एन् आर एन् युके र सदस्यता खरिद

BK Pandayबिके पाण्डे
एमाले नेता माधव नेपालले करिब १ वर्ष अघि दोहोरो नागरिकताको सन्दर्भमा सोधिएको एक प्रश्नको उत्तरमा ‘यदि एनआरएनलाई दोहोरो नागरिकता दिएर चुनाव लड्न दिने हो भने उनीहरुले विदेशमा कमाएको पैसा खर्च गरेर यहाँ चुनाव जित्ने छन्’ भनेका थिए । उनको यो भनाईलाई मैले एनआरएएनप्रति अत्यन्त पूर्वाग्रही सोचको रुपमा लिएको थिएँ । तर अहिले सांसदको कुरो छोडिदिउँ जाबो एनआरएन यूकेको पद हत्याउनको लागि त पौण्डको खोलो बगेको छ भने सांसद हुनको लागि त यस्ता प्रवृत्ति बोकेका मानिसहरुले नदी नै बगाउने छन् भनेर कसैले टिप्पणी ग(यो भने पनि जवाफ दिने ठाउँ नै नरहने भएको छ । एनआरएनहरुको यो गलत कार्यले नेपालका नेतालाई दोहोरो नागरिकता दिने सवालमा नकारात्मक सोच बनाउन झन राम्रो सहयोग पु(याउने भएको छ ।

यस्तो खालको गतिविधि अगाडि अगाडिका निर्वाचनमा पनि भएका थिए र यस्ता कृयाकलापको मैले खुलेरै विरोध गरेको थिएँ । नेपाली सन्देश साप्ताहिकमा त्यतिखेर मैले असल मान्छे बन्ने कि ठूलो मान्छे बन्ने भन्ने प्रश्नको साथमा सदस्यता खरिद गर्ने जुन लज्जानक कुयाकलाप भए त्यसको सम्पादकीयमा नै विरोध गरेका थिएँ । म पत्रकार भएको नाताले गलत कुराको विरोधमा उत्रिएर वा सूचना दिएर आफ्नो कर्तव्य पुरा गरेँ । यसपछि पनि मैले सत्यतथ्य मासिकमा पनि गलत कृयाकलाप नहोस् भनेर सचेत गराउन सम्पादकीयसमेतको उपयोग गर्न पछि परिन । तर अघिल्ला चुनावका बेलामा भएका गलत कृयाकलापको विरोध गरेको कुराबाट नाराज रहँदै थुप्रै नेताहरु मसँग ‘कट्टी’ नै गरेर बस्न थाले । पद्धती सच्याउने बारेमा कुनै प्रयास नै गरिएन । हामीले जे गरे पनि हुन्छ भन्ने खालको अहं भावले नेताहरु ग्रशित हुन पुगे । गलत कामको परिणाम गलत नै निस्कन्छ भन्ने कुरा ती नेता भन्नु वा अभिनेता भन्नु उनीहरुले समयमा बुझेनन् । जसले गर्दा अहिले एनआरएन हामी सबैको लाजले शीर निहुरिएको छ ।

कुनै पनि संगठनमा विवाद हुनु कुनै ठूलो कुरा होइन, जीवन्त संगठनमा यस्ता कुरालाई सामान्यरुपमा लिइन्छ । तर विवाद पनि हेर्नका हुन्छन् । यसबारेमा धेरै बताउनु जरुरी छैन किनकि सबैले कुरोको चुरो बुझेकै छन् । तर मलाई अचम्मको कुरा यो छ कि यस्तो दिनदहाडै एनआरएनको सदस्यता खरिद विक्रीको बस्तु बनेको देख्दा देख्दै पनि केही आफूलाई यस समाजको ठूला–ठालु, जान्ने–मान्ने तथा एनआरएन अभियानका भीष्मपितामह नै ठान्ने गरेका व्यक्तित्वहरु मौन रहेका छन् ।

गलत कामलाई जतिसुकै ढाके पनि त्यसलाई छोप्न सकिन्न । त्यसैले कृपया गलतलाई गलत भन्न पछि नहट्नु होस् । गल्ती कहिल्यै हुँदैन भन्ने पनि होइन, हुन सक्छ तर त्यसलाई सच्याउन नलाग्नु झन् ठूलो गल्ती हुन्छ । नेपालमा संविधान सभाको चुनावको लागि घोषणा पत्र तयार गर्दैछन् पार्टीहरु । यतिखेर हामीले हाम्रा मागहरु घोषणा पत्रमा समेटियोस् भनेर दवाव दिने बेला हो । हामी गलत प्रवृतिको कारण यसरी टुटफुट हुन थाल्यौँ भने हाम्रा मागको सवालमा घोषणा पत्रले केही बोल्ने छैन । त्यसैले एनआरएन अभियानमा लाग्नु भएका सबै व्यक्तित्वहरुले एकताको लागि प्रयास गर्नु जरुरी छ । अन्यथा काँध थाप्न सकिने छैन राम राम भनेर चित्त बुझाउन बाध्य हुने अवस्था सिर्जना हुने छ ।

Bookmark the permalink.

3 Responses to एन् आर एन् युके र सदस्यता खरिद

Leave a Reply

Your email address will not be published. Required fields are marked *