खोलो तरेपछि बिर्सेको लौरो

40340_129510857095131_2884202_nआनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु। तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ, आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो। २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु भेट्यो। देवीप्रसाद रेग्मी आफ्नै गाउँबस्तीका रहेछन् भन्ने वुझिएपछि कुमारको मनमा कौतुहल जाग्यो। देवीप्रसाद जीवितै छन् कि ? अहिले कहाँ बस्दाहुन् ? पत्रिकामा भेटिएका प्रसङ्गहरु सबै एमालेका पुराना नेताहरुले उल्लेख गरेकाले नेकपा एमाले, झापा जिल्ला कमिटीको कार्यालयतिर हान्नियो। पार्टी कार्यालय नजिकैको चियापसलमा एमालेका धेरै कार्यकर्ता र नेताहरु चियाखाजा खाँदै रहेछन्, कुमार पनि त्यहीं मिसियो। यतिका नेता र कार्यकर्तामध्ये कसैनकसैबाट देवीप्रसाद रेग्मीको बिषयमा केही जानकारी कसो नपाइएला भन्ने विश्वास लिएर एक-एकसँग भलाकुसारी ग-यो। सबैले देवीप्रसाद रेग्मीको बिषयमा अनभिज्ञता मात्र प्रकट गरेनन् धेरैले को हुन् देवीप्रसाद भनेर कुमारसँग उल्टै प्रश्न गरे। कुमार आश्चर्यचकित, दु:खित र निराशपनि भयो। देवीप्रसादसँग भेटेरैछाड्ने अठोट गरेका कुमार सम्पर्कसूत्र खोज्दै रेग्मी समाजका पदाधिकारीकहाँ पुग्यो। रेग्मी समाजले धेरै सोधखोज गरेर देवीप्रसादको लोकेशन पत्ता लगाइदिए।
जे होस्, देवीप्रसाद जीवितै रहेछन्। झापा नगरपालिका वडा नं १६ मा एउटा छाप्रोमा बस्दारहेछन्। यति ठेगाना पाएपछि कुमार घर खोज्दै पुग्यो। आफ्नो परिचय दियो। सबैले भुलिसकेकाले पत्ता लाउनै गाह्रो परेको यथार्थ बतायो। समान्य भलाकुसारीपछि बातचित अघि बढायो।
“उमेर कति भयो ?” गलेको शरीर र थाकेको अनुहार हेरेर कुमारले सर्वप्रथम उमेर सोध्यो।
“७३ बर्षको भएँ।” देवीप्रसादले छरितो उत्तर दिए।
“स्वास्थ्य कस्तो छ ?

“स्वास्थ्यको त कुरै नगरौं बाबु। बडो कष्टकर दिन बिताउँदैछु। शरीरका अङ्गप्रत्यङ्गमा नशा र मांसपेशीभरी गाँठैगाँठा छन्। यी गाँठागुँठीहरु पोलेर रातभर सुत्नैसक्दिन। दिनभरी पनि शरीर झमझम गरिरहन्छ।” देवीप्रसाद रेग्मीजीले अनुहारमा पीडाको भाव दर्शाउँदै भने।
“देखाउनुभएन ? के कारणले यस्तो भएको रहेछ ?”
“ठूलो अस्पतालमा गएर बिज्ञ डाक्टरलाइ देखाउन सकिन। सरकारी अस्पतालमा टिकट काटेर भिडभाडमा देखाइयो। भिडभाडको डाक्टरले सबैलाइ भ्याउनुपर्ने। समस्या भन्नैनपाइ प्रेस्कृप्शन लेखिसक्दा रहेछन्। लामो समयसम्म प्रहरीले दिएको चरम यातनाको कारणले स्नायुहरुमा दखल पुगेको रहेछ भन्नेसम्म वुझियो।” देवीप्रसादले थोरै प्रष्ट्याए।
“लामो समयसम्म प्रहरीले चरम यातना दिनुपर्ने कारण के थियो ?”
“पञ्चायतकालमा मेरो घर धरमपुर गाविस, वडा नं ५ मा थियो। त्यस्लाइ मेरो आफ्नो घर भन्नुभन्दा तत्कालीन

नेकपा मालेको सेल्टर भन्दा बढी वास्तविक हुन्थ्यो। जासुसहरुको नजरमा नपरेकोले मेरो घर सुरक्षित सेल्टर थियो। घरका परिवारले मात्र खाना खाएको कुनै दिन थिएन। २०४४ सालमा ४ दिनसम्म चलेको नेकपा मालेको विस्तारित बैठक मेरै घरमा सम्पन्न भएको हो। उता मालेको विस्तारित बैठक सकियो, यता मेरा दुर्दिन शुरु भए। मेरो घरमा विस्तारित बैठक बसेको सुईंको सरकारी जासुसहरुले चाल पाएछन्। मलाइ प्रहरीले पक्डेर लग्यो। ८४ दिनसम्म चरम यातना दिएर राख्यो। बेहोस नहुञ्जेल कुट्थे। कुट्दाकुट्दा कति लठ्ठी भाँचिए। केही नभेट्टाए डाडुपन्युँले पिट्थे। मेरो माइलो छोरालाइ पनि लगेर यातना दिएछन्। ८४ दिनको चरम यातनापछि बल्ल मलाइ जेल पठाए।” देवीप्रसादले यथार्थ खोले।

कुमारले छाप्रोतिर नजर लगाए। यो त छाप्रो हैन झुप्रो छ। अलि ठूलो हावाहुरी आयोभने थेग्न सक्दैन। सोधे, “धरमपुरको घर त योभन्दा गतिलो थियो होला नि ? किन छाड्नुभयो ?”
“थियो नि। घर ठूलै थियो। घरसँगै दुई बिघा राम्रो जग्गा थियो। धानमिल थियो। कारोबार राम्रो चलेको थियो।” देवीप्रसादले विगत सम्झे।
“किन छाड्नुभयो त ?”
“प्रहरीले पक्डन थालेपछि सबै भागाभाग भयो। कारोबार डुब्यो। २०४७\ ०१\ १७ गते छुटेर आएपछि उपचार गराउँदा ऋण लाग्यो। ऋणमाथि ऋण र व्याजमाथि स्याज गर्दै सबै सम्पति स्वाहा भयो। त्यस्तो बन्दोबस्तीसँग बसेको मान्छे टाट पल्टेपछि त्यहीं बस्न उपयुक्त नलागेर यहाँ आएको हुँ।” देवीप्रसादले भित्री मर्म कहे।
“बचेखुचेको पैसाले यहाँ जग्गा किनेर बस्नुभएको हो ?”
“धरमपुरबाट खालि हात आएको हुँ। साथमा १ पैसा थिएन। यो ४ कठ्ठा जग्गा लिजमा लिएको हुँ। त्यसैमा यो झुप्रो हालेर ओतलाग्ने ठाउँ बनाएको छु।” देवीप्रसादले छ्याङ्गै पारे।
“छोराहरु के गर्छन् त ?”
“जेठो कृष्ण मन्दिरतिर बस्छ। माइलो पञ्जाब गएको फर्केको छैन। साईंलो मलेसियामा र कान्छो साउदीअरबमा छ।”
“पार्टीको लागि र आन्दोलनको लागि तपाईंले यत्रो त्याग गर्नुभएको रहेछ। पार्टीहरुले, नेताहरुले सहयोग गर्दैनन्।” कुमार मुख्य प्रश्नमा आइपुगे।
“पहिले-पहिले त निकै आशा, विश्वास र भरोसा थियो। अब त आशा म-यो। यहाँभित्र ठूलो घाउ छ। यो घाउ नकोट्याउँ।” यसभन्दा बढी बोल्न सकेनन्। बुढाको गहभरी आँसु भरिएको कुमारले देखे। पल्टिन खोजे। सोझै पल्टिन नसक्ने रहेछन्। कुमारले मद्दत गरे। देवीप्रसादको कथाव्यथा सुनेर कुमार द्रवित भैसकेका थिए। गहभरीको आँसु देखेर आफूलाइ रोक्न सकेनन्। रुलाइ फुट्लाजस्तो भयो। देवीप्रसादलाइ प्रणाम गरेर कुमार फटाफट हिंडे। बाटामा झल्झलि डिकेन्द्र राजबंशीलाइ सम्झे।
मङ्गलवार, अगस्त 06, 2013

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *