भारतीय समाजवादी क्रान्ति तथा स्वतन्त्रता सेनानी शहीद भगत सिंह

— शशी पौडेल
छिमेकी राष्ट्र भारतले आगामी हप्ता ६५ औं स्वतन्त्रता दिवश मनाउने छ । यसका साथ साथै भारतीय कम्युनिष्ट आन्दोलनले आफ्नो एकसय पाँचौ वर्षगाँठ पनि मनाइरहेको छ । स्वतन्त्रताका थुप्रै मानेहरु हुनसक्छन् । राजनीतिक स्वतन्त्रता, राज्य स्वतन्त्रता, वाक स्वतन्त्रता आदि आदि । स्वतन्त्रता संग्रामी सिपाहीहरुका आफ्ना आफ्ना दृष्टिकोण हुन्छन् । तर पश्न उठ्छ आखिर स्वतन्त्रता के हो र के को स्वतन्त्रता ? भारतीय उपमहाद्वीपको सेरोफेरोमा स्वतन्त्रतालाई कसरी परिभाषित गर्ने भन्ने प्रश्न उचित उत्तर विना नै इतिहासको गर्भमा विलाउँदै गईरहेको छ ।
यस पंक्तिमा भारतीय स्वतन्त्रता दिवशका बारेमा भन्दा स्वतन्त्रता संग्रामका अमर सेनानी शहीद भगत सिंह र उनले इच्छा गरेको स्वतन्त्रताका बारेमा चर्चा गर्ने अनुमति माग्दछु । शहीद भगत सिंह असाध्ये शक्तिशाली क्रान्तिकारी, अति अनुशासित, चलाख र निडर थिए । शहीद भगत सिंह बृटिस साम्राज्यवाद, घरेलु सामन्तवाद, जातिबाद, साम्प्रदायिकता र पुँजीवादका विरुद्ध लड्ने एक नाम हो । भगत सिंह भारतीय कम्युनिष्ट आन्दोलनका संस्थापक थिए र उनी बृटिस साम्राज्यवादी पुलिसहरुद्वारा २३ मार्च १९३१ मा २३ वर्षको उमेरमा मारिए ।
भगत सिंह र उनका दुई साथीहरु राम गुरु र सुखदेवलाई व्यवस्थापिका बैठकमा बम पड्काएको आरोपमा पक्राउ गरिएको थियो । तर उक्त बम भने कसैको हत्या गर्ने उद्देश्यले नभई भारतीय मजदुर र किसानहरु विरुद्ध बनाइन लागेको कानून पारित हुन नदिने उद्देश्यले पड्काइएको थियो । त्यस वखत उनीहरुले पर्चा छरेका थिए र उक्त पर्चामा उनीहरुको उद्देश्य प्रष्ट पारिएको थियो । जेल भित्र राखिएका राजवन्दीहरुलाई असाध्ये नराम्रोसंग यातना दिइयो जसले गर्दा कतिपयले त त्यहीं आफ्नो प्राण आहुति गर्न वाध्य भए ।
जति दाश नामक एक व्यक्तिले ६३ दिन सम्मको यातना सहन गर्न नसकी अन्धो र प्यारालाईसेस भै मृत्युशैयामा पुगे । उनको अन्तिम संस्कारमा ५० हजार भन्दा बढी भारतीयहरु प्रत्यक्ष शोकाकुल भए । “क्रान्ति अमर रहोस्, साम्राज्यवाद मुर्दावाद” जस्ता नारा घन्के ।
भगत सिंहलाई आज दुनियाले चिन्ने कारण उनको व्यक्तिगत अभिनय वा गान्धीवादी आन्दोलनमा लागेको कारणले हैन । यसको कारण त उनको क्रान्तिकारी सैद्धान्तिक दर्शनको ज्ञान र भारतीय कांग्रेसको भन्दा प्रगतिशिल छुटृै महत्वपूर्ण विचार र सिद्धान्त बोकेको र उनको लडाई भारत पूर्ण स्वतन्त्र गराउने लडाई भएकोले हो । जुन लडाई आज पनि भारतीय सर्वहारावर्गले लडिरहेका छन् ।
भगत सिंहको मूल मान्यता थियो “हाम्रा बलिया क्रान्तिकारी योद्धाहरु गाउँ गाउँहरुमा छन्, उद्योग धन्धामा काम गरिरहेका छन् तर यी बुर्जुवा नेताहरु यसबारे ध्यान दिदैनन् ।”
शहीद भगत सिंह हिन्दुस्तान सोसलिष्ट रिपव्लीकन एशोसियसनका नेताको रुपमा उनी माक्र्सवादका ज्ञाता थिए । उनले आफ्नो पम्पलेटमा उनी किन भौतिकवादी हुन् र अध्यात्मवादी हैनन् भन्ने कुरा पनि प्रष्ट पारेका थिए । र उनले भनेका थिए “धर्म भनेको व्यक्तिगत मान्यताको कुरा हो र यसलाई राजनीति भित्र ल्याउनु हुदैन ।”
यस्तै उक्त एशोसिएसनको घोषणापत्रमा लेखिएको छ, जुन उनी आफैले लेखेका थिए — “सर्वहारा वर्गको जित अवश्यंभावि छ र आवश्यकता पनि छ, किन कि यसले समाजवादसंग सम्वन्ध राख्दछ, मातृभूमिलाई स्थायित्व र पूर्ण स्वतन्त्रता दिन्छ र सामाजिक दुरी, वर्ग विभाजन र गन्हाउने कुतत्वहरुको अन्त गर्दछ ।”
भगत सिंहको कुरा गर्दा चन्द्र शेखर आजादलाई विर्सन हुँदैन । यद्यपि भारतीय कम्युनिष्ट पार्टीले आफ्नो आन्दोलनको एकसय पाँचवर्षे पर्वसम्म आइपुग्दा पनि चन्द्र शेखर आजादलाई छायाँ मुनी राखेको भान पर्दछ । भगत सिंहले चन्द्र शेखर आजादलाई आफ्नो अनन्य मित्र र नेताका रुपमा मान्दथे भने आजादले भगत सिंहलाई सिद्धान्त र तर्कका धनी र कुशल लडाकुका रुपमा आदर गर्दथे । चन्द्र शेखर आजाद अंग्रेजहरुका बन्दुकको छर्राले शरीर छिया छिया हुँदा सम्म लडिरहे र अन्तमा इन्क्लावको नारा लगाउँदै हातमा एक मुठी मातृभूमिको माटो लिएर एक रुखको फेंदमा प्राण त्याग गरे । उक्त बृक्ष बृटिस पुलिसहरुले कटाएर जलाई दिए ताकि चन्द्र शेखरको नाम निशाना नरहोस् । तर आजाद कहिल्यै मरेन मर्दैन र आजादीका निम्ति निरन्तर लडिरहने छ ।
भगत सिंह वर्गविहीन समाज निर्माणका निम्ति शहीद बने । भारत स्वतन्त्र भयो तर अपूर्ण । जसको फलस्वरुप आज भारतीयहरु संसारका शिर्ष अरवपतिहरुमा गनिने भएका छन् एकातिर भने अर्कोतिर वर्गविहीन समाज प्राप्तिको युद्ध जारी छ । धनी र गरिवबीचको दुरी यति ठूलो भैसकेको छ कि जसको हामी कल्पना पनि गर्न सक्दैनौं । स्वतन्त्रता दिवशको बेला पारेर एउटा तथ्यांक प्रकाशमा ल्याइएको छ, जसमा एशियाली अरवपतिहरुको देश भारत भनेर अंकित गरिएको छ । जसमा ४० भारतीय पुँजीपतिहरुसंग १७० अरव डलर सम्पत्ति भएको कुरा प्रकाशमा आएको छ । जस मध्ये पनि १० अरवपतिहरुसंग सवै अरवपतिहरुको सम्पत्ति मध्ये दुईतिहाई भएको उल्लेख छ । जवकी १९४७ साल अर्थात ६० वर्ष पहिले भारत सवभन्दा गरिव मुलुकहरु मध्ये गनिन्थ्यो ।
शहीद भगत सिंहले सायद यस्तो हुनसक्ने अनुमान गरेका थिए । त्यसैले त उनले आफू शहीद हुनु दुई महिना अघि युवा वर्गसंग एक अपिल गरेका थिए — “म समग्र भारतीय युवाहरुलाई माक्र्सवादी दर्शन अध्ययन गर्न र यसलाई आत्मसात गर्न सल्लाह दिन्छु । माक्र्सवादी दर्शनको ज्ञानले तपाईहरुलाई सर्व साधारण जनता समक्ष जान र उनीहरुसंग काम गर्न आत्मवल दिनेछ र असल कम्युनिष्ट बन्न सिकाउने छ ।”
उनले आफ्नो अपीलको अन्तमा लेखेका थिए —“एकातिर साम्राज्यवादले हामीमाथि हैकम चलाई रहेको छ भने अर्कोतिर मुठृीभर शोषकहरुले तपाई हाम्रा श्रम लुटिरहेका छन् । यी दुवैको अन्त हुनै पर्छ । यस कुराले कुनै महत्व राख्दैन कि बृटिस साम्राज्यवाद होस् वा शुद्ध भारतीय शोषक हुन् । दुवै हामी सर्वहारा वर्गका दुस्मन हुन् ।”
शहीद भगत सिंहको कुरा गर्दा असाध्ये मर्मस्पर्शी कुरा अझ के छ भने उनको हत्या गरिनु एक दिन अघि बृटिस अफिसरहरुले उनलाई सोधे “तिमी बाँच्न चाहन्छौ ?” शहीदले लिखित जवाफ दिए “मान्छे बाँच्न चाहन्छ भन्ने कुरा प्राकृतिक हो । मैले यस्तो प्राकृतिक कुरा गुप्त राख्न चाहन्न तर यस्ता प्रश्नहरु कुन अवस्थामा सोधिएको छ भन्ने, आ–आफ्ना अवस्थामा भर पर्छ । म बन्दीको रुपमा बाँच्न चाहन्न ।”
“मेरो आत्मा चाहन्छ कि म मेरो मातृभूमि र मानवताका लागि धेरै कुराहरु गरौं तर ती सबै पुरा गर्न त के हजारमा एक मात्र पनि पुरा गर्न सक्तिन । यदि म बाँचे भने यी कुराहरु पुरा गर्ने मौका पाउने छु । मेरो आत्माले भन्छ म अहिले मर्नु हुँदैन तर मलाई मारिने छ । म आफूप्रति असाध्यै गौरवान्वित छु र मैले आफ्नो परीक्षाघडीको प्रतिक्षा गरिरहेको छु ।”

भगत सिंहको केही सन्दर्भ
जन्म ः २७ सेप्टेम्वर १९०७
जन्म स्थान ः ल्यालपुर, पञ्जाव, भारत ।
१३ वर्षको उमेरमा महात्मा गान्धीको १९२० को असहयोग आन्दोलनमा सक्रिय सहभागिता ।
गान्धीले १९२२ चौरीचौरा प्रदर्शन पछि आन्दोलन फिर्ता लिएकोमा असन्तुष्ट ।
विवाह गर्न पारिवारिक दवावले गर्दा घरबाट १९ वर्षमा भागेर “नौजवान भारत सभा” नामक संगठनको सदस्य ।
अमृतसरबाट प्रकाशित हुने उर्दु र पञ्जावी पत्रिकामा लेखन तथा सम्पादन ।
माक्र्सवादबाट प्रभावित भएर १९२८ मा संगठनको नाम बदलेर हिन्दुस्तान समाजवादी गणतान्त्रिक संगठन नामाकरण ।
भारतमा समाजवादी क्रान्तिका संस्थापक ।
एक प्रहरी अधिकारीको हत्याको आरोपमा गिरफ्तार ।
जेलमा ६३ दिनको भोक हडतालबाट उनीप्रति निकै समर्थन जुट्यो ।
मार्च २३, १९३१ मा भगत सिंहलाई प्रहरी अधिकारीको हत्याको आरोपमा मृत्युदण्ड दिइयो ।
उनलाई भारतका शहीद मानिन्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *