बाइ बाइ एलिजाबेथ !

Scotland Ref—शशी पौडेल
दुइ बसाहा साँढेहरुको जुधाइ हेर्न अव चारदिन पनि बाँकी छैन । अर्थात स्कटलैण्डले यही बिहिबार आफु स्वतन्त्र राज्य हुनेकी नहुने भन्ने निर्णय गर्ने छ । बेलायत र संसारका अन्य देशहरुमा पनि निकै चासोको बिषय भएको स्कटलैण्ड स्वतन्त्रताको सवालमा यही १८ सेप्टेम्बरका दिन जनमतसंग्रह हुदैछ । स्कटलैण्मा हुन गैरहेको जनमतसंग्रहले रानी एलिजाबेथलाइ बाइ बाइ भन्छ कि अथवा हामी बेलायतमै एक भएर बस्छौं भन्छ, समग्र संसारलाइ चासोको बिषय बनेको छ ।
Scotland Polएकवर्ष पहिले सम्म भने तीनसय बर्ष देखि बेलायतको स्कटलैण्ड भनेर चिनिएकोमा स्कटलैण्डको परिचयमा परिर्तिन नल्याउने अवस्था सहजै अनुमान गर्न सकिन्थ्यो तर समय बित्दै जाँदा भने अलि भिन्न अवस्था देखापरेको छ । बिभिन्न सर्भे गर्ने संस्थाहरुले  स्कटलैण्ड स्वतन्त्रताको प्रश्न राखेर तथ्याङ्क संकलन गर्न थाले । उनिहरुको सर्भेले स्कटिश जनताको मत स्वतन्त्रताको पक्षमा बढ्न थालेको तथ्याङ्क दिन थालका छन् । प्रधानमन्त्री डेबिड क्यामरोनले २०१४को नोभेम्बर महिनामा यसबारे जनमत संग्रह गराउने कुरा मन्जुरी गरेका थिए । नोभेम्बरमा भनिएको जनमतसंग्रह सेप्टेम्बरमै सारिए पछि बेलायतले १९२१मा दक्षिणी आरलैण्ड स्वतन्त्र राज्य घोषणा भए पश्चात पहिलो पटक आफ्नो राज्य अस्थिर भएको महसुस गर्नु परेको छ । गत मार्च र अप्रिल महिनाको सर्भेले स्कटलैण्को स्वतन्त्रताको पक्षमा बढ्दो जनउभार देखाएपछि  स्कटलैण्डका ठुला ब्यापारीहरुले आफ्नो ब्यवसाय इंगलैण्ड तिर सार्न थालिसकेका छन् ।
स्कटलैण्ड, इंगलैण्ड, वयल्स र नर्थ आरलैण्ड चार राज्यको एकतालाइ बेलायत अथवा युनाइटेड किंडम भनेर भनिएको हो र बेलायतको राष्ट्रप्रमुख रानी एलिजाबेथ हुन् । यदि १८ सेप्टेम्बरका दिन हुन गैरहेको जनमतसंग्रहमा स्कटलैण्डको स्वतन्त्रताको पक्ष्यमा बहुमत आयो भने बेलायत एक पटक नराम्रोसंग संकटमा पर्ने छ । किनभने बेलायतको एक तिहाइ भूभाग र रानी एलिजाबेथको दुइ तिहाइ ब्यक्तिगत अचल समपत्ती स्कटलैण्डको स्वतन्त्रता भित्र स्कटलैण्मा पर्ने छ । त्यस बाहेक पनि बेलायतले आफ्नो समुन्द्र मुनी संचित गरेर राखेको जमिन ग्यास र तेल पनि स्कटलैण्ड तर्फनै पर्ने छ ।
यदि स्कडलैण्ड साँचो अर्थमा बेलायतबाट अलग्गियो र स्वतन्त्र भयो भने युरोपका लागि मात्र होइन बिश्वको नजरमा पनि राम्रो छबि दिने छैन र यी “फुटाउ र राज्य गर” निती भएको यी पूंजीबादीहरुका लागि पनि एउटा असह्य मार हुने छ । बेलायती पुंजीबाद एवं साम्राज्यबादका लागि ठुलो झापड हुने छ । स्कटलैण्ड स्वतन्त्रताको निर्णयले बेलायतको अन्तरराष्ट्रिय स्तरमा बिद्यमान इज्जत, धाक र रवाफमा दाग लाग्ने मात्र नभै बिश्व राजनैतिक साम्राज्यको दोस्रो शक्तिशाली प्रहरीका रुपमा आफुलाइ उभ्याउदै र प्रस्तुत गर्दै आएको बेलायतले राजनैतिक खेल मैदानमा हारको अनुभूती गर्नु पर्ने छ ।
स्वीडेनका परराष्ट्रमन्त्री कार्ल बिल्टले बेलायत टुक्रा परेर बाल्कनाइजेसन हुनु बेलायतकै लागि एउटा चुनौती हुने तर्क गरेका छन् भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफुले बेलायतलाइ अहिलेकै अवस्थामा संयुक्त रहेको हेर्न चाहेको बताएका छन् । यस्तै चिनिया प्रधानमन्त्री लि के क्वीगंले पनि बेलायतको एकता हेर्न चाहेको कुरा बताए ।
स्कटलैण्ड पुग्ने एउटा टुरिष्टले भने स्कटलैण्डको भविश्यको यत्रो ठुलो निर्णय हुनगैरहेको भएपनि त्यहाँ केभैरहेको छ भन्ने अनुमान समेत गर्न सक्तैन । यहाँ सम्मकि दुइ चार बर्ष देखि स्कटलैण्डमै बसोबास गर्दै आइरहेका बिदेशी मुलका नागरिक एवं बिद्यार्थीहरुले समेत सुइको पाउन सकिरहेका छैनन् । मैले एडिनबरामा झण्डै चारबर्ष देखि त्यहाँको बिश्वबिद्यालयमा पत्रकारिता अध्ययन गर्दै आएका  एक नेपाली बिद्यार्थी प्रकाश अर्यालसंग त्यहाँको अहिलेको राजनितीक हलचल कस्तो छ त भनि सोधेको थिंए । उनले जवाफमा भने खै हामीलाइ त त्यति थाहा लागेको छैन । हुनत यही सेप्टेम्बरको १८का दिन जनमतसंग्रह हुदैछ भन्ने सुनेको हु । तर त्यसले कस्तो रुप लिइरहेको छ केही भन्न सक्तिन । उनले त्यहाँको अवस्थाको अनुमान गर्न नसके पनि स्कटलैण्ड मेघ गर्जे जस्तै गडगडाइ रहेको छ । छिमेकीहरु युद्धरत छन् । त्यहा बिदेशीहरुलाइ पाखा पन्छाइएको छ ।
जर्मनीमा स्कटलैण्डको स्वतन्त्रता बारे हुनगैरहेको जनमतसंग्रह बारेमा प्रयाप्त सूचनाहरु प्राप्त गर्न सकिन । किनभने जर्मनहरुका लागि भने स्कटलैण्डको जनमतसंग्रह कागलाइ बेल पाक्यो हर्ष न बिस्माद भने जस्तै रहेको छ । त्यसैले मैले थुप्रै टेलिफोन, युट्युब, फेसबुक र इन्टरनेटको सहारा लिनु पर्यो । युट्युवमा थुप्रै भिडियोहरु मार्फत प्रचार प्रसार गरिएको छ । बिरोध र समर्थनमा । खासगरी पूर्व औद्योगिक मजदूरहरु स्वतन्त्रताको पक्षमा प्रचार प्रसारमा लागेको पाइयो । लण्डनबाट प्रकाशित हुने डेली टेलिग्राफका अनुसार   विश्व प्रशिद्ध उपन्यास ह्यारी पोटरकी लेखिका जे के रोलिगं प्रति अत्यन्त अश्लिल शब्दहरु प्रयोग गर्दै घृणा र आक्रोस पोखेको पढ्दा बडो अनौठो पनि लाग्यो ।
जे के रोलिगं इगंलैण्डमा जन्मेकी भए पनि बिगत २० वर्ष देखि स्कटलैण्डमा बस्दै आएकि छन् र उनले हुनगैरहेको जनमतसंग्रहका लागि इगलैण्डको पक्षमा अर्थात स्कटलैण्ड स्वतन्त्र नहोस् भन्ने पक्षमा प्रचार प्रसारका लागि दशलाख पौण्ड चन्दा दिएकि छन् । त्यसैको रिषले आगो बनेका स्वतन्त्र स्कटलैण्डको पक्षधरहरुले उनलाइ तथानाम गालि गरिरहेका छन् ।
अन्तरराष्ट्रि प्रतिकृया प्रति स्कटलैण्डका बौद्धिक समुदायको कस्तो बुझाइ छ त भन्ने मेरो खास चासोको बिषय थियो । तर जर्मनीमा बसेर स्कटलैण्डका नागरिकहरुसंग प्रत्यक्ष कुरा गर्न नपाएकाले यसबारे कलम चलाउन पनि बडो अप्ठेरो लागिरहेको थियो त्यसैले मैले केही समयका लागि स्कटलैण्डबाट प्रकाशित हुने द स्कटस्म्यान नामक दैनिक पत्रिकाको ग्राहक बनें । डेली टेलिग्राफ र गार्डियनमा प्रकाशित स्कटलैण्ड बारेका समाचारहरुलाइ सकभर नछुटाउन नजिकैको पुस्तकालय मेरो दोस्रो घर जस्तै भयो । हप्तौ ती पत्रिकाको अध्ययनले स्कटलैण्ड स्वतन्त्रताका पक्षधरहरुलाइ अन्तरराष्ट्रिय प्रतिकृयाले एक इन्च पनि फरक पारेका पाइएन । बाराक ओबामाको भनाइलाइ त उनिहरुले सिधै डेबिड क्यामर।ोनको बोली बोलेको भनेर पन्छाइदिने रहेछन् ।  बरु उल्टै स्कटिश नेशनल पार्टीले त्यहाँका जनतामा मोनोपोली गरिरहेको अनुमान गर्न कुनै अप्ठारो लागेन । संयुक्त अधिराज्य बेलायत बारे अन्तरराष्ट्रिय चिन्तालाइ बुझ्न सकिने अवस्था स्कटलैण्ड भित्र रहेनछ । किनभने त्यहाँका जनतामा स्कटलैण्डको स्वतन्त्रताले मात्र मुक्ति दिने मनोबिज्ञान मजदूर, निम्न, र निम्न मध्ययम बर्गमा बिकाश गराइएको रहेछ ।
स्कटलैण्डका मुख्यमन्त्री अलेक्स सालमोण्ड र रसियन राष्ट्रपति ल्भादिमिर पुतिनबीच राम्रो समझदारी भएको बुझ्न संसारलाइ कठिन पर्दैन किनभने युक्रेनको समस्यामा सारा बिश्व रस्साको बिरोधमा उत्रिदा पनि अलेक्स सालमोण्ड भने रस्साकै पक्षमा उभिइ रहेका छन् । कतिपय राजनैतिक बुज्रुकहरुले बेलायत फुटाउने पुतिनको चाल भनेर आरोप लगाएका छन् तर त्यो भनाइमा कुनै दम देखिदैन किन भने स्कटलैण्डको स्वतन्त्रताका कुरा अहिलेमात्र उठेको नभै यसको प्रसंग उठ्दा पुतिन यो संसारमा जन्मेकै थिएनन् । इतिहाँसलाइ पल्टाएर हेर्ने हो भने १९२१मा जव दक्षिणी आरलैण्ड स्वतन्त्र भयो त्यतिबेलानै यसको प्रसंग उठेको प्रमाण भेटिन्छ । यद्यपी पुतिनका बिगतका कार्यले स्कटलैण्डको स्वतन्त्रताको बारेमा निकै चासो रहेको बुझिन्छ । उनले प्रष्ट शब्दमा अहिलेसम्म खास कुनै प्रतिकृया नदिएको पाइए पनि बिगत लगभग छ महिना देखि “रस्साको उत्तरी समुद्र देखि स्कटलैण्ड सम्म समुद्री बिकाशका आशाहरु देखिएको” भन्ने उनको अभिब्यक्तिले उनी स्कटलैण्ड स्वतन्त्र होस् भन्ने चाहान्छन् भन्ने बुझिन्छ ।
अहिले स्कटलैण्डमा स्कटलैण्ड स्वतन्त्रताका पक्षमा सक्रीय प्रचार प्रसार गर्नेहरुमा खासगरी दुइ भिन्न बिचार भएका शक्तिहरु देखिएका छन् । ती हुन् प्रथम स्कतलैण्डको बामपंथी शक्ति र दोस्रो त्यहाँको अति दक्षिणपंथी शक्ति । बामपंथी शक्तिहरु पनि राजनैतिक रुपले प्रेरित भएर एकता बनाएर त्यहाँको बामपंथी भ्याकुम पुरागर्ने ढंगले अहिले सम्म आउन सकिरहेका छैनन् भने अति दक्षिणपंथी शक्तिहरुमा बिश्वभरनै अहिले एकतृत भएर अगाडी बढ्न सक्ने अबस्था देखिदैन भने स्कटलैण्डमा आउनसक्ने सम्भावना झन छिन्न छ । यदि उनिहरु अगाडी आएपनि एक खहरे खोलाका रुपमा मात्र आउन सक्ने छन् यसैले मैले एक बर्ष अघि सत्य तत्थ्य मार्फत नै यस्तो तर्क गरेको थिंए ,  “यसरी स्कटलैण्डमा स्कटिश नेशनल पार्टी र पार्टी नेता अलेक्स साल्मोण्डको प्रभाव बढ्दै जानु भनेको केही रुपमा स्कटलैण्डमा बामपंथी राजनैतिक चिन्तनको खाली ठाँउ भरिदै जानु हो । तर यदि राजनैतिक भ्याकुममा गैर सिद्धान्तको प्रभाव जतिसुकै परे पनि अन्तत्वगत्वा त्यहाँ भएको भ्याकुम पुर्णरुपमा भरिन सक्तैन । त्यसका लागि एउटा सिद्धान्तले प्रेरित राजनैतिक शक्तिको आबश्यकता पर्दछ । त्यसैले स्कटलैण्डमा आफुलाइ प्रगतिशील राजनैतिक शक्ति भनी दाबी गर्नेहरुले त्यो खाली ठाँउ भर्न सक्ने खालको राजनैतिक कार्यक्रम तय गर्न सक्नु पर्दछ ।”
मेरो उक्त तर्कलाइ स्कटलैण्डको प्रचार प्रसारक्रमको पछिल्लो घटनाले पुष्टी गरेको छ । २२ जनवरी २०१२का दिन अलेक्स सालमोण्डले बीबीसीसंग कुरा गर्दै  “हामीले अहिले प्रचलनमा आइरहेको बेलायती मुद्रा सेयर गर्छौं । हामीले राजतन्त्र पनि सेयर गर्ने छौं । हामीसंग युरोपियन युनियन पनि रहने छ ।” भनेका थिए । तर त्यसको ठीक बिपरित गत ३ हप्ता अघि बेलायतका पूर्व चान्सलर आलेस्टर डार्लिंगले टीबी अन्तरवार्ता मार्फत “आगामी १८ सेप्टेम्बरमा स्कटलैण्डमा हुनगैरहेको जनमत संग्रहमा स्कटलैण्डलाइ स्वतन्ताको पक्षमा जनमत आयो भने स्कटलैण्डले स्टलिंग पौण्ड आफ्नो मुद्राका रुपमा संचालन राख्न कानूनतः नमिल्ने” भने पछि त्यहाँको पासा ढल्मलाएको छ ।
इप्सोस मोरी र अन्य अनुसन्धान केन्द्रको सर्भेका अनुसार स्कटलैण्ड स्वतन्त्रताबारे गत जुलाइसम्म आएको प्रतिकृयामा अर्को बिपक्षको पल्ला भारी हुनथालेको छ । गत जुलाइसम्म लगभल ४८ प्रतिशत स्वतन्त्रताको पक्षमा आएको सर्भे अगस्तको पहिलो हप्ताको सर्भेमा स्वतन्त्रताको पक्षको पल्ला ह्वात्तै हलुंगो भएको बताएको छ । त्यस्तै अलेक्स सालमोण्डको पपुलारिटी पनि घट्दो छ तर रानी एलिजाबेथ र प्रधानमन्त्री डेबिड कयामरोनको पपुलारिटी पनि बढ्न सकेको छैन । समग्रमा हेर्दा स्कटलैण्डको स्वतन्त्रताका पक्षधरहरु राजतन्त्रको बिपक्षमा रहेको बुझ्न खास कठिन छैन । यसकारणले पनि स्कटलैण्डका सर्वसाधारण जनताहरु दुबै पक्षबाट कन्भिन्स हुन सकिरहेका छैनन् । यसको मतलव स्कटिश नेशनल पार्टीसंग प्रतिबद्ध जनता र स्कटलैण्डको २०११मा भएको निर्बाचनमा भोट हाल्न पुगेका लेबर पार्टी, कन्जरभेटिभ पार्टी र लिबडेम पार्टीमा प्रतिबद्ध जनता बाहेक अन्य दुबैतर्फका असन्तुष्ट पक्षहरु मतदानकेन्द्रमा नझुल्किने सम्भावनाको बिकाश हुदै गैरहेको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *