमन्त्री पद नपाउने हुन् भने शेरबहादुर भन्दा डा. भट्टराई नै योग्य रहेको राजनैतिक पर्यबेक्षेहरुकको बिष्लेषण रहेको छ । यसै कारणले पनि बर्तमान सरकारलाइ टिकीरहन थप मलजल पुगेको हो । कांग्रेस नेतृत्वले सरकारको नेतृत्व गर्ने तत्काल सम्भावना न्यून रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ । राष्ट्रपति डा. यादवले पनि सरकार विरुद्ध कुनै कदम चाल्न नसक्नुको पछाडिको यही कारण हो । अर्को तिर नेताहरुले संघीयता,राज्यको पुनर्संरचना, जातीय राज्य, संसदीय शासन वा राष्ट्रपतिय शासन जस्ता विषयमा विवाद टुंग्याउन तत्काल संभव देखिरहेका छैनन् । संसद पुनस्र्थापना गरेर पनि केही काम गर्न नसक्ने हुँदा तत्काल संसद पुनस्र्थापनाको सम्भावना पनि न्यून रहेको छ । संविधान दिन नसक्ने र विवाद टुंग्याउन नसक्ने अवस्थामा पुरानै मान्छे, पुरानै नेता र पुरानै प्रस्तावले नयाँ परिणाम र निकास सम्भव छैन ।

Bookmark the permalink.

4 Responses to शुशिललाइ हस्तिनापुरको आशिर्बाद छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *