टंकको सम्झनामा

“टंक तिमी मृदुभाषी थियौ । मिलनसार थियौ । तिमीले हामीसंग काम गर्ने क्रममा कहिल्यै कसैका बिरुद्ध लागेनौ । यी सबै भन्दा पनि माथी उठेर तिम्रो गुण हरेक सहकर्मीलाइ “टेक केयर, लुक आफ्टर योर सेल्फ” भनेर बिदा हुने गर्दथ्यौ । तिम्रा ती शब्दहरुले हामीलाइ काम गर्न र ब्यक्तिगत रुपमा आफ्नो ख्याल गर्नका निम्ति उर्जा जागेर आउथ्यो । आज तिमी हामी माझ छैनौ तर तिम्रो मिलनसारिता र सकारात्मक सोचाइ सदाका लागि अबिस्मरणीय रही रहने छन् ।”
उक्त कुरा फ्रिम्लिपार्क अस्पतालकी सल्यक्रिया नर्सिङ्ग बिभागीय प्रमुख एमाले टंक सुबेदी प्रति अन्तिम श्रद्धान्जली दिदै भनेकी हुन् । यसो भनीरहदा उनी डाको छोडेरै रोइन् । उनि मात्र रोइनन् उनले हलमा टंक सुबेदी प्रति श्रद्धान्जली अर्पण गर्न आएका सबैलाइ भाव बिह्वल बनाइन् भने थुप्रैलाइ रुवाइन् । मेरो बगलमा बसेका यज्ञ क्षेत्री पनि डाकै छोडेर रोए । मैले आफुलाइ पनि थाम्न सकिन र आँखा चिम्म गरेर दुबै हातले अनुहार छोपें । तर अनुहार अरुका अगाडि छोपे पनि भित्री मन रोएकै थियो । आँसु थाम्न सकिन । मुटुमा भक्कानो छुटेर आयो ।
टंक सुबेदी यद्यपी नवलपरासी बासी हुन् तर पनि चितवन एड ट्रष्टले उनको अन्तीम संस्कारको पूर्ण जिम्मा लिएको थियो । झण्डै दुइ सयको हाराहारीको संख्यामा उपस्थित जनसमुदाय मध्य चितवन एड ट्रष्टका अध्यक्ष राजन खरेल लगायत पूर्व अध्यक्षहरु हिमाल गुरुङ्ग, लोक गरुङ्ग र कपिल श्रेष्ठहरुको उपस्थिती रहेको थियो । उपस्थित समुदाय मध्य झण्डै पचासको संख्यामा फ्रिम्लिपार्क अस्पतालमा काम गर्ने नेपाली एवं बेलायती र अन्य मुलुकका उनका सहकर्मीहरु थिए ।
२६ अगस्त आइतबारका दिन टंक सुबेदीसंग मेरो पछिल्लो भेट भएको दिनको झलझली सम्झना आयो । यस्तै साँझको नौ बजेको हुदोहो म नारायण रिजालको रेष्टुरेन्टमा पुगेको थिंए, टंक पनि त्यही रहेछन् । लगभग दश पन्द्रह मिनेट मिठो कुराकानी भयो । उनले भने दाइ ल न मलाइ कतै एउटा सानो फल्याटको ब्यवस्था गरिदिनु पर्यो । बुढी र छोरीलाइ झिकाउन सबै कागजपत्र मिलीसक्न लाग्यो । तपाइकोमै एउटा कोठा खाली छ भने झन राम्रो हुने थियो ।
हुन्छ नी तपाइका लागि एउटा फल्याट ब्यबस्था नभएसम्मका लागि एडजस्ट गरांैलानी परिवार झिकाइ हाल्नुस, मैले भने । टंक छिटो छिटो ब्यवस्था गरिहाल अव केभो त कोठाको पक्का भइहाल्यो, नारायण रिजालले थपे ।
२०३१ सालमा पर्बत जिल्लामा जन्मेका टंकले बल्ल ३७ वसन्त पार गरेका थिए । पर्बतबाट पछि नवलपरासी जिल्लामा बसाइ सरेर नयाँ मौका, चुनौती र भाग्यको खोजी गर्दै चौध बर्ष अघि बेलायत आइपुगेका हुन् टंक । १९९८ सालमा बेलायत आएपछि बिभिन्न हण्डर र ठक्कर खाँदै बेलायतका बिभिन्न ठाँउमा बास बसेछन् उनी । पछि २००४ साल देखि उनले अल्डरसटलाइ आफ्नो स्थाइ बासस्थान बनाए । अल्डरसटमा हरी भट्टराइको घरमा संगै मिलेर बसे । फ्रिम्लिपार्क अस्पतालमा काम गर्ने भएकाले लगभग तीन वर्ष पछि आफ्नो बसाइ पनि फ्रिम्लिमै रोजेछन् ।
चार वर्ष अघि बिबाह बन्धनमा बाधिएका टंक पत्नी र एक छोरीलाइ यस संसारमा छोडेर सदाका लागि बिदा भएर गए । कुनै खास सिरियस रोग नलागेका टंकको यसरी अचानक मृत्यु हुनुले हामी सबैलाइ हुने हुनामी नभै नछोड्ने रहेछ भन्ने कुराको अझ बलियो प्रमाण दिएको छ । २८ अगस्तका दिन अस्पतालमा काम गर्दा गर्दै असह्य टाउको दुखेको कारणले सोही अस्पतालको आपतकालिन सेवामा पुर्याइएछ उनलाइ । त्यहाँ अनुसन्धानबाट केही नभेटिए पछि भोली पल्टै उनलाइ लण्डन स्थित सन्त जोर्जेस अस्पतालमा पुर्याइयो । उनको अपरेशन गरेर दुइ दिन आइसियुमा राखे पछि उनि सामान्य कुराकानी गर्न सक्ने भएका थिए । उनि अस्पतालको सैयामा सुतिरहेको बेला पनि उनलाइ भेट्न जाने सहकर्मीहरुलाइ छुट्टिदा “टेक केयर” भनेछन् । आफु जस्तो सुकै अवस्थामा भए पनि सधै अरुको भलो चिताउने टंकले आफ्नो जीवनमा आफु प्रति कति केयर गरे, “लुक आफ्टर योरसेल्फ” उनले अरुलाइ गर्ने आग्रह उनी आफैले कति ध्यान दिए ? यो प्रश्न भने उनको मृत्यु पछि पनि निरुत्तरित रहेको छ ।
उनका आकांक्षा र चाहनाहरु पत्नी र छोरीलाइ बेलायत ल्याएर अरुहरुले जस्तै एउटा सानो घर किनेर संगै बस्ने थियो । हाँसी खुसी परिवारिक जीवनका लागि उनि प्रयासरत थिए । उनीसंग मेरो पहिलो भेट २००७ सालको जनवरीमा हरी अधिकारीको घर अल्डरसटमा भएको हो । त्यतीबेला उनले अव छिट्टै नेपाल गएर बिबाह गर्ने कुरा गरेका थिए । उनी बिबाह गरेर फर्केर आए पछि फेरी नारायण रिजालको घरमा भेट भयो । आफु बिबाहित भएको खुसीको खबर सुनाएका थिए ।
जीवन चक्र सायद यस्तै होला आफुले चाहेको र देखेको भोग्न नपाउने । हुनत एउटा भनाइ छ , फुलेको जति सबै फल लाग्ने र चाहेको जती सबै पुग्ने हो भने यो संसारमा कोही दुखि र गरीव हुने थिएनन् ।
२०१० सालको शुरुशुरुको कुरा हो टंकजी म कहाँ आएर उनलाइ होम अफिससंग पत्राचार गर्ने ठेगानाको ब्यबस्था गर्नु पर्ने भएको बताए । मेरो घरको ठेगाना एकजना मित्र बिरेन्द्र लम्सालले प्रयोग गरेका थिए । यता टंकका लागि पनि एउटै ठेगाना प्रयोग गर्दा अबिश्वसनीय होलाकी भन्ने लागेर नारायण रिजालको घरको ठेगाना प्रयोग गर्ने निधो गर्यौं । त्यतिबेला देखि उनले आफ्नी पत्नीलाइ बेलायत झिकाउन होम अफिससंग पत्राचार गर्ने ठेगाना नारायण रिजालको घरको ठेगाना प्रयोग गर्दै आइरहेका थिए । सम्पूर्ण कागजपत्र तयार भैसकेको थियो । अव उडानको टिकट किनेर हवाइ जहाज भित्र बस्न मात्र बाँकी थियो, टंक अचानक बिरामी परे, उनको यो प्रयास प्राय सबै सहकर्मीहरुलाइ थाहा थियो । टंक अस्पतालको सैयामै भएको बेला अस्पतालमा कार्यरत उनका सहकर्मीहरुले रकम संकलन गरि उनकी पत्नीको टिकटको ब्यवस्था गरेर नेपाल पठाए । पत्नी अव बेलायत आउने भइन् । पत्नी बेलायत आउने दिन, घण्टा र पलको प्रतिक्षा गरेर बसेका टंकलाइ उनकी पत्नीका लागि टिकट किनेर नेपाल पठाइसकेको खवर उनका सहकर्मीहरुले सुनाए । तर दुर्भाग्य पत्नी आइपुग्न दुइदिन ढिलो भयो । पत्नी जहाज भित्र भएकै बेला यता टंकले अन्तिम स्वास फेरे । हे भगवान ! यत्रो ठूलो अग्नी परीक्षा र अन्याय किन ? के हामी मानव तिम्रा यति ठूला अन्याय सहन जन्मेका हौं ? के तिमीले टंक र उनकि पत्नीलाइ पलभरको मात्र खुसी दिन सक्थेनौ ? तिमीले टंकलाइ आफ्नो काखमा लिनु अघि दुइ दिनका लागि मात्र भएपनि यो मृत्युलोकमा छोड्न सक्थेनौ ? सिर्फ दुइ दिन फगत अडचालिस घण्टाका लागि ।
भगवानसंग यी प्रश्नहरुको उत्तर माग्दै मित्र टंक सुबेदीको दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्न चाहान्छु ।

Bookmark the permalink.

4 Responses to टंकको सम्झनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *