विवादित एनएचएस रिर्फम

 – शशि पौडेल

बेलायती वर्तमान सरकारका संशोधन नवीकरण एवं पुनः निर्माण गर्ने कार्यक्रमहरुमध्ये सबैभन्दा विवादित रहेको राष्ट्रिय स्वास्थ्य सेवाको संशोधन गर्ने प्रस्तावमाथि प्रधानमन्त्री डेविड क्यामरुनले अन्ततः टिप्पणी गरेका छन् । हुनत राष्ट्रिय स्वास्थ्य सेवालाई संशोधन गर्नुपर्छ भन्ने प्रस्ताव झण्डै २५ वर्षअघि पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि आएको हो र लेडी थ्याचरले नै यसको प्राइभेटाइजेसन सुरु गरेकी थिइन् । थ्याचरपछिको कन्जरभेटिभ पार्टीको नेतृत्वमा गठित सरकार जोन मेजरको पालामा यसलाई निरन्तरता दिइए पनि थ्याचरको योजनाअनुरुप प्रस्तावित सुधार अगाडि बढ्न सकेन ।

‘म पनि आन्द्रेउ लेस्लीको पक्षमा छु’ केही समय अघि प्रधानमन्त्री डेविड क्यामरुनले उक्त कुरा बोलेका हुन् । आन्द्रेउ लेस्लिको पक्षमा डेविड क्यामरुन हुनु नौलो कुरा होइन किनभने आन्द्रेउ लेस्लि डेविड क्यामरुनले बनाएका स्वास्थ्यमन्त्री हुन् र उनले मार्गरेट थ्याचरकै पाला ल्याइएको स्वास्थ्य सेवालाई प्राइभेटाइजेसन गर्न सुरु गरेको कार्यक्रमलाई समेत समेटी एनएचएस रिर्फम प्रस्ताव अगाडि सारेका छन् । प्रधानमन्त्री डेविड क्यामरुन र स्वास्थ्यमन्त्री आन्द्रेउ लेस्ली, दुवै मुलाको ड्याङ एउटै हो ।

उता प्रतिपक्ष पार्टीका नेता एड मिलिव्याण्डले गत सोमवार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समयमा संंसदमा आन्द्रेउ लेस्लिले ल्याएको राष्ट्रिय स्वास्थ्य सेवा सुधारको प्रस्तावित कार्यक्रम फिर्ता लिन माग गरेका छन् । एड मिलिव्याण्डका दावीअनुसार ९८ प्रतिशत (जीपी) जनरल प्राक्टिसनरहरु सुधार कार्यक्रम प्रस्तावका विरुद्ध भएको दावी गरेका छन् भने डेविड क्यामरुनले चाहिँ हजारौं जीपी पक्षमा रहेको बताउँदै आएका छन् ।

राष्ट्रिय स्वास्थ्य सेवा सुधारका निम्ति अध्यादेश आउने देखेपछि स्वास्थ्य सेवा सम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले “सरकारले स्वास्थ्य सेवामा खेलवाड गरेको” आरोप लगाएको छ । गत सोमवार आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन (लान्सेट)का प्रोफेसर निक ल्वाकका अनुसार जनताले जति कर तिर्दछन् त्यति राष्ट्रिय स्वास्थ्य सेवामार्फत सेवा प्राप्त नगरेको दावी छ । उता सरकारी पक्षले विगत दश वर्षमा राष्ट्रिय स्वास्थ्य सेवाको सेवास्तर १५ प्रतिशतले घटेकाले सुधार ल्याउन आवश्यक भएको दावी गरेको छ ।

आन्द्रेउ लेस्लिको सुधार प्रस्तावभित्र छोटकरीमा भन्दा राष्ट्रिय स्वास्थ्य सेवाका लागि राष्ट्रिय बजेट कट्टा गर्ने, अस्पतालहरुलाई प्राइभेटाइजेसन गर्ने र अस्पताललाई प्रतिस्पर्धात्मक मुनाफा कमाउने कम्पनीका रुपमा स्थापित गर्ने रहेको छ ।

लान्सेट अध्ययनको रिपोर्ट अनुसार सर्वसाधारण जनताले आवश्यकता अनुसार सेवा प्राप्त नगरेको वर्तमान अवस्थामा संशोधन प्रस्तावले सर्वसाधारण जनताले स्वास्थ्य सेवा किन्नुपर्ने अवस्थाको विकास हुने छ ।

यदि आन्द्रेउ लेस्लीको राष्ट्रिय स्वास्थ्य सेवा सुधारको प्रस्ताव अध्यादेशका रुपमा संसदबाट पास भयो भने सर्वसाधारण जनताले पाइआएको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने छैनन् । अथवा हरेक व्यक्तिले व्यक्तिगत रुपमा स्वास्थ्य सेवाका लागि विमा गर्नुपर्ने हुनेछ र यूरोपका अन्य मुलुकहरुमा भन्दा बेलायतमा स्वास्थ्य सेवा कमजोर हुनेछ ।

अर्कोतिर बेलायतका बिलिनियर कम्पनीहरुजस्तै म्याककिन्सी भने सुधारको पक्षमा रहेको र उसले एनएचएस सेवामा १०६ विलियन बजेटको प्रस्ताव समेत अघि सारेको छ ।

मिलिजुली सरकारभित्रको अर्को पार्टी लिवडेम भने आन्द्रेउ लेस्लीको प्रस्तावमा विभाजित देखिन्छन् । स्वास्थ्य मन्त्रालयको केयर सर्भिस एवं मानसिक रोग र अपांग विभाग हेर्ने राज्यमन्त्री पाउल ब्रुस्टोभ प्रस्तावप्रति सकारात्मक देखिन्नन् । हुनतः “मौनंम् सम्मति लक्षणम्” भन्ने भनाईलाई हेर्ने हो भने उनले सार्वजनिक रुपमा यसबारे केही बोलेका छैनन् । तर पार्टीभित्र उनले यदि स्वास्थ्यमन्त्री आन्द्रेउ लेस्लीको प्रस्ताव पारित भएमा गल्ती हुन सक्ने तर्क गर्दै आएका छन् । आफ्नै मन्त्रालयभित्र आफ्नो प्रस्तावमा एकमत हुन नसकेपछि स्वास्थ्यमन्त्री लेस्लीले आफ्नो प्रस्ताव माथिल्लो सदन हाउस अफ लर्डमा लैजाने प्रयत्नमा रहेका छन् ।

हाउस अफ लर्डबाट भने उक्त प्रस्ताव सहजै पारित हुने छ किनभने माथिल्लो सदनमा बस्ने व्यक्तिहरु सत प्रतिशत माथिल्लो वर्गबाट आएका हुन्छन् र उनीहरुले आफ्नो स्वास्थ्य सेवा यसै पनि महंगा अस्पतालबाट लिने गरेका हुन्छन् । उनीहरुलाई सेवा व्यक्तिगत हुनुले कुनै असर पार्ने छैन । लिवडेमका माथिल्लो नेतृत्वमा रहेका डेपुटी लिडर साइमन हृयूजले यदि आन्द्रेउ लेस्लीले प्रस्तुत गरेको अध्यादेशको प्रस्ताव पारित भयो भने डेविड क्यामरुनले स्वास्थ्यमन्त्री अन्द्रेउ लेस्लीलाई मन्त्री मण्डलबाट हटाउनुपर्ने माग गरेका छन् । बीबीसीद्वारा संचालित आन्द्रेउ मार शोमा बोल्दै साइमन हृयूजले ‘म के प्रष्ट छु भने आन्द्रेउ लेस्लीको अध्यादेश प्रस्ताव खारेज गर्नुपर्छ । किनभने मेरो राजनैतिक अनुभवअनुसार आधाभन्दा बढी संसद सदस्यहरु यसको विरोधमा छन् ।’ तर प्रधानमन्त्री कार्यालय भने साइमन हपुजको धारणाप्रति बेखुसी देखिन्छ । यस्तै लिवडेम पार्टी नेता एवं उप प्रधानमन्त्री निक ल्केग भने हर तरहले स्वास्थ्यमन्त्री अन्द्रेउ लेस्लीको एनएचएस रिर्फम अध्यादेशको प्रस्तावलाई बचाउ गर्दै आइरहेका छन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *