यो आफ्नै देशको माटो हो- पूर्वराजा ज्ञानेन्द्र शाह

 पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति डा. रामवरण यादव दुवैले यो साता अकबरे खुर्सानी रोपेका छन् । आफैंले दिनहुं पानी हाल्ने गरी गमलामा अकबरे खुर्सानी रोप्ने यो अभियानमा पूर्वराजा र राष्ट्रपति मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्ड, पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह, नयां माओवादी नेता मोहन वैद्य र एमालेका पीरा नेता केपी ओलीसमेत सहभागी भएका छन् । यसरी खुर्सानी रोप्ने क्रममा ज्ञानेन्द्रदेखि रामवरणसम्मका गफ सुन्ने हो भने छुट्टै रमाइलो छ ।
‘अष्ट ज अभियान’ का नाममा कम्युनिस्ट नेता एवं पुष्पलाल अध्ययन प्रतिष्ठानका लोककृष्ण भट्टराईको नेतृत्वमा केही किसान यसरी ज्ञानेन्द्रदेखि प्रचण्डसम्मलाई खुर्सानी रोप्न लगाउंदै हिंडेका हुन् । ‘हामीले राजनीतिक क्रान्ति मात्रै पूरा ग¥यौं, देशमा आर्थिक क्रान्ति भएन, अब सबैले कृषि क्रान्ति गर्नुपर्छ भन्ने सन्देश दिन यसरी गमलामा खुर्सानी रोप्न लगाइएको हो, अब यसमा तपार्इंले आफैं पानी हाल्नुपर्छ, हामी एक महिनापछि फेरि खुर्सानी निरीक्षण गर्न आउंछौं ।’ भट्टराईले यसरी छोटो मन्तव्य दिएपछि निर्मलनिवासको प्रांगणमा गोलो टेबुलमाथि राखिएको गमलामा पूर्वराजा ज्ञानेन्द्रले १० जना ‘किसान’को रोहबरमा रातै फल्न थालेको डल्ले खुर्सानीको छिप्पिएको बिरुवा रोपेका थिए । अन्य खुर्सानीभन्दा महंगो पर्ने यो खुर्सानीलाई रांगे, अकबरे, डल्ले आदि नामले चिनिन्छ ।
खुर्सानी रोप्ने क्रममा सफा टेबलमा माटो पोखिएपछि सहभागी एकजनाले ‘ए… माटो पोखियो’ भन्दै चिन्ता गर्दा ज्ञानेन्द्रले भने, ‘ठीक छ, यो आफ्नै देशको माटो हो । हामीले आफ्नो देशको माटोलाई माया गर्नुपर्छ ।’ यसरी छोटो व्यञ्जनापूर्ण वाक्य बोल्नुबाहेक ज्ञानेन्द्र खासै नबोलेको खुर्सानी रोप्ने अभियानमा एक सहभागीले बताए । निर्मलनिवास अगाडिको पर्खाल भत्काएर त्रिपाल टांगिएको थियो, त्यसैको छेउमा सबैले उभिएर १०÷१५ मिनेट बिताएका थिए । छेउमै रहेको अमेरिकी दूतावासले पर्खाल भत्काउन नमाने पनि बाटोमा परेको निर्मलनिवासको पर्खाल भत्काएर पुनर्निर्माण भइरहेको छ । सेतो कमिज–सुरुवालमा कालो ज्वारिकोट लगाई चिटिक्क परेर टोपीविनै उपस्थित ज्ञानेन्द्र मलीन र टीठलाग्दा देखिएका थिए । उनले तपार्इंहरूको यो अभियानमा हाम्रो सोलिडारिटी (ऐक्यबद्धता) छ भन्नुबाहेक थप केही बोलेनन् । पूर्वराजाका साथमा उनका सहयोगी सागर तिमिल्सिना पनि उपस्थित थिए । उनले भने, ‘अष्ट ज अभियान’ भनेको के हो भनेर भट्टराईको टोलीलाई निकै केरकार गरेका थिए । टोलीमा १० जनाभन्दा बढी ल्याउन नपाइने र मिडियालाई ल्याउन नमिल्ने पूर्वजनाउ निर्मलनिवासले दिएको थियो । खुर्सानी रोपाउनेहरू बाटो लाग्दा ज्ञानेन्द्रले गेट नकटुन्जेल उभिएर रमिता हेरेका थिए ।
खुर्सानी रोप्ने क्रममा ज्ञानेन्द्रले १० सदस्यीय टोलीसंग २÷४ वाक्य मात्रै बोले पनि त्योभन्दा दोब्बर सहभागी रहेको टोलीसंग राष्ट्रपति डा. रामवरण यादवले चाहिं लगभग एक घन्टा बिताए । खुर्सानी रोपेपछि यादवले भने, ‘अहिलेका युवाहरू स्वदेशमा भैंसी चराउनुपर्नेमा अरब गएर उंट चराउंदै छन्, यो दुःखलाग्दो कुरा हो ।’ देशमा अब सबैले कृषि उत्पादनतर्फ लाग्नुपर्ने भन्दै राष्ट्रपतिले कृषि अभियान थालेकोमा ‘अष्ट ज अभियान’लाई बधाई मात्रै दिएनन्, सबैलाई गुलियो मिठाई खुवाएर पठाए ।
शीतलनिवासमा गुलियो खाएर निस्केका अभियन्ताहरूले प्रचण्डनिवास लाजिम्पाटमा भने कालो चियासम्म खान नपाएको गुनासो गरेका छन् । हुन त उनीहरूले निर्मलनिवासमा पनि चिया त के, बस्नसम्म नपाई उभिएरै फर्किनुपरेको थियो । प्रचण्डनिवासमा भने उनीहरूले बस्नसम्म पाए । प्रचण्डले चिया नखुवाई पठाए पनि गफ भने दह्रै दिए । ‘म पनि किसानकै छोरो हुं, माथि (छतमा) गमलामा खुर्सानी रोपेको छ, खानलाई खांचो छैन ।’ अकबरे खुर्सानी रोप्ने क्रमसंगै प्रचण्डले भने, ‘अब पार्टी कार्यकर्तालाई कृषि उत्पादनको कार्यमा लगाइन्छ, भृकुटीमण्डप विस्तारित बैठकमा मैले दस्ताबेजमै यो कुरा उल्लेख गरिसकेको छु ।’
गमला बोकेर भक्तपुरको बालकोट पुगेको टोलीलाई एमाले नेता ओलीले जिस्क्याए, यस्तो पीरो कुरा पनि रोप्ने हो, गुलियो–गुलियो पो रोप्नुपर्छ त । सहभागीहरू पनि के कम, भनिहाले, ‘तपार्इं प्रधानमन्त्री बन्ने हल्ला छ, त्यही भएर कडा पीरो रोप्न लगाउन आएको ।’ खुर्सानी रोपेपछि करिब ३० जनाको टोलीलाई एमाले नेताले दुई÷दुईवटा उसिनेका अन्डा र चिया खुवाएका थिए । खुर्सानीको साटो गुलियो चिज रोप्नुपर्छ भन्ने ओलीलाई त्यति नै बेला एकजना महिला आएर भनिन्, ‘दाजु बिरामी हुनुहुन्छ भन्ने सुनेर अनार ल्याइदिएकी छु ।’ ओलीले अनार लिएनन्, बरु उल्टै प्रश्न गरे, ‘को बिरामी ? म बिरामी छैन त !’
नवगठित माओवादी अध्यक्ष मोहन वैद्यको निवासमा चाहिं अकबरे खुर्सानी रोपिसकेपछि राजनीतिक क्रान्ति पहिले कि कृषि क्रान्ति पहिले भन्ने विवाद भयो । अहिलेसम्म कम्युनिस्टहरूले राजनीतिक क्रान्तिलाई मात्रै जोड दिए तर आर्थिक क्रान्तिलाई ध्यान दिएनन् भन्ने लोककृष्ण भट्टराईको आरोपको खण्डन गर्दै वैद्यले राजनीतिक क्रान्ति अझै पूरा भइनसकेको र राजनीतिक क्रान्ति पूरा नभएसम्म आर्थिक क्रान्ति पूरा हुन नसक्ने बताएका थिए ।
अमेरिकामा बस्ने एक नेपालीले व्याख्या गरेको ‘अष्ट ज’ अभियानलाई अहिले वामपन्थी नेता लोककृष्ण भट्टराईले अगाडि बढाइरहेका छन् । भट्टराईको नेतृत्वमा उपत्यका र मोफसलका केही जिल्लामा अगुवा किसानहरूको ‘अष्ट ज कृषक समूह’ समेत गठन गरिएको छ र यही अभियानको प्रचारका लागि ज्ञानेन्द्रदेखि राष्ट्रपतिसम्मलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको अभियन्ताहरू बताउंछन् ।

Bookmark the permalink.

3 Responses to यो आफ्नै देशको माटो हो- पूर्वराजा ज्ञानेन्द्र शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *