खहरे खोलाको दम्भ

Nigel Farage-शशी पौडेल,
युरोपको राजनितीमा यसपाली कुनै पनि रंगले बहुमत पाउन सकेन । यसबर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हेर्यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपिय मतदाताहरुले यसपाली राम्रोसंग इजार कसे । निर्वाचन परिणाम हेर्दा ओरिपरी थुप्रै दाग वा टाटाहरु देख्ने छौं । युरोपियन बिरोधी दाग, रंगभेदी दाग, बाम र दक्षिणपंथी दाग तर दुर्भाग्य केन्द्र भने झन भन्दा झन साँगुरिदै गएको देख्ने छौं ।
उग्र दक्षिणपंथीहरुले “अधिकार”का कुरा उठाएर युरोपियन संसद भित्र पस्न सफल भएका छन् तर कर्तब्य केहो त्यसबारे उनिहरुले निधार खुम्च्याउने प्रयास समेत गरेका छैनन् । उनिहरुको युरोप बिरुद्धको वाह वाह !! भबिश्यका लागि कति ठीक छ त्यसको उत्तर अहिलेनै पाउन प्रायः असम्भव छ । उनिहरुले उठाएको नारामा यसै पनि प्रश्टता छैन । एकातिर उनिहरु युरोपियन युनियनको बिरोध गर्दछन् अर्कोतिर उनिहरु उम्मेदवार बन्छन् र भोट पाएर बिजयी पनि हुन्छन् । अचम्मको दोगला चरित्र !
ग्रिकमा भने उग्रबामपंथीहरु आफ्नो गन्तब्य सम्म पुग्न सफल भएका छन् । युरोपियन युनियनको संसद भित्र पस्न । गत चार पाँच बर्ष अघि ग्रिक झण्डै कोल्याप्स हुदा युरोपियन युनियनको सहयोगमा टाउको उठाउनु परेको थियो । त्यतिखेर युरोपियन युनियन ग्रिकका लागि “रक्षक” साबित भएको थियो । त्यहाँ  युरोपियन युनियनको बिरोध गर्ने दक्षिणपंथीहरु बाहिरिए । उग्रबामपंथले लक्ष्य भेट्यो । अर्को तर्फको समुद्री किनारको मुलुक निदरलैण्डमा उग्र दक्षिणपंथीहरुले  युरोपियन पार्लामेन्ट भित्र पस्ने टिकट काटे । फिनलैण्ड चाही उनिहरुले आशा गरेको भन्दा अलिकती पछाडी बस्ने भयो ।
जे होस् यसपालीको युरोपियन युनियनको निर्बाचनले युरोप भित्र कसरी राजनितीको बिकाश भैरहेको छ भन्ने जानकारी दिन भने सफल रह्यो । जस्तै मध्यबाम र मध्य दक्षिणपंथीहरु साँगुरिदै गएको । दशकौं देखि युरोपियन जनताको बिश्वास प्राप्त गरेर युरोपको लोकतंत्रको ठेक्का लिएकाहरुको हात र खुट्टा भाँचिदै गएको । यी युरोपका स्थाइत्व प्राप्त गरेका भन्ने पार्टीहरुलाइ परेको दवाब बेलायत, फ्रान्स, डेनमार्क र ग्रिकमा प्रश्ट देख्न सकिन्छ । राजनितीको मध्यभागमा बसेका युरोपका ठुला पार्टीहरु इभीपी(युरोपियन फल्क(पिपल्स) पार्टी), जसमा बेलायतको कन्जरभेटीभ पार्टी पनि पर्दछ  र पीइएस् (युरोपियन सोसलिष्ट पार्टी) जसमा बेलायतको लेबर पार्टी पनि पर्दछ । यसपालीको निर्बाचन परिणामलाइ हेर्दा यी पार्टीहरु अहिले आफ्नो बिगतमा मात्र बाँचेका छन् भन्ने अनुभुती हुन्छ । उनिहरुको बर्तमान युकिप एवं फ्रन्ट नासिओनाल जस्ता उग्र दक्षिणपंथी धार बोकेका पार्टीहरुले अपहरण गरेका छन् ।
यी दुइ ठुला पार्टीहरुले प्राप्त गरेका मत जोड्दा साठी प्रतिशत भन्दा केही माथी छ । यो संख्या संकटपूर्णनै किन नहोस् यदि मिलिजुली गए भने युरोपियन सरकार गठन गर्न पुग्छ तर यी दुबैले आफ्नै प्रेसिडेन्टका लागि उम्मेदवारी दिएका छन् । जसले गर्दा यी दुइ पार्टी मिलेर युरोपियन सरकार बनाउने सम्भावना सून्य छ । राजनितीक जोड घटाउ गर्दा सरकार बनाउन निम्ति यी दुइ मध्य कुनै पनि पार्टीले उनिहरुको ओरी परी उभिएका रंगी बिरंगी युरोपियन पार्लामेन्ट सदस्यहरु रिझाउनु पर्ने हुन्छ ।
छोटो प्रसंग बेलायतकोः
बेलायतको यसपालीको राजनैतिक बिकाशले बिश्वलाइ अचानक ध्यानाकर्षण गराएको छ । गत आइतबार राती नाइजेल फराजे साउथह्यामटनको काउन्सिल भवन भित्र प्रबेश गर्दछन् । बिबिसी साउथको क्यामराम्यान र अन्य पत्रकारहरु पनि पछि पछि छन् उनका । हप्तौं दिन जागाराम बसे जस्तो नाइजलका आँखामा चिप्रा सहजै देख्न सकिन्छ । युकिप पार्टीका उनका सहकर्मीहरु एवं पार्टी सदस्यहरु उनको नजिक  ओरी परी घेरा हालेका छन् । एउटा अनौंठो सन्नाटा टिभीमा देखिन्छ । यसैबीच एकजना पत्रकार “नाइजल, नाइजल” भनेर चिच्याउछ । नाइजलले आफ्नो टाउको क्यामरा तिर घुमाउछन् अनि मुख खोलेर दाँत देखाउदै हाँस्छन् र भन्छन् “मैले तिमीहरुलाइ भनेको थिंए नि तिमीहरुबीच भूइचालो आउनेछ । हो यहीहो मैले भनेको भूइचालो”
जवकि नाइजल फराजे कहिल्यै पनि बेलायती संसद भित्र निर्बाचित भएका छैनन् । उनि एउटा सानो पार्टीका अध्यक्ष हुन् र उनको निधारमा रंगभेदको ठुलै दाग लागेको छ साथै बेलायत युरोपियन युनियनबाट बाहिरिनु पर्छ पनि भन्छन् उनि । तर पनि बेलायतको प्रभावशाली रापनितीज्ञ भन्ठान्छन् उनि  आफुलाइ । एउटा सानो क्षेत्रीय पार्टी कुनै एउटा चुनाबमा २७ प्रतिशत मत ल्याएर पहिलो पार्टी बन्छ र युरोपियन युनियन भित्र पस्छ जबकि आफ्नो मुलुकको राष्ट्रिय राजनितीमा न्यून महत्व राख्दछ । जबकि बेलायतमा सयौं बर्ष देखि मध्यबाम र मध्यदक्षिणपंथीहरुको बोलवाला हुदै आइरहेको छ । त्यसैले यसपाली युकिपले त्यत्रोसंख्यामा मत ल्याएर युरोपिया युनियन भित्र पस्नु भनेको साउन महिनामा उर्लने खहरे खोला जस्तै हो भन्दा अत्युक्ती हुने छैन । यस्तै खाले खहरे खोला बिगत आधा बर्ष अघि भारतमा पनि आएको थियो । आम आदमी पार्टी । भारतमा आएको खहरे खोलामा अहिले धमिरा र कमिलाले गुंड बनाएका छन् । जबकि भारतको लोकतान्त्रिक ब्यबस्थालाइ संसारको पहिलो लोकतन्त्र मानिन्छ त्यसैले बेलायतमा आएको खहरे खोलामा पनि केही समय पछि धमिराले गुंड बनाउने कुरामा बिबाद रहने छैन । किनकि बेलायतको लोकतन्त्र त दोस्रो कोटीको लोकतन्त्र हो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *