युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

showdown-bruessel-शशी पौडेल
बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ । अरु समस्याहरुको समाधान खोज्नु अघि निर्णयमा पुग्नु पर्ने बिषय भलै आधा भएपनि टुंगो लागेको हो । युरोपियन मुलुकहरुको कन्जरभेटिभ पार्टीहरुको संयुक्त पार्टी युरोपियन जनपार्टीका उम्मेदवार जीन ल्काउडे जुनकर युरोपियन युनियन कमिशनको पे्रसिडेन्ट पदका लागि प्रस्ताबित भएका छन् । संसारभरका धनाढ्यहरुले लुकाउन लगेको कालो पैसाबाट आएको मुनाफा खाएर बाँचेको मुलुक लक्समबर्गका पूर्व प्रधानमन्त्री ल्काउडेको युरोपका २८सै मुलुकहरुबाट भने समर्थन आएन । सुरुदेखिनै जोन ल्काउडेको बिरोधमा उत्रेका बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुनलाइ  हंगेरीका सरकार प्रमुख भिक्टोर ओरवानले पूर्ण साथ दिए ।
२५ मेमा सम्पन्न निर्बाचनमा कन्जरभेटिभ पार्टीहरुको आलियन्स युरोपियन फल्कस(जन) पार्टीले पुर्ण बहुमत नल्याए पनि सबैभन्दा ठुलो पार्टी बनेको थियो । युरोपियन पुनियनको कमिशनका पे्रसिडेन्ट पदका प्रस्ताबित उममेदवार जीन ल्काउडेले आगामी जुलाइ १७का दिन युरोपीयन युनियनको संसदबाट समर्थन जुटाउनु पर्ने छ ।
२०१० सालको निर्वाचन पछि बेलायतले युरोपियन युनियनबाट बाहिरिने धम्की बेला बेलामा दिदै आएको छ । र अहिले जीन ल्काउडेको समर्थन नगर्नु पनि यसको एउटा भाग रहेको चर्चा राजनितीक बृत्तमा गरिएको छ । युरोपियन युनियनलाइ के थाहा छ भने बेलायत बाहिर निस्किनु भनेको २८ भागको एकभाग निस्किनु नभै युरोपियन युनियनको एउटा महत्वपूर्ण भाग बाहिरिनु हुने छ । यद्यपी युरोपियन युनियन बेलायत बिना टिक्न सक्ला तर बेलायत भने युरोपबाट अलग्निे छ, युरोपियन युनियनबाट अलग्गिने मात्र नभएर  बेलायतलाइ राजनैतिक, आर्थिक र सामाजिक मान्यता र संस्कारका कारण पनि नोक्सानदायी हुनेछ  । यी कुराहरु दिनको घाम जत्तिकै छर्लंग हुदा हुदै पनि बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले किन युरोपियन युनियनबाट बाहिर निस्कने कुरालाइ जोड दिइरहेका छन् त ? बेलायती राजनितीलाइ नियालेर हेर्यो भने यसको उत्तर भेटाउन कुनै गाहारो पर्ने छैन । डेबिड क्यामरुन यदि युरोपियन युनियनको बिरोधमा शसत्त भएर उत्रन सके भने आन्तरिक राजनितीमा उनी बलियो बन्ने छन् । अहिले उनी उनको बजेट बचाउ र रिण घटाउ योजनाका कारण अप्रिय भैरहेको बेला युरोपियन युनियनको बिरोध गरेर बेलायती एकाधिकारी एवं महत्वाकांक्षी मनोबिज्ञानलाइ बुझ्ने उनको प्रयास हो । युरोपियन युनियन जेसुकै होस् उनकालागि खास सरोकारको बिषय रहेन तर आफु प्रधानमन्त्री पदमा आसिन भैरहने वा २०१५ सालमा हुने बेलायतको आम निर्बाचनमा बिजयी हुने वातावरण तयार पार्नु उनकालागि महत्वपूर्ण बिषय बनेको छ । त्यसैले युरोपियन युनियनको बिराधमा उत्रनु यसैको एउटा रणनिती पनि हो । यसबाहेक उनि आफ्नै टोरी पार्टीका युरोपियन युनियन बिरोधी ब्याकबेन्चर झण्डै १०० सांसद सदस्यहरुको बन्धनमा परेका छन् ।  साथै उनको आफ्नै उग्र दक्षिणपन्थी झुकावका कारण भर्खरै युरोपियन युनियनको निर्बाचनमा अनायास सबभन्दा धेरै भोट ल्याउन सफल युनाइटेड किंगडम इन्डिपेन्डेन्ट पार्टी(युकिप)बाट पनि उनी बन्दी बनेका छन् । सयौंको संख्यामा कन्जरभेटीभ पार्टी सदस्यहरु युरोपियन युनियन बिरोधी पार्टी युकिपमा पोइल जानु र हज्जारौं मतदाता त्यतै ढल्किनु पनि उनको अर्को बाध्यता हो ।
कहिल्यै हार्न नचाहाने डेबिड क्यामरुन यसपाली युरोपियन युनियनको सवालमा हार्ने पक्क हुदा हुदै पनि उनले आफ्नो अडान छोडेनन् । यदि उनले अझै पनि जीन ल्काउडेको बिरोधमा उभिन छोडेनन् भने उनी युरोपियन युनियन भित्र निकै कमजोर बन्नेछन् । यद्यपी उनको झुकाव अति दक्षिणपन्थी भएपनि उनी खुलेर युकिप वा फँ नेशनल जस्ता उग्र दक्षिणपन्थीहरुको जमातमा मिसिन जाने छैनन् भन्ने कुरा पनि उनलाइ थाहा छ । तर पनि उनकालागि २०१५ सालमा हुने बेलायती आम निर्बाचन बढी महत्वपूर्ण रहेको छ । यदि उनको पार्टी बेलायतको आम निर्बाचनमा कमजोर भयो भने उनका दुबै पद (प्रधानमन्त्री र पार्टी नेता) गुम्नेछन् र उनी सत्ता र शक्ति  बिहिन हुनेछन् ।
डेबिड क्यामरुनले २०१३सालको अन्ततिर ब्रसेल्समा पूर्बी युरोपबाट धेरै कामदारहरु बेलायत आएर रोजगारी भेट्टाएकाले  बेलायतको अर्थतन्त्रमा समेत टेवा पुर्याएको तर्क गरेका थिए । त्यति बेला पोलैण्डका प्रधानमन्त्रीले बेलायतसंग मैत्रीभाव कायम गरेका थिए । उक्त भाषण पछि बेलायतका छापाहरु घुंडा धसेर उनको बिरोधमा उत्रिए । जस्तै डेली टेलीग्राफ, टाइम्स, डेली मेल र यहाँ सम्मकि बीबीसीले समेत उनको बिरोधमा उत्रिए । संचार साधनबाट आएको यो बिरोधको सामना उनले गर्न सकेनन् र उनी एकसय अस्सी डिग्री परिवर्तन भए ।
यता जर्मनी, बेल्जीयम, निदरलैण्डहरुको भने कतै युरोपियन पुनियनका अन्य मुलुकहरुबाट अन्य खालका दवाव आउने त हैनन् भन्ने डर पसेको छ । किनभने सुरु सुरुमा इटाली र फ्रान्सबाट यदि जीन ल्काउडेलाइ युरोपियन युनियनको कमिसार पे्रसिडेन्टको प्रस्तावलाइ समर्थन गर्ने हो भने हामीले राष्ट्रिय बजेटका निम्तिी अरु बढी श्रृण लिन पाउनु पर्छ भनी माग आएको थियो । किन भने युरोपियन युनियनले आफु भित्रका २८ मुलुकहरुले आफ्नो सम्पूर्ण आन्तरिक बजेटको एक निश्चित प्रतिशत मात्र श्रृण लिन पाउने ब्यवस्था रहेको छ ।
यसहिसावले हेर्दा युरोपियन युनियन भबिश्यमा बलियो हुनुको बदला कमजोर हुदै जाने संकेत देखिएको छ । किन भने दक्षिणी युरोपियन मुलुकहरुले अरु बढी श्रृण लिन पाउने र बलिया मुलुकहरुलाइ खुरु खुरु धम्की आइरहने परम्पराको बिकाश हुने प्रश्ट छ । इटलीको सिचिलियनबाट फ्रान्सको नर्मान्दी र स्पेनको आन्दोराबाट पोर्तुगलको लिसाबोन सम्मका युवा युबतीहरुले रोजगार पाउन सकिरहेका छैनन् । उनिहरु आफुले स्कूल वा बिश्वबिद्यालयबाट प्राप्त गरेको प्रमाणपत्र झोलामा बोकेर यत्र तत्र भौंतारी रहेका छन् । फ्रान्समा झण्डै २५ प्रतिशत भने इटालीमा झण्डै ४३ प्रतिशत युवा युबती बेरोजगार रहेका छन् । पोर्तुगल र स्पेनको अवस्था यो भन्दा पनि नाजुक रहेको छ । युरोपियन युनियनकालागि फ्रान्स, इटली, स्पेन र पोर्तुगलमा  देखा परेको यो अबस्था एक सामाजिक सुनामी हो ।
हप्तौं देखिको बिबाद र सम्बाद पछि बेल्जियमको इपर्न भन्ने ठाँउमा युरोपका २८ मुलुकका सकार प्रमुखहरु जम्मा भएका थिए । इपर्नमा भएको यो युरोपियन युनियनको उच्चस्तरीय बैठककालागि मैले भने अचम्मको संयोगका रुपमा लिएको छु । जुन ठाँउमा पहिलो बिश्वयुद्धमा ब्रिटीश र फ्रान्सेली सेनाहरु जर्मनी बिरुद्ध खनिएका थिए । र त्यहाँ पाँचलाख भन्दा बढी मानव खती भएको थियो । यद्यपी यही ठाँउमा बेलायतले युरोपियन युनियनको बिरोध गर्न नहिच्किचाए पनि इपर्न अहिले युरोप भरका २८ सरकार प्रमुखहरुको सहमती ल्याउने ठाँउका रुपमा परिचित भएको छ । अर्थात डेबिड क्यामरुनले हारेको र , फ्राँस्वाँ ओलाँ र अन्जला मेर्केलबीच सम्झौता भएको ठाँउका रुपमा लिन सकिने छ ।
गत शुक्रबार २७ जुनका दिन युरोपियन युनियनको बैठकको एक झलक जर्मनीको पहिलो टिभी च्यानलले देखाएको थियो । टिभी च्यानलका अनुसार अन्जेला मेर्केलले भनिन् “अव हामी अन्तिम निर्णयमा पुग्नु पर्छ” । यतिबेलै डेबिड क्यामरुनले सोधे “कसलाइ ?” मेर्केलले उत्तर दिइन् “न कसलाइ नि जीन ल्कलाउडेलाइ” । डेबिड कयामरुनले टाउको घोप्ट्याए । यसैबेला फ्राँस्वाँ ओलाँले क्यामरुनलाइ थुमथुम्याउने कोशिस गरेको दृश्य रमाइलो देखिन्थ्यो ।
युरोपियन युनियनको अलिखित कानून अनुसार यसका सदस्य मुलुकहरु कुनै पनि हालतमा एक्लिनु हुदैन, तर यसपाली भने युरोपको एउटा छुट्टै समुन्द्रकोबीचमा रहेको टापु आफै एक्लिने निर्णयमा पुगेको छ । सायद बेलायती टापुलाइ अमेरिकी दवाब परेको होकि भन्नेबारे एउटा अर्कै तर्क गर्ने ठाँउ नभएको होइन । तर अहिले बेलायतमा देखिएको राजनैतिक बिकाशले यसको पुष्टी गर्दैन । यस हिसाबले राजनितिक जोड घटाउ गर्ने हो भने डेबिड क्यामरुनले एउटा महत्वपूर्ण मौका गुमाएका छन् । जहाँ उनले युरोपियन युनियनको नेतृत्वको टुप्पोमै छामेर सम्झौता मार्फत परिस्थितीलाइ अर्कै ढंगले समाधान गर्न वा आफ्ना मागहरु पुरा गराउन सक्थे तव मात्र उनी टोरीका ब्याकबेन्चर र युकिपको बन्दीबाट मुक्त हुन सक्थे । तर दुर्भाग्य युकिप र टोरीकै दक्षिणी धार बोकेका लगभग १०० ब्याकबेन्चर संसदहरुले बेलायती मेडियाहरु टाइम्स, डेली टेलिग्राफ र डेली मेल अनि बीबीसीलाइ डेबिड क्यामरुनका बिरुद्ध प्रयोग गरे र उनलाइ यसो नगरेमा उनले दुबै पदबाट हातधुनु पर्ने धम्की दिए । अर्कोतिर आफ्नो सत्ता साझेदारी पार्टी प्रो युरोपीयन युनियन मानिने लिबडेमले  निर्बाचनमा गरेका बाचाहरु सत्तामा पुगेपछि  पुरा नगेको मात्र नभै आफ्नो बचनबद्धताको बिरुद्ध काम गरेको बेलायती जनताको बुझाइ छ तर बेलायती जनतालाइ लिवडेमले लिबडेमलाइ यो अबस्थामा पुर्याउने काममा पनि डेबिड क्यामरुनको दक्षिणपन्थी झुकावनै जिम्मेवार छ भन्ने कुरा बुझाउन सकिरहेको छैन । हो बेलायती युवा समुदाय जजस्ले लिबडेमलाइ भोट दिए, उनिहरुको भनाइ अनुसार यदि डेबिड क्यामरुनले आफ्ना बचनबद्धता बिरुद्ध काम गर्न बाध्य पार्छन् भने किन सत्तामा बसिरहनु ? सरसर्ती हेर्दा प्रश्न जायज लाग्छ तर गहिरिएर हेर्नै हो भने राजनितीक परिदृश्य अर्कै देखिने छ त्यो केभने यदि लिवडेमले सरकारबाट राजीनामा दियो भने  डेबिड क्यामरुनले अल्पमतको सरकार चलाउने छन् र समग्र बेलायतलाइ अझ दक्षिण तर्फ धकेल्ने छन् ।(यो लेख मैले बेलायतबाट प्रकाशित हुने  सत्यतथ्य मासिककालागि लेखेको हुँ ।)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *