समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि सोही नम्बरबाट फेरी अर्को सूचना प्राप्त भयो, जसमा भनिएको थियो, मैले हाफ म्यराथुन सम्पन्न गरें, मैले आंटेको यो कामका लागि सहयोगको हात दिने सबैलाइ धन्याबाद ।
दोस्रो पटकको धन्याबाद सहितको सूचनाले मेरो चेतना जगायो र ती जसले आफू निरन्तर लागी रहने तर अरुलाइ च्यारिटी डिनरको नाममा अथवा अन्य कुनै कार्यक्रम गरेर अरुबाट जबर्जस्ती रकम संकलन नगरी इक्षुक ब्यक्तिहरुसंग मात्र आग्रह गर्ने ब्यक्ति को रहेछन् भनेर जान्ने कौतुहल जागेर आयो । त्यसैले टेलीफोन लगाइहाल्ने बिचार गरें यद्यपी ए दाहालको नामबाट सूचना आएकाले कुनै दाहाल होला भन्ने चाँही पक्का थियो । टेलीफोन लागेन । कोही होला भनेर त्यसै छोडेको थिंए, उनले फोन फर्काए । म आत्माराम दाहाल, उताबाट आवाज आयो । ब्यक्ति चिनें । दुइ चार पटक यस अघिनै भेट भैसकेका जान पहिचानका ब्यक्ति, ब्रिटीश गोर्खा आर्मीका पंडित आत्माराम दाहाल पो रहेछन् ।
उनले गर्न लागेको कामबारे अरु बढी जान्न मन लाग्यो र सोध्दै गएं । तीन छोराहरु मध्यका कान्छा छोरा, ओहोयां गर्दै जीवनको पहिलो पाइला बिराटनगरका टेकेका आत्माराम दाहालले त्रिपन्न बसन्त पार गरिसकेका रहेछन् । लगभग तीन दशक अघि बेलायती आर्मीमा पंडितका रुपमा आफ्नो पेशाको गोरेंटो खनेका आत्माराम पंडित मात्र हुनु भन्दा पनि समाजको एक सहयोगी सिपाही हुन मन पराउदा रहेछन् । हाल उनको कर्मभूमी बेलायत रहेको छ । पंडित्याइ त उनको जीउने अथवा पेट पाल्ने पेशा मात्र रहेछ तर उनको मन भित्र दया, मायां र कल्याणकारी भाबनाले ओत प्रोत भएको थाहा पाउन उनीसंग लामो समय कुरा गरिरहनु पर्दैन । दुइ हजार साठी सालमा स्थापना भएको बिराटनगरको बृद्ध आश्रम घर घरमा पुगेर एक एक रुपैंया चन्दा उठाएर चलाउनु परिरहेको दुखेसो उनले पोखे । उक्त बृद्ध आश्रमका संचालकहरुको दुख देखेर उनलाइ दया लागेछ र थोरै धेरै जती हुन्छ सहयोग जुटाइ दिन्छु भन्ने मनोबल पलाएछ उनमा ।
पारिवारिक संस्कारनै दीन दुखिलाइ सहयोग गर्ने रहेछ उनको । उनका पिताजीले अन्य दाहालहरुको सहयोगमा दाहाल प्रतिष्ठान गठन गरेर यसको एक अक्षयकोषको स्थापना गरेको समेत बताए उनले । दशलाख रुपैयाबाट शुरु गरेको उक्त अक्षयकोषको राशी अहिले सम्म आउदा निकै उकालो चढेको बताउछन् उनि । दाहाल प्रतिष्ठानको अक्षयकोषबाट समाजका बिभिन्न चेतनशील ब्यक्तिहरुलाइ पुरस्कृत गर्ने रहेछन् । पत्रकार साहित्यकार आदी आदी । तारानाथ दाहाल, पुरुषोत्तम, हर्ष सुब्बा, ज्ञानमणि नेपाल देखि कोमल ओली लगायत थुप्रैलाइ पुरस्कृत गरिसकेको रहेछ दाहाल प्रतिष्ठानले । यसबाहेक उक्त अक्षयकोष मध्यबाट जेहेन्दार गरीव बिद्यार्थीहरुलाइ आर्थिक सहयोग पनि गर्दो रहेछ । उनका दाजु अध्यक्ष रहेको दाहाल प्रतिष्ठानमा आफ्नो पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग रहेकोमा गर्ब गर्छन् उनि ।
त्रिबिबि बाट ब्यबस्थापनमा एम् कम् गरेका आत्माराम दाहाल कसरी एका एक पंडित हुन पुगे ? यो प्रश्न उठ्नु अत्यन्त स्वाभाबिक रह्यो मेरा लागि र मैले यसबारे चासो राखें, उनी भन्छन् संस्कृत पढ्नु आजा पुजा गर्नु हाम्रो पुख्र्यौली काम हो । मैले यी सबै आफनै पुर्खाबाट सिकेको हूं ।
उनका पितासंग ओखलढुंगाका चन्द्र प्रकाश दाहाल दाहाल, वंशावली खोज्ने क्रममा भेट भएको रहेछ । उक्त भेट दाहालहरुको बंशावली तयार पार्न मात्र मद्धत गरेनकि दाहाल प्रतिष्ठानको स्थापना गर्न समेत सफल भयो । प्रतिष्ठानले राखेको अक्षयकोषबाट थुप्रै नेपालीहरुले प्रत्यक्ष सहयोग पाएको बताउदा उनको आवाजमा निकै धैर्यता रहेको सहजै अनुमान गर्न सकिन्थ्यो । दाहाल प्रतिष्ठानका लागि उनले दुइ कठ्ठा जग्गा दान दिएका रहेछन् । यसरी आफ्नो सम्पत्ती दान दिंदा परिवारमा कुनै खटपट त भएन भनेर चासो राख्दा उनि भन्छन्, बुवा आमा मेरो यो निर्णयबाट बेहद खुसी हुनु भयो । धर्मपत्नी र छोरा छोरी पनि खुसी साथ सहमत भएकाले नै त्यत्रो ठूलो आंट गर्न सकेको हूं । २०५५ सालमा दाहाल प्रतिष्ठानको स्थापना भए पछि २०५६ सालमा अक्षयकोष राखेको बताउछन् उनी ।
पतंजली योग पीठका तर्फबाट बेलायतबासी नेपालीहरुको सहयोगमा पनि जुटेका छन् उनि । उनले बर्षमा एक दुइ पटक बिभिन्न ठांउमा पतंजली योगको तालीम पनि गराउछन् । आत्माराम दाहाल पतंजली योगपीठ बेलायतमा बेलायतबासी नेपालीहरुका शाखानै हुन् भन्दा अत्युक्ती हुने छैन । सामाजिक सेवा गर्नु पर्छ भन्ने प्रेरणा आफ्नै पिताजी र दाजुबाट पाएको कुरा सुनाउदा उनि प्रफुल्ल हुन्छन् । आफुलाइ मधुमेह रोग लागेको भए पनि योग र प्राणायाम नियमित गरेकाले स्वास्थ्येमा सुधार आएको कुरा पनि सुनाए उनले । यसपाली उनले गरेको हाफ म्याराथुन दुइ घण्टा बाइस मिनेटमा पुरा गरेका रहेछन् । उनको यस कार्यका लागि सहयोगको हात दिनेहरुलाइ उनि हृदयदेखिनै धन्याबाद दिन चाहान्छन् । यसका लागि लगभग बीश हजार रुपैयाँ नेपालमा उठेको र बेलायतमा लगभग एकहजार पौण्ड उठ्ने बचनबद्धता पाएको खुसीको कुरा पनि सुनाए । यस अघि पनि उनले यस्तै प्रकारका दौडमा भाग लिइसकेका रहेछन् । जस्तै म्यानचेष्टर रनमा दश किलो मिटर, न्यूकासल रन आदी आदी ।
एक छोरा र एक छोरीका बाबु आत्माराम दाहालले गत लण्डन ओलम्पिक २०१२ मा स्वयंसेबकको काम पनि गरे । आफ्नै खर्च हालेर नर्थ योर्कसायरबाट लण्डन आएर दुइ हप्ता बसे उनि । ओलम्पिकमा स्वयंसेबक हुंदा आफ्नो पालो परेको बेलामा एक छाकको खाना भने ओलम्पिक कमिटीले उपलब्ध गराएको रहेछ । तर आते जाते र लण्डनमा बास बसाइको खर्च पर्चका लागि भने आफ्नै थैली सुक्र्याउनु परेको अनुभव गरे पनि गर्ब साथ उनले भने जीवनमा एक पटक पाउने अनुभव हो ओलम्पिकमा स्वयंसेबक हुन भनेको । मल्टी फेथ सेन्टरमा हिन्दु चापलानको काम उनले लिएका रहेछन् । ओलम्पिक समयभरका लागि मन्दीर स्थापना गर्न निम्ति एउटा कोठा दिएको रहेछ । बिहान बेलुका त्यहाँ आउने हिन्दुहरुलाइ उनिहरुको चाहाना अनुसार कुनै पुराणका कथा भनिदिने अथवा कहिले मन्त्र जपिदिने आदी काम गर्नु पथ्र्यो रे । नेपालीहरु भने त्यहाँ आएनन् तर केनियाँ, भारत र श्रीलंकाका हिन्दू खेलाडीहरु एवं ओलम्पिक हेर्न आएकाहरु भने आइरहन्थे, उनले सुनाए ।
आफु बसेको ठाँउ नर्थ योर्कसायरमा १५, १६ जना बाल बच्चाहरुलाइ हप्तामा एकदिन नेपाली भाषा पढाउदा रहेछन् । यो पनि स्वयंसेबक काम नै हो उनको । आफ्नो जीबनको सबभन्दा खुसीको क्षेण उनले लण्डन ओलम्पिक २०१२ मा स्वयंसेबकको रुपमा काम गर्न पाएको क्षेणलाइ लिन्छन उनी । तर सव भन्दा दुखपूर्ण क्षेणको सम्झना गर्न चाहेनन उनी ।

Bookmark the permalink.

2 Responses to समाजिककार्यका सिपाही आत्माराम

Leave a Reply

Your email address will not be published. Required fields are marked *